पुन्य कार्कीगालीलाई ताली
दर्शकले गालीलाई ताली जति पिटून् न नेता थेत्तरो छ । गाली सुन्ने कान बहिरो बनाइ बसेको छ । घोक्रोका नशा जति फुलाई गाली गरेपनि त्यसको सार्थक सुनुवाई भएको दृश्य अहिलेसम्म काहीँ देखिएको छैन ।

पुण्य कार्की :
नयाँ पार्टीका एक युवा नेता मञ्चमा चढेर तेजतर्रार भाषण दिन थाले । भाषण पनि के भनूँ उनको बोलीमा भाषण कम गालीको मात्रा बढी थियो । मुखारविन्दबाट विचार कम विकार बढी खसिरहेको थियो । सयमा उनान्सय भन्दा बढी लाजभाँडका आमाचकारी शब्दहरु थिए । तर पनि प्याराफिटमा बसेका दर्शकवृन्दले तालीको ताली ठोके । भातको थाली ठोक्न नपाएका अदना वितरा जनदेखि दुर्वाच्य र विरोधमा रम्ने छिचरा जनसम्मले हात टट्याइन्जेल ताली हाने । जतिजति तालीको आवाजले सभा गम्किन्थ्यो, त्यतित्यति चपरचण्डाल चतुरे वक्ता गाली छाद्न न्वारानदेखिको बल झिकेर चम्किन्थ्यो । गालीलाई ताली दिने जमाना आइरहेछ । म भने शिष्ट शालीन वाणीको निरर्थक उपासना गरिरहेछु ।
ताली र गाली सनातन कालदेखि एक दोस्रोका विपरित कित्तामा उभिएर आफ्नो अर्थ संवहन गरिरहेका पदावली छन् । एउटाले सकार ध्वनिको सञ्चरण गर्छ भने अर्कोले नकार अर्थ प्रवहण गर्दछ । भनिन्छ गाली खानेले ताली खाँदैन । ताली खानेले गाली खाँदैन । मानौँ ताली र गाली अदालतका दुई विपरित प्रत्यर्थी हुन् । एउटा वादीको कित्तामा छ भने अर्को प्रतिवादीको कित्तामा छ । एउटा फिराद गर्ने फिरादी हो भने अर्को त्यसको प्रत्युत्तर दिने विरोधी हो ।
असल र राम्रा कुरामा हातैले बजाउनु पर्ने बाजा हो ताली । ताली याने कि थप्पडी । थप्पड हान्नु र थप्पडी बजाउनुमा अर्थको आकाश–पताल भिन्नता छ । थप्पड हान्नुले नकारात्मक अर्थ उद्घोष गर्छ भने थप्पडी हान्नुले कसैको प्रशंसामा ताली हान्नुलाई जनाउँछ ।
दुईटा थप्पडीको आहत धुनबाट निस्कन्छ ताली । तालीमा कसैको विचार, सिद्धान्त र भावनाप्रति समर्थनको आवाज हुन्छ । यसमा सहमति र स्वीकृतिको गुन्जन हुन्छ । विरोचित गुणको अभिनन्दन हुन्छ । तर गाली ताली भन्दा कठोर चिज हो । यो रिसको एक आवेगबाट अविर्भाव हुन्छ । क्रोधको स्फूरणबाट तरङ्गित हुन्छ ।
अर्थका हिसाबले परस्पर विपरित कित्तामा उभिएका यी शब्द आजभोलि साक्षात् जुम्ल्याहा जोडी बच्चा जस्तो अभिन्न रुपमा टाँसिएर हाम्रासामु प्रकट भैरहेका छन् । कसरी भन्नु हुन्छ भने जहाँजहाँ गालीको बौछार बर्सिन्छ, त्यहाँ तालीले त्यसको सेवा गर्छ । दूधमा छाली जस्तै गालीमा ताली कँुडेमा तर परेर बस्छ । फूलले माली रुङ्गे जस्तो गालीले तालीको भर परेर बस्छ ।
हुन त ताली असल आदर्शका कुरामा बजाउनु पर्ने हो । तर अचेल आदर्श आप्तवचनमा होइन आमाचकारी गालीमा तालीको ओइरो लाग्छ । शालीन सुसंगत कुरामा होइन विदु्रप बेसुरा वचनमा गड्गडाहट तालीको पहिरो खस्छ । व्यक्ति व्यक्ति वीचको गाली, घरको गाली, गाउँको जाली, सिंगो समाज र देशको गाली, अन्तराष्ट्रिय तहको गाली; गालीमुक्त छैन अहिले विश्व परिवेश ।
गाली कहाँ छैन आज । जाहीँताहीँ गाली नै गाली छ । व्यक्ति व्यक्तिमा छ गाली । घर घरमा छ गाली । गाँउ गाउँमा छ गाली । जिल्ला जिल्लामा छ गाली । प्रदेश प्रदेश प्रदेशमा छ गाली । सिंगो समाजमा छ गाली । देशमै छ गाली । राष्ट्र राष्ट्रका वीचमा छ गाली ।
टाढा किन जाऊँ डोनाल्ड ट्रम्पले पाँडे आमाचकारी गाली गरेरै कमला ह्यारिसलाई चुनावमा हराइदिए र फेरि अमेरिकाको राष्ट्रपति भए । भनिन्छ कमला ह्यारिसले डोनाल्ड ट्रम्पले जति गाली गर्न सकिनन् । त्यसैले चुनाव हारिन् । आजभोलि बिहान बेलुकै भ्लादिमिर पुटिन जेलेनेस्की र युक्रेनलाई गाली गरिरहेका छन् । पुटिनको दाँजोमा विचरो जेलेनेस्की अस्त्रवाण मात्र होइन । वचन वाणमा पनि कमजोर र निरीह बन्दो छ । इजरायलको बेन्जामिन न्यतान्याहु होस् कि हाम्रै गाउँको मानविरे साहु होस् गालीशास्त्रमा महारथ हासिल गरेका व्यक्तिहरु हुन् । चाहे इरानको इब्राहिम रइसी होस् या मसुद पेजस्कियान होस् या उत्तर कोरियाको किम जोङ उन् हुन् या भारतका नरेन्द्रमान मोदी हुन् कि उहिल्यैको सिकन्दर लोदी होस्; गालीशास्त्रका निष्णात डिग्रीधारी मनुवा हुन् यी ।
चिकित्सा शास्त्रका आधुनिक मनोवेत्ताहरु भन्छन्– गाली एक मानसिक चिकित्सा हो । गाली एक थेरापी हो । रेचन हो । विरेचन हो । अहिलेको मान्छेलाई मानसिक रुपमा स्वस्थ बन्न गाली अति आवश्यक छ अरे । यसले मनको अन्तरकुन्तरमा थुप्री बसेका क्रोधकुण्ठा साफ गरिदिन्छ । चित्तमा असिमीत क्रोधकुण्ठा जमेर बसेपछि मान्छे स्वभाविक रुपमा तनावको दलदलमा भास्सिन्छ । त्यो क्रोधकुण्ठा, मनको विषाद भाव गालीको माध्यमबाट बाहिर बगाइदिए पछि ऊ हलुंगो बन्छ । चित्त खाली हुन्छ र मनस्तात्विक रुपले ऊ स्वस्थ बन्छ ।
भनिन्छ मनमा गुम्सिएको गुस्सा धेरै हानिकारक छ । क्रोधले स्वभाविक निकास पाएन भने मान्छे भीमकाय अपराधिक घटना घटाउन पनि उद्दत बन्छ । आवेगमा आएर कसैको हत्या गर्न सक्छ मान्छेले । कम्तीमा गालीबाट भएपनि क्रोधको रेचन गर्न सक्यो भने ऊ हत्यारा बन्ने परिस्थितिबाट जोगिन्छ अरे । धन्य हाम्रा नेतागण जसलाई गालीको औषधिले हत्यारा बन्नबाट रोकिरहेछ । खुङ्खार अपराधी बन्नबाट बचाइरहेछ । कति सत्य हो, कति झुटो हो थाहा छैन ? तर मनोविज्ञानी निर्धक्क बोल्छ– कसैलाई निर्वाध गाली छाद्न दिएपछि कुटपिट, हत्याहिंसा र बलात्कारका घटना कम घट्छन् । यस हिसाबले गाली औधि लाभकारी चिज पो रहेछ । त्यसै रजनिश महोदयले गालीलाई किन ध्यानको अङ्ग बनाउँथे ? उनका अनेकौँ ध्यानविधि मध्ये एउटा डाइनामिक मेडिटेसनको को कामयावी विधि छ । जसमा साधकले १० देखि १५ मिनेट कसैलाई गाली गर्न र घुस्सा हान्नमा आफ्नो इनर्जी प्रयोग गर्दछ । सो समयमा उसले सारा मनका भँडास निकाल्छ । कसैप्रति रिस उठेको थियो, कसैलाई गाली दिन मन थियो तर लोकलाज र भयबाट ग्रसित भएर सो कुरा गर्न नसकी मनमै गुम्स्याएर राखेको थियो । त्यस्तो मनमा थुप्रेको फोहोर फ्याँक्नकै लागि डाइनामिक मेडिटेसनमा गाली गर्न, थुक्न, कसैलाई कुट्न, चिथोर्न, कोपर्न, पन्ध्र मिनेट टाइम दिइन्छ । तर व्यक्तिको इमेज परिकल्पना गरेर प्रायोजित रुपमा रिसको रेचन गर्ने हो । सिधै व्यक्तिलाई कुट्ने पिट्ने कदापि होइन । घरमै कसैप्रति रिस पोख्नु छ भने एकान्त कोठामा तकियालाई घुस्सा मार्न र चित्तमा जमौट भएको क्रोधलाई विसर्जन गर्न सुझाव गर्छन् । यसबाट चित्तका सारा विकारहरु निस्केर जान्छन् र चित्त शुद्ध र हलुंगो बन्दछ ।
गालीले गाल पार्छ भनिन्छ । तर मेरो विचारमा गालीले गाल मात्रै पार्दैन । कहिले काहीँ यसले माल पनि पार्छ । माल पनि झार्छ । यसका केही दृष्टान्तहरु यहाँसामु पेस गरुँ, एउटा रोचक घटना केही वर्ष अघिको कुरा हो । एउटा ठिटो सहरबाट व्याचलर डिग्रीको सर्टिफिकेट हात पारेर गाउँ फर्क्यो । सत्तासीन नेताहरुको द्वारद्वार चाहार्यो । जागिरको लागि अनुनय विनय गर्यो । सबैले आश्वासन मात्र दिए, जागिर दिन सकेनन् । केटो बोलक्कड स्वभावको थियो । अब ऊ शालीन शिष्ट आवाजमा होइन आमाचकारी गालीमा उत्र्यो । ठाउँ ठाउँमा क्रोधाग्नि ओकल्न थाल्यो । ऊ वरिपरि नव अनुयायीको कुँडुलो लाग्न थाल्यो । जहाँ ऊ भाषण गर्छ त्यहाँ मन्त्रीको होशहवास उड्ने गरी गालीको भेल बगाउँछ । जिल्लाकै एक ठूलो नेता मन्त्री थियो । उसको त उछित्तै काढेर आफ्नो जनमत बढाउन थाल्यो । नेतालाई लाग्यो– अर्को चुनावमा यसले मलाई दग्गा गर्छ । यसलाई बेलैमा व्यवस्थापन गरिनँ भने यही मेरो प्रतिस्पर्धी हुन सक्छ । यसलाई छिटै राम्रो जागिरमा हुलिदिनु पर्छ ।
नभन्दै त्यस ठिटोलाई मन्त्रीले राजधानी झिकाएर आफ्नै पिएमा नियुक्ति गर्यो । ६ महिना पछि कुनै संस्थाको आकर्षण अधिकृत पदमा बहाली गरेर जिल्लातिर पठायो । चाहिएको थियो उसलाई जागिर । हात मलेर खुशामद गरुन्जेल उसलाई जागिर मिलेन । तर जब उसले शैली परिवर्तन गर्यो । चाकरीको गीत छोडेर विरोधको गालीमा होम्यो । उसले जागिर पायो । यसैलाई मैले गालीले गालमात्र पार्दैन मालपनि पार्छ भनेको हुँ । गाली पुराण वाचन गरेरै कत्ति मनुवा मालामाल बनेका अन्य उदाहरण पनि छन् । तिनलाई अप्ठ्यारो पर्छ अहिले चर्चा नगरुँ । तर सबै गाली वाचकले माल पार्छन् भन्ने कुरा चैँ सत्य होइन है ।
माल दिनेले पनि सोची विचारी माल झार्दछ । ऊ कहाँ लाटो छ र ? गालीवाजको औकात, अवस्था, योग्यता, शक्ति सामर्थ्य र बलवुता जाँचेर मात्र उसले माल झारीदिन्छ । नत्र सबै गालीवाजहरु धनकुवेर बनिहाल्थे नि ।
एकाथरि मनुवामा अहिले यस्तो भुतसवार भएको छ– जहाँ जहिले जेमा पनि गाली गर्यो भने समस्याको समाधान हुन्छ । गाली वाचनमा निष्णात डिग्री हासिल गरेपछि ठूलो मान्छे भइन्छ भन्ने अनौठो मनोविज्ञानले राज गरेको छ । सामाजिक सन्जालका अनगिन्ति भित्ता पाँडेगालीका अश्लिल दुर्वचनले ढाकिएका छन् । जसलाई जति दुर्वाच्य ओकल्न सक्यो त्यति बहादुर भइने रोगले समातेको छ । अहिले कहाँ छैन गाली ? फेसबुकमा गाली छ । युटुवमा गाली छ । टिकटकमा गाली छ । ट्वीटर र ह्वाट्सएप्मा गाली छ । गुगलमा गाली छ । इन्स्टाग्राम र भाइवरमा गाली छ । टि.भी.मा गालीकै बौछार चल्छ । सकल संचार माध्यमहरु गाली पुराणले लवालव ढाकिएको दृश्य निश्चय नै सुखद आह्लादकारी विषय होइन । किनभने कसैको हृदयबाट निस्केको कुटुकुपित वचन सभ्यताको निशानी होइन । गाली निख्लो बोली मात्र होइन यो त समाजको मुहार हेर्ने दर्पण पनि हो । गालीबाट बुझ्न सकिन्छ कुनै पनि समाजको चैतनिक धरातल । कुनै कुरालाई शीष्ट शालीन सभ्य रुपमा पनि अभिव्यक्त गर्न सकिन्छ, त्यही कुरालाई दुर्भावना र असभ्यताको पाराकाष्टा नाघेर पनि बोल्न सकिन्छ । त्यसैले गालीबाट व्यक्ति र समाजको मुहार मात्र होइन त्यसको मनोविज्ञान पनि चियाउन सकिन्छ । हाम्रो चिन्तन पद्धति र रीतिरिवाज पनि यसैबाट केलाउन सकिन्छ ।
पहिले समाजमा एक धारणा थियो, गालीको भाषा अशिक्षित, पाखे, गँवार र अनपढ मनुवाबाट निस्कने भाषा हो । पठित सभ्यजनले कदापि अश्लिल अशिष्ट भाषा प्रयोग गर्न सक्तैन । तर अहिले यो मान्यता सर्वथा एक सय असी डिग्रीमा उल्टिएको छ । जति नै मान्छे गँवार कोर्काली होस् न उसले सीमा नाघेर आमा चकारी गाली दिन सक्तैन ।
तर अहिलेका कथित बौद्धिक, पठित र शिक्षितको लवज नियाल्ने हो भने उनीहरु भन्दा बढी गालीवाज को होलान् र ? भन्नु पर्ने कुरालाई भद्दा गालीमा पोख्नु भन्दा शिष्ट कलात्मक बान्कीमा पोख्ता कति राम्रो हुन्थ्यो । हुन त कसै गर्दापनि आफ्नो कुरा नसुने पछि आजित भएर गालीवाजले गालीको शरण लिएको हुनुपर्छ । दर्शकले गालीलाई ताली जति पिटून् न नेता थेत्तरो छ । गाली सुन्ने कान बहिरो बनाइ बसेको छ । घोक्रोका नशा जति फुलाई गाली गरेपनि त्यसको सार्थक सुनुवाई भएको दृश्य अहिलेसम्म काहीँ देखिएको छैन ।
फेरि गालीवाज कस्तो छ ? तिललाई पहाड बनाएर बिरोधीको बद्ख्वाई गर्छ । अपितु आफ्नो आङमा चढेको भैँसी कदापि देख्तैन । ताली पिट्ने अन्धभक्तको भीड त्यति नै असहिष्णु छ । आफ्नो दल, पार्टी, संगठन र विचारधाराको वृत्तभित्रको खलपात्र नै होस् ऊ त्यसमा धीरोदात्त नायकत्वका गुण देख्छ । आफू इतरको सत्पात्रै होस्, उसमा खलपात्रको खोट देख्दछ । यस्ता अन्धभक्तका हुलहरुले नेतालाई, राजनीतिलाई विरुपीकरण मात्र होइन विद्रुपीकरण गरिरहेका छन् ।
जेमा पनि जहिले पनि गाली गर्न उत्सुक बन्नु एक मनोरोगै हो कि मनोवेत्तासित सोध्न मन लागेको छ । कसैलाई निन्दारसले यसरी गाँजेको हुन्छ, उसका मुखबाट कसैको पनि प्रशंसामा एक शब्द निस्किँदैन । उसलाई बुद्धदेखि बकासुरसम्म गाली गर्न आउँछ । सत्पात्रहरुको विषयमा एकाध शब्द नै सही बखान–गीत झार्न किमार्थ आउँदैन ।
सत्पात्र र असत् पात्रलाई एउटै डालोमा हाली, गाली बकेपछि न्याय र विवेकका उपासक हामी कहाँ बन्न सक्यौँ र ? हाम्रा आँखाले खलपात्रलाई खलपात्रकै रुपमा देख्नसक्नुपर्छ । सत्पात्रलाई सत्पात्रकै रुपमा देख्न सक्नुपर्छ । अनि मात्र हामी निष्पक्ष र तटस्थ चेतनाले आलोकित व्यक्ति हुन सक्छौँ । तर यस कोटिका मान्छेहरु समाजबाट घट्दै गएको डर लाग्दो दृश्य देख्तै छु । भएका मान्छेहरु पनि मूलधारबाट हटेर किनाराकृत हुँदैछन् । आफ्ना आराध्य देवहरुका मलद्वारमा हरिद्वार देख्ने भीडले जोडजोडसित गालीमा ताली बजार्दो छ । म भने जेन सद्गुरुहरुले पत्ता लगाएको र समर्थन गरेको एक हातको ताली कहाँ छ ? त्यसलाई खोजी रहेछु ।
०००
२०८१/०८/२९
उदयपुर
Subscribe
Login
0 Comments
Oldest






































