साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्‌नो मान्छे

राजनीतिको भजन गाउने र पार्टीको टीका लाउने सबै ठाँटिएर बसेका रहेछन् । कोहीभन्दा कोही कमी छैनन् । शोकेसमा सजाइएका मिठाईजस्ता देखें मैले त । मेरो लोभी आँखाको चोखे लाग्यो होला ।

Nepal Telecom ad

श्यामबहादुर लामा

टिंटी….. टिंटी…… एकोहोरो हर्न बजायो चालकले । पैदल यात्रुले कानमा तेल हाले पो । पटक्कै सुनेको होइन । कहिले गाडी धेरै गुडेर चक्का जाम, कहिले गुड्दै नगुडेर चक्का जाम, कहिले पैदल यात्रुको चापले चक्का जाम । गाडीको टिटी नसुन्ने ठिटीलाई ड्राइभरले छेडहान्यो- डार्लिङको कानको प्वाल त यार्लिङले थुन्यो कि कसो ? आफूलाई हतार भइरहेछ ड्राइभर साहेब भने वार्तालाप गर्नेमा व्यस्त भए ।

ड्राइभरसापको आफ्नो मान्छेमा दरिएकी पूर्व परिचित रहिछिन् अनि किन सुन्थिन् । मसक्क मस्किइन् र सडकभरि यौवनका मादकता पस्किइन् । मेरो लोभी आँखाले पनि मीठो सुगन्धको अनुभव लुट्यो । नवयौवनाको आकर्षणमा मक्ख परेको ड्राइभर साहेब झन् किन कम हुन्थ्यो । गुरुजीले त गाडी नै रोकेर गुरुआमासँग आँखा झिम्क्याउन सुरु गरिहाले ।

पारिबाट सिर्र सिटी बज्यो । ठिटी भिडमा हराइन् । गाडीजाम भएकोले हबल्दार साहेब साहै रिसाए । कम्ती मापाका छैनन् हबल्दार साहेब । सडकमा उभिएर गाडी चराए वापत भेडो र गैंडा धपाउन पाएनन् भने बिना इन्धन आगो भैहाल्छन् । दिवा भोजनका लागि आयआर्जन नभए चालक अनुमति पत्र खोस्न पनि बेर मान्दैनन् । हवल्दार साहेबले गाडी अगाडि बढाउनै दिएनन् । सवारी चालक त ट्राफिक प्रहरीको मर्यादापालक जस्तै हो । सुन्दरीजलतिर जानुपर्ने गाडी त सुन्दर बजारतिर मोडिन बाध्य भयो ।

हतार हतारमा जानुपर्ने दुबइमा पुग्यो कतारमा भनेझै जरुरी काम लिएर हिँड्यो भने झन् नाना किसिमको विघ्नबाधाहरू आइलाग्छन् । मलाई हतार भएजस्तो झिल्के ड्राइभरलाई हुँदैन- ह्यान्डिल मोड्नुभन्दा बढी ठिटीतिर आँखा मोड्छन् । नगरबधूलाई हतार हुँदैन, सडक पेटीमा बसेर नखरा पार्छन् । पुलिसलाई हतार हुँदैन गाडीबाट पैसा झार्छन् । आफूलाई भने बैङ्कमा गएर पन्चट खल्ती नटाली भएको छैन । बढी समय वाटैमा वित्ने भयो । हिँडाइको साइत मिलेनछ क्यारे – लोदर लागेको जस्तो छ । द्रौपदी गोली खरिद गर्न सुन्दरी वजारतिर जानुपर्नेमा गाडी एक्कासि सुन्दर बजारको भीमसेन गोलातिर पो मोडियो । यताबाट उता, उताबाट यता । ख्वाउनु हैरान ख्वायो । घुम्दैफिर्दै रुम्जाटार भनेझै पूरा चक्कर काटेपछि बल्ल यथास्थानमा आइपुग्यो गाडी ।

हवल्दार साहेबको पालो बदलिएछ । उसको अनुपस्थितिले त्यही सङ्केत गर्यो । विना रोकतोक सहजै प्रवेश पाइयो । ड्राइभर पनि खुसी भयो । उसको मुखाकृतिमा चिन्ताको चिचिलो त के कुरा चिनो पनि बाँकी थिएन । ड्राइभर मात्रै के कुरा ऊसँगै बसेको मलाई पनि खुसी नै लाग्यो । खुसी यस अर्थमा कि यामानको जुंगामुठे प्रहरीको ठाउँमा सुकुमारी महिला प्रहरी पालो बदल्न आइसकिछिन् । टन्टलापुरको घाम लागिरहेछ । माझ सडकमा उभिएर गरमको पर्वाह नगरी नरम हात हल्लाउन लागेकी रहिछिन् । पोशाक पनि कस्तो सुहाएको नि, जीउडाल मिलेको भएर हो कि, चिटिक्क परेकी देखिन्छिन् । अगाडि सिटमै थियौं हामी । अरूलाई बायाँ हातले छिटोछिटो जानी सङ्केत गरेर हामीलाई चाहिँ दायाँ हातले आऊआऊ भनेर इशारा गरेको स्पष्टै बुझिन्थ्यो । तिनी पनि आफ्नै मान्छे रहिछिन् क्यारे, निधो पाउन सकिएन । कुरा बुझ्नु ढिला भयो । उनी आफ्नै मान्छे रहिछिन् ।

मैले दायाँबायाँ दुवैतिर निहारें । अगाडि सिटमा अरू कोही छैनन् । कसलाई आऊआऊ भनेकी होलिन् त ? चिनेजानेको जस्तो पनि लाग्दैन । एकछिन अलमल्ल परेर घोत्लिएँ । भाग्यवादीहरू भन्छन्, कर्ममा भए लडीलडी आउँछ । यसो विचार गर्दा हो कि जस्तो पनि लाग्यो । त्यसो नहुँदो हो त साइनो न सपना चिन्तन न जपना, चिनारी विनाको सुकुमारी नारीले व्यर्थे किन बोलाउँथिन् । मैले झूट बोलेको होइन । देख्ने साक्षी धेरै छन् । कुरा बुझेर निक्र्योलमा पुगुन्जेलसम्म गाडीले नेटो काट्यो ।

विनाकारण वसको चक्कर काट्‌नुपर्दा घरबाट कुसाइतमा निस्किछु जस्तो लागेको थियो । साइत राम्रै परेको रहेछ । कुरा बुझ्न ढिला भएकोले बल्छी बस्यो झोलामा माछो पस्यो खोलामा भनेजस्तो भयो । लूलो हातमा ठूलो माछो किन अडिन्थ्यो । भनेको ठाउँमा झर्न नपाए पनि मन चाहिँ उतैतिर चर्न गयो । बिसाउनीमा पुगेर रोकिएको गाडीदेखि रिसाउनी कुरा आएन । खुट्टा वैङ्कतिर हान्नियो मन चाहिँ पछिल्तिर तान्नियो ।

खुट्टाले बाजी मार्यो । बैङ्कतिर नै लम्किएँ । गाडीको अनावश्यक लामो यात्रा, चर्को घाम र बिना कारण बेहोर्नु परेको सकसले प्रदान गरेको बकस बोकेर हिंड्नुपर्दा तिर्खाको अनुभव भइरहेको थियो । मीठो बोलिको औपचारिकता नपाइने ठाउँमा चिसो पानीको अपेक्षा राख्नु मूर्खता हुन्छ । दयाको याचना नगरीकन खस्रो जिब्रोले सुकेको ओठ भिजाउँदै बैङ्कको चारैतिर दृष्टि दौडाएँ । सुक्खा घाँटी आफै रसायो ।

मेरो ध्यान चेक र टोकनतिर केन्द्रित नभैकन दृश्यावलोकनतिर लहसियो । रसिलो रसदार देखेपछि कसको रसना नरसाउला । कोही हाकिम लठ्याएर सुइटर बन्दैछन् कोही चाहिँ खस्रो टेबुलमा नरम घैटो अड्याएर पोते उन्दैछन् । राजनीतिको भजन गाउने र पार्टीको टीका लाउने सबै ठाँटिएर बसेका रहेछन् । कोहीभन्दा कोही कमी छैनन् । शोकेसमा सजाइएका मिठाईजस्ता देखें मैले त । मेरो लोभी आँखाको चोखे लाग्यो होला । घुटुक्क थुक निल्दा के भने होलान् सुन्दरीहरूले ।

ऐनाभित्रको मिठाई जति हेर्यो उति जिब्रो रसाउँछ । किन चाहियो चिसो पानी । वैङ्कबाट बाहिर निस्कनै मन लागेन । नागकन्या छेउ गएर स्टेटमेन्टको लागि विनम्र अनुरोध गरें । कोमल कण्ठबाट व्यस्तताको ध्वनि गुन्जिन के थियो अमृतमय वाणी श्रवण गर्ने अवसर मिल्यो । ‘भोलि’ महात्म्यको प्रवचनद्वारा मन्त्रमुग्ध पारिन् । ‘भोलि’ को वचनामृत शानसँग पान गरेर आएँ ।

सुन्दरी नानीहरूको दर्शन गर्ने बानी बसिसक्यो । फुर्सतको बेला रहरको कोसेली बोकेर लुसुक्क छिर्ने गरेको छु । बैङ्क बूढो भए पनि रूप यौवनाहरूको अत्यधिक सहभागिताले मजस्ता सौन्दर्यानुरागी ग्राहकहरू आकर्षित भइरहन्छन् । आँखाको तिर्खा मेटिएपछि मनभित्र बिझाउने गिर्खा आफै निको हुन्छ । जता आफ्नु उतै आगो ताप्नु । विदेशी सिटी बैङ्कभन्दा आफ्नै देशको ठिटी बैङ्क राम्रो लाग्छ । आफ्नो भनेको आफ्नै हो ।

०००
गोरखापत्र (२१।४,  २०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुद्धिको खाँचो

बुद्धिको खाँचो

श्यामबहादुर लामा
भ्रष्टाचाराय नमः

भ्रष्टाचाराय नमः

श्यामबहादुर लामा
नवीकृत नवयुवा

नवीकृत नवयुवा

श्यामबहादुर लामा
बण्डापत्रको भण्डाफोर

बण्डापत्रको भण्डाफोर

श्यामबहादुर लामा
कालेकाले मिलेर खाऊँ भाले

कालेकाले मिलेर खाऊँ भाले

श्यामबहादुर लामा
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x