पुन्य कार्कीजाली बाठो मूर्दावाद !
जाली बाठाको स्तुतिमा रमाएको समाजमा म छु । जालीबाठाहरू आफ्नो चातुर्यता कसैलाई धुत्न, लुट्न, ठग्न, चोर्नको लागि प्रयोग गरिरहेका छन् । म ती जाली बाठाहरूको चतुर्याइँलाई मूर्दावाद भनिरहेको छु ।

पुण्य कार्की :
म यतिखेर जाली बाठाको बीचमा घेरिएको छु । अर्थात् धेरै खाले जाली बाठाहरूको बीचमा अईंअईं हुनेगरी चेपिएको छु । म मात्र होइन, सिङ्गो समाज र देशै जाली बाठाको चङ्गुलमा फँसेको छ । जालीका दुईटा अर्थ छन्, एउटा प्वालै प्वाल पारेर बनाइएको कुनै चिज वा वस्तु । र अर्को त्यस्तो व्यक्ति जो अरुलाई झूट, पाखण्ड र कपटपूर्ण व्यवहार गरेर अल्मल्याउन वा ठग्न सिपालु हुन्छ । ऊ जालसाँज कलामा प्रवीण हुन्छ । जाल गर्न सिपालु हुन्छ । गफ र धुत्र्याइँमा निष्णात् हुन्छ ।
जाली मान्छेलाई इन्द्रजाली, जालन्धरी र औतारी पुरुष पनि मानिन्छ । स्वर्गका राजा ईन्द्र जाल गर्ने कुरामा माहिर थिए । चाहे गौतम ऋषिकी पत्नी अहिल्यालाई सम्भोग गर्न रचिएको जाल होस् या शुक्राचार्यको तपोभङ्ग गर्न आफ्नी छोरी जयन्तीलाई प्रयोग गरिएको सन्दर्भ होस्; यस्ता अनेकौँ मिथकहरू छन्; जहाँ इन्द्रले ठूलठूला कपट कलाको प्रयोग गरेका छन् । त्यसैले अहिलेपनि जाली कर्म गर्ने मान्छेलाई इन्द्रजाली उपमा दिएका होलान् ।
जाली मान्छे आफ्नो जाली कर्मबाट स्वस्थानी कथाको जालन्धर जस्तो पनि भएको हुनसक्छ । त्यसैले उसलाई उपमा दिँदा जालन्धरी भनिएको होला । जालन्धर कपट कलामा असाध्य सिपालु थियो । ऊ जे को, जस्तो पनि रुपधारण गरेर अरुलाई छक्याउन सक्ने भएकोले एकदिन शिवको रुप धारण गरेर पार्वतीलाई पत्नी बनाउन कैलाश पर्वततिर लाग्यो । पार्वती पनि शिवजी आए भनेर पाउ धुन आइन्, यसरी पार्वतीलाई समेत जालमा पार्न सक्ने जालन्धरको कलालाई जालन्धरी भनिएको होला । जालीबाठाको पर्यायवाची शब्दको रुपमा जालन्धरी पद यसै हिसाबले आएको होला भन्ने मेरो अनुमान छ । किनभने आफूसित भएको बठ्याइँ अरुकी श्रीमती पट्याउन जाल खेल्ने काममा प्रयोग गरेकाले त्यस्ता चरित्रलाई देखाउन यहाँ मैले जालीको पहिलो अर्थ प्रकट नगरेर दोस्रो कोटीका अर्थहरूलाई प्रकट गरिरहेको छु ।
अनि बाठोको शाब्दिक अर्थचाहिँ चलाख चङ्ख, चतुर भन्ने बुझिन्छ । बाठो शब्दलाई धूर्त तथा पटुको रुपमा पनि बुझ्ने गरिन्छ । यसलाई अझ व्यापक आयाममा हेर्दा राम्ररी बोल्न र व्यवहार गर्न सिपालु व्यक्तिको रुपमा हेरिन्छ । त्यसैले बाठोको अर्थ अनुसार बाठो हुनु कदापि नराम्रो चिज होइन, लाटो हुनु, हुस्सु हुनु भन्दा बाठो हुनु हज्जारौँ गुना राम्रो हो । हाम्रोजस्तो बहुसङ्ख्यक जनता अनपढ र निरक्षर रहेको अवस्थामा सबै मानिस बाठा हुनुपर्छ । सबै चङ्ख, चतुर र सचेत हुनुपर्छ । यस कुरामा त दुईमत हुनसक्तैन । तर बाठो हुनुको अर्थ जालीबाठो हुनुपर्छ भन्ने होइन । बाठो हुनुपर्छ, जसले लोकहीतलाई बल पुगोस् । बाठो हुनुपर्छ जसले समाजलाई कुनै न कुनै क्षेत्रमा अग्रगति देओस् । तर अहिले सही सत्य कामको लागि बाठो हुने भन्दा पनि गलत र असत्य कामको लागि बाठो बन्ने प्रवृत्ति बढेको छ । अर्काको लागि बाठो बन्ने भन्दा पनि आफ्नो निजी स्वार्थको लागि मात्र बाठो बन्ने लहर आएको छ ।
आफ्नो बठ्याइँलाई, आफ्नो चलाखीपनलाई, आफ्नो चातुर्यतालाई समाज बिगार्न, संस्कृति बिगार्न, शैक्षिक क्षेत्र बिगार्न, राजनीति बिगार्न अर्थतन्त्र बिगार्न, प्रशासन बिगार्न र देश बिगार्न प्रयोग गर्ने महानुभावहरूलाई मैले एकमुष्टरुपमा जाली बाठाहरूको तहमा राखेको छु । बाठो हुनु आसाध्यै राम्रो कुरा हो, फेरि जाली बाठो हुनु भनेको त्यति नै नराम्रो कुरा पनि हो । आफ्नो लागि, समुदाय र राष्ट्रको लागि आवश्यक बाठो हुनैपर्छ । जब आवश्यकता भन्दा बढी बाठो भएर समाज र देशलाई बिगार्ने काममा आफ्नो चतुरता प्रयोग गर्न थाल्छ । आफूसँग भएको चलाखीपन आफू मोटिने र अरुलाई खोक्र्याउने दिशा तर्फ जब उद्दत हुन्छ । तब उसले केही न केही जालझेल गर्नै पर्छ । जब आफ्नो चलाखीलाई जालझेल, तिगडम र षडयन्त्रमा प्रयोग गर्न थाल्छ, तब त्यो व्यक्ति शुद्ध बाठो, इमानी बाठो रहँदैन । ऊ बेइमान बाठो बन्न थाल्छ । जाली बाठो हुन थाल्छ ।
इमानी बाठाले त सधैँ सधैँ मुटुमा माटो बोकेर, निष्कलङ्क भावना बोकेर आफ्नो चातुर्यताको प्रयोग गर्छन् । त्यस्ता इमानी बाठाहरूको बठ्याइँलाई मुरीमुरी प्रशंसा गरेर पनि म कहिल्यै थाक्तिन । त्यस्ता बाठाहरूको सङ्ख्या दिनप्रतिदिन थप्दै जानुपर्छ देशमा । तर आफ्नो वुद्धि र बर्कतलाई जालीकर्ममा प्रयोग गर्ने जाली बाठाहरूको जति भत्सर्ना गरेपनि अधुरै हुन्छ ।
मेरो समाजको आम मनोविज्ञानले जाली बाठाहरूको प्रशंसामा गीत गाएको देख्ता म घायल बन्छु । कसैले घुस खाएर ठूलो घर बनायो । कसैले राष्ट्रको राजस्व हिनामिना गरेर धेरै धनदौलत जोड्यो, कोही अरुलाई ठगेर करोडपति भयो भने त्यस्तो मान्छेको खुब अर्चना हुन्छ । त्यसको आरती उतार्दै अरुलाई उदाहरण दिइन्छ – “जागिरे हुनु त त्यस्तो पो हुनु त, एकै वर्षका चारचारवटा घर किनिसक्यो । फलानाले पच्चीस वर्षदेखि जागिर खाको कुकुरकै … जाओस् । बाउले बनाइदिएको टिनको छाप्रे घर फेर्न सकेको होइन ।” घुस नखाई इमानी भएर नकमाउने राष्ट्रसेवक अपमानित हुन्छ । घुस्याहा जाली बाठो कर्मचारी सम्मानित हुन्छ । कलिला नानीहरूलाई प्रेरित गर्ने उपमा बन्छ । यसरी जाली बाठाहरूका कर्महरूको प्रशंसा किन गर्छन् हँ मान्छेहरू ?
यसैगरी राजनीतिमा लागेर छिट्टै भौतिक प्रगति गर्ने मान्छेलाई औँल्याउँदै कसैले भन्छ – “फलानो गाडी चढ्ने भइसक्यो । काठमाडौंमा कति तले महल बनाइसक्यो । उसको कस्ता कस्ता ठूलाबडासित सम्पर्क छ । चिलानो चाहिँ थोत्रो झोला बोकेर राजनीतिमा लागेको यत्तिका वर्ष भयो । फुस्राको फुस्रै । फिता फेरेका चट्टी टेकेर हिँड्छ । पाँचवर्षसम्म एउटै सर्ट लगाएको लगाएै छ …” यसरी जाली बाठो नेताको गीता गाइन्छ । इमानी नेता उपहास र खिसीको पात्र बन्छ ।
जाली बाठाको प्रशंसामा गीत गाउने समाजको रुग्ण मनोविज्ञान मैले बुझ्न सकेको छैन । जालीबाठाहरू आफ्नो दुनो सोझ्याउन अरुको टपरो घोप्ट्याउँछन् भन्ने कुरा कसले नबुझेको हो र ! जाली बाठाहरू आफ्नो ओठमा लाली घस्न अरुको गला काटेर रगत झिक्छन् भन्ने कुरा कसले नथापाएको छ र ! जालीबाठाहरू आफ्ना तली रङ्ग्याउन नेपाल आमाको ओठको लाली खुर्किन्छन् भन्ने कुरा कसले बिर्सेको छ र !
देशको चौतर्फी क्षेत्रमा थरिथरीका जालीबाठाहरूको रजाइँ छ । राजनीतिमा जाली बाठाहरू हावी छन् । महाकाली सन्धिबाट एक खरब बीस अरबको नाफा हन्छ भन्ने जाली बाठाहरू छन् । नेपालको बिजुली सेट्लाइटबाट चीन निर्यात गर्ने जाली बाठाहरू छन् । जाली बाठाहरू तिलस्मी जादूको कुरा गर्छन् । मुखबाट अनन्त चमत्कार गर्ने एकसे एक जाली बातहरू यहाँको राजनीतिमा टम्म छन् । यहाँको राजनीतिमात्र होइन कुट्नीतिदेखि अर्थतन्त्र, समाजतन्त्र, प्रशासनतन्त्र, कर्मचारीतन्त्र सबै सबै क्षेत्रमा जालीबाठाहरूको चकचकी छ । हुँदा हुँदा अब त कला, साहित्य संस्कृतिको फाँटमा पनि जालीबाठाहरूकै हालीमुहाली चलेको देखिन्छ ।
एउटा घरमा तीनभाइ छोरा छन् । एउटा छोरो थोरै पढेको छ । सानैदेखि खेतीपातीमा लागेको छ । ऊ बिहानदेखि बेलुकासम्म जनावर र जमिनको सेवा-चाकरमा जुट्छ । ऊ धैलोमैलो झुत्रे झाम्रे भएर हिँड्छ । उसको कुनै मान सम्मान छैन । उसको घरमा पनि कुनै इज्जत छैन । अर्को छोरो मास्टरी गर्छ इमानका साथ चकडस्टर घोटेर आनासुकी जम्मा गर्छ । आफ्ना छोराछोरीको मुखमा माड जुटाउँछ । जीवनमा गतिलो घर उभ्याउन सकेको छैनन् । धेरैले उसको पढाइ र पेशालाई धिक्कार्छन् ।
अर्को छोरो सानैदेखि चतुर भएर निस्क्यो । लोकसेवा आयोगबाट गा.वि.स. सचिवमा नाम निकाल्यो । काम पट्याउन औधी सिपालु छ । छ महिनामै भन्सारमा खरिदार भएर गयो । दुवैवर्षमा घरघरेडी, गाडी, सबै किनिसक्यो । त्यसघरका बाउआमा पनि उसैसित खुशी छन् । रातदिन उसकै बन्दना गाउँछन् । छरछिमेकी आफन्तहरूपनि उसकै स्तुति गाउँछन् । खेती गर्ने र मास्टरी गर्ने छोरालाई सबैले गिज्याउँछन्, हिनाम बोल्छन् ।
यसरी जाली बाठाको स्तुतिमा रमाएको समाजमा म छु । जालीबाठाहरू आफ्नो चातुर्यता कसैलाई धुत्न, लुट्न, ठग्न, चोर्नको लागि प्रयोग गरिरहेका छन् । म ती जाली बाठाहरूको चतुर्याइँलाई मूर्दावाद भनिरहेको छु । तपाईंपनि मेरो स्वरमा स्वर मिलाउन तयार हुनुहुन्छ ? हुनुहुन्छ भने आउनुस् -हामी बेस्सरी चिच्याऔँ, जाली बाठाहरूका कानमा पर्ने गरी भनौँ -जालीबाठा मूर्दावाद !!
०००
उदयपुर








































अति मीठो यथार्थ मुक्का सर ।