श्याम गोतामेलेखक होइन, सम्पादक बन्नोस्
अर्को शब्दमा भनूँ भने लेखकहरू आफै लेख्दछन् र पढ्दछन् पनि आफै नै । कति पाठक त यस कारण कि कहीं व्यंग्य आफैमाथि आइलाग्ला; त्यसलाई पढ्ने कष्ट गर्दैनन् ।
श्याम गाेतामे :
जीवनमा धेरै कुरो गर्न सिकियो, गफ र डिल्लो हांक्न लगायत झूटो बोल्न पनि । गर्न नहुने कामहरू पनि कति सिकिए होलान् जसको महत्त्व आफ्नो यौवनका साथ बुढा हुँदै गए । तर अहिलेसम्म यो ठम्याउन, कुन गर्न हुने काम हो र कुन गर्न नहुने काम हो, सिकिएको छैन । यीमध्ये लेखक हुने काम पनि एउटा पर्दछ । एउटा लेख तयार गर्नु र सात सन्तान भएको गृहस्थीलाई एक्लै चलाउनु मेरो निम्ति बरोबर छ । गृहस्थीबाट वैराग्य लागेर साघु हुन घरवार छाड्ने बुद्धि आए मैं गहकिलो लेख (व्यंग्य होइन) लेख्ने कामवाट मैले पनि सन्यास लिएँ ठीक त्यसै गरी जसरी रक्सी पिएर छाती दुख्ने पियक्कडले रक्सीको सट्टा “बियर” लाई अङ्गीकार गर्दछ ।
विचार गरें; “नेपालमा लामखुट्टे बढे ॐ व्यंग्य- लेखक बढ्न थाले, भविष्यमा तिनकै बहुमत हुनेछ । त्यतै लाग्नु बेस होला कि ?” म, विचारलाई विचारको निम्ति मात्र विचार गरी बस्ने विचरा विचारी लेखक कहाँ थिएँ र ? विचारलाई कार्य रूप दिन त्यो पेशालाई अङ्गीकार गरिहालें र केही सम्पादकहरू (जो मेरो नाता पर्दछन्) को कृपाबाट र तपाईंहरू जस्ता धैर्यवान् (यस्तो हा… ई आउने लेखलाई एक पटक पनि हाई……ई नगरी पढी सिध्याउने) पाठकहरूको आशीर्वादले लेखक भएर साहित्य सेवा गर्न तम्सिएँ ।
अन्य विषयमा लेख लेख्न त सामान्य ज्ञानको साथै केही न केही तयारीको आवश्यकता पर्दो होला; दुई चार पुस्तकहरू वरिपरि राखी “नोट्स” पनि बनाउनु पर्ला; त्यति गर्न झिंजो लागे ६।७ वटा सम्चारपत्रहरूवाट सम्चारहरू केलाई “अनुसन्धान” गरेर केही सम्बारहरूको सारतत्वलाई ग्रहण गरी अनि आफ्नो कलमरूपी मुखबाट वमन गर्न सक्नुसम्म पर्दछ । त्यसमा पनि अझ सजिलो खोज्ने हो भने कुनै महापुरुषको जीवनीको अनुवाद वा कुनै लेखकको कृतिको अनुवाद गरेर सोर्स भएको पत्रिकामा प्रकाशित गराई पारिश्रमिक हतियाउनु त अचेल त्यति गाहारो पर्दैन । त्यो पनि नसके कविता र मुक्तकको नाममा ४।५ हरफ लेखिहाल्नु कुनै ठुलो पौरख होइन; तर त्यस्ता कविता र मुक्तक पाठकहरूले बुझ्ने स्तरका होइन, अपितु लेखकले र बढीमा सम्मादकसम्मले बुझ्न सक्ने हुनुपर्दछ । यी सबै खिचोलाहरूको विश्लेषण गर्दा सवभन्दा सजिलो त व्यंग्य-लेखक हुनु नै ठानें र त्यसको ज्वलन्त उदाहरण यो लेख (तपाईं यसलाई लेख नठानी खेल नै ठान्नोस् यसले मेरो केही लछार्दैन, किनभने पारिश्रमिक लिंदा खोटो नोट म स्वीकार गर्ने छैन) हो ।
व्यंग्य-लेख लेख्न न कुनै योग्यताको, न अनुभवको न शैलीको, कहाँसम्म भर्नु बुद्धिको समेत आवश्यकता पर्दैन । उदाहरणको लागि अहिलेसम्म नेपालमा उब्जेका व्यंग्य लेखकहरूको उत्पादनमाथि दृष्टिपात गर्नोस् : न कुनै असाधारण विद्वान् छन्, न त कुनै गहकिलो र पोटवाल पदमा नै विराजमान छन् । कोही प्रेसमा मेशीन मेक्यानिक छन्, कोही शिक्षक छन् त कोही ढाक्रे, त कोही टाइपिस्ट भएर टाइप गर्दागर्दै लेखक हुन पुगे । कतिले त विदेश भ्रमण त के रेलसम्म देख्ने सौभाग्य पाएका छैनन् ।
व्यंग्य-लेख लेख्न जति सजिलो र “मगज स्थिर गर्नु पर्ने” हुन्छ, त्यसलाई प्रकाशित गराउन त्यतिकै गाहो र आफू अस्थिर (यानी सम्पादकको जी-हजूरीमा व्यस्त) हुनुपर्दछ । सबभन्दा उल्लेखनीय कुरा त के भने हास्य-व्यंग्य शीर्षकमा प्रकाशित कुनै लेखलाई पढ्ने पाठकहरू हुँदैनन्, अपितु अर्का हास्य-व्यंग्यकारले मात्र पढ्दछन् । अर्को शब्दमा भनूँ भने लेखकहरू आफै लेख्दछन् र पढ्दछन् पनि आफै नै । कति पाठक त यस कारण कि कहीं व्यंग्य आफैमाथि आइलाग्ला; त्यसलाई पढ्ने कष्ट गर्दैनन् ।
हास्य-व्यंग्यको पालनपोषण गर्ने एउटा कौवा प्रकाशन देखिएको छ । त्यसका काग महोदय अवश्य पनि साधुवादका पात्र छन् । अरू पनि प्रकाशनहरू छन् तर उहाँहरू हास्य मात्र (व्यंग्य होइन) प्रकाशित गर्ने आँट राख्नु हुन्छ अरे । व्यंग्यलाई लोप गरी हास्य प्रकाशित गर्न सक्ने क्षमता उहाँमा कसरी आयो, यो मेरो निम्ति रिसर्चको विषय भएको छ । कुनै प्रकाशन चाहि पात्रो, गीत लहरी र फिल्मी गीतको सङ्कलन गरी प्रकाशित गर्नमा नै व्यस्त छ भने यस्तो अवस्थामा कौवा प्रकाशनको ‘करकर’ यथा नाम तथा गुण भने झैं सार्थक भइरहेछ र नियमानुसार पिना सुक्दै गइरहेछ ।
प्रकाशनको कुरो त छाडौं । पत्रिकाको सहृदयतामाथि पनि एक दृष्टि दौडाओं। एक दिन एउटा व्यंग्य-लेख लिई ‘देशद्रोही’ पत्रिकाको सम्पादककहाँ गएँ। लेख सरसर्ती हेरेर उहाँले भन्नुभयोः “लेख्न त भएकै कुरो लेख्नु-भएको छ तर सरकारको प्रशंसा गर्ने हाम्रो नीति छैन, तपाई ‘देशभक्त’ पत्रिकाका सम्पादकको अफिसका पाल्नोस् न ?” ‘देशभक्त’ का सम्पादकले लेखको अन्तिम लेखांश हेरी आफ्नो समीक्षा टुंग्याउनुभयो: “तपाईंको लेख त सरकारको प्रशंसामा मात्र सीमित छ, ‘समर्थन मात्र छाप्दछ’ भनेर हाम्रा पाठकहरू गुनासो गर्दछन्; तसर्थ यो भएन अरू कुनै नयाँ लेख्नोस् न ?” र वडो प्रेमले भन्नुभयो : “तपाईं एक पटक ‘तटस्थ’ पत्रिकाका सम्पादकलाई भेट्नोस् न ?”
“तटस्थ” का सम्पादकले लेखको शीर्षक हेरेर नै तोक लगाउनुभयो: “तपाईंको लेखबाट त ताजा राजनीतिक गन्ध पो आउँदछ । हामी त हाम्रो पत्रिकाद्वारा कुहिएका कथा, मक्किएका गजल र ढुसी परेका गीतहरूबाट मात्र पाठकहरूको मनोरन्जन गराउँदछौं । सेक्स-सम्बन्धी केही लेख्नोस् न ?” अनि बाटो देखाउँदै भन्न भयो: तपाईं एक पटक ‘गुप्त’ पत्रिकाका सम्पादककहाँ जानोस् । “गुप्त” का सम्पादकले गुप्ताङ्ग सुटुक्क हेरे झैं वीचको एक पाता पढेर भन्नु भयो, “तपाईंको लेख त एकदमै मौलिक भयो । यसमा अरू लेखको रेफरेन्स नै आएन, यो त एकदमै व्यक्तिवादी भयो ।” अनि सोमतिलो तवरमा मुस्कानको साथ सेवा गर्दै भन्नुभयो, “हाम्रो पत्रिकामा गुप्त लेखकहरूको गुप्त लेखले मात्र स्थान पाउँदछ, त्यसमाथि हाम्रा पत्रिकाका कर्मचारीहरूलाई आफ्नै गुप्त लेख छपाउँदाको फुर्सत हुँदैन; त्यसबाट फुर्सद भएर पत्रिकाको लागि अरू कुनै म्याटर नपाए मात्र हामीले अरूका लेख याने तपाईंका जस्ता अगुप्त लेखलाई स्थान दिने गरेका छौं ।
त्यो व्यंग्य-लेख अझै मेरो गोजीमा नै छ । आफूले लेखेको व्यंग्य-लेखले सधैं मलाई नै व्यंग्य गर्दछ । त्यो प्रकाशित हुने पालो कहिले आउने हो ? त्यो भगवान्लाई थाहा नहोला तर मेरा सम्पादकलाई त अवश्य थाहा छ र त्यो केभने “त्यो कहिले पनि छापिइने छैन ।”
(रूप-रेखा, पूर्णाङ्क ९८)
०००
मपाइँ (पहिलाे संस्करण : २०२६)
Subscribe
Login
0 Comments
Oldest





































