रुद्र ज्ञवालीखित्का छोड्दछ कालले
अर्काको मुख ताकेर राष्ट्र निर्माण हुन्छ र ? बन्दैन देश चर्काई हिँसा विध्वंसका स्वर कसरी बन्छ हँ राष्ट्र सत्तोसराप मात्रले देखेर ननिको चाल खित्का छोड्दछ कालले ।

रूद्र ज्ञवाली :
फाटेको बिट टोपीको थोत्रो चप्पल पाउमा
कसेर पटुका बाबु जोतिने गर्छ काममा
टाई हल्लाउँदै छोरा छोरी बोर्डिङ् धाउँछन्
भने जस्तो नहोस् मात्रै ठुस्स मुख फुलाउँछन्
यन्त्रझैँ जोतिनुपर्ने आमाका गर्नु के कुरा
मजेत्रो शिरमा जीर्ण गुन्यु उस्तै चिराचिरा
हाली इज्जतमा टालो बाँच्दछिन कष्टमा तर
अर्धनग्न बनी छोरी पुग्दछे ब्युटीपार्लर
लुट्छन् सन्तानले एक मुठी सास रहे तक
पैसा फल्छ उता भन्दै गर्छन् विदेशकै रट
बखेडा गर्दछन् घुर्की लाउँछन् कति हो कति
लाग्छन् मुग्लानको बाटो राखेर घर बन्धकी
के हो कर्तव्य बुझ्दैनन् मात्रै जनाउँछन् हक
भाँच्दैनन् कामले सिन्को अल्छी ऐयास लम्पट
सुर्ता छैन कसैलाई घरको सुख्ख दुख्खमा
कि हुन्छन् फोनमा मस्त कि व्यस्त फेसबूकमा
रित्ता छन् टोल या बस्ती रित्तै छन् गोठ या घर
बाँझै छन् उर्वरा खेत बारी सुर्काहरू तर
धर्तीले पसिना माग्दा फर्काई पिठ भाग्दछन्
छैन नेपालमा केही भन्दै विग्रह खोक्दछन्
न वास्ता घरमा जुट्छ कसरी भातको सिता
भन्छन् युरोप यस्तो छ अष्ट्रेलिया अमेरिका
आफूले नगरूँ केही तथापि देश सप्रियोस्
थापी मात्र रहौँ झोली कोही आएर भर्दिओस्
अर्काको मुख ताकेर राष्ट्र निर्माण हुन्छ र ?
बन्दैन देश चर्काई हिँसा विध्वंसका स्वर
कसरी बन्छ हँ राष्ट्र सत्तोसराप मात्रले
देखेर ननिको चाल खित्का छोड्दछ कालले ।
०००
रूपन्देही
Subscribe
Login
0 Comments
Oldest







































