श्यामबहादुर लामाआफ्नो मान्छे
राजनीतिको भजन गाउने र पार्टीको टीका लाउने सबै ठाँटिएर बसेका रहेछन् । कोहीभन्दा कोही कमी छैनन् । शोकेसमा सजाइएका मिठाईजस्ता देखें मैले त । मेरो लोभी आँखाको चोखे लाग्यो होला ।

श्यामबहादुर लामा
टिंटी….. टिंटी…… एकोहोरो हर्न बजायो चालकले । पैदल यात्रुले कानमा तेल हाले पो । पटक्कै सुनेको होइन । कहिले गाडी धेरै गुडेर चक्का जाम, कहिले गुड्दै नगुडेर चक्का जाम, कहिले पैदल यात्रुको चापले चक्का जाम । गाडीको टिटी नसुन्ने ठिटीलाई ड्राइभरले छेडहान्यो- डार्लिङको कानको प्वाल त यार्लिङले थुन्यो कि कसो ? आफूलाई हतार भइरहेछ ड्राइभर साहेब भने वार्तालाप गर्नेमा व्यस्त भए ।
ड्राइभरसापको आफ्नो मान्छेमा दरिएकी पूर्व परिचित रहिछिन् अनि किन सुन्थिन् । मसक्क मस्किइन् र सडकभरि यौवनका मादकता पस्किइन् । मेरो लोभी आँखाले पनि मीठो सुगन्धको अनुभव लुट्यो । नवयौवनाको आकर्षणमा मक्ख परेको ड्राइभर साहेब झन् किन कम हुन्थ्यो । गुरुजीले त गाडी नै रोकेर गुरुआमासँग आँखा झिम्क्याउन सुरु गरिहाले ।
पारिबाट सिर्र सिटी बज्यो । ठिटी भिडमा हराइन् । गाडीजाम भएकोले हबल्दार साहेब साहै रिसाए । कम्ती मापाका छैनन् हबल्दार साहेब । सडकमा उभिएर गाडी चराए वापत भेडो र गैंडा धपाउन पाएनन् भने बिना इन्धन आगो भैहाल्छन् । दिवा भोजनका लागि आयआर्जन नभए चालक अनुमति पत्र खोस्न पनि बेर मान्दैनन् । हवल्दार साहेबले गाडी अगाडि बढाउनै दिएनन् । सवारी चालक त ट्राफिक प्रहरीको मर्यादापालक जस्तै हो । सुन्दरीजलतिर जानुपर्ने गाडी त सुन्दर बजारतिर मोडिन बाध्य भयो ।
हतार हतारमा जानुपर्ने दुबइमा पुग्यो कतारमा भनेझै जरुरी काम लिएर हिँड्यो भने झन् नाना किसिमको विघ्नबाधाहरू आइलाग्छन् । मलाई हतार भएजस्तो झिल्के ड्राइभरलाई हुँदैन- ह्यान्डिल मोड्नुभन्दा बढी ठिटीतिर आँखा मोड्छन् । नगरबधूलाई हतार हुँदैन, सडक पेटीमा बसेर नखरा पार्छन् । पुलिसलाई हतार हुँदैन गाडीबाट पैसा झार्छन् । आफूलाई भने बैङ्कमा गएर पन्चट खल्ती नटाली भएको छैन । बढी समय वाटैमा वित्ने भयो । हिँडाइको साइत मिलेनछ क्यारे – लोदर लागेको जस्तो छ । द्रौपदी गोली खरिद गर्न सुन्दरी वजारतिर जानुपर्नेमा गाडी एक्कासि सुन्दर बजारको भीमसेन गोलातिर पो मोडियो । यताबाट उता, उताबाट यता । ख्वाउनु हैरान ख्वायो । घुम्दैफिर्दै रुम्जाटार भनेझै पूरा चक्कर काटेपछि बल्ल यथास्थानमा आइपुग्यो गाडी ।
हवल्दार साहेबको पालो बदलिएछ । उसको अनुपस्थितिले त्यही सङ्केत गर्यो । विना रोकतोक सहजै प्रवेश पाइयो । ड्राइभर पनि खुसी भयो । उसको मुखाकृतिमा चिन्ताको चिचिलो त के कुरा चिनो पनि बाँकी थिएन । ड्राइभर मात्रै के कुरा ऊसँगै बसेको मलाई पनि खुसी नै लाग्यो । खुसी यस अर्थमा कि यामानको जुंगामुठे प्रहरीको ठाउँमा सुकुमारी महिला प्रहरी पालो बदल्न आइसकिछिन् । टन्टलापुरको घाम लागिरहेछ । माझ सडकमा उभिएर गरमको पर्वाह नगरी नरम हात हल्लाउन लागेकी रहिछिन् । पोशाक पनि कस्तो सुहाएको नि, जीउडाल मिलेको भएर हो कि, चिटिक्क परेकी देखिन्छिन् । अगाडि सिटमै थियौं हामी । अरूलाई बायाँ हातले छिटोछिटो जानी सङ्केत गरेर हामीलाई चाहिँ दायाँ हातले आऊआऊ भनेर इशारा गरेको स्पष्टै बुझिन्थ्यो । तिनी पनि आफ्नै मान्छे रहिछिन् क्यारे, निधो पाउन सकिएन । कुरा बुझ्नु ढिला भयो । उनी आफ्नै मान्छे रहिछिन् ।
मैले दायाँबायाँ दुवैतिर निहारें । अगाडि सिटमा अरू कोही छैनन् । कसलाई आऊआऊ भनेकी होलिन् त ? चिनेजानेको जस्तो पनि लाग्दैन । एकछिन अलमल्ल परेर घोत्लिएँ । भाग्यवादीहरू भन्छन्, कर्ममा भए लडीलडी आउँछ । यसो विचार गर्दा हो कि जस्तो पनि लाग्यो । त्यसो नहुँदो हो त साइनो न सपना चिन्तन न जपना, चिनारी विनाको सुकुमारी नारीले व्यर्थे किन बोलाउँथिन् । मैले झूट बोलेको होइन । देख्ने साक्षी धेरै छन् । कुरा बुझेर निक्र्योलमा पुगुन्जेलसम्म गाडीले नेटो काट्यो ।
विनाकारण वसको चक्कर काट्नुपर्दा घरबाट कुसाइतमा निस्किछु जस्तो लागेको थियो । साइत राम्रै परेको रहेछ । कुरा बुझ्न ढिला भएकोले बल्छी बस्यो झोलामा माछो पस्यो खोलामा भनेजस्तो भयो । लूलो हातमा ठूलो माछो किन अडिन्थ्यो । भनेको ठाउँमा झर्न नपाए पनि मन चाहिँ उतैतिर चर्न गयो । बिसाउनीमा पुगेर रोकिएको गाडीदेखि रिसाउनी कुरा आएन । खुट्टा वैङ्कतिर हान्नियो मन चाहिँ पछिल्तिर तान्नियो ।
खुट्टाले बाजी मार्यो । बैङ्कतिर नै लम्किएँ । गाडीको अनावश्यक लामो यात्रा, चर्को घाम र बिना कारण बेहोर्नु परेको सकसले प्रदान गरेको बकस बोकेर हिंड्नुपर्दा तिर्खाको अनुभव भइरहेको थियो । मीठो बोलिको औपचारिकता नपाइने ठाउँमा चिसो पानीको अपेक्षा राख्नु मूर्खता हुन्छ । दयाको याचना नगरीकन खस्रो जिब्रोले सुकेको ओठ भिजाउँदै बैङ्कको चारैतिर दृष्टि दौडाएँ । सुक्खा घाँटी आफै रसायो ।
मेरो ध्यान चेक र टोकनतिर केन्द्रित नभैकन दृश्यावलोकनतिर लहसियो । रसिलो रसदार देखेपछि कसको रसना नरसाउला । कोही हाकिम लठ्याएर सुइटर बन्दैछन् कोही चाहिँ खस्रो टेबुलमा नरम घैटो अड्याएर पोते उन्दैछन् । राजनीतिको भजन गाउने र पार्टीको टीका लाउने सबै ठाँटिएर बसेका रहेछन् । कोहीभन्दा कोही कमी छैनन् । शोकेसमा सजाइएका मिठाईजस्ता देखें मैले त । मेरो लोभी आँखाको चोखे लाग्यो होला । घुटुक्क थुक निल्दा के भने होलान् सुन्दरीहरूले ।
ऐनाभित्रको मिठाई जति हेर्यो उति जिब्रो रसाउँछ । किन चाहियो चिसो पानी । वैङ्कबाट बाहिर निस्कनै मन लागेन । नागकन्या छेउ गएर स्टेटमेन्टको लागि विनम्र अनुरोध गरें । कोमल कण्ठबाट व्यस्तताको ध्वनि गुन्जिन के थियो अमृतमय वाणी श्रवण गर्ने अवसर मिल्यो । ‘भोलि’ महात्म्यको प्रवचनद्वारा मन्त्रमुग्ध पारिन् । ‘भोलि’ को वचनामृत शानसँग पान गरेर आएँ ।
सुन्दरी नानीहरूको दर्शन गर्ने बानी बसिसक्यो । फुर्सतको बेला रहरको कोसेली बोकेर लुसुक्क छिर्ने गरेको छु । बैङ्क बूढो भए पनि रूप यौवनाहरूको अत्यधिक सहभागिताले मजस्ता सौन्दर्यानुरागी ग्राहकहरू आकर्षित भइरहन्छन् । आँखाको तिर्खा मेटिएपछि मनभित्र बिझाउने गिर्खा आफै निको हुन्छ । जता आफ्नु उतै आगो ताप्नु । विदेशी सिटी बैङ्कभन्दा आफ्नै देशको ठिटी बैङ्क राम्रो लाग्छ । आफ्नो भनेको आफ्नै हो ।
०००
गोरखापत्र (२१।४, २०५९)
Subscribe
Login
0 Comments
Oldest







































