साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरका चर्तिकला

तालतालका चोरहरूले उत्पात बिगबिगी मच्चाएको संगीन समयमा आमा–नेपालको ओठको लाली चोरेर आफ्ना स्वास्नी र सालीका ओठ रङ्ग्याउने चोरहरूका गाला पड्काउनु पर्छ । देशको छानो भत्काएर आफ्‌नो पाली गाँस्ने चोरका गाला चड्काउनुपर्छ ।

Nepal Telecom ad

पुन्य कार्की :

मेरा बाजेले हामीलाई अर्ति–उपदेश गर्न हामी बालख छँदा प्रयोग गर्ने उखानको अहिले खुब याद आउँछ– कसलाई केको धन्दा ! कसलाई केको धन्दा !! घरज्वाईंलाई खानकै धन्दा !! केटाकेटीमा सायद हामी हन्तकाले थियौँ क्यार । पढाइ र काममा भन्दा खानकै सुर्ता बढी गरिन्थ्यो क्यार । त्यसैले कुन सन्दर्भमा कहाँ प्रयोग गर्नुपर्ने उखान, हाम्रो सन्दर्भमा जोडेर हामीलाई खसालेको कुरा उचित थियो या अनुचित ? ठिकठिक रुपमा एकिन गर्न सकिराखेको छुइनँ ।

यो उखानले विचरा ! घरज्वाईं बसेका मनुवा उपर घातक हमला बोलेको छ । मेरो विचारमा कुनै घरज्वाईंहरू बिरोधी उखानेले घरज्वाईंहरूहरूको मानमर्दन गर्नलाई यो उखान कथेको हुनुपर्छ । घरज्वाईंहरूको नूर गिराउन र उनीहरूको इज्जत इमानलाई तेजोबध गर्न यो उखानको रचना भएको हुनुपर्छ ।

फेरि सबै घरज्वाईंहरू खानकै भकारी हुन्छन् त ? हुन्नन् नि । आदिम कालमा कोही एउटा थियो होला– हरबखत खान के सुर–चिन्ता गर्ने हन्तकाले घरज्वाईं । एउटा बिराउने शाखा पिराउने भने जस्तो त्यसलाई सामान्यीकरण गरेर तमाम खानका काल नहुने घरज्वाईंहरूलाई किन प्रहारको निशाना बनाइन्छ ? त्यो कुरा मैले बुझ्न सकेको छुइनँ ।

सबै घरज्वाईंहरू खाइदेऊ पाराका खानकै भकारी हुन्छन् भन्ने के प्रमाण छ र ? फेरि कोही रहरले घरज्वाईं बसेको हुन्न । हाम्रो जस्तो पितृसत्तात्मक पारिवारिक संरचनामा म घरज्वाईं नै बस्छु भनेर इच्छा जाहेर गर्दा पनि त्यति सजिलै ससुरालीमा आश्रय मिलिहाल्दैन । रहरले भन्दा पनि कोही बाध्यताले घरज्वाईं बसेका होलान् । कोही परिबन्द र आवश्यकताले घरज्वाईं बसेका होलान् । ससुरालीमा आशन जमाएका त्यस्ता ज्वाईंउपर यस उखानले साह्रो अन्यायमा पारेको छ ।

यस उखानलाई सापटी लिएर आज म चोरेको चर्चा गर्न गैरहेको छु । कसलाई के को धन्दा ? कसलाई के को धन्दा ? चोर–बुद्धिको मान्छेलाई चोर्नकै धन्दा भने झैँ जेन्जी आन्दोलनमा आन्दोलनकारीको भेषमा खाल–खालका चोरहरू पैदा भए । बर्दी चोरदेखि हर्दी चोरसम्मका चोरी–बन्दना उतार्न कलम चोबिरहेछु । एकैछिनमा झिलिक्क बिजुली चम्केजस्तो उठेको जेन–जी बिद्रोहेले के गरेन ? यसले सिंहदरबारदेखि शितल निवाससम्म आगो झोस्यो । संसद भवनदेखि सर्बोच्च अदालतसम्मलाई खरानी बनायो । अख्तियारदेखि सत्ताका मुख्तियारसम्मका करोड–करोड मूल्यका कोटेरीहरूलाई छिनभरमा भष्मिभूत पारिदियो । भलै यो काम असली जेन–जीले कदापि गरेन, जेन–जी नाममा घुसेको अर्कै नक्कली भष्मासुर तत्वले यो सब ताण्डव लिला रच्यो भनिन्छ । नेपथ्यमा यो बिनाशको सूत्रधार को थियो ? सत्यतथ्य कुरा छानविन समितिले अवस्य बाहिर ल्याउला ।

जे होस् नेपालमा आफ्नै घर बालेर खरानीको दोकान ताप्ने मान्छेको दुःख कहिल्यै भएन । आफ्नै शास्त्र र सम्पदा पोलेर जश्न मनाउने जवानको दुःख कहिल्यै भएन । आफ्नै अक्षर र इतिहास डढाएर आगोको जयगान गाउने मान्छेको दुःख कहिल्यै भएन । आफ्‌नै अभिलेख र दस्ताबेज नामेट पारेर ध्वंशको गीत रच्ने मान्छेको दुःख कहिल्यै भएन ।

यसैमा एउटा सानो कथा जोडी हालूँ, एकादेशमा एउटा अति ईर्ष्यालु मान्छे थियो अरे । ऊ ईर्ष्यालु मात्र होइन स्वार्थी, घमन्डी र मूर्ख पनि थियो । उसले मानव जगत्‌का जो कोही स्त्री–पुरुषसित त ईर्ष्याभाव राख्थ्यो राख्थ्यो, त्यस बाहेकका मानवेतर पशुप्राणी, चराचुरुङ्गी समेतलाई देखी सहन्नथ्यो । चौपाया र किट–पतङ्गसम्मलाई रिसिवी साधना गरिहिँड्थ्यो ।

एकदिनको कुरा हो, उसको आलिशान महलमा एकजोडी गौँथलीले माटोको गुँड लगाई बच्चा कोरले । आफ्नो घरको दलिनमा गौँथलीको गुँड देखेर रिसले धुवाँधुवाँ बन्यो, अझ बचेरालाई गौँथलीले चारो खुवाएको दृश्य देखेपछि ऊ क्रोधमा आयो ।

“ए ! तँ नाथे गौँथलीले मेरो घरमा रजाईं गर्ने ?” मैले करोडौं मूल्य खर्च गरेर बनाएको महलमा तेरो फुर्तीफार्ती गौँथलीको रिसले आफ्‌नै महलमा आगो झोस्यो । हेर्दाहेर्दै गौँथलीको गुँड पनि जल्यो । उसको भव्य हवेली पनि खरानी भयो ।

घर खरानी बनाएपछि तानपुरा बजाएर आँगनमा नाँच्न थाल्यो । “खुच्चिङ !! गौँथली खुच्चिङ !! अब भरेदेखि बस्लास् चैन गरेर महलमा । राति सुत्लास् आरामका साथ आफ्नो गुँडमा !!” ऊ खुब रमायो । तर, रात परेपछि दृश्य यस्तो देखियो– गौँथलीसँग पखेटा छँदै थिए । भुर्र उडेर अर्को घरको छानोमुनि आश्रय लियो । बिजोग त आफ्नो पो भयो । उसको त टाउको लुकाउने ओतसमेत बाँकी थिएन । आफ्नै मूर्ख हातले घरमा आगो झोसेको थियो । अघिसम्म त तानपुरा बजाएर खुशीले नाँच्तैथ्यो । आकाशबाट सारा अँध्यारो एकैचोटि घोप्टेर आइसकेपछि क्वाँ क्वाँ डाँको छोडेर रुन थाल्यो । तर, समय बितिसकेको थियो ।

आफ्नै बुद्धिले आफ्नो महलमा आगो झोसेको कुराले पश्चात्तापको पञ्चाग्निमा डढ्न थाल्यो । तर, ऊसित अब पछुताउनुको विकल्प बाहेक अन्य विकल्प केही पनि बाँकी थिएनन् । किनभने मूर्ख बुद्धिको कारण आफ्नो सम्पदा आफैँले खरानी पारिसकेको थियो ।

हैट ! फेरि म बहकिएर कता पो पुगिसकेछु । थालेको थिएँ चोरको बखान गाउन । तर, खरानीको कथा रच्चतिर लागेछु । खैर ! केही छैन । यो पालिको तोडफोड, आगजनी र चोरीचकारी असली जेन–जीले गरे कि ! जेन–जीको कालो नकाव भिरेर आएका बूढा, अधवैँशे तन्नेरीहरूले गरे त्यो शोधकै विषय छ । हरेक आन्दोलनको आँधीमा धुलो, मैलो, फोहोर कसिङ्गर पनि साथसाथै उडेर आउँछ । हरेक विद्रोहको बेहेरीमा बदमासहरूको हुलले पनि प्रशस्त फाइदा लुट्छन् । आफ्नो निहित स्वार्थ सिद्धि गर्छन् । यो नेपालमा मात्र होइन, विश्वव्यापी क्रान्तिको चक्रवातमा देखिएका घटना परिघटना हुन् । धमिलो पानीमा माछा मार्न पल्किएका मछुवाराहरू यस्तै ताकको पर्खाइमा हुन्छन् । यस्तै धमिलो समय कुरेर बसेका हुन्छन् । र, मौका मिल्नासाथ लुकाएर बोकेको माछीजाल बिच्छ्याई हाल्छन् । ठूला नभेटे पनि केही बुदुनाहरू जालमा पारिहाल्छन् ।

चोरी–डकैतीको कुरा गर्दा डाँकाले हाक्काहाक्की हातहतियार देखाएर घरमूलीलाई आक्रमण या कब्जामा लिएर मालसमान लुट्छ । धनदौलत आफ्नो कब्जामा पार्छ । तर, चोरले भने नदेखिने गरी लुकीछिपी लुसुक्क आएर सरक्क धनमाल रुपैयाँ पैसा उठाएर हिँड्छ । त्यसैले कानुनले पनि चोरी डकैतीलाई अलग अलग रूपमा परिभाषित गरेको छ । चोरले भर्सक काम फत्य गर्न रात्रिकालीन समय चयन गर्दछ । तर, यो पालि खासगरी शहरका चोरहरू दिउँसै बजारमा देखा परे । जेन–जी आन्दोलनको तातो मौकालाई चौका दाउमा परिणत गर्न उनीहरू दिलोज्यान दिएर लागे ।

अहिले पनि सामाजिक सञ्जालमा किसिम किसिमका चोरका चर्तिकलाहरू लोड अपलोड भैरहेका छन् । ठूलाठूला व्यापारिक प्रतिष्ठान, भाटभटेनी लगायतका सुपरमार्केटहरूमा घुसेर लुटपाट गर्ने चोर लुटेराको जमात हेर्दा एउटा सफेदपोश भलादमी भित्र कति भीमकाय स्वरूपको लुटेरा विराजमान रहेछ, थाहा लाग्छ । चोरका चर्तिकला रिल, टिकटक र यूट्यूबमा भाइरल भैरहेको दृश्य हेर्दा स्वयम् चोर चकित बन्छ कि लज्जित बन्छ होला, मेरो मनमा अनौठो खुल्दुली उठिरहेको छ ।

दिनदहाडै प्रहरी चौकी, बिट र थानामा घुसेर सुरक्षाकर्मीका बन्दुक, गोली, लुगाकपडा चोर्ने महा हराम बर्दीचोर पनि देखिए । उनीहरूका मेस र भान्साबाट बेसारका बट्टासम्म नछाड्ने हर्दी चोर पनि देखिए । त्यो बेसार जसलाई बजारमा किन्दा पनि बीस पचास रुपैयाँमा किन्न सकिन्छ । चोर पनि कस्ता नादान चोरहरू जन्मिए यो देशमा । जात फाल्नु गुन्द्रुकको झोलमा भन्ने एउटा उखान छ । हर्दी चोरले यो उखान चारितार्थ पारेको छ यसपालि । अझ हर्दी चोरले त चोरेकै जात फालेको हो कि शंकै लागेर आउँछ ।

हुन त यस्ता चोर जन्माउने सामाजिक, आर्थिक, राजनीतिक पृष्ठभूमी कसले तयार पार्‍यो ? मान्छे चोरीधन्दाको यत्ति निकृष्ट धरातलमा किन उत्र्यो ? र उसलाई चोर बनाउने पृष्ठभूमि कसरी रचना भयो ? त्यसको जरो कारण खोतल्न सकेनौं र त्यसको स्थायी निराकरण खोजिएन भने अझ विभत्स स्वरूपको चोरी नागरिक जनले फेरि बेहोर्नु पर्नेछ । हुन त महाकवि देवकोटाको कोट संसदबाटै चोरी भएको देश हो यो । त्यसै परम्पराको विरासतमा चोरहरू नित्य निरन्तर जन्मिरहेका छन् ।

चोरहरूका अनेकन् चर्तिकला हेर्दैजादा नानीले खेलाउने गुडिया चोरदेखि गुट्का खैनीका पुरिया चोरसम्म देखिए । कतै मूर्ती चोर देखिए त कतै सूर्ती चोर भेटिए । कतै नुन चोरको व्याप्ति त कतै सुन चोर छ्याप्छ्याप्ती भेटिए । भाला चोरदेखि माला चोरसम्म, नाला चोरदेखि ताला चोरसम्म किसिम किसिमका चोर अनुहारको व्याप्तिले जनमनमा दिँगमिँग जागेको छ ।

एउटाले छाता चोरिरहेको छ, अर्कोले गाता चोरिरहेको छ । एउटा हाँडी चोरेर भागेको छ, अर्को गाडी चोरेर तूफान हुँइकिएको छ । कुनै लाछा चोरेर लसुक्क कुनामा लुकेको छ, कुनै माछा चोरेर टाप ठोकेको छ । झोला चोरदेखि चोला चोरसम्म, अण्डा चोरदेखि झण्डा चोरसम्मका दृश्यले चोर्नको लागि गोर्खे मनुवा कति आतुर रहेछ ! सहजै अनुमान गर्न सकिन्छ ।

गतवर्षको बङ्गलादेशी विद्रोहमा केही बङ्गाली चोरहरूले प्रधानमन्त्री शेख हसिना वाजेद निवासभित्र छिरेर छातीमा लाउने ब्रादेखि बाख्राका पाठासम्म चोरे । कोठेबारीको सागदेखि सारीसम्म, फूलदेखि झुलसम्म, पङ्खादेखि ट्याङ्कासम्म चोरेको देखियो । कुखुरा हाँसदेखि हँसुलीसम्म, चोलीदेखि चुनरीसम्म, पेन्टीदेखि पेटीकोटसम्म चोरेको देखियो । नेपाली चोरहरूले पनि बङ्गाली चोरसितै मितेरी साइनो गाँसेर तिनबाटै हुबहु चोरीकला सिकेको आभास भयो । नेपालको चोरीबजारमा बंगलादेशको जस्तो बाख्रा चोर नदेखिए पनि काँक्रा चोरहरू प्रशस्त देखिए । मैन चोर देखि वाइन चोरसम्म देखिए । पुनिउ चोरदेखि गुनिउ चोरसम्म भेटिए ।

चोरीचकारीलाई आफ्नो जीविकोपार्जनको धन्दा बनाई आएका चोरहरू उपर खासै केही भन्नु छैन । उनीहरूको त कामै चोर्ने हो । सहज स्थिति होस् या असहज चोरी कर्ममै उनीहरूले आफ्नो जीवन अर्पित गरेका हुन्छन् । यस्तो आन्दोलन, तोडफोड र लुटपाटको सिजनमा आफ्नो इरादा पुरा गर्ने योजनामै रहन्छन् । उनीहरूले मौकामा चौका हान्नु अन्यथा हुँदै होइन । तर, यो पालीको चोरीचकारी काण्डमा सफेदपोश भलादमी पनि चोरीकर्ममा संलग्न भएको दोखियो । बाहिर बाहिर अचौर्य र अस्तेयको ब्रत बसेर भित्रभित्र चोरी कर्ममा साक्षात् संलग्न भएको दृश्य पनि देखियो ।

आलु, भाण्टा, स्याउ, सुन्तला र जीरामरिचका चोरभन्दा गुप्ती भेषमा चोर्ने र चोर्न उक्साउने यस्ता चोरहरू राष्ट्रका निम्ति खतर्नाक चोर हुन् । यस्ता राष्ट्रिय चोर समात्ने र ठिङ्गुरो बनाउन पुलिसले एकदिन पनि ढिलाई गर्नुहुन्न । चोरहरूकाे पहिचानका लागि अहिले पनि भिडियो फुटेजहरू, सामाजिक सन्जालमा सुरक्षित छन् । चोरका अनुहार टिकटकमा टकटकी हेर्न मिल्ने गरी आएका छन् । युट्यूब र रिलमा सामग्री रेकर्डेड छ ।

सुरक्षा संयन्त्रले चनाखो भई अनुसन्धान गर्ने हो भने जति नै तरेलीका चोर पनि ठूलो स्वर नगरिकन कारवाहीको दायरामा आउने कुरा निश्चित छ । देखिने स्वरुपको चोरले भन्दा यो देशलाई अरुप, अनाम र छद्ममेषी चोरले अनादि कालदेखि दुःख दिइरहेको छ । जेन–जी विद्रोहले ती चोरहरूको पहिचानको पनि ढोका खोलिदिएको छ, यो सुखद पक्ष हो । अब सुखद चिजमा टेकेर दुःखद स्थितिको अन्त्य गर्नुपर्छ । तालतालका चोरहरूले उत्पात बिगबिगी मच्चाएको संगीन समयमा आमा–नेपालको ओठको लाली चोरेर आफ्ना स्वास्नी र सालीका ओठ रङ्ग्याउने चोरहरूका गाला पड्काउनु पर्छ । देशको छानो भत्काएर आफ्‌नो पाली गाँस्ने चोरका गाला चड्काउनुपर्छ । जय चोर महात्म्य !!

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सञ्जालको जञ्जाल

सञ्जालको जञ्जाल

पुन्य कार्की
गालीलाई ताली

गालीलाई ताली

पुन्य कार्की
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x