साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रुफरिडर

एउटा पाण्डु‌लिपिको अक्षर बुझ्न नसकी मैले एकजना डाक्टरलाई उक्त पाण्डुलिपि देखाएँ। पाण्डु‌लिपिको दिव्य छवि देखी उहाँका आँखा रसाएर आए र उहाँ झन्डैझन्डै रोएझैं भन्न थाल्नुभयो- त्यो हस्तलेख देख्दा ममा हीनताभास पलाएर आयो।

Nepal Telecom ad

श्याम गोतामे :

नेपाली भाषा समृद्ध, सशक्त, सरस, सरल एवं सुबोध्य छ भनी नेपाली भाषाशास्त्रीहरू एवं भाषाविद्हरू जतिसुकै कुर्ले पनि जाबो एउटा शब्द प्रुफरिडर’ को अर्थ जनाउने निक्खरा एवं ठेट नेपाली शब्द फेला नपरी नेपालमा प्रकाशित भइसकेका यावत् शब्दकोश केलाई प्रज्ञा-प्रतिष्ठानदेखि मदन पुरस्कार गुठी र फलानो लेखकदेखि ढिस्कानो भाषाशास्त्रीसम्मको पाउ मल्दाहुँदीसमेत निराशाको पोको हात लागेर यस निबन्धको शीर्षक नै अ‌ङ्ग्रेजी भाषालाई साष्टाङ्ग दण्डवत् गरी उसके शब्दको शरण पर्दै ‘प्रुफरिडर’ नै राख्न बाध्य हुनु औधी लाज मर्नु कुरा हो।

के तपाईं प्रुफरिडर शब्दको नेपाली पर्याय एक शब्दमा भन्न सक्नुहुन्छ ? मलाई विश्वास छ, तपाईले कपाल कनाउँदै र कुरो चपाउँदै अनेकौं शब्दहरू सुझाउने रूपमा प्रस्तुत गर्दै बेलिविस्तारलाई मलाई मेरो चित्त बुझाउन वाध्य गर्नुहुनेछ, तर म के ठोकुवा गर्न सक्तछु भने तपाईंले रोज्नु भएको पर्यायबाट तपाई आफू नै सन्तुष्ट हुन सक्नुहुन्न र तत्कालका लागि मलाई भालु पन्छाएझैं पन्छाउन सफल हुनु भए पनि आफूले सो शब्द लिखित रूपमा लेख्ने आँट गर्न नसकी पुफरिडर नै लेख्नु हुनेछ । यस्तो किन ?

उत्तर एकदमै स्पष्ट छ र त्यो हो “चल्ता है।” प्रमाणका लागि तपाईं पहिले प्रकाशनमा आइसकेका अनेकौं वाक्यांशहरू देखाउनु हुन्छ, आफूभन्दा जान्ने सुन्नेसँग सोध्नु हुनेछ, उसले आफ्नो अफिसको घुम्ने मेचमा बस्या-वस्यै टेलिफोनबाट तोक सदर गर्दछ- “चल्ता है।” मैले पनि यो निबन्ध लेख्नु अगावै एकजना अन्वेषकसँग सोधे। उहाँले भन्नुभयो, “होइन श्यामजी। ‘पुफरिडर’ चल्दैन र ?” एउटा प्रकाशनका हाकिमसँग सोडा उहाँले भन्नुभयो, “तगडा खालको प्रुफरिडर नपाएर प्रकाशन नै बन्द गर्नुपर्ने भइसक्यो, यस्तो अवस्थामा कमसेकम शब्दसँग त अन्याय नगर्नोस्। तपाईलाई केको कपालदुखाइ ? पुफरिडर’ नेपालीमा चल्दैन र ?” एउटा प्रमुख सम्चारपत्रका सम्पादकसँग टेलिफोनमा सोद्धा जवाफ पाएँ: “खोइ वा । त्यो विषयमा त मभन्दा प्रुफरिडर लाई नै सोध्नु वेश होला।” पुफरिडरसँग सोडा उसले भन्यो “तपाई पनि रङ न ढङ्गका प्रश्न सोध्नुहुन्छ, पुफरिडर एकदम निक्स्खरा नेपाली शब्द हो, अ‌ङ्ग्रेजहरूले हाम्रो मापाबाट यो शब्दको अपहरण गरेका हुन्। म स्वयं प्रुफरिडर हुँ अनि ‘पुफरिडर’ चल्ने त करै आएन ।”

व्यक्तिहरू अक्सर गरेर खतरनाक हुन्छन्, उदाहरणका लागि एडिटर, डाक्टर, ‘ग्राफर, (‘चोर’ शब्दलाई यहाँ अनौपचारिक रूपमा उद्धृत गर्नु परेकोमा मलाई खेद जन सकिन्छ । पुफरिडर चाहिँ अपवाद हो ऊ कसैका निम्ति खतरनाक हुँदैन बरु उसका निम्ति पाण्डुलिपि, लेखक, लेखकको भाषा र उसको हस्तलेख खतरनाक हुन्। व्यक्तिगत अनुभवले के भन्छ भने धोर-वहुत जान्ने-सन्ने, डेढ अक्कली र भाषासम्बन्धी खिचलाे गर्न धक नमान्ने र आफूभन्दा धेरै माथिल्ला कोटिका विद्वानहरूको लेखाइ हेरी शुद्धाशुद्धिसम्बन्धी कटु-मधु टिप्पणी प्वाक्क पेस गर्ने र अक्षरसँग खेल्न सकसक र बानी भएको प्रुफरिडर पेसालाई दिगो राख्न सक्तैन । अर्को कुरा के भने ऊ प्रुफ हेरेर जति पारिश्रमिक बटुल्छ त्योभन्दा बढी गाली आर्जन गर्दछ । मेरो यस भनाइलाई तपाईले सनद ठाने फरक पर्दैन ।

हिन्दी भाषाको ठिमाहा-लेखाइ जसलाई ‘नेपाली भाषा’ मान्न तपाईले तयार हुनु पर्नेछ, न्यनका नमुना पेस छ : “म तपाईलाई यो भन्न उचित सम्झन्छु कि हाम्रो नेपाली भाषा खाँटो हुनु पर्दछ ना मनै पाठकले भन्नेछन् कि अमुक लेखकको भाषा खिचडी रहेछ जसले गर्दा कि लेखककाे प्रतिष्ठामा धक्का नपरोस् । त्यसर्थ तपाईले सदा सतर्क रहनुपर्यो कि कृपया आइन्दा यस्तो नहोस् ।

कुनै विदेशी भाषाबाट अनूदित गरिए पनि यदि पुस्तकको पुछारमा सन्दर्भ-सूची अथवा ‘सहायक ग्रन्थहरूको सूचीको जडान प्रेमपूर्वक भएको छ भने त्यस्तो भाषालाई जुनसुकै पाराको भए पनि ‘मौलिक’ भनी मान्न तपाईले स‌ङ्कल्पवद्ध हुनुपर्छ। मौलिकताको दाबी गरिएको एउटा नेपाली पुस्तकको एउटा अंश नजर गरिबक्सियोस् “ती दिनहरूमा गद्य-विधामा नौलो आयाम थप्ने दुई महान् प्रतिभाहरू भए-फलानो र ढिस्को। अघिल्लोको विशेषता अभिव्यञ्जनावाद थियो मने पछिल्ला थिए-निर्वैयक्तिक धाराका प्रतिपादक ।”

व्याकरणको घाँटी अचेटिएको एउटा वाक्य:- “आफ्नो पुत्रको समृद्धि सुख र सम्पन्नता प्रत्येक पिता चाहन्छन्।” शब्द-सामर्थ्यको टाटपल्टाई:- ‘कर्मचारी सञ्चय कोषले आगामी आर्थिक वर्षदेखि सञ्चित रकमको व्याज दर सयकडा छ प्रतिशत दिने भएको छ।”

छाडावादी नेपाली लेखन-कलाको एउटा नमुना :- बिचारी बाजे आफ्नो पत्नीसहित नैकापको घर-घडेरी बिक्री गरी अचेल चावेलमा गई घरजम गरी बसेका छन् ।” हरे शिव। बिचरा पुफरिडर । उसले विचारी बाजेकी पत्नीलाई बेचिनबाट जोगाउने कि बिक्न दिने ? मैले उक्त लेखोटको प्रुफ हेर्दा आफ्नी पत्नीसहित’ भन्ने वाक्यांशलाई उक्त वाक्यको ‘विक्री गरी भन्ने शब्दपछि जडान गरिदिएँ। छापिएको प्रति लेखक कहाँ प्रस्तुत हुँदा उहाँले मलाई वाघले झम्टे झैँ भन्नुभयो : “तपाईं एउटा मामुली प्रुफरिडर। मजस्तो महान् लेखकको वाक्य सच्याउने, शैलीको हत्या गर्ने र संशोधन गर्ने काम तपाईंको होइन । तपाईं गुरुकापी (रिसले भकभकाउँदा उहाँ त्यस बत्वत गुरुकापिलाई ‘गुर्कापी’ भन्दै हुनुहुन्थ्यो) बमोजिम झिंगा-टसाई गर्ने हो।” मैले विनीत भावमा निवेदन गरें- झिंगा टाँस्दा बिचार्नी बज्यैसमेतको बेचविखन सम्पन्न भएको बोध हुन जाने आशङ्‌का हुँदा मैले यो धृष्टता गरेको हुँ।” मेरोतर्फबाट उहाँलाई हार्दिक क्षोभ भयो।

एउटा भाषाशास्त्रीले लेख्नुभएको एउटा वाक्य “महान् विद्वानहरूलाई सोचेर लेख्ने फुर्सद हुँदैन, उनीहरू पहिले लेख्दछन् अनि सोच्दछन् ।” उक्त वाक्यको प्रुफ हेर्दा मैले अरू थोक यथावत् कायम राखी ‘महान’ र विद्वान को ‘न’ को खुट्टा काटिदिएँ। लेखक महोदय साह्रै जंगिनु भयो र मेरो घोर भर्त्सना गर्दै भन्नुभयो- ‘महान् र विद्वान‌को खुट्टा काट्नु हुँदैन, खुट्टा त चोरको पो काट्नु पर्छ ।” मैले शिर निहुराउँदै विनीत भावले मौन धारण गर्दै मनमनै भने ‘चोर त फेला पारेको हुँ तर प्रुफरिडर बन्चरोबिहीन परशुराम हुन्छ ।”

अब केही फाल्तु विशेषणहरू पेस छन् : जघन्य हत्या, दुखद निधन, महादारुण बज्रपात. खुलेआम डकैती, सुखद उपस्थिति, अनावश्यक ढिला सुस्ती, उचित योगदान आदिले पनि प्रुफरिडरको कन्सिरीका रौँ तात्छन् ।

अब आउँछ हस्तलेख । जुन लेखक जति महान् हुन्छ उसको हस्तलेख उत्तिकै डाक्टरी हुन्छ । एउटा पाण्डु‌लिपिको अक्षर बुझ्न नसकी मैले एकजना डाक्टरलाई उक्त पाण्डुलिपि देखाएँ। पाण्डु‌लिपिको दिव्य छवि देखी उहाँका आँखा रसाएर आए र उहाँ झन्डैझन्डै रोएझैं भन्न थाल्नुभयो- त्यो हस्तलेख देख्दा ममा हीनताभास पलाएर आयो। एम.बी.बी.एस.देखि एम.डी. पास गरिसकेको नेपालको कुनै पनि डाक्टर यो हस्तलेख देखेर नलोभिए गाई मारी हत्ते ।”

पाण्डुलिपिमा रहेको एउटा अशुद्धि पुस्तक छापिएपछि १,००० ओटामा परिणत हुन्छ। लेखक भएर दाम र नाम कुम्ल्याउन खोज्ने मतिमानले सबभन्दा पहिले व्याकरणका सामान्य एवं प्रचलित नियमहरू, ठ्याहा-मठ्याहा शब्दहरू र शुद्धाशुद्धिप्रति सकभर सचेत रही हस्तलेख वान्किला र राम्रा मए आफ्नै करकमल र डाक्टरी पाराका हस्तलेख भए टङ्कन गराई टङ्कित प्रतिलाई एकपल्ट रुजु गरी प्रकाशनका निम्ति प्रस्तुत गर्नु पर्दछ। तर हामीकहाँ यो चलन छैन ।

किन ? त्यसको जवाफमा यी अत्तोहरू थापिन्छन् : लेखकको वेफुर्सदी, सित्तै साफी गरिदिने सिक्टर को अभाव, मुद्राराक्षस र प्रुफरिडर। यी सबै अत्तोहरू जाँगरविहीन, श्रमबाट पलायन गर्ने तर सिप देखाउन खोज्ने पङ्गु प्रवृत्तिका द्योतक हुन्। याे जवाफदेही पन्छाउने र जिम्मेवारीबाट पलायन गर्ने संस्कृति हो ।

गुरुकापी र प्रुफरिडरको द्वन्द्वयुद्ध, प्रेस, सञ्चालन, मुद्रण तथा प्रकाशनका माखेसाङ्ले जेलाइसँग नेपालका कति प्रतिशत लेखक परिचित छन् ?

यी सबै प्रश्नको जवाफ दिन तम्सने को ? अशुद्धि देख्ने वित्तिकै नाक चेप्प्राई प्रुफ रिडरमाथि जाइलाग्ने र उसको सात पुस्तालाई वैतरणी पार पुऱ्याउने विद्वान्हरूले आफ्नो लेखोट प्रेसमा हुत्याउनुभन्दा अघि पहिले आफ्नै दिव्य चक्षुले कमसेकम एक पटक दोहोराई र परिष्कृत गरी मात्र प्रकाशनको पङ्क्तिमा उभ्याउन हतार गर्ने परम्परा बसाल्ने समय आउने बेला के अझै भइसकेको छैन ?

हिक्क-हिक्क गरिरहेको रोगीलाई अस्पताल पुऱ्याए डाक्टरले केही मद्दत गर्न सक्लान् तर मरणासन्न, धमिरोले स्वल्पाहार गरिसकेको, पाण्डुरोगबाट क्यान्सरतिर गतिमान भएको गुरुकापी प्रेसमा पठाएपछि प्रुफरिडरले भिरबाट लड्न आँटेको गोरुलाई झैं राम-धुन श्रवण गराउन मात्र सक्तछ, आफैँ हाम्फाल्ने प्रुफरिडर पाइएला त ?

आजको मुद्रण र प्रकाशन व्यवस्था भिरबाट खस्न लागेको गोरुझैँ छैन त ?

यसमा परेका नमुना-वाक्यहरू कोरा काल्पनिक हुन् र तिनको कुनै लेखक वा पुस्तक विशेषसँग सम्बन्ध छैन । -ले.)

०००
मधुपर्क, (२०३०, साउन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
म अमर हुन चाहन्नँ

म अमर हुन चाहन्नँ

श्याम गोतामे
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x