साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निफुल्किएका कुराहरू

नाम खाली रहेको एउटा कोठा मजस्ता अयोग्य मतदातालाई किन उपलब्ध नगराउने ? त्यतिमात्र गरोस् त अनि कहाँको चुनाव प्रसार ? किन चाहियो बुथ क्याप्चरिङ ? मतदाताहरूमध्ये ९० प्रतिशतले त्यस खाली कोठामा छाप ठोक्नेछन् ।

Nepal Telecom ad

श्याम गाेतामे :

प्रधानमन्त्रीहरू प्रायः दुई किसिमका उपलब्ध छन् । एउटा त्यो, जो बकाइदा बहुमत बटुलेर पदमा बहाल रहँदारहँदै पनि कुन कुरा बक्नमा लीन रहन्छन् भने देशमा भ्रष्टाचार भनिने प्राणीको हैकम त्यसैगरी विद्यमान छ, जसरी स्वयम् कण-कणमा रुजू हाजिर रहन्छन् । यस्ता सनसनीपूर्ण तर विशेष पाराका रहस्योद्घाटनहरू मैलेचाहिँ राजीनामा दन्काएपछि मात्र गर्ने गरेको छु ।

अर्काथरी ती हुन्, जो प्रमुख विपक्षी अल्पमतको संसदीय दलका नेता भएका कारण र परिबन्दले नवनियुक्त प्रधानमन्त्रीको उपाधि प्राप्त गरेका हुन्छन् । यस्ता कोटिका मनीषीहरू प्रायः भाग्यवादी हुन्छन् र शपथग्रहण गर्दा प्रशस्त साइत-कुसाइत जुराइमात्र गर्ने गर्छन् । यिनमा कुन कुराको भ्रम रहन्छ भने प्रधानमन्त्री हुनेबित्तिकै पृथ्वीको सम्पूर्ण भार आफ्नै थाप्लामा बजन पुगेको बेहोरा बुझ्न समर्थ हुनुका साथै त्यस्तो बिजोगको गम्भीर पाराका लोकार्पण गर्छन् । यस देशका नेताहरू किन र कसका निम्ति पिरालिने गर्छन् ? पखाला लागेका जनता स्वचालित रूपमा पाखामा पर्छन् र यिनलाई कब्जियतको परिणामस्वरूप विसर्जित हुँखाखेरि ठसठसी कन्नुपर्ने हुन्छ र मेरो भान्छाभन्दा लाखौं गुना सफा ट्वाइलेटमा बसेर यी फगत कन्ने काम गर्छन् र ठसठसी कन्याकन्यै भ्रष्टाचार निवारण गरिभ्याउँछन् ।

कुरा पनि कतिथरिको काट्नु । उदाहरणका निम्ति उपप्रधानमन्त्रीको पदलाई नै लिऊँ । संविधानको लिङ्गभेद नमाने पनि पुंसत्व हुनेहरू कनीकुथी भए पनि नाङ्गो सत्यचाहिँ मानिटोपल्छन् । एकताक उपप्रधानमन्त्रीका रूपमा जुगेमुळे पुलिङ्गी प्राणी प्रतिष्ठित थिए । उनले जुन जवॉमर्दीका साथ सरकार, पार्टी अनि गफ हाँके, त्यसको प्रतिफलस्परूप हुँदोखाँदो पार्टी कुहिएको फर्सी चिरा परेजस्तो दुई फक्ल्याँटो भयो ।

व्यक्तिगत रूपमा पोथी बासेको मलाई पटक्कै मन पर्दैन । अब मलाई मन परेन भन्दैमा स्त्रीलिङ्गी उपप्रधानमन्त्री चाहिएन भन्न मैले मिल्दैन । तथापि, उहाँलाई सुम्पिएको मन्त्रालय र उहाँले सम्पन्न गर्नुपर्ने कार्य उहाँको संस्कार, सीप एवम् सामर्थ्यबाहिरका हुन् भन्न भद्रो हेर्नुपर्ने म देखिनँ ।

आफूले ओढेको कालो रङको ओढ्‌ने धरधर्ती च्यातेर त्यसको कालो झण्डा बनाएर हुन्याएबापत क्रान्तिकारमिा दरिइन त सकियो, तर बेलना, चकला र डाडु-पन्यूँ हुन्याएर किसानका खेतमा पानी पुग्ला भनी कल्पना गर्नु मतिभ्रममात्र हो । यस देशका कैयौं खाइलाग्दा सारसौंदा इन्जिनियरहरू सिँचाइसम्बन्धी योजना तर्जुमा गर्दागर्दै दिवङ्गत हुन पुगे। बिचराहरूले खानेपानीको न्यूनतम आपूर्ति गराउनसम्म त सकेनन् भने ‘प्रत्येक किसानको खेतमा पानी पुन्याउने’ नयाँ उपप्रधानमन्त्रीको नवीनतम घुर्की न त त्यति पानीदार नै प्रतीत हुन्छ न त ‘खुट्टी देख्तै चाल पाएँ’ भन्ने उखान भट्याउने लोभ छाड्न मेरो मनले मान्छ। बरु ‘गरी खा’ भनी मामाले दिएको पगरी जो जोगाउनैमात्र पनि अहोरात्र पिल्सिनुपर्ने त होइन ?

उहाँको मन्त्रित्व पूर्णावधिसम्म सकुशल कायमै रहने कुरामा र सम्बद्ध मन्त्रालयमा व्याप्त अपसंस्कृतिहरूको पेलानमा परेर ‘यहाँ त जताततै भ्रष्टाचारमात्र रहेछ’ भन्दै पुनः राजीनामा दन्काउने शुभसाइत नआउला भनी ढुक्क हुन मेरो ज्योतिषे संस्कारले मान्दैन ।

पुराना अर्थमन्त्रीले आफ्नो पद छाड्‌नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी हुन्छ भन्ने सुराक प्रदान गरे । ढिलै भए पनि बिचराले अधर्म बोलेका चाहिँ होइनन् । उता नयाँ अर्थमन्त्रीलाई कुन सड़‌को के जोश चल्यो कुन्नि, उनले त्यस सुराकको सम्पुष्टि गर्दै केसमेत किटान गरे भने सम्बद्ध अवधिमा सुनको तस्करी जति भयो, त्यति पहिले कहिल्यै भएको थिएन अरे । यस बकपत्रले महतजीलाई आफू अर्थमन्त्री रहँदाको अन्तरालमा भएका सुन तस्करीको दिनचर्या ‘कण्ठ’ हुनुपर्ने हो।

तस्करी रोकिनु र राजनेताहरूको सास अड्कनु प्रायः एउटै स्तरको दुर्घटना हो भन्ने कुरा सोहैआना थाहा हुँदाहुँदै पनि तस्करी रोक्छ भनी महतजीले गरेको वचनबद्धता नितान्त हास्यास्पद त छ नै उता पूर्वअर्थमन्त्रीको यो स्वीकोरोक्ति पनि कम रोचक र मूर्खतापूर्ण छैन, जसमा उहाँले ‘तस्करीचाहिँ हुने गरेको हो तर त्यतिचाहिँ रामोराम होइन, जति भृगु ऋषिका प्रतिनिधि मान्नुपर्ने दाह्रीवाल महतजीले अनुमान ठहर गरेका छन्’ भन्नुभएको छ । यसलाई वीरभद्रले भृगु ऋषिका दाही लुछेको प्रसङ्गसँग जोड्नु अहिलेको परिप्रेक्ष्यमा अतिशयोक्ति होला र ?

वर्तमान अर्थमन्त्रीले आफ्नो काबुभन्दा बाहिरको जाँचोपॉजो भत्काउँछु भनी फुर्ती लाउन नहुने हो । जे होस्, अब पनि विमानस्थलमा सुनका रुदाक्ष समातिएनन् भने त्यसको स्पष्टीकरण वर्तमान अर्थमन्त्रीले दिनै पर्छ । हाम्रो देशमा स्पष्टीकरण त्यस कुराले दिइन्छ, जो सर्वथा स्पष्ट हुने गर्छ । हाकिमहरू कस्ता दिग्गज हुन्छन् भने स्पष्टीकरण माग नगरे आफ्नो प्रतिष्ठा नै हरण भएको ठान्दछन् ।

मैले जीवनमा भोट कहिल्यै खसालिन । उठेका उम्मेदवारमध्ये एउटै पनि भरपर्दो पाइनँ । मतपत्रमा एकसेएक फटाहा शिरोमणिका नाम अङ्कित रहन्छन् र प्रजातन्त्रले मलाई तिनै साइँदुवामध्ये एउटालाई छान्न विवश पारेको हुन्छ । मेरो मतले प्रतिनिधित्व गर्ने मौका नै पाएन। निर्वाचन आयोगलाई म के सुझाव दिन्छु भने यदि उसले निर्वाचन धाँधलीरहित गर्ने मनसाय राखेको छ र ऊ अधिकारसम्पन्न संवैधानिक अङ्ग हो भने फटाहालाई मत दिन अनिच्छुक मतदाताको मतको सदुपयोग गर्ने उपाय वा विकल्प उसले किन खोज्दैन ? नाम खाली रहेको एउटा कोठा मजस्ता अयोग्य मतदातालाई किन उपलब्ध नगराउने ? त्यतिमात्र गरोस् त अनि कहाँको चुनाव प्रसार ? किन चाहियो बुथ क्याप्चरिङ ? मतदाताहरूमध्ये ९० प्रतिशतले त्यस खाली कोठामा छाप ठोक्नेछन् । राजनीतिज्ञहरूको हैसियत, बर्कत, बुता, ताई, पाइन एवम् राजनीति भनाउँदो व्यवसाय कति भ्रष्ट छ, एकपल्ट जाँचौं न । एकपल्ट निष्पक्ष जनमतसङ्ग्रह पनि होस् न । कुनै आपत्ति छ ?

०००
कान्तिपुर, २०५५ वैशाख १७
हास्यव्यङ्ग्यकार गोतामेको जीवनकालमा प्रकाशित यो अन्तिम निबन्ध हो। २०५५ वैशाख १९ गते उनी दिवंगत भएका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
म अमर हुन चाहन्नँ

म अमर हुन चाहन्नँ

श्याम गोतामे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x