साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नवीकृत नवयुवा

राजनीतिमा यस्तै हुन्छ । कुर्सी पीडित राजनेताको आन्दोलन मात्र कति हेर्नु । कहिलेकाहीँ त पानीको राजनीति पनि हेर्नुपर्छ ।

Nepal Telecom ad

संजोग पनि कहिले त कस्तो पर्छ भने मनले नचिताएको कुरा कामले बिताउन पुगिन्छ । काकताली भन्नु कि अपुताली भन्नु । आइलागेपछि जाइलाग्नु परिहाल्यो । लहनाको वहानासँगै बहकिँदा यो पापी मन त्यसै बरालिंदो रहेछ । केटी भनेपछि मरिहत्ते गर्ने जिम्मेवार निकायले नाम बिकाएर इज्जत जोगाएको देख्दा मेरो नाम पनि चर्चामा ल्याउन पर्चाबाजी गर्न पाए ठूलो मान्छे भैहाल्छु कि भन्ठानें । ढाँटेको कुरा पो मिल्दैन आँटेको कुरा त मिल्दो पनि रहेछ ।

उसो त म खसीकरण भइसकेको मान्छेलाई कसैले वशीकरण गर्ला भन्ने भय छैन । हुर्मत लुट्ला कि भनुभने मसँग हुर्मत नै छैन । चर्चामा छाउनु र विवादमा आउनु ठूलो कुरा हो । यस्ता मामिलामा स्वयम् विज्ञहरू पनि अनभिज्ञ छन् । मचाहिँ अलि बाठो हुनाले विशेष चाख लिन्छु । जानीजानी बुझ पचाउनु चेतनशील प्राणीलाई सुहाउँदैन । भोकै बसेर भकारीको धान बचाउनु र कुरा बुझेर बुझ पचाउनु जिम्मेवार नागरिकको कर्तव्य होइन । भुत्ते नै किन नहोस् कर्द कर्द नै हुन्छ । लुखुरे नै किन नहोस् मर्द मर्दनै हुन्छ ।

अनुभवी अर्धो अघिअघि सर्दो । काँक्रो नफले पनि थाँक्रो छ । लौका नफले पनि लहरो छ । टहरोमाथि लर्केको लहरोमा सेचनक्रिया भयो भने कोपिला लाग्न सक्छ । साठी वर्षे जोवानलाई चालीस वर्षे पालिस लगाएर नवीकरणको तेलले मालिस गरेँ । सेतै भएर पाकेको कपालमा कालो कलप हालेर बैँसको जलप लगाइदिएको त ढल्केर गएको जोवान पनि फेरि हल्केर आयो । दलिनमाथि सिउरेर राखेको मनुको पालाको धनुमा कामदेवले झैँ परेला भाँचेर नयनवाण हानेको त एउटी सुन्दरीले सुन्दर दरी बिछ्याएर स्वागत गरिन् । के खोज्छस् मैना सालीलाई बैना । मैले हानेको वाणले किन मिस खान्थ्यो । कलिलो कायामा माया पलाइहाल्यो ।

बगेको खोला र मान्छेको चोला उस्तै हो । एकफेर तर्केर गएपछि फेरि फर्केर आउँदैन भन्ने पुरानो मान्यताले नयाँ हावाखायो । तलतिर बगेको खोला धमाधम माथितिर फर्कदैछ । मेरो जोवान मात्रै किन नफर्कियोस् । देख्नेले देखिसके । माखाले तुर्क्याएको आँखाले देखेनन् त कसको के लाग्छ । तराई डुवानमा पर्नुको कारण खोला माथितिर फर्केर त हो नि । तलतिर बगेको खोला माथितिर नफर्केको भए हाम्रो भूभाग जलमग्न हुने थिएन । विदेशीले आफ्नो भूमि तहलाएर हाम्रो भूमिमा दह जमायो । नाफानोक्सान बरोबर डुबान क्षेत्र मानोसरोवर भनेर चित्त बुझाउनु परेको छ । कैलास पर्वतमुनिको मानोसरोवर जस्तै चुरे पर्वतमुनि सानोसरोवर बनाइदिएका छन् हाम्रो असल मित्रले । जलकुम्भी उत्पादनयोग्य जलाशय निर्माण गर्दा बाधाविरोध नजनाए बापत ठूला नेताहरूले मुला मात्र खाएका छैनन् पालैपालो सत्ता आरोहणको मौका पनि पाएका छन् ।

आफ्नो त फुटेको खप्पर जोवान फर्के पनि भाग्य फर्किएन । के उपायले मेरो दिन फिर्ला खै ? अरूले कोशी बेचेर औगात बढायो भनेर आफूले फोसी बेच्नु भएन । जाबो फोसीको कति नै मूल्य पाइएला र । पत्रुको भाउमा बेचेर शत्रु हँसाउनु मात्र हुन्छ । विक्रीयोग्य अन्यवस्तु आफ्नो अधिनमा छैन । भएजति सबै विक्री बितरण भइसक्यो । पोहोरसाल बम्बै लगेर विक्री गरेको च्यान्टे बूढाकी छोरी कोठीबाट उम्केर आउन सफल भइछ, भण्डाफोर गरी । पार्टीको संरक्षण पाएको हुनाले धन्न बचियो । जेलको कठोर सजायँ भोग्नु नपरे पनि अर्थोन्नतिको मार्गमा ठूलो पहिरो गयो । अनि किन फर्किन्थ्यो भाग्य ।

दशा लागेपछि एकैचोटि लाग्छ भनेको पक्का होरहेछ । धन कमाउन अरब पठाएको श्रीमती पनि फर्केर आइछे । आम्दानीको बाटो नै टुट्यो । खुरुखुरु पैसा मात्र पठाएको भए त भइहाल्थ्यो । काम नलाग्ने थोत्रो सर्टिफिकेट बोकेर किन आइरहनु पर्थ्यो । आर्थिक कठिनाइले गर्दा अरूको नाममा भोगबन्धकी पास गरेको बिर्ता सकुशल फिर्ता हुँदा खुसी लाग्नु पर्नेमा मलाई चाहिँ हुनसम्मको तोड पर्‍यो । उतैतिर व्याएकी भए पनि नाफा ल्याएकी छैन । खुसीको कुरा यही हो । पाण्डवहरूले जस्तो जुवा खेलेर हारेको पनि होइन । भोगचलनको अधिकार मात्र सारेको हो । विदेशतिर बगेर गएको नदीनाला स्वदेश फर्किरहेको बेलामा आफ्नी अर्धाङ्गिनी फर्केर आई त के भयो ? अमर प्रेम भनेको यस्तै त हुन्छ नि । बूढीमरी भनेर पीर गरेको होइन । काल पल्केला भन्ने डर भयो । खोला फर्कियो त फर्कियोस्, केही छैन । हाम्रो खोला हाम्रै देशमा फर्कियो, राम्रै भयो । विदेशिएकी प्राणप्यारी फर्केर आई, त्यो पनि वेशै भो । फेरि चाउरे माया नवीकरण गरुँला । धाराको पानी पनि त्यसै गरी टुटीबाट फरक्क फर्केर पायपभित्रै गायप भइदिन्छ र पो समस्या पर्छ । उपभोक्ताहरू चाहिँ कुरै नबुझीकन खानीपानी संस्थानप्रति आक्रोशित हुन्छन् । वास्तवमा संस्थानको कुनै दोष छैन । दैनिक हाजिरी बजाएकै छन्, मासिक तलब भजाएकै छन् । अधर्म बोल्नु हुँदैन । तलतिर बग्नुपर्ने पानी माथितिर बगेर राजनीतिको खेल खेलेको होला । पानी सुके पनि धारा त सुकेको छैन नि । राजनीतिमा यस्तै हुन्छ । कुर्सी पीडित राजनेताको आन्दोलन मात्र कति हेर्नु । कहिलेकाहीँ त पानीको राजनीति पनि हेर्नुपर्छ ।

देश र जनताको सेवामा समर्पित नेताहरूले नैतिक मार्ग परिवर्तन गरेका कैयौं उदाहरणहरू छन् । तलतिर बग्नेपानी माथितिर बग्न थाल्यो भनेर के आश्चर्य मान्नु । मार्ग परिवर्तन गर्ने अभियान नै चलेको छ । अरू त के कुरा तलबाट माथि चढ्दैजाने प्राकृतिक नियम विपरीत मान्छेको उमेर पनि माथिबाट तलतिर ओरालो लाग्दैछ । यति मात्र होइन चाउरे नेताहरू पनि लाउरे भएका छन् । उमेरले साढेसात दशक पार गरिसकेका खल्दरे बूढाहरूले युवा नेतामा नाम दर्ता गराइसके । अझै कति बूढाहरू क्याबिन रेष्टुराको कुँडा भएर निस्कने हुन देख्न नपाए पनि सुन्न पाइएला । कुँडा मात्र भए त केही छैन देश र जनताका विरुद्ध खुँडा भएर निस्कन्छन् र पो दुःख लाग्छ । वृद्धाहरू व्युटीपार्लर धाउन थालेदेखि वृद्धहरू पनि युवा हुने क्रम बढ्दैछ । यसरी वृद्धवृद्धाहरू युवायुवती हुने, युवा बालक हुने क्रम बढ्दै गयो भने भविष्यमा बालबच्चा जति पुनः गर्भाशयमा नफर्कलान् भन्न सकिन्न । बाटो खुलाभयो भने त फर्कन पनि बेरछैन । घरीघरी ट्राफिक जाम भइरहन्छ र ढुक्क छ । ट्राफिक प्रहरीको आँखा छलेर पसिहाले पनि गर्भस्थलीबाट पुन शुक्रनलीमा प्रवेश गर्नु त त्यसको बाउको तागत चल्दैन । त्यसबेला चाहिँ सडकमा गाडी जाम हुनु साटो गाडीभित्र फिल्टर जाम हुन्छ होला हगि ?

देशका खातिर चिन्तित भद्रभलादमी, समाजसेवी, बुद्धिजीवी, लेखक तथा पत्रकार वर्गहरूबाट सकारात्मक पहल भएमा समस्याको समाधान टाढा छैन । हामीलाई वृथा सङ्कटमा जाक्ने सङ्कट आफै सङ्कटमा पर्छ । यसका लागि केवल पचहत्तर वर्षबाट एकैचोटि तन्नेरी अवस्थामा झरेका नवीकृत नवयुवाको इच्छाशक्तिमा भर पर्छ । सत्तामा बस्ने नवीकृत युवाले नियमित व्यायाम गर्दा चाउरे गालाको सेतो दारी झरेर मुख पनि बुच्चे आरीजस्तो भयो होला भन्ठान्थेँ । म पनि कस्तो मुर्ख हातमा बत्ती लिएर आगो खोज्दै हिँडेछु । मेरो पनि उही गति त हो नि । अरूको मुख हेर्नु साटो आफैले ऐना हेरे भैहाल्थ्यो । त्यति पनि विचार नगरीकन युवा भन्नेबित्तिकै मैदानमा हजारौं दर्शकका माझ आकर्षक खेल खुला प्रदर्शन गर्ने खेलाडीजस्तै होलान् भन्ठाने । ऐना हेर्नेतिर ध्यान गएन । गलत सोचाइमा डुबिएछ । टेलिभिजनको पर्दामा हेरेपछि पो थाहा भयो नवीकृत नवयुवा भनाउँदाहरू त सिंहदरबारभित्रको गोप्य कोठामा बसेर कमिसनको खेल खेल्ने खेलाडीहरूलाई पो भन्दा रहेछन् ।

खुला मैदानमा खेलिने खेलमा त कति भेल हुन्छ । इण्डोर गेमको नाममा कोठाभित्र खेलिने खेलको झन् के हविगत होला । दर्शकको अनुपस्थितिमा रेफ्रीलाई आउट गरेर सञ्चालन हुने खेलमा कसले चबायो, कसले नचबाइकन निल्यो, कसको घाँटीमा अड्कियो, कसको भुँडी पड्कियो केही जानकारी हुँदैन । धूर्त लेखाडीले त अख्तियारको आँखालाई पनि पाखा लगाइदिन्छ । सरकारी क्वाटरमा युरोपियन वाटर पिउँदै सोफासेटमा ध्याम्पे पेट अड्याएर खेल्ने खेलाडीहरू पो रहेछन् । कुनचाहिँ नवकृत नवयुवा हो मैले खुट्याउन सकिन । जसको मुख हेरे पनि विदेशी हण्डी खाने पाखण्डीजस्तो लाग्छ ।

युवा मञ्च (२०६१ आश्विन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बुद्धिको खाँचो

बुद्धिको खाँचो

श्यामबहादुर लामा
भ्रष्टाचाराय नमः

भ्रष्टाचाराय नमः

श्यामबहादुर लामा
आफ्‌नो मान्छे

आफ्‌नो मान्छे

श्यामबहादुर लामा
बण्डापत्रको भण्डाफोर

बण्डापत्रको भण्डाफोर

श्यामबहादुर लामा
कालेकाले मिलेर खाऊँ भाले

कालेकाले मिलेर खाऊँ भाले

श्यामबहादुर लामा
0
Would love your thoughts, please comment.x
()
x