हरिशंकर परसाईंपरसाईंका दुई लघु व्यङ्ग्य
‘सर बुढीले त जससँग रगत छ र केही गर्दैन भने त्यसको रगत लिनुपर्छ, काम गर्नेको रगत लिनु हुँदैन पो भनेकी हुन् । बरु यहाँले अपरेसनको तयारी गर्नुस् । रगतको व्यवस्था हामी गर्छौँ ।’

हरिशंकर परसाईं
व्यङ्ग्यानुवाद : रमेश समर्थन
१. रगत
मेरा छिमेकीकी पत्नी अस्पतालमा भर्ना छिन् । उनी दिनभरि त्यहीँ वार्डमा बस्छन् र साँझ त्यहाँका रोचक घटनाहरू सुनाउँछन् । एक दिन साँझ भन्दै थिए, ‘‘कैयौँ दिनदेखि त्यहीँ रहेको एउटा बिरामीको भाइले मलाई बोलाएर भन्यो, ‘यसो यो खाँबामा टाँसिएर उभिनुस् ! अब खाँबामा कान टाँस्नुस् ! केही सुन्नुभयो ? यस अस्पतालको त खाँबाले पनि पैसा माग्छ । सुन्नुभयो तपाईंले ?’
अर्को एउटा साँझ उनले अर्को घटना सुनाए —
‘‘गाउँका दुईजना तन्नेरीहरू आफ्नी आमालाई लिएर आए । बुढीलाई भर्ना गरियो । अब डाक्टर र नर्सहरू आउन थाले । केटाहरू त्यहीँ आमाको ओछ्याननिरै बसे । बुढी खाँटी गाउँले तर टाठीबाठी रहिछन् । डाक्टरले छोराहरूसित उनको अपरेसन गनुपर्ने कुरा गरे ।
डाक्टरको भनाइ नसकिँदै बुढीले प्याच्चै भनिन्, ‘अँ….अँ…. गर्देओ न त अप्रेसन ! म के याँ तिमार्को थुतुनो हेर्न आकी हुम् र ?’
नर्स आइन् । उनले ज्वरो नापिन् । बुढीले सोधिन्, ‘तेरा कति छन् छोराछोरी ?’
नर्सले भनिन्, ‘छँदै छैनन् ।’
बुढीले भनिन्, ‘के गरे ? यत्री भइसकिस् र पनि अझैसम्म छोराछोरी पाकी छैनस् ? तँ त डाक्टर्नी होस् । अर्लाई त छोर्छोरी ल्या’र दिन्छेस् , अनि तेरै चिँ छैनन् ?’
कुमारी नर्स मुस्कुराउँदै गइन् ।
अनि हजुर, रमाइलो त त्यति वेला सुरु भयो जति वेला डाक्टरले छोराहरूलाई ‘उहाँलाई दुई बोतल रगत चढाउनुपर्छ र त्यो रगत तिमीहरूले दिनुपर्छ’ भनेर भने ।
बुढी त जर्याकजुरुक उठि पो हालिन् र टर्रो बोलीमा डाक्टरसित भनिन्, ‘ए डाक्टरसाब, मेरा छोराहर्ले दिन्नन् रगतसगत ।’
डाक्टरले भने, ‘तर रगत नदिएसम्म त अपरेसन गर्न मिल्दैन नि आमा !’
बुढीले भनिन्, ‘नभए नभइराखोस् अप्रेसनसप्रेसन । तर मेरा छोराहर्ले रगत दिन्नन् त दिन्नन् । कहीँ नभएका आए निकै मेरा छोराहर्को रगत झिक्ने भएका ! जति चाइन्छ मेरै रगत झिक र पछि मैलाई चढाइदिनू ।’
डाक्टरले भने, ‘यस्तो त हुँदैन । छोराहरूले नै रगत दिनुपर्छ र अपरेसन हुन्छ । अपरेसन भएन भने तपाईं बाँच्नुहुन्न ।’
बुढीले भनिन्, ‘मर्छु भने मर्न देओ तर मेरा छोराले रगत दिन्नन्, बुझ्यौ ! भोलिपर्सिबाट इनार्ले खेतबारीमा बिउ छर्नु र रोप्नु छ अनि तिमेरू इनेर्कै रगत झिक्न खोज्छौ ?’
डाक्टरले भने, ‘यो त बडो अप्ठेरो पो भयो त । तपाईंका दुई दुईवटा तन्नेरी छोरा छन् अनि यिनीहरूले तपाईंका लागि अलिकति रगत दिन सक्दैनन् ?’
बुढीले भनिन्, ‘ए डाक्टर साब, तिमी त पढेलेख्या मान्छै हौ । भन त, छोराहर्को रगत काम गर्नका लागि हो कि मर्ने वेला भाकी बुढी आमाको ज्यानमा भर्नका लागि हो ? भोलिपर्सिबाट उनीहरूले खेती लगाउनु छ, अनि तिमी उनेर्सितै रगत माग्छौ ?’
डाक्टरहरू के गरून् के नगरून् जस्ता भए । वरपरका मान्छेहरू पनि बटुलिन थाले । मेडिकल कलेजका पाँचछ जना विद्यार्थी पनि त्यहीँ आए ।
बुढीले भनिन्, ‘तिमीले कस्तो डाक्टरी पढेछौ त हँ डाक्टरसाब ? के तिमेर्ले ंज्यानमा रगतले भरिएका तर कामै गर्न नपर्ने मान्छे कतै पाएनौ ? उनेर्को रगत ल्याएर देओ न । मेरा छोरालाई त भोलिपर्सिबाटै खेतमा काम गर्न जानु छ ।’
अब त हजुर, कलेजका ती विद्यार्थीहरूमा पनि खासखुस खासखुस हुन थाल्यो । तिनमा सबैभन्दा ठुलो केटाले डाक्टरलाई भन्यो, ‘सर, मलाई लाग्छ बुढीबज्यै ठिकै भन्दै हुनुहुन्छ ।’
डाक्टरले भने, ‘के ठिक भन्ने हो ? एक एक प्वाइन्ट रगत दिँदा यिनीहरूको के बिग्रन्छ र ?’
केटाले भन्यो, ‘सर बुढीले त जससँग रगत छ र केही गर्दैन भने त्यसको रगत लिनुपर्छ, काम गर्नेको रगत लिनु हुँदैन पो भनेकी हुन् । बरु यहाँले अपरेसनको तयारी गर्नुस् । रगतको व्यवस्था हामी गर्छौँ ।’
२ सुशीला
पाण्डेजीकी सुशीला नामकी छोरी थिई । रूपमा र पढाइलेखाइमा पनि राम्री थिई । पाण्डेजी सरयूपारी ब्राह्मण थिए । दुई पुस्ता पहिलेदेखि सरयू छाडेर मध्यप्रदेशमा आएर बसेका थिए । यहाँको रोटी खाएका थिए र यहीँको पानी पिएका थिए । तर छोरीको विवाहको कुरो मनमा उठ्नासाथ उफ्रेर उहीँ उत्तर प्रदेशलाई हेर्न थाल्थे र सोच्थे, उनीजस्तै सरयूपारी परिवार पाइए त क्या जाती हुन्थ्यो ।
पाण्डेजी रिटायर भइसकेका थिए । सुशीलाभन्दा सानो एउटा छोरो थियो । उनलाई छोरीको विवाहको ठुलो चिन्ता थियो । उनी वरको खोजीमा उत्तर प्रदेशको फन्को मार्थे । त्यहाँका ‘शुद्ध’ सरयूपारी ब्राह्मण सामान्य बजारभाउअनुसार छोराको मूल्य त माग्थे। माग्थे, साथै यिनी अशुद्ध भएको दण्डस्वरूप पाँचछ हजार थप पनि माग्थे । पाण्डेजी भने सुशीलाका लागि योग्य केटो खोज्न चिन्तामा उत्तर प्रदेशको फन्को लगाइ नै रहेका थिए ।
यता सुशीला भने एउटा कायस्थ परिवारको इन्जिनियर केटासित भागेर बम्बई गई । बम्बईमा इन्जिनियरका दिदीभिनाजु थिए । उनीहरू उनीहरूकहाँ गएर बसे र कोर्टमा विवाह पनि गरे ।
जब पाण्डेजी फर्केर आए रुवाबासी सुरु भयो । उनी त्यस केटाका बाबुआमासित कराउन पुगे । पुलिसमा रिपोर्ट पनि गरे । अनि ‘केटीले नाक काटी । हाम्रा लागि त मरेसरह भई’ पनि भन्न थाले ।
केही दिनपछि पाण्डेजीले सुशीलाको चिठी पाए जसमा लेखिएको थियो —
आदरणीय बुवा,
हजुर निकै दुःखी हुनुहोला र मसित रिसाउनुभएको पनि होला । मैले रमेश वर्मासित विवाह गरेँ । रमेशलाई त हजुरले राम्रैसित चिन्नुभएको छ नि ! उनी त हजुरलाई निकै मनपर्ने पनि हुन् नि ! अनि उनको निकै प्रशंसा पनि त गर्नुहुन्थ्यो । मैले हजुरको चिन्ता बुझिरहेकी थिएँ । तपाईंको प्रन्सन पनि थोरै छ । अलिकति निजी बचत छ । सानो भाइलाई पढाएर लेखाएर योग्य पनि त बनाउनु छ नि हजुरले ! यदि मेरो विवाह हजुरका अनुसार गर्नु परेको भए त्यो निजी बचत सबै रित्तिन्थ्यो र रिन पनि लाग्थ्यो ।
म तपाईंको दुःख बुझ्छु । मानिसहरूले कुरा पनि काटेकै होलान् । तर तपाईंले भन्नुस् न कि ‘कसैकी पनि छोरी होस् त सुशीलाजस्ती भनेर । आफ्नो विवाह पनि योग्य केटासित गरी र मेरो पैसा पनि बचाई भनेर भन्नुस् न ! यति सेवा त मैले गरेकी नै हुँ नि, हैन र ? तपाईंको निजी बचत त जोगाइदिएकी नै हुँ । सबैको भाग्यमा यस्ती छोरी कहाँ हुन्छन् र ?
०००
यी दुई लघु व्यङ्ग्य कथाहरू ‘परसाई रचनावली २’का क्रमशः ‘खून’ र ‘सुशीला’ शीर्षकबाट अनुवाद गरिएका हुन् ।
Subscribe
Login
0 Comments
Oldest






































