मोहनराज शर्मारक्सी पिएर फकँदा
कसैले त साँढेलाई भैंसी भन्ठानेर लग्ने सुरले धपाएर आफ्नो घरतिर आधारातमा लिएर जान लागेको पनि देखियो, त्यही भैंसी पालेर दिनको एक पाथी दूध खाने विचार गरेछन्, उनले त्यतिखेर।

गाेपालराज मैनाली (चङ्खे) :
तातो रगत नेपालीको, चिसो रगत ‘अरू’ को
जीवन राम्रो प्याकिङ सेकिङ, रक्सी मीठो ‘मरू’ को
यहाँ जीवन त तपाईं-हामीले अर्थात् मान्छेले मान्छे भएर बिताउन पाएको छ भनेर म जाबोले भन्न सकुँला र तर रक्सी भने छानेर खानसके अवस्थाअनुसार कहिलेकाहीँ ज्यादै मीठो पर्दोरहेछ। साँच्चै काठमाडौँको मरूटोलको एउटा घरमा त्यस रात पिएको रक्सी म कहिल्यै बिर्सन सक्दिनँ, झन् रक्सीको असरले त्यस रातको दुर्दशा त कसरी बिर्सनु र ? दशाको दश, हात लाग्यो शून्य…। त्यो लामो अध्याय अर्कै फुर्सदमा पल्यउँला, आजलाई आउनोस्, छोटकरीमा अन्तै लागू, मरूटोलबाट रातारात भागूँ।
ठाउँ, परिस्थिति, उत्पादन, बिक्री इत्यादि अनुसार मानिस, पशु, फलफूल, रक्सी, मासु आदिको मूल्य अथवा महत्त्व पनि फरक पर्दोरहेछ। राँगो र खसीको मासुमा धार्नीपिच्छे मोल फरक भएकोमा कोही छक्क र कोही पक्क परेको कुरो त विश्वस्त सूत्रबाट सधैँ थाहा पाइरहिएकै हो तर ती दुई थरी मासुका गुणमै फरक हुनाकै कारणले मात्रै मूल्यमा त्यत्रो पृथक्ता आएको हो भन्नेहरूलाई भने केही हदसम्म मूर्ख मानेमा आपत्ति नपर्ला किनभने पानीजस्तो महत्त्वपूर्ण पदार्थको मूल्य साहै कम छ खोलानाला र इनार आदिमा प्रशस्त पाइने हुनाले, अनि रक्सीको मूल्य बढी छ, राखिएका घ्याम्पा र थन्क्याइएका बोतल आदिमा मात्र पाइने हुनाले। अझ मासु त अक्सर थोरबहुत समान किसिमकै हुने हुनाले त्यति लामो कुरो झिक्नै परेन। राँगो पनि खसीजस्तै पुड्के सानो हुने भए मोल बढ्थ्यो र खसी राँगो जत्रो हुनेभएको भए त्यसको पनि मोल घट्ट्यो।
फूर्तिकै कुरा हो भने त हामी पनि त युरोपियनहरूलाई बाटामा छाती फर्काएर तर्साउन खोज्छौं नि हालका हामी वीर नेपाली अहिल्यै मरिहाल्ने हौं कि जस्ता ख्याउटा भए पनि भित्र खैदिला छौं भनेर। खदिलै भएर त होला, हामीमध्ये कति त खुब रक्सी पचाउन सक्ने भएका देखिन्छौँ । मासु-सासु नपाए भटमास-सटमास र त्यो पनि नपाए अदुवा-सदुवासँग अथवा त्यसै पनि खाली पेटमै स्वात्त एक-चौथाइ ठर्रालाई रुद्रघण्टीले छान्दै आन्द्रामा पुऱ्याएर रातो मुख लगाउँदै गम्भीर भलाद्मी भएर साँझैमा घुम्न हिँड्नेहरूको सङ्ख्याले एकातिर यो तथ्यको पुष्टि हुन खोजेको छ तर अर्कोतिर हेर्ने हो भने साँझ उप्रान्तका वास बसिकेका धेरै चौथाइ रक्सीसँग एक्लाएक्लै भिड्न खोज्दा प्रशस्त खतरा र समस्याको सिर्जना भएको पनि देखिन्छ ।
भोक र निद्रा सँगसँगै रातभर हर्कन सक्दैनन, पेट भरेर सुत्नुको मजा अर्क हुन्छ । भोक र निद्रामा विरोधाभास भएजस्तै पिएको र नपिएको मानिसको मनस्थितिमा एकार्काप्रति रहने गरेको विरोधाभास पनि समस्याको जडमध्ये एक हो। अझ स्वास्नीमान्छेहरूले आम रूपमा पिउने चलन चाँडो नआइदिएकाले हामी पियक्कडलाई साई मुस्किल परेको छ. पिएर बेहोसी-आनन्दले छाएको बेला यस्सो दुन्मुनिएर एक धक्का दिन पुगिएछ भने पनि सम्साँझै मान्छेको भीडमा चप्पल खान पर्नु… कत्रो गाईजात्रा ? भोलिपल्ट सडकमा कसरी मुख देखाएर हिँड्नु ? जसरी आजसम्म देखाउँदै आइएको छ, त्यसरी नै ?
घरमा आफूले स्वास्नी कुटेको कुरा टोलभरि हल्ला गरिदिनेहरूलाई त झन् के चाहियो र … रिसले भुतुक्क हुन मन लाग्छ। आफूलाई भने रिस उठ्दैउठ्दैन तर उठेपछि जुरुक्कै उठ्छ। हिजोआज त पिएर आधारातमा घर फर्कंदा पहिले नै बडबडाउँदै पुग्छ, स्वास्नीलाई सुनाउन- “एक्लै तिमी नआऊ म मात्तिएको बेला, गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला…।” आफ्नी त्यस्ती राम्री श्रीमती पनि उस्तै परेकी फेरि… पिएको बेहोसीमा कुटेको भन्ने विचारै नगरीकन रबडका नलीजस्ता घाँटीकन नसा फुलाएर त्यस्सै डाँको छोडिदिन्छे, टुपी समात्न आइपुग्छे, अनि कहिलेकाहीँ पैसाले दङ्ग पर्न आई भने यसो भन्छे- “बाहिर त्यत्रो बेइज्जती हुने गरी किन खानु, बोतल ल्याएर दबाई राख्नु, राति सुत्ने बेलामा खाटमुनि लुकेर घुटुघुटु पिएर पुक्लुक्क मेरो ओछ्यानमा आएर हल्ला नगरीकन सुत्नू, अनि विस्तार-विस्तार एक-दुई महिना लगाएर भए पनि बानी छोडिदिनू।”
सुन्दा सुन्दा मेरो त कानै पाकिसक्यो, कस्तो कुरा नबुझ्ने श्रीमती परिछिन् आफूलाई त । घरमा लुकेर पिउनलाई रक्सी चाहिएको कहाँ हो र, त्यो वातावरण चाहिएको, त्यो सङ्गत चाहिएको, त्यो हाँसो र गफले गुञ्जायमान भट्टीपसल, कोठा अथवा होटेल चाहिएको, अलि-अलि गरेर थपी-थपी रक्सी हालिदिने र खाइसकेपछि हिसाब गर्दै ट्वाँटी कसेर पैसा लिने मान्छे वा स्वास्नीमान्छे चाहिएको, खोइ त्यो कुरा मेरी श्रीमतीले बुभनसकेको ? त्यसैले त म भन्छु स्वास्नीमान्छेले नपिई दिनु हाम्रो समस्याको झन् ठूलो जड हो, पिउनुलाई विरोध मात्र गरेर के फाइदा ? मसँग पैसा छ म पिउँछु, चाहे मैले त्यो पैसा चोरेर ल्याएको होस, जनताको रगत चुसेर कमाएको होस्, प्रशस्त गरिबहरूलाई क्यान्सर र टि.बी.को बाटोतिर हुत्याएर बटुलेको होस्, लाखौं पसिनाका धाराहरू बेघरबार छटपटाएर मरिरहून, मलाई के मतलब ? के मलाई कानुनले समात्न सकेको छ?… रिसले त्यसै त्यसै भुटभुटिन्छु त्यो तारा मात्र हैन, स्वास्नीको बङ्गारा झारिदिऊँजस्तो लाग्छ। ऊ त लाजै नमानी मेरैअगाडि यस्तो कविता पो पाठ गर्दिन्छे गाँठे – …
“पुरेर होचो, अग्लो मठारेर,
बाँच्नु छ हामीले पसिना बाँडेर ।”
लौ हेर्नोस्, सहनुको पनि यौटा हद हुन्छ, अब कसरी सहुँ ? यो व्यथा कसलाई कहुँ ? के चुप लागेर त्यसै बसिरहुँ ? कहुँ त ढिंडो गुन्द्रुक खाऊँ नकहुँ त में मरिजाऊं…। उही पनि त्यसरी आफ्नै बेइज्जती गरूँ भनेर कसले पिएको हो र ? कुनै पनिपियक्कडलाई पिउनुको सुरुमै चार ग्लास रक्सी टक्र्याइदियो भने ऊ छक्क परेर भन्नेछ- ‘ओहो, कत्तिको दिएको, के म राक्षस हुँर…?’ तर होसियार अंशियार भएर थोरै-थोरै थपी-थपी पिउँदै गर्दा ऊ छ-सात डबका पनि उडाइदिन्छ। अनि रक्सी उसको रगत भएपछि लाज, शरम र घिन नभएपछि जे गरे पनि हुन्छ उसले अरूलाई र अरूले उसलाई।
बसेर अडेस लागेर पिउन सकुन्जेल ऊ पिइरहन्छ किनभने उसले अडेर पिउन सकेको छ, पूरा लागिसकेको छैन। तर यौटा कुरा ऊ थाहा पाउँदैन अथवा पाएको थाहा पनि भोलिपल्ट पिउँदै जाँदा हराउँदै जान्छ, अर्कोपटक होसमा नआउन्जेलका निम्ति । (होसमा निस्कन्छ र बेहोसमा पस्छ, यसरी निस्कनु र पस्तुमै प्रायः जीवन समाप्त हुन्छ रक्सीले । जतिसुकै गफ हाँके पनि जीवनमा उसले कुनै खास लछापर्पाटो लाउन सक्ला भनेर चिताउनै पर्दैन। के-के न तातो पानी लाउँछु भन्छ आखिर फेरि रक्सीले सताएपछि बाह्न राजाको एकै स्वस्ति…) त्यो थहा पाइने र फेरि बिर्सने कुरा छोटकरीमा यही हो- ‘रक्सी खास रूपमा लाग्छ, पिएर फर्कंदा ।’
रातको राज्यको बागडोर मेरै हातमा छ भनेर ठान्नु ज्यादा पिएर फर्कनेहरूका लागि मामुली कुरा हो। कोही अर्काको पुष्टकारी पसललाई आफ्नै चर्पी ठानेर त्यहाँ पिसा गरेर हिँडिदिन्छन्, कोही साधारण पियक्कडचाहिँ मोटरको हर्नलाई कुक्कुर भुकेको ठानेर हप्काएर हिँड्छन्, कोही टाउके पियक्कडचाहिँ जाडाले थुर्धर कामेर लडिरहेका नाङ्गा (आफ्नै देशमा आफै नागरिकता नपाएका) गरिबहरूलाई राति सडककै एक भाग ठानेर तिनका ढाडमा आफ्ना मोटरकारका जोडदार पाड्या गुडाएर कुईच्च भइदिन्छन्, कोही पिसाब गर्न पाइन्ट खोलेर रातभरि खोलेको खोल्यै अडान लिइदिन्छन् त कोही सडकका भुस्याहा कुकुरहरूसँग रातभरि भलाकुसारी गरिरहेका हुन्छन् । कोहो धर्मराएर तिर्मिरिएको आँखाले एक जनालाई तीन जना देखेर डराएर भाग्छन्, अनि कोहीचाहिँ पाँच जनाको हुललाई एक जना मात्रै देखेर हेप्दै धर्मरिएको खुट्टा लिएर झगडा गर्न जाइलाग्छन् ।
एकको अनेक र अनेकको एक हुनु साह्रै सजिलो हुँदोरहेछ, मौकाले गर्दा कसैले त साँढेलाई भैंसी भन्ठानेर लग्ने सुरले धपाएर आफ्नो घरतिर आधारातमा लिएर जान लागेको पनि देखियो, त्यही भैंसी पालेर दिनको एक पाथी दूध खाने विचार गरेछन्, उनले त्यतिखेर। यस्तै-यस्तै जे पनि हुनसक्दो रहेछ रक्सी पिएर फर्कंदा…… 1
महाशय / वर्ष १ / अङ्क १ / २०२८
०००
खुसुक्क भन्नुस् फच्च्या (२०७६)
Subscribe
Login
0 Comments
Oldest






































