साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संयोजक

पोहोर सालको समारोहको निम्ति खरिद भएको समेना नभएको भए मेरो भतिजीको बिहे नै हुने थिएन । तर यस पटक भने भविष्य अन्धकारमय छ ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

अनुवाद– श्याम गोतामे

त्यस सहरमा पदार्पण गर्ने वित्तिकै एउटा विशेष खालको गन्ध मेरो नाकमा पस्यो । यस गन्धसित म परिचित छु । यो कुनै समारोहको संयोजकको शरीरबाट निस्किएर वायुमण्डलमा व्याप्त हुन्छ । मैले चट्ट के थाहा पाइहालें भने सहरमा या त कुनै सम्मेलन भइरहेछ, अथवा समारोह । गन्धको सहयोगले म सहरको मध्य–भागमा पुग्न सफल भएँ । त्यहाँ कार्यालयको ढोकैमा संयोजकज्यू उभ्भिरहनुभएको देखें ।

हातमा (खाता) रजिष्टर थियो । संयोजकको रजिष्टरमा साहित्य र संस्कृतिको भविष्य राखिएको हुन्छ । दाह्री कैयौं दिनदेखि नकाटिएका झैं थिए । कपाल फुस्रो र जिंग्रिङ्ग परेको थियो । लुगा–फाटा मैला । काँध कुप्रिएका । शेषनाग जी जब लंचको निम्ति कुनै होटेलमा जाँदा पृथ्वीलाई कुनै समारोहको संयोजकको काँधमा बिसाएर जानुहुन्छ । हाम्रो साहित्य–सम्मेलनका संयोजकले एक पटक पृथ्वीलाई तिस दिनसम्म आफ्नो काँधमा बोकेर राख्नु भएको थियो, त्यस बखत शेषनागजीलाई फ्लूले समातेको थियो ।

मैले नमस्ते गरें । उहाँले यसरी जवाफ फर्काउनुभयो जसरी अध्यापकले छात्रको नमस्ते फर्काउँछ । अलिकति हाँसे झैं गर्नुभयो, हो होइन भने झैं आफ्ना दुबै हात जोर्नुभयो, आँखामा चिन्ता र गम्भीरता व्याप्त भयो । मैले भनें– ‘तपाईं कुनै समारोहको संयोजक हुनहुन्छ क्यार ।’

उहाँले मास्तिर हेर्नुभयो । सोध्नुभयो– ‘तपाईंले कसरी थाहा पाउनुभयो ?’
मैले भनें– ‘तपाईंको संयोजन–धर्मी गन्ध चारै दिशाहरुमा व्याप्त भइरहेछ ।’
उहाँ हाँस्नुभयो । भन्नुभयो– ‘हुन सक्छ । मैले ननुहारको चार दिन भइसक्यो ।’
मैले भनें– ‘त्यो त म देखिरहेको नै छु, तर यो गन्ध पसिनाको गन्धभन्दा फरक हुन्छ । यो संयोजन–धर्मी हुन्छ । तपाईंले यो थाहा पाउन असम्भव छ किनभने यो तपाईंकै शरीरबाट निस्किरहेछ । कस्तूरी मृग कस्तूरीलाई नाभीमा राखिरहन्छ, तर थाहा पाउँदैन, ऊ त कस्तूरीको गन्ध घाँसबाट आइरहेको छ भन्ठान्छ ।’ आफूलाई कस्तूरी मृग ठानेर उहाँ प्रसन्न हुनुभयो । उहाँ फेरि भुईंतिर हेर्न थाल्नुभयो ।

मैले सोधें– ‘तपाईं सधैं भुईंतिर मात्र किन हेरिरहनु हुन्छ ?’ उहाँले मन्टो ठाडो पारेर जवाफ दिनुभयो–‘चन्दा पाउँछु कि भनेर । भुईं माथि जति चन्दा बटुल्न सकिन्थ्यो, बटुलिसकें । केही चन्दा निस्किहाल्छ कि भन्ने आशाले अब भुईंतिर हेर्दछु पृथ्वी माताको ‘मनी व्याग’ बाट । अर्को कुरा के भने सिद्ध संयोजकहरु कहिल्यै पनि आँखा जुधाउँदैनन् । आँखामा चन्दाको आम्दानी–खर्चको विवरण लेखिएको हुन्छ । त्यो विवरण पढेपछि केही मानिसहरु इमान्दारीमाथि शंका गर्न थाल्दछन् र कोही पैसा धुत्ने प्रयत्न गर्दछन् ।’

मैले भने– ‘तपाईंमाथि त ठूलो काम आइलागेको छ । नुहाउने र दाह्री फाल्नसम्म पनि भ्याउनुहुन्न कि कसो ?’
मेरो कुरा सुनेर उहाँले हाँस्दै भन्नुभयो– ‘फुर्सत नभएको त होइन, तर रुप–श्रृंगारको पनि महत्व हुन्छ । मैला लुगा र ठुटे दाह्री हाम्रो ‘मेक अप’ हो । यस रुपबाट चन्दादाताहरुलाई सन्तोष हुन्छ र अतिथिहरुलाई हामीसँगै केही माग्ने आट आउँदैन । मेरो यो छवि देखेर प्रतिनिधिहरु परै जाओस् बरु भोकै सुत्नेछन्‌्, तर खान माग्ने आँट भने कदापि गर्ने छैनन् ।’
मैले सोधें– ‘तपाईंले संयोजनाको अभिभारा कसरी पाउनुभयो ? यस विषयको कतै तालिम दिइन्छ अथवा यो स्वयंर्स्फूत प्रतिभा हो ?’

उहाँले भन्नुभयो– ‘म त आमाको पेटमा समेत संयोजक नै थिएँ । मेरी आमा के भन्नुहुन्थ्यो भने म पेटमा छँदैदेखि स्वागत भाषण दिन्थे अरे । टोलभरिका मानिसहरु गर्भबती आमाको वरिपरि बसेर भाषण सुन्थे अरे । पेटबाट आवाज आउँथ्यो– महिला तथा सज्जनवृन्द ! अहिलेसम्ममा पुग–नपुग १८० समारोहहरुको संयोजक भई काम गरिसकेको छु– सबै थरीका समारोहहरु । यसै वर्ष बगलीमाराहरुको सम्मेलन हुने भएको छ । त्यसको संयोजक पनि म ने हुँ….’
मेरो उत्सुकता देखेर फेरि सोध्नुभयो– ‘के तपाईंले पनि कहिले संयोजकको काम गर्नुभएको छ ?’

मैले भनें– ‘एक पटक गरेको थिएँ, तर फयल भएँ । एउटा १५ दिने सांस्कृतिक शिविरको संयोजक बनाइएको थिएँ । २५–२६ जनाको बस्ने–खाने प्रवन्ध गर्नु थियो । पैसा मेरो जिम्मामा राख्न दिइएको थियो । पैसा त मैले सप्पै खर्च गरें, तर हिसाब लेखिनं । खर्च पनि भयो व्हाँ भने सम्पूर्ण अतिथिहरु अव्यवस्थाप्रति गुनासो पनि गर्दै गए । पछि म हिसाब लेख्न थालें । पैसा गहुँ, चामल, ध्यू, चिनी, तरकारीहरु किन्नमा नै खर्च भएको थियो । मैले खर्चका यी खण्डहरुमा अनुमानले रकम लेख्दै गएँ । तरकारीहरु मध्येमा आलु मेरो मगजमा सबभन्दा माथि थियो । जहाँ खर्च मिलाउनु हुन्थ्यो, म आलुको तौल बढाउने गर्दथें । कस्तो ठाकठुक हिसाब मिल्यो भने आम्दानी खर्च बराबर भयो । म औधी सन्तुष्ट थिएँ ।

तर एक दिन आयोजक समितिका अध्यक्ष महाशयले मलाई बोलाई भन्नुभयो– ‘तपाईंको हिसाब एकदम ठीक छ तर एउटै कुरोमा मात्र नमिल्ने देखिन्छ । हिसाबबाट के थाहा हुन्छ भने प्रत्येक प्रतिनिधिले २ धार्नी आलु खायो । आलुको तौल जोडेर खाने मानिसहरुको संख्याले भाग गर्नुस् ।’ मैले देखें, प्रत्येक मानिसको भागमा २ धार्नीभन्दा बढी नै आलु परेको थियो । म लायक भइसकेको छैन भन्ने कुरा मलाई त्यति बेला नै थाहा भयो । संयोजक मित्रहरुले पनि भने– तिमी संयोजक हुँदा तिम्रो शरीरबाट त्यो गन्ध निस्केन जो निस्कनु पर्ने थियो ।’

उहाँको अनुहार सहानुभूतिपूर्ण देखियो । भन्न थाल्नु भयो– ‘तपाई एक वर्ष मसँग बस्नुभयो भने यो विद्यामा पारंगत हुन सक्नुहुन्छ । मेरा कैयौ चेलाहरु कतिपय सहरहरुमा संयोजन गरिरहेका छन् । संयोजनको मर्यादा भगवान नजिकको छ । भगवान स्वंय आफू एउटा महान् संयोजक हो । सम्पूर्ण विश्वको संयोजन उसले गरेको छ यतिका चन्दा उनलाई कुन पार्टीद्धारा प्राप्त भयो, यो पनि थाहा पाउन चाहन्छु । संयोजनबाट उनलाई के लाभ प्राप्त हुन्छ यो पनि थाहा पाउन चाहन्छु ।

मैले सोधें– ‘यस सम्मेलनमा धेरै नै प्रतिनिधिहरु आएका छन् कि कसो ?’
उहाँले भन्नुभयो– ‘ कामका मानिसहरु मध्ये आधा मात्र आएका छन् । आचार्य निशिकान्तजी आइसक्नुभएको छ । उहाँको मातहतमा मेरो भाई ‘रिसर्च’ गरिरहेको छ । डा. वेदप्रकाश आउनु भएन । यसको अर्थ के भने अर्को समारोह नहुन्जेलसम्म विश्वविद्यालयका परीक्षा उत्तर कापीहरु मैले पाउने छैनँ । साँझसम्ममा शिक्षामन्त्री आइपुग्नु हुनेछ । यो समारोह मैले उहाँकै सम्मानमा आयोजित गरेको हुँ । बाँकी काम न काजका जुन पच्चीसौं मानिसहरु आएका छन्, तिनीहरु मेरो चन्दा खान आएका हुन् । तर, अपशोच, सन्ध्याजी आउनुभएन ।’

मैले भनें– ‘सन्ध्याजी आउनुभएन त निशाजी नै पनि त आउनुहोला नि ?’
उहाँले भन्नुभयो– ‘हो, सन्ध्यापछि निशाको आगमन त निश्चित नै छ ।’
उहाँको वाणीले काव्यको रुप धारण गरेको देखेर उहाँ अत्यन्त खुसी हुनुभयो ।
त्यो समय एउटा कार्यकर्ता हडबडाउँदै आयो र भन्न थाल्यो–‘त्यहाँ धेरै गोलमाल मचिएको छ । केही प्रतिनिधिहरुले भात पस्केको थालै समेत फ्याँकिदिएका छन् । भन्दछन् खाना राम्रो छैन । यस्तो खायो भने त बिरामी परिन्छ ।’

संयोजकजी  खिन्न हुनुभयो । उहाँलाई रिस पनि उठ्यो । भन्नुभयो– ‘हेर यिनीहरुको चाला ! यिनीहरु साहित्यको निम्ति तीन दिन मात्र पनि नराम्रो खान सक्तैन् । यिनीहरु यहाँ साहित्य साधनाको निम्ति आएका हुन् कि साहित्यलाई चाट्न ? माता भारतीले यस्ता मानिसहरुबाट के आशा गर्ने ?’

मैले भनें– ‘तर तपाईं भात ख्याउन कबोल गर्ने ठेकेदारलाई किन हप्काउनुहुन्न ?’
उहाँले भन्नुभयो– ‘कसलाई हप्काउनु ? म त जताबाट पनि विवश छु । खुवाउने ठेक्का त मैले नै काकाको नाउँमा लिएको छु । यस पटक कमाउन नसकिने पो ढाँचा छ । चार वर्ष पहिलेको समारोहका निम्ति खरिद भएका डोरीको खाटमा हामी अझै पनि सुत्दै छौं । दुई वर्ष पहिलेको समारोहको निम्ति खरिद भएका बाल्टिनहरु सानिमाकहाँ अझै पनि भण्डारमा छन्, पोहोर सालको समारोहको निम्ति खरिद भएको समेना नभएको भए मेरो भतिजीको बिहे नै हुने थिएन । तर यस पटक भने भविष्य अन्धकारमय छ ।’

उहाँले नमस्ते गर्नुभयो र भन्नुभयो– ‘अब यी बदमास खैरातेहरुसँग हात जोड्न जाऊँ कि ?’
अनि भुईंतिर हेर्दै उहाँ जानुभयो ।

०००
रूपरेखा, वैशाख २०२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x