हरिशंकर परसाईंदुई व्यङ्ग्य कथा
जुन विद्वान् लाई अतिथिका रूपमा बाेलाइएकाे थियाे र जसकाे अभिनन्दन गर्नु थियाे उनका लागि अझैसम्म एउटा शब्द पनि खर्च भएकाे छैन, तर नेताकाे स्तुतिगान हुँदै छ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
१. प्रतिष्ठा
उहाँ मेरा हाकिम हुनुहुन्थ्यो । उहाँ १५-२० दिनपहिले आउनुभएकाे थियाे सरुवा भएर । नयाँ ठाउँ थियोे । मेरै टाेलमा बस्नुहुन्थ्याे, अझ छिमेकी नै हुनुहुन्थ्यो । तर न उहाँले मलाई चिन्नुहुन्थ्याे, न मैले उहाँलाई ।
एक दिन म उहाँकहाँ गएँ । उहाँ भित्र हुनुहुन्थ्यो । बाहिर आउनुभयाे, बडाे प्रेमपूर्वक भेट्नुभयाे र आदरपूर्वक कुर्सीमा बसाल्नुभयाे ।
मैले भनेँ, ” यहाँकै छिमेकी हुँ । यहाँबाट तेस्राे घरमा बस्छु । हजुर नयाँ नयाँ आउनुभएको छ । भेट्ने इच्छा भयाे । यहाँलाई कुनै अप्ठ्यारो त छैन ?”
उहाँ आभारले झुक्नुभयाे र भन्नुभयाे, “सबै यहाँहरूकाे दया हाे । यहाँहरूका बिचमा आएर बसेकाे छु, परदेशी हुँ । यहाँहरूकाे कृपाले गर्दा कुनै अप्ठ्यारो छैन । भेट्दै गर्नुहाेला ।”
अनि उहाँले पान मगाउनुभयाे ।
यसपछि मात्र मैले आफू पनि उहाँ जुन कार्यालयमा हाकिम हुनुहुन्छ त्यहीँकाे कर्मचारी रहेकाे भनेँ ।
यति सुन्नु के थियाे उहाँको अनुहारको मुस्कान कता हरायो, हरायो र कठाेर गम्भीरता पाे आयाे । उहाँले आराम कुर्सीमा दुवै गाेडा फट्याएर राख्नुभयाे । चुराेट झिकेर सल्काउनुभयाे अनि मेराे कुराकाे उत्तरमा केवल टाउकाे हल्लाउन वा “अँ” मात्र भन्न थाल्नुभयाे ।
दस मिनेटसम्म म त्यसै स्थितिमा बसिरहेँ ।
एक्कासि उहाँले भन्नुभयाे, “हुन्छ त, मलाई यसाे बाहिर जानु छ ।” र उठ्नुभयाे ।
म पनि उठेर हिँडेँ । अब म छिमेकी सज्जनकाे पदबाट खस्केर नाेकरकाे अवस्थामा आइपुगेको थिएँ ।
२. पदपूजन
नगर साहित्य संसारका ठुला प्रतिष्ठित विद्वान् तथा राष्ट्रभाषासेवी आएका थिए ।
उनकाे सम्मानका लागि एउटा आयाेजन गरिएको थियो । आयाेजनका सभापति थिए एकजना राजनीतिक नेता जाे साहित्यिक पनि थिए । उनकाे प्रभाव मन्त्रिमण्डलमा छ र उनकाे एउटा बाेलीमा सरकारी जागिर पाउन सकिन्छ ।
एउटा साहित्यकार कवि, लेखक, सरकारी जागिरे पनि अर्थात् एउटा कलेजका प्राेफेसर थिए । उनलाई ती महान् साहित्यिक अतिथिकाे अभिनन्दन गर्ने जिम्मा दिइयाे ।
अनि प्राेफेसर उठे । उनले सभापतितिर हेरे अनि उनकाे अभिनन्दन आरम्भ गरे । उनकाे प्रशंसाका महल ठड्याउन थाले। उनले भने, “अझै राजा साहेबकाे महानताले पूर्ण विकसित हुनै छ । उहाँका सामु महान् भविष्य छ । उहाँ एक महान् व्यक्ति हुनुहुन्छ ।” आदि आदि ।
सबै मानिसहरू अचम्ममा परे । जुन विद्वान् लाई अतिथिका रूपमा बाेलाइएकाे थियाे र जसकाे अभिनन्दन गर्नु थियाे उनका लागि अझैसम्म एउटा शब्द पनि खर्च भएकाे छैन, तर नेताकाे स्तुतिगान हुँदै छ । लाजले सबैका शिर निहुरिए । त्यहाँ त नेताकै अभिनन्दन हाे जस्ताे भएकाे थियाे ।
हुँदा हुँदा नेतालाई नै नराम्रो लागेछ । उनले वक्ताकाे कानमा बिस्तारै भने, ” मेराे विषयमा त हुनुपर्ने भयाे, अब केही स्वामीजीका बारेमा पनि ….!”
०००
परसाईं रचनावली-२ अन्तर्गत “लघु कथाएँ” खण्डका अन्तिम दुई शीर्षक “प्रतिष्ठा” र “पद-पूजन” शीर्षकबाट अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest






































