साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परसाईंका दुई लघु व्यङ्ग्य

‘सर बुढीले त जससँग रगत छ र केही गर्दैन भने त्यसको रगत लिनुपर्छ, काम गर्नेको रगत लिनु हुँदैन पो भनेकी हुन् । बरु यहाँले अपरेसनको तयारी गर्नुस् । रगतको व्यवस्था हामी गर्छौँ ।’

Nepal Telecom ad

हरिशंकर परसाईं

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. रगत

मेरा छिमेकीकी पत्नी अस्पतालमा भर्ना छिन् । उनी दिनभरि त्यहीँ वार्डमा बस्छन् र साँझ त्यहाँका रोचक घटनाहरू सुनाउँछन् । एक दिन साँझ भन्दै थिए, ‘‘कैयौँ दिनदेखि त्यहीँ रहेको एउटा बिरामीको भाइले मलाई बोलाएर भन्यो, ‘यसो यो खाँबामा टाँसिएर उभिनुस् ! अब खाँबामा कान टाँस्नुस् ! केही सुन्नुभयो ? यस अस्पतालको त खाँबाले पनि पैसा माग्छ । सुन्नुभयो तपाईंले ?’
अर्को एउटा साँझ उनले अर्को घटना सुनाए —

‘‘गाउँका दुईजना तन्नेरीहरू आफ्नी आमालाई लिएर आए । बुढीलाई भर्ना गरियो । अब डाक्टर र नर्सहरू आउन थाले । केटाहरू त्यहीँ आमाको ओछ्याननिरै बसे । बुढी खाँटी गाउँले तर टाठीबाठी रहिछन् । डाक्टरले छोराहरूसित उनको अपरेसन गनुपर्ने कुरा गरे ।

डाक्टरको भनाइ नसकिँदै बुढीले प्याच्चै भनिन्, ‘अँ….अँ…. गर्देओ न त अप्रेसन ! म के याँ तिमार्को थुतुनो हेर्न आकी हुम् र ?’

नर्स आइन् । उनले ज्वरो नापिन् । बुढीले सोधिन्, ‘तेरा कति छन् छोराछोरी ?’
नर्सले भनिन्, ‘छँदै छैनन् ।’

बुढीले भनिन्, ‘के गरे ? यत्री भइसकिस् र पनि अझैसम्म छोराछोरी पाकी छैनस् ? तँ त डाक्टर्नी होस् । अर्लाई त छोर्छोरी ल्या’र दिन्छेस् , अनि तेरै चिँ छैनन् ?’
कुमारी नर्स मुस्कुराउँदै गइन् ।

अनि हजुर, रमाइलो त त्यति वेला सुरु भयो जति वेला डाक्टरले छोराहरूलाई ‘उहाँलाई दुई बोतल रगत चढाउनुपर्छ र त्यो रगत तिमीहरूले दिनुपर्छ’ भनेर भने ।

बुढी त जर्‍याकजुरुक उठि पो हालिन् र टर्रो बोलीमा डाक्टरसित भनिन्, ‘ए डाक्टरसाब, मेरा छोराहर्ले दिन्नन् रगतसगत ।’

डाक्टरले भने, ‘तर रगत नदिएसम्म त अपरेसन गर्न मिल्दैन नि आमा !’
बुढीले भनिन्, ‘नभए नभइराखोस् अप्रेसनसप्रेसन । तर मेरा छोराहर्ले रगत दिन्नन् त दिन्नन् । कहीँ नभएका आए निकै मेरा छोराहर्को रगत झिक्ने भएका ! जति चाइन्छ मेरै रगत झिक र पछि मैलाई चढाइदिनू ।’

डाक्टरले भने, ‘यस्तो त हुँदैन । छोराहरूले नै रगत दिनुपर्छ र अपरेसन हुन्छ । अपरेसन भएन भने तपाईं बाँच्नुहुन्न ।’
बुढीले भनिन्, ‘मर्छु भने मर्न देओ तर मेरा छोराले रगत दिन्नन्, बुझ्यौ ! भोलिपर्सिबाट इनार्ले खेतबारीमा बिउ छर्नु र रोप्नु छ अनि तिमेरू इनेर्कै रगत झिक्न खोज्छौ ?’

डाक्टरले भने, ‘यो त बडो अप्ठेरो पो भयो त । तपाईंका दुई दुईवटा तन्नेरी छोरा छन् अनि यिनीहरूले तपाईंका लागि अलिकति रगत दिन सक्दैनन् ?’

बुढीले भनिन्, ‘ए डाक्टर साब, तिमी त पढेलेख्या मान्छै हौ । भन त, छोराहर्को रगत काम गर्नका लागि हो कि मर्ने वेला भाकी बुढी आमाको ज्यानमा भर्नका लागि हो ? भोलिपर्सिबाट उनीहरूले खेती लगाउनु छ, अनि तिमी उनेर्सितै रगत माग्छौ ?’

डाक्टरहरू के गरून् के नगरून् जस्ता भए । वरपरका मान्छेहरू पनि बटुलिन थाले । मेडिकल कलेजका पाँचछ जना विद्यार्थी पनि त्यहीँ आए ।

बुढीले भनिन्, ‘तिमीले कस्तो डाक्टरी पढेछौ त हँ डाक्टरसाब ? के तिमेर्ले ंज्यानमा रगतले भरिएका तर कामै गर्न नपर्ने मान्छे कतै पाएनौ ? उनेर्को रगत ल्याएर देओ न । मेरा छोरालाई त भोलिपर्सिबाटै खेतमा काम गर्न जानु छ ।’
अब त हजुर, कलेजका ती विद्यार्थीहरूमा पनि खासखुस खासखुस हुन थाल्यो । तिनमा सबैभन्दा ठुलो केटाले डाक्टरलाई भन्यो, ‘सर, मलाई लाग्छ बुढीबज्यै ठिकै भन्दै हुनुहुन्छ ।’

डाक्टरले भने, ‘के ठिक भन्ने हो ? एक एक प्वाइन्ट रगत दिँदा यिनीहरूको के बिग्रन्छ र ?’

केटाले भन्यो, ‘सर बुढीले त जससँग रगत छ र केही गर्दैन भने त्यसको रगत लिनुपर्छ, काम गर्नेको रगत लिनु हुँदैन पो भनेकी हुन् । बरु यहाँले अपरेसनको तयारी गर्नुस् । रगतको व्यवस्था हामी गर्छौँ ।’

२ सुशीला

पाण्डेजीकी सुशीला नामकी छोरी थिई । रूपमा र पढाइलेखाइमा पनि राम्री थिई । पाण्डेजी सरयूपारी ब्राह्मण थिए । दुई पुस्ता पहिलेदेखि सरयू छाडेर मध्यप्रदेशमा आएर बसेका थिए । यहाँको रोटी खाएका थिए र यहीँको पानी पिएका थिए । तर छोरीको विवाहको कुरो मनमा उठ्नासाथ उफ्रेर उहीँ उत्तर प्रदेशलाई हेर्न थाल्थे र सोच्थे, उनीजस्तै सरयूपारी परिवार पाइए त क्या जाती हुन्थ्यो ।

पाण्डेजी रिटायर भइसकेका थिए । सुशीलाभन्दा सानो एउटा छोरो थियो । उनलाई छोरीको विवाहको ठुलो चिन्ता थियो । उनी वरको खोजीमा उत्तर प्रदेशको फन्को मार्थे । त्यहाँका ‘शुद्ध’ सरयूपारी ब्राह्मण सामान्य बजारभाउअनुसार छोराको मूल्य त माग्थे। माग्थे, साथै यिनी अशुद्ध भएको दण्डस्वरूप पाँचछ हजार थप पनि माग्थे । पाण्डेजी भने सुशीलाका लागि योग्य केटो खोज्न चिन्तामा उत्तर प्रदेशको फन्को लगाइ नै रहेका थिए ।

यता सुशीला भने एउटा कायस्थ परिवारको इन्जिनियर केटासित भागेर बम्बई गई । बम्बईमा इन्जिनियरका दिदीभिनाजु थिए । उनीहरू उनीहरूकहाँ गएर बसे र कोर्टमा विवाह पनि गरे ।

जब पाण्डेजी फर्केर आए रुवाबासी सुरु भयो । उनी त्यस केटाका बाबुआमासित कराउन पुगे । पुलिसमा रिपोर्ट पनि गरे । अनि ‘केटीले नाक काटी । हाम्रा लागि त मरेसरह भई’ पनि भन्न थाले ।
केही दिनपछि पाण्डेजीले सुशीलाको चिठी पाए जसमा लेखिएको थियो —

आदरणीय बुवा,
हजुर निकै दुःखी हुनुहोला र मसित रिसाउनुभएको पनि होला । मैले रमेश वर्मासित विवाह गरेँ । रमेशलाई त हजुरले राम्रैसित चिन्नुभएको छ नि ! उनी त हजुरलाई निकै मनपर्ने पनि हुन् नि ! अनि उनको निकै प्रशंसा पनि त गर्नुहुन्थ्यो । मैले हजुरको चिन्ता बुझिरहेकी थिएँ । तपाईंको प्रन्सन पनि थोरै छ । अलिकति निजी बचत छ । सानो भाइलाई पढाएर लेखाएर योग्य पनि त बनाउनु छ नि हजुरले ! यदि मेरो विवाह हजुरका अनुसार गर्नु परेको भए त्यो निजी बचत सबै रित्तिन्थ्यो र रिन पनि लाग्थ्यो ।

म तपाईंको दुःख बुझ्छु । मानिसहरूले कुरा पनि काटेकै होलान् । तर तपाईंले भन्नुस् न कि ‘कसैकी पनि छोरी होस् त सुशीलाजस्ती भनेर । आफ्नो विवाह पनि योग्य केटासित गरी र मेरो पैसा पनि बचाई भनेर भन्नुस् न ! यति सेवा त मैले गरेकी नै हुँ नि, हैन र ? तपाईंको निजी बचत त जोगाइदिएकी नै हुँ । सबैको भाग्यमा यस्ती छोरी कहाँ हुन्छन् र ?

०००
यी दुई लघु व्यङ्ग्य कथाहरू ‘परसाई रचनावली २’का क्रमशः ‘खून’ र ‘सुशीला’ शीर्षकबाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x