श्याम गोतामेनेता
ऐना बनाउनेलाई सरापेर के फाइदा ? विकृत अनुहार परिष्कृत भएर प्रतिविम्बित हुने खालको ऐना खोज्दै सिद्धान्तलाई काखी च्यापी हिँड्नु सट्टा विकृत अनुहारलाई नै परिष्कृत बनाउने आवश्यकता महसुस गर्ने साइत नेताजीले कहिले किने ?

श्याम गोतामे :
‘नेता’ – यो कर्णप्रिय शब्द कुन भाषाको दन्त-पंक्तिबाट उछिट्टिएर हाम्रो राष्ट्रभाषाको बङ्गारोमा जडान हुन आएको हो; यसको प्रवृत्ति ठ्याहा मठ्याहामध्ये कुन चाहिँसित मिल्दोजुल्दो छ; तत्सम्बन्धी अन्वेषण गर्ने कपाल दुखाइ मेरो नभई प्रख्यात अन्वेषकहरूको भएकोले ‘नदुखेको कपाल किन दुखाउने ?’ भन्ने उक्तिलाई स्मरण गर्दै यस शब्दको व्युत्पत्ति र इतिहास लेखेर नाम र दाम आर्जन गर्ने अभिभारा सम्बन्धित भाषासेवीहरूको काँधमा बिसाई प्रस्तुत शब्दको नेपाली जनजीवनमा भूमिकाबारे मात्र केही कुरो उक्काउँदछु ।
कसैलाई उडाउनु छ भने पहिले आफूले आफूलाई नै उडाउने ह्याउ हुनुका साथै अरुलाई उडाउने सीप र इलमको दरकार पर्दछ; तर जहाँसम्म सर्वज्ञ नेतामा आफूले आफूलाई नै दर्ने सम्बन्ध छ, एक वित्ता लामो जिभ्रो, प्रवल वैचारिक असन्तुलन तथा समुद्रपारिका गोडा बीस-एक देशहरूको नाम कण्ठ हुनु बाहेक अरू कुनै प्रतिभाको दरकार पर्दैन ।
मेरो अल्पमतिले ठम्याएअनुसार नेताहरू तीन किसिमका हुन्छन् सज्जन, दुर्जन र अधम । पहिला कोटिका नेता यथार्थमा महामानव हुन्छन् र उनीहरूका विचार र सिद्धान्तले विश्वलाई नै आलोकित तुल्याइरहेको हुन्छ; तर यस कोटिका नेताहरू भने आफूलाई नेता भनेर घोषित गर्न कहिल्यै रुचाउँदैनन् । दोस्रा दर्जाका नेता कुनै एउटा सिद्धान्तलाई देखावटी रूपमा च्यापी त्यसको आडमा औसरवादको उन्मुक्त प्रयोग गरी आफ्नो दुनो सोझ्याउँदछन् र आफूलाई नेता घोषित गर्नमा गौरव ठान्दछन् । तेस्रा दर्जाका नेता चाहि न त कहिल्यै नेता थिए न छन्, न त भविष्यमा नै हुने आशङ्का छ । तर नेता भनाउने सबभन्दा बढी सोख यिनलाई हुन्छ । स्थिति कस्तो भएर आएको छ भने केवल राजनीतिक औपचारिकता पूरा गर्नको निम्ति बकुल्लामाराहरूको गोष्ठीको पनि सभापति भई नेतृत्व बटुल्न यिनीहरू धक मान्दैनन् । यिनको प्रमुख उद्देश्य हो नेता भनाउने, कसको र के को निम्ति भन्ने प्रश्न चाहिँ नकोट्टयाउनु नै जाती ।
मेरो यस लिखित भाषणको लक्ष्य उपरोक्त वर्गीकरणमा तैसा कोटि मा दरिएका पुङमाङ नेताहरूको चारित्रिक र बौद्धिक विशेषताहरूमाथि प्रकाश पार्नु हो । नमूनाको निम्ति म मेरा परम मित्र श्री सर्वज्ञजीलाई तपाईं समक्ष घचेट्दै छु । आठ पहर तथाकथित राजनीतिक चर्चामा व्यस्त रहने; फटीचर कविको जस्तो कान्तिविहीन मुखमण्डल; रित्तो गोजी र मस्तिष्क भएका र तलुवाविहीन जीर्णप्राय जुत्ता धारण गरी राजधानीका प्रमुख डबलीहरूमा राजनीतिक बोधिसत्त्वको निम्ति भौँतारिइरहने श्री सर्वज्ञजीलाई मानिसको त के कुरा भुस्याहा कुकुरले समेत चिन्दछ । सिद्धान्त कुपात्रको हातमा नपरुन्जेल मात्र पवित्र रहन्छ । वकुल्लोले माया टिपेसरि उहाँले पनि एउटा सिद्धान्तलाई अँगाल्नुभएको छ । उहाँले अपनाउनुभएको सिद्धान्तको पवित्रता सिद्धान्ततः निर्विवाद र स्फटिक झैं स्वच्छ र निर्मल छ । तर अन्धो प्रेमीको हातमा कोमलांगी प्रेमिका परेझै प्रेमिकारूपी सिद्धान्तको सुकुमारी शरीर उहाँको प्राणघाती अङ्कमालले छियाछिया हुन्छ । अझै खुलस्त भन्ने हो भने सिद्धान्तको गति त्यस्तै हुन्छ जस्तो कि बाँदरको कर-कमलमा नरिवलको ।
न्वारानको नाउँ सर्वज्ञजी भए पनि उहाँको बोलाउने नाउँ भने गोबर धन हो । ‘धन’ जति उहाँले २० वर्षको राजनीतिक अध्यवसायको क्रममा सोतर पार्नुभयो, तदुपरान्त उहाँको शुभ नाममा बाँकी रहन गएको शब्दांशले उहाँको मस्तिष्कलाई विभूषित तुल्याएको छ । मानव-जीवनका कुरूप र निर्मम सत्यका उहाँ सजीव चित्र हुनुहुन्छ । श्रमजीवीको श्रमप्रति उपहास; मानवीय मूल्यहरूप्रति जघन्य उपेक्षाभाव; भोकाले रोटी पाउन असमर्थ भएकोमा उल्टै भोकाप्रति परिहास र व्यङ्ग्य-सङ्केत उहाँका आक्षेपका आलम्बन हुन् । जाँड, जूवा, हराम, कपट, शोषण, सामन्तीपन, पाखण्ड, असत्य, घृणा, विश्वासघात – यी शब्दहरू शब्दज्ञानको दृष्टिले उहाँलाई कण्ठ छन् र व्यावहारिक जीवनमा पनि अविरल गतिले कार्यान्वित हुँदा छन् । उहाँको सैद्धान्तिक पक्ष जति मानवतावादी छ त्योभन्दा सयौँ गुना मानवद्वेषी उहाँका आचरणहरू छन् । उहाँ बीसौँ वर्षदेखि यो कथनलाई दोहोर्याउँदै यद्यापि जीवित नै हुनुहुन्छ, “मानवद्वारा मानवको शोषण समाप्त नहुन्जेल मानवतावाद फस्टाउन सक्दैन ।” तर लाक्षणिक कुरो त के भने उहाँका उनान्सय प्रतिशत सामाजिक, राजनीतिक, नैतिक सम्बन्धहरू असत्य, फूट, धोखा, द्वेष र कपटले भरिभराउ छन् ।
निम्नस्तरीय राजनीति खेल्नु उहाँको सोख हो र नेतृत्व उहाँको अम्मल हो । आडम्बर उहाँको पोशाक हो, निद्रा र आलस्य उहाँका आभूषण हुन् । उहाँको चिन्तन भू-उपग्रह झैं ब्रह्माण्डदेखि भूमण्डलसम्म व्याप्त छ । ठाउँमा बेलफास्टदेखि बुडापेस्ट, जेनेभादेखि जाकार्ता; पेरूदेखि पेकिगः मानिसमा सुच्चासिंहदेखि टोलमा गुच्चा टोलसम्मका राजनीतिक गतिविधिसित उहाँ परिचित हुनुहुन्छ । सुकुलको शैया; ढिढोको लन्च, खोलेको डिनर एवं अलौटो मकैको ब्रेकफास्टको भरमा नेताजी समुद्रपारिका राजनीतिक गफहरू हाँक्नुहुन्छ । सामान्य ज्ञान र बौद्धिक क्षेत्रको क्षितिज कति समृद्ध छ भने नेपालका चौधै अन्चलको नाम लहरै भन्न सके गाई मारी हत्ते !
एक दिन मैले “भियतनाम कुन महादेशमा पर्दछ ?” भनी सोद्धा मेरो प्रश्नको निम्न स्तरीयतामाथि घोर भर्त्सना गर्नुहुँदै उहाँले भन्नुभयो, “मिस्टर ! त्यति पनि थाहा छैन ? भियतनाम भियन्टिनको राजधानी हो ।” इण्डो-चाइनाको भौगोलिक स्थितिमाथि प्रकाश पारिमाग्दा उहाँले आफ्नो अन्तरराष्ट्रिय ज्ञान-गरिमाको विस्फोट एक पटक यस पारामा गर्नुभएको थियो, “यो मुलुकको नाउँ नेफा हो र यो भारत र चीनको सिमानामा पर्दछ । अङ्ग्रेजी पढ्नुभा’ भे पो ! नत्र इण्डो माने भारत र चाइना माने चीन किन थाहा नहुनु !”
उहाँको अन्तरराष्ट्रिय ज्ञानको प्रभावबाट रनथनिएको छँदो उहाँको राष्ट्रिय ज्ञान-सागरको गहिराइ नाप्ने तलतल थाम्न नसकी एक पटक मैले सोधेँ, “रोल्पा कुन अन्चलमा पर्दछ ?” उहाँले निकै बेर घोरिएपछि भन्नुभयो, “रोल्पा दाङ अन्चलमा पर्दछ र आफ्नो छातीलाई त्यतिकै फुलाउनुभयो जति कि दर्जीलाई कोटको नाप दिदा फुलाउनु अनिवार्य हुन्छ ।
उहाँ आफ्नो दृष्टिमा सर्वज्ञ हुनुहुन्छ । आलोचनाको अभिषेकबाट उहाँ त्यतिकै रनथनिनुहुन्छ जति कि डी. डी. टी. छर्दा लामखुट्टे ढुनमुनिन्छन् । केही सिकौँ, केही गरौँ, केही जानी, अरुका कुरा पनि सुनिदिउँ भन्ने बौद्धिक जिज्ञासा न कहिले थियो, न छ, न रहनेछ । कसैले कुनै विकृतिलाई औँल्यायो भने सत्यको तीव्र ज्योति र तीतो स्वाद सहन नसकी उहाँ विचलित हुनुहुन्छ । यस्तो स्थितिमा सुटुक्क लुकेर आफ्नो अनुहार ऐनामा हेर्ने इच्छा उहाँमा पलाउँछ । सर्वज्ञजी ऐनाअगाडि उभिनुहुन्छ; ऐनामा प्रतिविम्बित अनुहारले क्रोधाग्निमा घिउको काम गर्दछ । यस्तो सार्वभौम स्थितिमा तेस्रो कोटिका नेताहरू दायाँ बायाँ नहेरी आफ्नो रिस ऐनामाथि पोख्दछन्, ऐना २० सौ टुक्रामा परिणत हुन्छ । झोक्किएर यस्सो हेर्यो झन् बीस ठाउँमा आफ्नो अनुहार देखिन्छ- आ-आफ्नूमा पूणर्त्व प्राप्त गरेर ! तर बिचरो ऐनाको के दोष ? ऐना बनाउनेलाई सरापेर के फाइदा ? विकृत अनुहार परिष्कृत भएर प्रतिविम्बित हुने खालको ऐना खोज्दै सिद्धान्तलाई काखी च्यापी हिँड्नु सट्टा विकृत अनुहारलाई नै परिष्कृत बनाउने आवश्यकता महसुस गर्ने साइत नेताजीले कहिले किने ? सिद्धान्त-पारायण गरी कण्ठ गरेर मात्रै कि सिद्धान्तअनुरूप आचरण पनि गरेर ? यस कथाका कणर्धार श्री सर्वज्ञजी यस्ता जिभ्रो समाउने प्रश्नको उत्तर दिनुभन्दा ङिच्च हाँसेर बत्तीस दाँत प्रदर्शित गर्न बढी रुचाउनुहुन्छ ।
०००
‘कायेनवाचा’ (२०३३)
Subscribe
Login
0 Comments
Oldest







































