श्यामबहादुर लामाबुद्धिको खाँचो
पशुपतिको छेउमा खम्बाको छेको लागेर पिसाब गरे बाहेक अन्यत्र इंजार फुकालेकै छैन । मेरो विचारमा पशुपतिकै छेउछाउमा खसेको हुनुपर्छ साँचो । पाउनु हुने महानुभावले तुरुन्त खवर गर्नु भएमा उप-प्रधानमन्त्रीको कुर्चीमा विराजमान गराइने छ।

श्यामबहादुर लामा :
पञ्चलाल ! एक पञ्चलाल !! पशुपति जाने होइन ? हिजोसम्म शत्रुवत दृष्टिराख्ने दाजुले स्नेहभाव दर्शाएको देख्दा मलाई पनि खुशी लाग्यो। शिवरात्रीको पावन पर्वमा पशुपति भन्नासाथ मेरो हिन्दुत्व जुर्मुराइहाल्यो । गौशालामा पुगेर कुर्ता सुरुवाल लाएकी बैसालु देखेपछि मेरो हौसला झन् बढ्यो । पशुपति मन्दिरको चक्कर मार्दा त्यही केटीसँग ठक्कर खान पुगियो। मनमनै भोलेबाबाको स्तुति गरें ।
दाजु अगि अगि म पछि पछि नागे बाबाको दर्शन गर्दै हिड्यौं। साधुले जादु गरेछ कि कुन्नि हेर्दा हेर्दै आफूले आफैलाई बिर्सिदियौं । वस्त्र विहीन नागाको दर्शनले हामी दुई दाजुभाइ बीचको सम्बन्ध झन् जागा भयो । अब साक्षात नाङ्गी माईको पनि दर्शन तथा स्पर्श गर्न पाए पूरै पवित्र होइन्थ्यो। यही विचारले मन्दिरका कुनाकाप्चा निहार्दै हिड्यौं । त्यस्ती भगवती माईको चाहि कतै दर्शन पाएनौ । प्यासी आँखाको प्यास मेट्न नपाएर शान्ति र सत्यको खोजमा भौतारिन लाग्यौं ।
राम मन्दिरबाट उकालो लाग्दा दाजुको आँखा एउटा साइनबोर्डमा परेछ । त्यसमा हिन्दी तथा नेपाली भाषामा लेखिएको थियो- बगलीमारादेखि होशियार । उनले झट्ट पोल्टा छामे । उनको बुद्धिको पोको चोरी भैसकेछ। कुनचाहि दुर्जनले कुन सड्को चोन्यो पत्तो भएन । तीर्थस्थलमा पनि चोरी गर्ने कस्ता कोरी होलान् । भएभरको पोका पन्तरा खोलेर हेरियो बुद्धि भेटिएन । पटुका फुकालेर टक्टक्याए । लंगौटी समेत टक्टक्याउँदा पनि फेला परेन । दाजुले लंगौटी फ्कालेर टक्टक्याउँदा मैले चाहि नेपाली नागाको समेत दर्शन पाएँ । म त झन् पवित्र भएँ । उनी चाहि थचक्क बसेर रुन लागे । मैले कति सम्झाउँदा पनि बसेको ठाउँबाट उठेनन् ।
नरुनुस् दाइ, आफ्नो बुद्धि हराए अरूको बुद्धि काम चलाउँला । हरेश नखानुस् । खोजतलास गर्दै गरे कसो नभेटिएला । म प्रहरीलाई सूचना गरेर जाउँछु तपाई खोज्दै गर्नुस् । यति भनेर म बनकालीतिर लागे ।
दाजुको पुरानो बुद्धि हराए पनि नयाँ बुद्धि खुलाउने खाँचो मसँग थियो । त्यसैले म चञ्चल भै रहेको थिएँ। भन्ने नै हो भने नेपालको चौध अञ्चलमा मजति चञ्चल अरू कोही थिएन । केटाकेटीमा गुलेली खेल्ने निहुँले मनको उजेली मेट्न हिँडेजस्तै थिएँ म ।
प्रफुल्ल भएर बनकालीको चारैतिर आँखा दौडाएँ। बनकालीमा मनखाली पारेर एकछिन रुखमुनि बसेर थकाइ मारे । ऐंसेलुको झाँगमुनि दुईजना वैसालु युवायुवती बसिरहेका थिए । दुबैका अनुहार राताराता थिए । आँखा लोलाएका जस्ता देखिन्थे । नेपाली तीर्थयात्रीलाई जरो आएको होला भन्ठानेर सिटामल खान दिए। उनीहरू त मेरो औषधीको खिल्ली उडाउँदै एकापसमा हेरेर मस्किए । जवानीको तेजले गर्माइरहेका रहेछन्। के को जरो आउँथ्यो विटीमल र ठिटामलले आफै तातेका बेलामा मेरो सिटामलको किन वास्ता गर्थे।
मैले सोचे यिनीहरू हनिमून मनाउन लागेका व्याउला र व्याउली होलान् । के हुन्थ्यो हनिमून रिहर्सल गर्न बसेका उरन्ठेउला र उरन्ठेउली पो रहेछन् । शिवले आश्रम जमाउको क्षेत्रमा एकछिन शुद्ध मनले विश्राम गर्न पाइएन । कामदेवको अगाडि वामदेवको केही लाग्दैन भन्छन्, झन् मलाई किन शान्ति हुन्थ्यो । रोमाञ्चकारी दृष्य देखेपछि म त हेन्यहिन्यै भएँ।
एकछिन रमितामा लागेर अलमलिएको त मेरो साँचो पनि हराएछ । बगलीमाराले चोरेको भए पैसा पो चोर्यो। साँचो चोरिएको अहिलेसम्म थाहा छैन । थोत्रो बाकसको पुरानो साँचो भए त खाँचो पर्ने थिएन । सुनौलो साँचो हरायो । कस्तो लाजमर्नु भयो । दाजुको मन्द बुद्धिको बन्द बाकस खोलुला भनेको त हावा खाइहाल्यो नि । म माथि ठूलो वज्रपात भयो । एक्लै बसेर धुरुधुरु रोएँ। जति रोएपनि साँचो फर्केर आएन ।
हामी दुई दाजुभाइलाई सढिसातको दशाले छोएछ यसपालि । दाजुको महान बुद्धि हरायो । प्रहरी थानामा सहयोग माग्न गएको त निवेदननै दर्ता गरेन । हराएको सबुत प्रमाण भए मात्र कारवाही गर्न मिल्छ भनेकोले गोरखापत्रमा सूचना दियौं ।
हाम्रा आदर्णीय दाजुको बुद्धि हिजो शिवरात्री मेला भर्न जाँदा हराएको हुँदा पाउनुहुने महानुभावले तुरुन्त खवर गर्नु भएमा मिलीजुली सरकारको प्रधानमन्त्रीमा आजै सपथग्रहण गराइने छ । सोही दिन सरकार हाँक्ने मेरो सुनौलो साँचो पनि हराएको छ । जालीहरू मलाई नै गाली गर्दै ताली बजाएर भन्छन्- तेरो फाली जत्रो साँचो गुहे नालीमा खस्यो । सुरुवालको इँजारमा गाँठो पारेको साँचो कसरी गुहुमा खस्छ ? त्यसदिन म चर्पीभित्र पसेको छैन। पशुपतिको छेउमा खम्बाको छेको लागेर पिसाब गरे बाहेक अन्यत्र इंजार फुकालेकै छैन । मेरो विचारमा पशुपतिकै छेउछाउमा खसेको हुनुपर्छ साँचो । पाउनु हुने महानुभावले तुरुन्त खवर गर्नु भएमा उप-प्रधानमन्त्रीको कुर्चीमा विराजमान गराइने छ।
गोरखापत्र (शनिबार) (२०५२ भदौ १७ गते)
०००
हास्यव्यङ्ग्यविनाेदी कथा (२०८१)
Subscribe
Login
0 Comments
Oldest







































