हरिशंकर परसाईंसंयोजक
पोहोर सालको समारोहको निम्ति खरिद भएको समेना नभएको भए मेरो भतिजीको बिहे नै हुने थिएन । तर यस पटक भने भविष्य अन्धकारमय छ ।

हरिशंकर परसाईं :
अनुवाद– श्याम गोतामे
त्यस सहरमा पदार्पण गर्ने वित्तिकै एउटा विशेष खालको गन्ध मेरो नाकमा पस्यो । यस गन्धसित म परिचित छु । यो कुनै समारोहको संयोजकको शरीरबाट निस्किएर वायुमण्डलमा व्याप्त हुन्छ । मैले चट्ट के थाहा पाइहालें भने सहरमा या त कुनै सम्मेलन भइरहेछ, अथवा समारोह । गन्धको सहयोगले म सहरको मध्य–भागमा पुग्न सफल भएँ । त्यहाँ कार्यालयको ढोकैमा संयोजकज्यू उभ्भिरहनुभएको देखें ।
हातमा (खाता) रजिष्टर थियो । संयोजकको रजिष्टरमा साहित्य र संस्कृतिको भविष्य राखिएको हुन्छ । दाह्री कैयौं दिनदेखि नकाटिएका झैं थिए । कपाल फुस्रो र जिंग्रिङ्ग परेको थियो । लुगा–फाटा मैला । काँध कुप्रिएका । शेषनाग जी जब लंचको निम्ति कुनै होटेलमा जाँदा पृथ्वीलाई कुनै समारोहको संयोजकको काँधमा बिसाएर जानुहुन्छ । हाम्रो साहित्य–सम्मेलनका संयोजकले एक पटक पृथ्वीलाई तिस दिनसम्म आफ्नो काँधमा बोकेर राख्नु भएको थियो, त्यस बखत शेषनागजीलाई फ्लूले समातेको थियो ।
मैले नमस्ते गरें । उहाँले यसरी जवाफ फर्काउनुभयो जसरी अध्यापकले छात्रको नमस्ते फर्काउँछ । अलिकति हाँसे झैं गर्नुभयो, हो होइन भने झैं आफ्ना दुबै हात जोर्नुभयो, आँखामा चिन्ता र गम्भीरता व्याप्त भयो । मैले भनें– ‘तपाईं कुनै समारोहको संयोजक हुनहुन्छ क्यार ।’
उहाँले मास्तिर हेर्नुभयो । सोध्नुभयो– ‘तपाईंले कसरी थाहा पाउनुभयो ?’
मैले भनें– ‘तपाईंको संयोजन–धर्मी गन्ध चारै दिशाहरुमा व्याप्त भइरहेछ ।’
उहाँ हाँस्नुभयो । भन्नुभयो– ‘हुन सक्छ । मैले ननुहारको चार दिन भइसक्यो ।’
मैले भनें– ‘त्यो त म देखिरहेको नै छु, तर यो गन्ध पसिनाको गन्धभन्दा फरक हुन्छ । यो संयोजन–धर्मी हुन्छ । तपाईंले यो थाहा पाउन असम्भव छ किनभने यो तपाईंकै शरीरबाट निस्किरहेछ । कस्तूरी मृग कस्तूरीलाई नाभीमा राखिरहन्छ, तर थाहा पाउँदैन, ऊ त कस्तूरीको गन्ध घाँसबाट आइरहेको छ भन्ठान्छ ।’ आफूलाई कस्तूरी मृग ठानेर उहाँ प्रसन्न हुनुभयो । उहाँ फेरि भुईंतिर हेर्न थाल्नुभयो ।
मैले सोधें– ‘तपाईं सधैं भुईंतिर मात्र किन हेरिरहनु हुन्छ ?’ उहाँले मन्टो ठाडो पारेर जवाफ दिनुभयो–‘चन्दा पाउँछु कि भनेर । भुईं माथि जति चन्दा बटुल्न सकिन्थ्यो, बटुलिसकें । केही चन्दा निस्किहाल्छ कि भन्ने आशाले अब भुईंतिर हेर्दछु पृथ्वी माताको ‘मनी व्याग’ बाट । अर्को कुरा के भने सिद्ध संयोजकहरु कहिल्यै पनि आँखा जुधाउँदैनन् । आँखामा चन्दाको आम्दानी–खर्चको विवरण लेखिएको हुन्छ । त्यो विवरण पढेपछि केही मानिसहरु इमान्दारीमाथि शंका गर्न थाल्दछन् र कोही पैसा धुत्ने प्रयत्न गर्दछन् ।’
मैले भने– ‘तपाईंमाथि त ठूलो काम आइलागेको छ । नुहाउने र दाह्री फाल्नसम्म पनि भ्याउनुहुन्न कि कसो ?’
मेरो कुरा सुनेर उहाँले हाँस्दै भन्नुभयो– ‘फुर्सत नभएको त होइन, तर रुप–श्रृंगारको पनि महत्व हुन्छ । मैला लुगा र ठुटे दाह्री हाम्रो ‘मेक अप’ हो । यस रुपबाट चन्दादाताहरुलाई सन्तोष हुन्छ र अतिथिहरुलाई हामीसँगै केही माग्ने आट आउँदैन । मेरो यो छवि देखेर प्रतिनिधिहरु परै जाओस् बरु भोकै सुत्नेछन््, तर खान माग्ने आँट भने कदापि गर्ने छैनन् ।’
मैले सोधें– ‘तपाईंले संयोजनाको अभिभारा कसरी पाउनुभयो ? यस विषयको कतै तालिम दिइन्छ अथवा यो स्वयंर्स्फूत प्रतिभा हो ?’
उहाँले भन्नुभयो– ‘म त आमाको पेटमा समेत संयोजक नै थिएँ । मेरी आमा के भन्नुहुन्थ्यो भने म पेटमा छँदैदेखि स्वागत भाषण दिन्थे अरे । टोलभरिका मानिसहरु गर्भबती आमाको वरिपरि बसेर भाषण सुन्थे अरे । पेटबाट आवाज आउँथ्यो– महिला तथा सज्जनवृन्द ! अहिलेसम्ममा पुग–नपुग १८० समारोहहरुको संयोजक भई काम गरिसकेको छु– सबै थरीका समारोहहरु । यसै वर्ष बगलीमाराहरुको सम्मेलन हुने भएको छ । त्यसको संयोजक पनि म ने हुँ….’
मेरो उत्सुकता देखेर फेरि सोध्नुभयो– ‘के तपाईंले पनि कहिले संयोजकको काम गर्नुभएको छ ?’
मैले भनें– ‘एक पटक गरेको थिएँ, तर फयल भएँ । एउटा १५ दिने सांस्कृतिक शिविरको संयोजक बनाइएको थिएँ । २५–२६ जनाको बस्ने–खाने प्रवन्ध गर्नु थियो । पैसा मेरो जिम्मामा राख्न दिइएको थियो । पैसा त मैले सप्पै खर्च गरें, तर हिसाब लेखिनं । खर्च पनि भयो व्हाँ भने सम्पूर्ण अतिथिहरु अव्यवस्थाप्रति गुनासो पनि गर्दै गए । पछि म हिसाब लेख्न थालें । पैसा गहुँ, चामल, ध्यू, चिनी, तरकारीहरु किन्नमा नै खर्च भएको थियो । मैले खर्चका यी खण्डहरुमा अनुमानले रकम लेख्दै गएँ । तरकारीहरु मध्येमा आलु मेरो मगजमा सबभन्दा माथि थियो । जहाँ खर्च मिलाउनु हुन्थ्यो, म आलुको तौल बढाउने गर्दथें । कस्तो ठाकठुक हिसाब मिल्यो भने आम्दानी खर्च बराबर भयो । म औधी सन्तुष्ट थिएँ ।
तर एक दिन आयोजक समितिका अध्यक्ष महाशयले मलाई बोलाई भन्नुभयो– ‘तपाईंको हिसाब एकदम ठीक छ तर एउटै कुरोमा मात्र नमिल्ने देखिन्छ । हिसाबबाट के थाहा हुन्छ भने प्रत्येक प्रतिनिधिले २ धार्नी आलु खायो । आलुको तौल जोडेर खाने मानिसहरुको संख्याले भाग गर्नुस् ।’ मैले देखें, प्रत्येक मानिसको भागमा २ धार्नीभन्दा बढी नै आलु परेको थियो । म लायक भइसकेको छैन भन्ने कुरा मलाई त्यति बेला नै थाहा भयो । संयोजक मित्रहरुले पनि भने– तिमी संयोजक हुँदा तिम्रो शरीरबाट त्यो गन्ध निस्केन जो निस्कनु पर्ने थियो ।’
उहाँको अनुहार सहानुभूतिपूर्ण देखियो । भन्न थाल्नु भयो– ‘तपाई एक वर्ष मसँग बस्नुभयो भने यो विद्यामा पारंगत हुन सक्नुहुन्छ । मेरा कैयौ चेलाहरु कतिपय सहरहरुमा संयोजन गरिरहेका छन् । संयोजनको मर्यादा भगवान नजिकको छ । भगवान स्वंय आफू एउटा महान् संयोजक हो । सम्पूर्ण विश्वको संयोजन उसले गरेको छ यतिका चन्दा उनलाई कुन पार्टीद्धारा प्राप्त भयो, यो पनि थाहा पाउन चाहन्छु । संयोजनबाट उनलाई के लाभ प्राप्त हुन्छ यो पनि थाहा पाउन चाहन्छु ।
मैले सोधें– ‘यस सम्मेलनमा धेरै नै प्रतिनिधिहरु आएका छन् कि कसो ?’
उहाँले भन्नुभयो– ‘ कामका मानिसहरु मध्ये आधा मात्र आएका छन् । आचार्य निशिकान्तजी आइसक्नुभएको छ । उहाँको मातहतमा मेरो भाई ‘रिसर्च’ गरिरहेको छ । डा. वेदप्रकाश आउनु भएन । यसको अर्थ के भने अर्को समारोह नहुन्जेलसम्म विश्वविद्यालयका परीक्षा उत्तर कापीहरु मैले पाउने छैनँ । साँझसम्ममा शिक्षामन्त्री आइपुग्नु हुनेछ । यो समारोह मैले उहाँकै सम्मानमा आयोजित गरेको हुँ । बाँकी काम न काजका जुन पच्चीसौं मानिसहरु आएका छन्, तिनीहरु मेरो चन्दा खान आएका हुन् । तर, अपशोच, सन्ध्याजी आउनुभएन ।’
मैले भनें– ‘सन्ध्याजी आउनुभएन त निशाजी नै पनि त आउनुहोला नि ?’
उहाँले भन्नुभयो– ‘हो, सन्ध्यापछि निशाको आगमन त निश्चित नै छ ।’
उहाँको वाणीले काव्यको रुप धारण गरेको देखेर उहाँ अत्यन्त खुसी हुनुभयो ।
त्यो समय एउटा कार्यकर्ता हडबडाउँदै आयो र भन्न थाल्यो–‘त्यहाँ धेरै गोलमाल मचिएको छ । केही प्रतिनिधिहरुले भात पस्केको थालै समेत फ्याँकिदिएका छन् । भन्दछन् खाना राम्रो छैन । यस्तो खायो भने त बिरामी परिन्छ ।’
संयोजकजी खिन्न हुनुभयो । उहाँलाई रिस पनि उठ्यो । भन्नुभयो– ‘हेर यिनीहरुको चाला ! यिनीहरु साहित्यको निम्ति तीन दिन मात्र पनि नराम्रो खान सक्तैन् । यिनीहरु यहाँ साहित्य साधनाको निम्ति आएका हुन् कि साहित्यलाई चाट्न ? माता भारतीले यस्ता मानिसहरुबाट के आशा गर्ने ?’
मैले भनें– ‘तर तपाईं भात ख्याउन कबोल गर्ने ठेकेदारलाई किन हप्काउनुहुन्न ?’
उहाँले भन्नुभयो– ‘कसलाई हप्काउनु ? म त जताबाट पनि विवश छु । खुवाउने ठेक्का त मैले नै काकाको नाउँमा लिएको छु । यस पटक कमाउन नसकिने पो ढाँचा छ । चार वर्ष पहिलेको समारोहका निम्ति खरिद भएका डोरीको खाटमा हामी अझै पनि सुत्दै छौं । दुई वर्ष पहिलेको समारोहको निम्ति खरिद भएका बाल्टिनहरु सानिमाकहाँ अझै पनि भण्डारमा छन्, पोहोर सालको समारोहको निम्ति खरिद भएको समेना नभएको भए मेरो भतिजीको बिहे नै हुने थिएन । तर यस पटक भने भविष्य अन्धकारमय छ ।’
उहाँले नमस्ते गर्नुभयो र भन्नुभयो– ‘अब यी बदमास खैरातेहरुसँग हात जोड्न जाऊँ कि ?’
अनि भुईंतिर हेर्दै उहाँ जानुभयो ।
०००
रूपरेखा, वैशाख २०२९
Subscribe
Login
0 Comments
Oldest







































