श्यामबहादुर लामानवीकृत नवयुवा
राजनीतिमा यस्तै हुन्छ । कुर्सी पीडित राजनेताको आन्दोलन मात्र कति हेर्नु । कहिलेकाहीँ त पानीको राजनीति पनि हेर्नुपर्छ ।

संजोग पनि कहिले त कस्तो पर्छ भने मनले नचिताएको कुरा कामले बिताउन पुगिन्छ । काकताली भन्नु कि अपुताली भन्नु । आइलागेपछि जाइलाग्नु परिहाल्यो । लहनाको वहानासँगै बहकिँदा यो पापी मन त्यसै बरालिंदो रहेछ । केटी भनेपछि मरिहत्ते गर्ने जिम्मेवार निकायले नाम बिकाएर इज्जत जोगाएको देख्दा मेरो नाम पनि चर्चामा ल्याउन पर्चाबाजी गर्न पाए ठूलो मान्छे भैहाल्छु कि भन्ठानें । ढाँटेको कुरा पो मिल्दैन आँटेको कुरा त मिल्दो पनि रहेछ ।
उसो त म खसीकरण भइसकेको मान्छेलाई कसैले वशीकरण गर्ला भन्ने भय छैन । हुर्मत लुट्ला कि भनुभने मसँग हुर्मत नै छैन । चर्चामा छाउनु र विवादमा आउनु ठूलो कुरा हो । यस्ता मामिलामा स्वयम् विज्ञहरू पनि अनभिज्ञ छन् । मचाहिँ अलि बाठो हुनाले विशेष चाख लिन्छु । जानीजानी बुझ पचाउनु चेतनशील प्राणीलाई सुहाउँदैन । भोकै बसेर भकारीको धान बचाउनु र कुरा बुझेर बुझ पचाउनु जिम्मेवार नागरिकको कर्तव्य होइन । भुत्ते नै किन नहोस् कर्द कर्द नै हुन्छ । लुखुरे नै किन नहोस् मर्द मर्दनै हुन्छ ।
अनुभवी अर्धो अघिअघि सर्दो । काँक्रो नफले पनि थाँक्रो छ । लौका नफले पनि लहरो छ । टहरोमाथि लर्केको लहरोमा सेचनक्रिया भयो भने कोपिला लाग्न सक्छ । साठी वर्षे जोवानलाई चालीस वर्षे पालिस लगाएर नवीकरणको तेलले मालिस गरेँ । सेतै भएर पाकेको कपालमा कालो कलप हालेर बैँसको जलप लगाइदिएको त ढल्केर गएको जोवान पनि फेरि हल्केर आयो । दलिनमाथि सिउरेर राखेको मनुको पालाको धनुमा कामदेवले झैँ परेला भाँचेर नयनवाण हानेको त एउटी सुन्दरीले सुन्दर दरी बिछ्याएर स्वागत गरिन् । के खोज्छस् मैना सालीलाई बैना । मैले हानेको वाणले किन मिस खान्थ्यो । कलिलो कायामा माया पलाइहाल्यो ।
बगेको खोला र मान्छेको चोला उस्तै हो । एकफेर तर्केर गएपछि फेरि फर्केर आउँदैन भन्ने पुरानो मान्यताले नयाँ हावाखायो । तलतिर बगेको खोला धमाधम माथितिर फर्कदैछ । मेरो जोवान मात्रै किन नफर्कियोस् । देख्नेले देखिसके । माखाले तुर्क्याएको आँखाले देखेनन् त कसको के लाग्छ । तराई डुवानमा पर्नुको कारण खोला माथितिर फर्केर त हो नि । तलतिर बगेको खोला माथितिर नफर्केको भए हाम्रो भूभाग जलमग्न हुने थिएन । विदेशीले आफ्नो भूमि तहलाएर हाम्रो भूमिमा दह जमायो । नाफानोक्सान बरोबर डुबान क्षेत्र मानोसरोवर भनेर चित्त बुझाउनु परेको छ । कैलास पर्वतमुनिको मानोसरोवर जस्तै चुरे पर्वतमुनि सानोसरोवर बनाइदिएका छन् हाम्रो असल मित्रले । जलकुम्भी उत्पादनयोग्य जलाशय निर्माण गर्दा बाधाविरोध नजनाए बापत ठूला नेताहरूले मुला मात्र खाएका छैनन् पालैपालो सत्ता आरोहणको मौका पनि पाएका छन् ।
आफ्नो त फुटेको खप्पर जोवान फर्के पनि भाग्य फर्किएन । के उपायले मेरो दिन फिर्ला खै ? अरूले कोशी बेचेर औगात बढायो भनेर आफूले फोसी बेच्नु भएन । जाबो फोसीको कति नै मूल्य पाइएला र । पत्रुको भाउमा बेचेर शत्रु हँसाउनु मात्र हुन्छ । विक्रीयोग्य अन्यवस्तु आफ्नो अधिनमा छैन । भएजति सबै विक्री बितरण भइसक्यो । पोहोरसाल बम्बै लगेर विक्री गरेको च्यान्टे बूढाकी छोरी कोठीबाट उम्केर आउन सफल भइछ, भण्डाफोर गरी । पार्टीको संरक्षण पाएको हुनाले धन्न बचियो । जेलको कठोर सजायँ भोग्नु नपरे पनि अर्थोन्नतिको मार्गमा ठूलो पहिरो गयो । अनि किन फर्किन्थ्यो भाग्य ।
दशा लागेपछि एकैचोटि लाग्छ भनेको पक्का होरहेछ । धन कमाउन अरब पठाएको श्रीमती पनि फर्केर आइछे । आम्दानीको बाटो नै टुट्यो । खुरुखुरु पैसा मात्र पठाएको भए त भइहाल्थ्यो । काम नलाग्ने थोत्रो सर्टिफिकेट बोकेर किन आइरहनु पर्थ्यो । आर्थिक कठिनाइले गर्दा अरूको नाममा भोगबन्धकी पास गरेको बिर्ता सकुशल फिर्ता हुँदा खुसी लाग्नु पर्नेमा मलाई चाहिँ हुनसम्मको तोड पर्यो । उतैतिर व्याएकी भए पनि नाफा ल्याएकी छैन । खुसीको कुरा यही हो । पाण्डवहरूले जस्तो जुवा खेलेर हारेको पनि होइन । भोगचलनको अधिकार मात्र सारेको हो । विदेशतिर बगेर गएको नदीनाला स्वदेश फर्किरहेको बेलामा आफ्नी अर्धाङ्गिनी फर्केर आई त के भयो ? अमर प्रेम भनेको यस्तै त हुन्छ नि । बूढीमरी भनेर पीर गरेको होइन । काल पल्केला भन्ने डर भयो । खोला फर्कियो त फर्कियोस्, केही छैन । हाम्रो खोला हाम्रै देशमा फर्कियो, राम्रै भयो । विदेशिएकी प्राणप्यारी फर्केर आई, त्यो पनि वेशै भो । फेरि चाउरे माया नवीकरण गरुँला । धाराको पानी पनि त्यसै गरी टुटीबाट फरक्क फर्केर पायपभित्रै गायप भइदिन्छ र पो समस्या पर्छ । उपभोक्ताहरू चाहिँ कुरै नबुझीकन खानीपानी संस्थानप्रति आक्रोशित हुन्छन् । वास्तवमा संस्थानको कुनै दोष छैन । दैनिक हाजिरी बजाएकै छन्, मासिक तलब भजाएकै छन् । अधर्म बोल्नु हुँदैन । तलतिर बग्नुपर्ने पानी माथितिर बगेर राजनीतिको खेल खेलेको होला । पानी सुके पनि धारा त सुकेको छैन नि । राजनीतिमा यस्तै हुन्छ । कुर्सी पीडित राजनेताको आन्दोलन मात्र कति हेर्नु । कहिलेकाहीँ त पानीको राजनीति पनि हेर्नुपर्छ ।
देश र जनताको सेवामा समर्पित नेताहरूले नैतिक मार्ग परिवर्तन गरेका कैयौं उदाहरणहरू छन् । तलतिर बग्नेपानी माथितिर बग्न थाल्यो भनेर के आश्चर्य मान्नु । मार्ग परिवर्तन गर्ने अभियान नै चलेको छ । अरू त के कुरा तलबाट माथि चढ्दैजाने प्राकृतिक नियम विपरीत मान्छेको उमेर पनि माथिबाट तलतिर ओरालो लाग्दैछ । यति मात्र होइन चाउरे नेताहरू पनि लाउरे भएका छन् । उमेरले साढेसात दशक पार गरिसकेका खल्दरे बूढाहरूले युवा नेतामा नाम दर्ता गराइसके । अझै कति बूढाहरू क्याबिन रेष्टुराको कुँडा भएर निस्कने हुन देख्न नपाए पनि सुन्न पाइएला । कुँडा मात्र भए त केही छैन देश र जनताका विरुद्ध खुँडा भएर निस्कन्छन् र पो दुःख लाग्छ । वृद्धाहरू व्युटीपार्लर धाउन थालेदेखि वृद्धहरू पनि युवा हुने क्रम बढ्दैछ । यसरी वृद्धवृद्धाहरू युवायुवती हुने, युवा बालक हुने क्रम बढ्दै गयो भने भविष्यमा बालबच्चा जति पुनः गर्भाशयमा नफर्कलान् भन्न सकिन्न । बाटो खुलाभयो भने त फर्कन पनि बेरछैन । घरीघरी ट्राफिक जाम भइरहन्छ र ढुक्क छ । ट्राफिक प्रहरीको आँखा छलेर पसिहाले पनि गर्भस्थलीबाट पुन शुक्रनलीमा प्रवेश गर्नु त त्यसको बाउको तागत चल्दैन । त्यसबेला चाहिँ सडकमा गाडी जाम हुनु साटो गाडीभित्र फिल्टर जाम हुन्छ होला हगि ?
देशका खातिर चिन्तित भद्रभलादमी, समाजसेवी, बुद्धिजीवी, लेखक तथा पत्रकार वर्गहरूबाट सकारात्मक पहल भएमा समस्याको समाधान टाढा छैन । हामीलाई वृथा सङ्कटमा जाक्ने सङ्कट आफै सङ्कटमा पर्छ । यसका लागि केवल पचहत्तर वर्षबाट एकैचोटि तन्नेरी अवस्थामा झरेका नवीकृत नवयुवाको इच्छाशक्तिमा भर पर्छ । सत्तामा बस्ने नवीकृत युवाले नियमित व्यायाम गर्दा चाउरे गालाको सेतो दारी झरेर मुख पनि बुच्चे आरीजस्तो भयो होला भन्ठान्थेँ । म पनि कस्तो मुर्ख हातमा बत्ती लिएर आगो खोज्दै हिँडेछु । मेरो पनि उही गति त हो नि । अरूको मुख हेर्नु साटो आफैले ऐना हेरे भैहाल्थ्यो । त्यति पनि विचार नगरीकन युवा भन्नेबित्तिकै मैदानमा हजारौं दर्शकका माझ आकर्षक खेल खुला प्रदर्शन गर्ने खेलाडीजस्तै होलान् भन्ठाने । ऐना हेर्नेतिर ध्यान गएन । गलत सोचाइमा डुबिएछ । टेलिभिजनको पर्दामा हेरेपछि पो थाहा भयो नवीकृत नवयुवा भनाउँदाहरू त सिंहदरबारभित्रको गोप्य कोठामा बसेर कमिसनको खेल खेल्ने खेलाडीहरूलाई पो भन्दा रहेछन् ।
खुला मैदानमा खेलिने खेलमा त कति भेल हुन्छ । इण्डोर गेमको नाममा कोठाभित्र खेलिने खेलको झन् के हविगत होला । दर्शकको अनुपस्थितिमा रेफ्रीलाई आउट गरेर सञ्चालन हुने खेलमा कसले चबायो, कसले नचबाइकन निल्यो, कसको घाँटीमा अड्कियो, कसको भुँडी पड्कियो केही जानकारी हुँदैन । धूर्त लेखाडीले त अख्तियारको आँखालाई पनि पाखा लगाइदिन्छ । सरकारी क्वाटरमा युरोपियन वाटर पिउँदै सोफासेटमा ध्याम्पे पेट अड्याएर खेल्ने खेलाडीहरू पो रहेछन् । कुनचाहिँ नवकृत नवयुवा हो मैले खुट्याउन सकिन । जसको मुख हेरे पनि विदेशी हण्डी खाने पाखण्डीजस्तो लाग्छ ।
युवा मञ्च (२०६१ आश्विन)
Subscribe
Login
0 Comments
Oldest







































