साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुस्तकहरूको समर्पण

सामग्री अथाह छ ; दुईचारवटा विश्वविद्यालयका शोध विभाग यसमा डुब्न सक्छन् । जससँग विषयको अभाव छ तिनकै हितार्थ हिमालयका सन्यासीको रामबाण बूटीजस्तै मैले यस विषयलाई विज्ञापित गरेको छु । बाँकी त प्राध्यापकहरूको हातमा छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं:

व्यङ्ग्यानुवाद : रमेश समर्थन

प्रिय बन्धु,
यता मेरा दुईवटा किताबहरू छापिँदै छन् । किताबमा केही कुराहरू आवश्यक हुन्छन् – भूमिका, सम्मति र समर्पण । भूमिका मैले लेखिसकेँ ; सम्मतिका लागि निकै टाढैबाट हात जोडिदिएँ ; तर समर्पणको लोभलाई जित्न सकिनँ । जब पुस्तक लखिएको छ भने कसै न कसैलाई त समर्पण गर्नैपर्‍यो । असमर्पित किताबको त खै के होला र ! मानिसहरू त अनुवाद र सङ्कलनलाई पनि समर्पित गर्दछन् भने मेरो त मौलिक रचना हो । तर समर्पित भने कसलाई गरूँ र कसरी गरूँ ?

यस विषयमा केही निर्देश पाइन्छ कि भनेर पुस्तकको पसलमा गएर जब थरीथरीका समर्पणहरू देखेँ अनि मेरा आँखा उघ्रिए । हिन्दीमा पुस्तकहरूको समर्पण त शोधको विषय पो रहेछ । विश्वविद्यालयहरूको ध्यान यसतर्फ किन गएन कुन्नि ? हुनत बन्धु, कुनै प्राध्यापकले मजस्तो दुर्विनीतका कुरा किन मान्थे र ? मान्ने भए त ‘हिन्दी साहित्यमा नारी’ जस्तो स्थूल विषयमा शोध नगराएर ‘पुस्तकहरूको समर्पण’ जस्तो सूक्ष्म विषयमा शोध गराउनुस् भनेर सुझाव दिने थिएँ ।

मैले केही बेरमात्र पुस्तकहरू हेरें अनि मैले जे सामग्री पाएँ तिनलाई संक्षेपमा शोधछात्रहरूको हितार्थ यस पत्रमा दिँदै छु । कृपा गरेर यसलाई जस्ताको त्यस्तै छापेर हिन्दी शोध कार्यलाई अगाडि बढाउने पुण्य बटुल्नुहोला ।

पुस्तकहरू दुईथरी हुँदा रहेछन् ; पहिला ती जुन लेखिन्छन् र समर्पित गरिन्छन् ; अनि दोस्रा ती जुन समर्पणकै निम्ति लेखिन्छन् । पहिलो प्रकारका किताबहरूलाई ‘आदर्शवादी किताब’ भन्न सकिन्छ भने दोस्रो खालेलाई ‘उपयोगितावादी’ भन्न सकिन्छ । यी समर्पणप्रधान उपयोगितावादी पुस्तकहरूका समर्पणको विश्लेषण गर्दा समस्त जातिको आर्थिक, नैतिक अनि सामाजिक स्थितिको इतिहास लेख्न सकिन्छ । एउटा उदाहरणबाट कुरो प्रस्ट पार्दछु ।

एउटा लेखकले १९४५देखि १९५५सम्मका आफ्ना पुस्तकहरू ‘मानवको दुर्जय शक्ति’ जस्तो अमूर्त भावनाहरूलाई समर्पित गरे । १९५६देखि उनले कुनै राज्यका शिक्षामन्त्री तथा प्रकाशनमन्त्रीलाई समर्पित गर्न आरम्भ गरे । मित्र, अमूर्तबाट मूर्तसम्मको यो यात्राले आफूभित्रका गम्भीर रहस्यहरूलाई लुकाएको छ । यो श्रद्धापरिवर्तनबाट यी दश वर्षमा भारतीय अर्थतन्त्रमा आएको तीव्र गिरावट प्रस्ट हुन्छ । यस अवधिमा जनताको क्रयशक्ति कति कमजोर भएको थियो भने उनीहरू किताब किन्न सक्दैनथे । यसबाट लेखकहरूको आयमा गिरावट आएको थियो । तिनमा जो दूरदर्शी र व्यवहारपटु थिए तिनले मन्त्रीहरूलाई पुस्तक समर्पित गरे जसको सुपरिणाम के भयो भने पुस्तकका हजारौँ प्रतिहरू सरकारले किनिदिनाले लेखकको आर्थिक स्तरमा सुधार भयो । यस एउटा समर्पणबाट सिङ्गो दशकको राजनीतिक, आर्थिक, सामाजिक, आध्यात्मिक तथा नैतिक अवस्थाको इतिहास लेख्न सकिन्छ ।

मैले सयौँ पुस्तकहरूको समर्पणहरूको वर्गीकरण गरेको छु र मेरो विचारमा समर्पण निम्न प्रकारका हुन्छन् :
१. जीवनसुधार समर्पण, २. टालटुले समर्पण, ३. भीरु समर्पण, ४. दिदीभाउजूवादी समर्पण, ५. लक्ष्यहीन
समर्पण, ६. मजबूर समर्पण र ७. छट्टु समर्पण ।

‘जीवनसुधार समर्पण’, यसले लेखकको जीवन सुधारिदिन्छ भन्ने त यसको नामबाटै प्रस्ट हुन्छ । यदि लेखक बेकार छ भने जागिर दिलाउँछ, जागिरे छ भने स्थायी गराउँछ, स्थायी छ भने बढुवा गराउँछ । पाठ्यक्रममा पर्ने पनि यस्तै समर्पणयुक्त किताब हुन् । यस्ता समर्पणको प्रतापले गर्दा सरकारले थोकमै किताब किनिदिन्छ । यस्तो समर्पण पाउने अधिकारी पनि मन्त्रीगण, उपकुलपति, आकाशवाणीका अधिकारी र ठुला नेताआदि हुन्छन् । एउटा प्राध्यापक लेखकले बढुवा चाहेको हुन्छ तर उसभन्दा माथि दुईजना अरू हुन्छन् र उसले उनीहरूलाई उछिनेर अघि बढ्नु छ । यस अवस्थामा उसले किताब छपाउँछ अनि उपकुलपति अथवा विभागाध्यक्षलाई समर्पित गरिदिन्छ । अनि त्यसमा केही यस्ता अभिव्यक्तिहरू हुन्छन् – ‘जसको आशीर्वाद पाएर मेरो प्रतिभा जागृत भयो…’ । यस्तो समर्पणले गर्दा लेखक एकदम अघि बढ्दछ । यस्ता पुस्तकहरूको महत्त्व ‘विनयपत्रिका’भन्दा कम हुँदैन । मैले हालसालै एउटा किताब देखेको थिएँ जुन मन्त्रीमहोदयलाई समर्पित गरिएको थियो । मैले सोचेँ यदि लेखकले समर्पणको पुछारमा यस्तो पनि लेखेको भए अझ राम्रो हुँदो हो – कबहुँक अम्ब अवसर पाई, मेरिऔ सुधि द्याइवी कछु करुण कथा चलाइ । (हे माता कहिल्यै त केही अवसर जुराइदेऊ, मेरो करुण कथाले तिमीमा केही विचार त जागोस् ।)

एउटा विश्वविद्यालयमा एकजना प्राध्यापकलाई बढुवा दिइएछ । उसको साथीलाई यो नजाती लागेछ । ऊ यस बढुवाका लागि आफूलाई हकदार मान्थ्यो । उसले एउटा किताब उपकुलपतिलाई समर्पित गरिदियो । मलाई लाग्यो उसले किताबमा यो पनि लेख्नुपर्थ्यो – ‘मैं वैरी सुग्रीव पियारा । कारण कवन नाथ मोहि मारा ।’ (म शत्रु भएँ अनि
सुग्रीव प्यारो भयो ? हे नाथ (राम) भन्नुस् त मलाई नै मार्नुपर्ने कारण के थियो ?)

टालटुले समर्पणमा लेखकले अधिकारीहरूलाई टर्काइदिन्छ । समर्पण पाउने अधिकारी धेरै हुन्छन् , मित्र, पत्नी, प्रेमिका (हरू) र अफिसरहरू । एउटालाई समर्पित गर्दा अर्को रिसाउने हुँदा उसले टालटुले समर्पण लेखिदिन्छ – ‘साथीहरूलाई’ अथवा ‘जसबाट बाटामा स्नेह पाएँ उसलाई’ आदि ।

पत्नीको नाममा गरिने समर्पण ‘भीरु समर्पण’ हो । जब कुनै किताब पत्नीको नाममा समर्पित भएको देख्छु अनि मेरा आँखामा लेखकको दयनीय अनुहार झुन्डिन्छ । त्यसो त केही लेखकहरूले घुमाउरो पारामा समर्पित गर्छन् –‘मेघदूतको पहिलो पङ्क्तिको दोस्रो शब्दबाट जसको नाम ध्वनित हुन्छ…..’ । तर बिचराले पत्नीलाई समर्पित गरेको कुरो लुक्दैन । बिचरा उनीहरू पनि भीरु हुन्छन् जसले प्रेमिकाको नामको पहिलो अक्षरमात्र लेखेर समर्पित गर्छन् –‘सु…लाई !’ सुनीता भनेर पुरै नाम लेख्न किन सक्दैनन् भने उसको बाबु या दाजुभाइको पिटाइ खाने डर हुन्छ । त्यसैले ‘सु…लाई’ भनेपछि ‘सु’ले त बुझिहाल्ने भई । बाँकीको के मतलब ? स्थूलबाट सूक्ष्मतिरको यो यात्रा निकै भीरुतासूचक लाग्छ ।
दिदीवाद त्यति नै पुरानो छ जति दादावाद छ । केही व्यक्तिहरू ‘पवित्र प्रेम’ गर्छन् । उनीहरू किताब ‘दिदीलाई..’ समर्पित गर्छन् । अब भने भाउजूहरूलाई पनि समर्पित हुन थालेका छन् । दिदी र भाउजू साक्खे हुँदैनन् । बोलाइने नाता मात्र हुन्छन् र ‘पवित्र प्रेम’ पनि त यिनैसित हुन्छ नि ! जो दूरदर्शी हुन्छन् तिनीहरूले यिनीहरूको चित्रसमेत टाँसिदिन्छन् । चित्रले गर्दा बिक्री बढ्छ । यस्तो ‘समर्पण’मा दुर्घटनाहरू पनि हुन सक्छन् । एकजना ठुलै लेखकको पुस्तकको पहिलो संस्करणमा त ‘बहिनी फलानी’ भन्ने थियो तर दोस्रो संस्करण आउँदासम्म तिनै फलानी बहिनी त पत्नी पो बनिन् । अनि लेखकले आगामी संस्करणहरूबाट समर्पण नै हटाइदिए । एकजना लेखकले आफ्नो किताब भाउजूलाई समर्पित गरेका थिए । अब के थाहा पाइएको छ भने ती भाउजूको भरणपोषण पनि उनै गर्दै छन् ।

लक्ष्यहीन समर्पण त्यसलाई भनिन्छ जसबाट कोही खुसी हुँदैन । यो क्रिकेटको वाइड बल (अङ्ग्रेजी बहिष्कार आन्दोलनअनुसार फराकिलो भकुन्डो) जस्तै हुन्छ । यसको कुनै लक्ष्य हुँदैन । यस्तो समर्पण यसरी गरिएको हुन्छ – ‘मानवका आस्थाको नाममा…’ ।

मजबूर समर्पण, पुस्तक छपाउने पैसा दिनेका नाममा गरिन्छ । द्विवेदी युगमा देशी नरेश तथा साहूहरूका नाममा यस्ता कैयौँ पुस्तकहरू समर्पित भए । इतिहास साक्षी छ । जब कुनै लेखकले नबिक्ने खालको किताब लेख्छ र कुनै प्रकाशकले त्यो छाप्न चाहन्न अनि उसले कुनै सुनामधन्य साहूलाई फकाउँछ । उसको पैसाले पुस्तक छपाउँछ र उसैलाई समर्पित गरिदिन्छ । लेखकको ग्रन्थ निस्किन्छ अनि साहूको नाम साहित्यको इतिहासमा लेखिन्छ ।
छट्टु समर्पण पनि मैले देखेको छु । नमुना प्रस्तुत छ – ‘स्वयंलाई !’, ‘आफ्नै शत्रुलाई !’ आदि ।

बन्धु, म आफ्ना लागि कुनै समर्पणको नमुना खोज्न गएको थिएँ तर त्यहाँ पुगेर त शोध पो गर्न थालेँ । विषय निकै गम्भीर छ । सामग्री अथाह छ ; दुईचारवटा विश्वविद्यालयका शोध विभाग यसमा डुब्न सक्छन् । जससँग विषयको अभाव छ तिनकै हितार्थ हिमालयका सन्यासीको रामबाण बूटीजस्तै मैले यस विषयलाई विज्ञापित गरेको छु । बाँकी त प्राध्यापकहरूको हातमा छ ।

सस्नेह
ह.शं.प.

०००
(परसाईको परसाई रचनावली २ को पत्र निबन्ध खण्डको ‘पुस्तकों के समर्पण’बाट अनुवाद गरिएको हो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x