साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचाराय नमः

अब भने प्रतिवेदन लेखाइले अवरोधको सामना गर्नु परेन । निर्वाध अघि बढ्यो कलम । स्तुतिजन्य प्रस्तुतिबाट विकासका अग्रदूत मानिएका महामहिम राजदूत पनि वशीभूत भए । त्यसपछि नेताहरूको मुखारवृन्दबाट धन्यवादको मधुरवाणी निस्किए ।

Nepal Telecom ad

श्यामबहादुर लामा :

प्रजातन्त्रको न्यानो छहारीमा मन्दमन्द राप हुन्छ । न पीर हन्छ न तापहुन्छ । चयनको सास फेरुला भनेको त भ्रष्टाचारीले देश खोक्रो पारेको देख्दा हौसिएको हौसलाहरू त्यसै ओइलायो । त्यसपछि भाँच्चिएर भद्यालिएको मन सद्यालिएन । वित्तमा असमानता बढ्दै गएको देखेर चित्तमा चोट पुग्यो । सबै रोगको औषधि पाइन्छ चित्त दुखेको औषधि पाइएन । एकातिर भाइरस विनाको महामारी फैलिरहेछ अर्कोतिर भ्रष्टाचारी विनाको अनौठो भ्रष्टाचार मौलाउँदै गइरहेछ हाम्रो देशमा । यस्तो राष्ट्रघाती रोगलाई अन्यत्र कतै पनि अनौठो मानिदैन । यहाँ मात्र किन अनौठो भनियो त्यसको विशेष कारण छ ।

पोखरीको लेउमा माछा लुकेको देखिन्छ । कलेजीको छेउमा माया लुकेको देखिदैन । सुक्ष्म ढङ्गले लुक्छ माया । त्योभन्दा पनि सुक्ष्म भएर भ्रष्टाचारीहरू लुक्छन् । त्यसैले अनौठो भनिएको हो । भ्रष्टाचारी लुक्ने ठाउँ अहिलेसम्म अख्तियारलाई पनि राम्रो जानकारी छैन । कतैकतै मन्त्रीको मानमा देखिन्छ हाकिमको शानमा देखिन्छ । पत्याउँदै नपत्याउने फाँटवालाको थोत्रो कोटको कठालोमा मयल टल्केको देखिन्छ । भ्रष्टाचारको महारोग सल्केको देखिदैन । देख्नैपर्ने निकायको आँखा फुटेको देख्ने देश लुटेको नदेख्ने मेरो आँखा पनि फुटेकै हो त ?

मुलुकमा अदृश्य भ्रष्टाचारीको यति बलियो पकड रह्यो कि प्रजातन्त्रमा विकासको भल फुट्ला भनेको त भ्रष्टाचारको ढल पो फुट्यो । दुर्गन्ध फैलिएर बसिसक्नु छैन । ढलको निकास र देशको विकास गरुँ भन्ने छैन । यस्ता मोराहरू पनि नेपाली बाउकै छोरा होलान् त ? सडकमा त यसै गन्हायो उसै गन्हायो मन्त्रालय पनि मुत्रालयजस्तै गन्हाउँछ । मेरो त नाकै उस्तो हो कि त्यही ढल फुट्‌नाले कैयौं भाग्यमानीहरू पुङमाङबाट करोडौंका मालिक बनिसके । मृत्युपछि धनपति मालिकको सालिक सार्वजनिक जग्गामा निर्माण होला । नमरी बाँचे कालले साँचे प्रजातन्त्रका कैडाहरू रातारात गैंडाझै फलेको पनि देख्न पाइएला । भ्रष्टाचारी देख्न चाहिं मुस्किल पर्यो । झल्लझल्ल झल्किने प्रकाशमा बल्लबल्ल एउटा ‘भ’ फेला परेको छ । त्यो पनि भ्रष्टाचारीको ‘भ’ हो कि भरियाको ‘भ’ हो स्पष्ट छैन । अन्धोसन्धानले भ्रष्टाचारीकै ‘भ’ हो भन्ने झीनोखालको चिनो फेलापन्यो । खास भ्रष्टाचारी फेला परेको छैन । भ्रष्टाचारीको खोजी गर्नेको गोजी नभरेसम्म अनुसन्धान जारी रहन्छ ।

देशबाट भ्रष्टाचार निर्मूल पार्ने अभियानमा जिम्मेवार व्यक्ति सकारात्मक भैदिए अवश्य सफल होइन्छ भन्ने विश्वासका साथ स्थलगत निरीक्षण भ्रमण पनि भए । ठाउँठाउँमा स्थानीय भद्रभलाद्मीहरूसित प्रत्यक्ष सम्पर्क गरेर सुझाव सङ्कलन कार्यक्रमको अभियान पनि चल्यो । लोकसेवाले छानेका र आफन्तले तानेका राष्ट्रसेवकहरूबाट बढी भ्रष्टाचार भएको जनगुनासो आयो । भ्रष्टाचार भएको छ । भ्रष्टाचारी चाहिँ छैन । हत्या गरेर जमिनमुनि दवाइएको लास भेटिएला सतहमा चुरीफुरी गर्ने भ्रष्टाचारी भेटिएन । आँठले भेटाउने कठिका छोराले पढेपछि त बाठा हुँदारहेछन् गाँठ । भ्रष्टाचार जस्तो छानविन कार्य त खानपिनमै सीमित रह्यो । प्रतिवेदन नै तयार हुन सकेन ।

प्रतिवेदन तयार पार्ने काम मुखले भनेजस्तो सजिलो छैन । हवल्दारनी भाउजूलाई चाउरेप्रीति दर्शाएर लाउरे प्रेमपत्र लेखेजस्तो सहज हुँदो रहेनछ । मैले अनुभव गरें, कानुनी प्रक्रिया पुऱ्याउने सिलसिलामा शङ्कास्पद ठाउँहरूको निरीक्षण गर्दा न मन्त्रीको तोक आदेशमा भेटिन्छ न मन्त्रालयको टिप्पणीमा देखिन्छ । सङ्घसंस्थाको ढोकैपिच्छे चहार्दा पनि पत्ता लागेन । सत्ताको जलप लागेपछि त भ्रष्टाचारीहरू पनि अलप हुँदारहेछन् । कहाँ खोजी गर्नु । कति खोजी गर्नु । खोजी गर्दागर्दै वर्षों बित्यो । अनुमति विना प्रवेश निषेध अङ्कित अग्लाअग्ला महलका ढोकाहरूमा कुकुरदेखि होसियार भन्ने सङ्केत पाटी टाँगिएका छन् । यो भ्रष्टाचारीको महल हो भनेर कहीं लेखिएको छैन ।

दृष्टि प्रसारण गर्नु मात्रै भयो । कतैबाट प्रमाण जुटाउन सकिएन । भाउजूको पेटीकोट सँगै देवरको अन्डरवेयर सुकाइराखेको देखिन्छ । भ्रष्टाचारी र अनैतिकता कतै देखिदैन । भष्टाचारीहरूलाई पनि पेटीकोट र अण्डरवेयर जस्तै घाममा सुकाएर अख्याउनु पर्ने अनिवार्य संवैधानिक प्रावधान भएको भए समातेर कक्र्याउन सजिलो हुन्थ्यो । त्यस किसिमको व्यवस्था नभएकोले चारैतिरबाट उच्च पर्खालले घेरिएका महल निवासीहरूमा कोही पनि दोषी पाइएन ।

अन्तमा प्रयासस्वरूप स्वदेशी खातेहरूमा निगरानी राख्दै जाँदा पो बल्लबल्ल विदेशी भातेहरू देखापरे । ती पनि चानचुने भए त हुन्थ्यो । देख्दै डरमर्दो, कुनै ठूलाठूला राजनैतिक पार्टीका भरिया छन्, कनै विदेशी राजदूतका आठपरिया छन् । नेपालीको नाताले पत्याउनै नसकिने कुरा भट्याउन परिरहेछ । विदेशीको आड पाउनासाथ राष्ट्रकै ढाड भाँच्न सक्नेले मलाई किन बाँकी राख्ये । खाइराखेका सनकीले खान नपाएर सनक चढेको बेलामा दनक दियो भने मेरो चोयाले पुतुनोको के हविगत होला ।

त्यसैले उनीहरूलाई देख्ने वित्तिकै म नडराए पनि मेरो टेबुल डरायो । पेच फुस्केला जस्तो गरी मेच कॉप्यो । लेख्दालेख्दै फुरेको विचार टुट्‌ला भन्नेडर भएन, कम्प्युटर नै फुटला भन्ने पो डर भयो । भनुभने के भनु कोही पत्याउँदैनन् । जाबो फुच्चे कलममा पनि हजार भोल्टको करेन्ट पैदा भयो । यति मात्र कहाँ हो र भ्रष्टाचारको दसी जुटाउनेलाई नै खसी पार्ने चेतावनी आउन थाल्यो । म त किंकर्तव्यविमुढ भएँ। एक मनले भन्छ ऑटेको काम काटे नि छाडिन्न । अरूले तर्साउँदैमा तर्सिने, पर्साउँदैमा पर्सिने बोकाजस्तो म हैन । भेसेक्टोमी गरिसकेको मान्छेलाई पुनः खसी पार्छन् भने पारुन् ।

फेरि अर्को मनले भन्छ, होस गर है। खसी मात्र पारे त केही छैन । जरीबुटी नै झिकेर मिर्काइदियो भने बाँच्नुको औचित्य रहँदैन । हुलमुलमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनु भन्ने बूढापाकाको अर्ती उपदेश छ । सन्तानको बीउ जोगाउने बाटो त उहिल्यै बन्द भइसक्यो । आफ्नै जीउ जोगाउने उपाय चाहिँ नगरी भएन । भुक्तभोगीको सुझाव अनुसार हीरा पनि नझर्ने कीरा पनि नमर्ने गरी पुरानो घाउमा नयाँ विधिले तयार पारेको कलममा मलम भरेर लेख्न सुरु गरें ।

भ्रष्टाचारायन नमः । भ्रष्टाचाराभ्याम् नमः। भ्रष्टाचारेभ्य नमः । यति मन्त्रोच्चारण गर्दागर्दै । टेबुल हल्लिन छाड्यो। मेचले आराम लियो। कलममा लागेको विद्युतीय झड्‌का बन्दभयो । मेरो उपासनाको सुनवाइ भएछ भन्ने कुरा बुझ्न मलाई धेरै समय लागेन । त्यसपछि नामनामेसी खुट्याइन स्तुति गर्न चाहिँ कसैलाई छुट्याइन । किन छुट्‌याउने ? मेरा लागि कोही पनि पराई छैनन् । बसुधैव कुटुम्बकम् ।

फाँटवालालाई नमस्कार, हाकिम साहेबलाई नमस्कार । प्रजातन्त्रका बम्पर उपहार विजेता जीएम साहेबलाई नमस्कार सांसद् एवम् सभासद्लाई नमस्कार । मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई नमस्कार । सत्ताभोगीलाई नमस्कार । भत्ताभोगीलाई नमस्कार । मगन्ते जोगीलाई नमस्कार । छिमेकीको दैलो ढुक्ने खैरे कुकुरलाई नमस्कार । ज्ञात अज्ञात सप्पैलाई नमस्कार माथितिर नमस्कार तलतिर नमस्कार । आराध्यदेव कैलाशपति भोलेदेखि विदेशी डोलेसम्मलाई होलसेलमा नमस्कार ।

अब भने प्रतिवेदन लेखाइले अवरोधको सामना गर्नु परेन । निर्वाध अघि बढ्यो कलम । स्तुतिजन्य प्रस्तुतिबाट विकासका अग्रदूत मानिएका महामहिम राजदूत पनि वशीभूत भए । त्यसपछि नेताहरूको मुखारवृन्दबाट धन्यवादको मधुरवाणी निस्किए । प्रफुल्ल भएर देश सुहाउँदो अर्ती उपदेश दिइरहेका छन् । आमन्त्रित भएर ड्यासमा बसेका वेला व्यासलाई समेत माथ लाउने गरी भात पचाउने प्रवचन दिन्छन् । यसरी पट्‌टुले जस्तो मीठो बोल्ने मान्छेलाई कसरी विदेशी टट्टू भन्नु । राजदूतावासमा गएर रोए भन्दैमा हुर्मत लिन हुँदैन । आँसुको सम्मान गर्नुपर्छ । उनिहरूकै आँसुले देश धमाधम माथितिरबाट तलतिर उकालो चढ्दैछ । ताल पर्यो भने पाताल पनि चुम्न सक्छ । बेलामौकामा अलिकति मद्दत गरिराखे खेर जाँदैन । बल गर भाइ हो होस्टे। भ्रष्टाचारी-जिन्दावाद ।

०००
शृङ्गार (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुद्धिको खाँचो

बुद्धिको खाँचो

श्यामबहादुर लामा
आफ्‌नो मान्छे

आफ्‌नो मान्छे

श्यामबहादुर लामा
नवीकृत नवयुवा

नवीकृत नवयुवा

श्यामबहादुर लामा
बण्डापत्रको भण्डाफोर

बण्डापत्रको भण्डाफोर

श्यामबहादुर लामा
कालेकाले मिलेर खाऊँ भाले

कालेकाले मिलेर खाऊँ भाले

श्यामबहादुर लामा
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x