श्याम गोतामेनिफुल्किएका कुराहरू
नाम खाली रहेको एउटा कोठा मजस्ता अयोग्य मतदातालाई किन उपलब्ध नगराउने ? त्यतिमात्र गरोस् त अनि कहाँको चुनाव प्रसार ? किन चाहियो बुथ क्याप्चरिङ ? मतदाताहरूमध्ये ९० प्रतिशतले त्यस खाली कोठामा छाप ठोक्नेछन् ।

श्याम गाेतामे :
प्रधानमन्त्रीहरू प्रायः दुई किसिमका उपलब्ध छन् । एउटा त्यो, जो बकाइदा बहुमत बटुलेर पदमा बहाल रहँदारहँदै पनि कुन कुरा बक्नमा लीन रहन्छन् भने देशमा भ्रष्टाचार भनिने प्राणीको हैकम त्यसैगरी विद्यमान छ, जसरी स्वयम् कण-कणमा रुजू हाजिर रहन्छन् । यस्ता सनसनीपूर्ण तर विशेष पाराका रहस्योद्घाटनहरू मैलेचाहिँ राजीनामा दन्काएपछि मात्र गर्ने गरेको छु ।
अर्काथरी ती हुन्, जो प्रमुख विपक्षी अल्पमतको संसदीय दलका नेता भएका कारण र परिबन्दले नवनियुक्त प्रधानमन्त्रीको उपाधि प्राप्त गरेका हुन्छन् । यस्ता कोटिका मनीषीहरू प्रायः भाग्यवादी हुन्छन् र शपथग्रहण गर्दा प्रशस्त साइत-कुसाइत जुराइमात्र गर्ने गर्छन् । यिनमा कुन कुराको भ्रम रहन्छ भने प्रधानमन्त्री हुनेबित्तिकै पृथ्वीको सम्पूर्ण भार आफ्नै थाप्लामा बजन पुगेको बेहोरा बुझ्न समर्थ हुनुका साथै त्यस्तो बिजोगको गम्भीर पाराका लोकार्पण गर्छन् । यस देशका नेताहरू किन र कसका निम्ति पिरालिने गर्छन् ? पखाला लागेका जनता स्वचालित रूपमा पाखामा पर्छन् र यिनलाई कब्जियतको परिणामस्वरूप विसर्जित हुँखाखेरि ठसठसी कन्नुपर्ने हुन्छ र मेरो भान्छाभन्दा लाखौं गुना सफा ट्वाइलेटमा बसेर यी फगत कन्ने काम गर्छन् र ठसठसी कन्याकन्यै भ्रष्टाचार निवारण गरिभ्याउँछन् ।
कुरा पनि कतिथरिको काट्नु । उदाहरणका निम्ति उपप्रधानमन्त्रीको पदलाई नै लिऊँ । संविधानको लिङ्गभेद नमाने पनि पुंसत्व हुनेहरू कनीकुथी भए पनि नाङ्गो सत्यचाहिँ मानिटोपल्छन् । एकताक उपप्रधानमन्त्रीका रूपमा जुगेमुळे पुलिङ्गी प्राणी प्रतिष्ठित थिए । उनले जुन जवॉमर्दीका साथ सरकार, पार्टी अनि गफ हाँके, त्यसको प्रतिफलस्परूप हुँदोखाँदो पार्टी कुहिएको फर्सी चिरा परेजस्तो दुई फक्ल्याँटो भयो ।
व्यक्तिगत रूपमा पोथी बासेको मलाई पटक्कै मन पर्दैन । अब मलाई मन परेन भन्दैमा स्त्रीलिङ्गी उपप्रधानमन्त्री चाहिएन भन्न मैले मिल्दैन । तथापि, उहाँलाई सुम्पिएको मन्त्रालय र उहाँले सम्पन्न गर्नुपर्ने कार्य उहाँको संस्कार, सीप एवम् सामर्थ्यबाहिरका हुन् भन्न भद्रो हेर्नुपर्ने म देखिनँ ।
आफूले ओढेको कालो रङको ओढ्ने धरधर्ती च्यातेर त्यसको कालो झण्डा बनाएर हुन्याएबापत क्रान्तिकारमिा दरिइन त सकियो, तर बेलना, चकला र डाडु-पन्यूँ हुन्याएर किसानका खेतमा पानी पुग्ला भनी कल्पना गर्नु मतिभ्रममात्र हो । यस देशका कैयौं खाइलाग्दा सारसौंदा इन्जिनियरहरू सिँचाइसम्बन्धी योजना तर्जुमा गर्दागर्दै दिवङ्गत हुन पुगे। बिचराहरूले खानेपानीको न्यूनतम आपूर्ति गराउनसम्म त सकेनन् भने ‘प्रत्येक किसानको खेतमा पानी पुन्याउने’ नयाँ उपप्रधानमन्त्रीको नवीनतम घुर्की न त त्यति पानीदार नै प्रतीत हुन्छ न त ‘खुट्टी देख्तै चाल पाएँ’ भन्ने उखान भट्याउने लोभ छाड्न मेरो मनले मान्छ। बरु ‘गरी खा’ भनी मामाले दिएको पगरी जो जोगाउनैमात्र पनि अहोरात्र पिल्सिनुपर्ने त होइन ?
उहाँको मन्त्रित्व पूर्णावधिसम्म सकुशल कायमै रहने कुरामा र सम्बद्ध मन्त्रालयमा व्याप्त अपसंस्कृतिहरूको पेलानमा परेर ‘यहाँ त जताततै भ्रष्टाचारमात्र रहेछ’ भन्दै पुनः राजीनामा दन्काउने शुभसाइत नआउला भनी ढुक्क हुन मेरो ज्योतिषे संस्कारले मान्दैन ।
पुराना अर्थमन्त्रीले आफ्नो पद छाड्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी हुन्छ भन्ने सुराक प्रदान गरे । ढिलै भए पनि बिचराले अधर्म बोलेका चाहिँ होइनन् । उता नयाँ अर्थमन्त्रीलाई कुन सड़को के जोश चल्यो कुन्नि, उनले त्यस सुराकको सम्पुष्टि गर्दै केसमेत किटान गरे भने सम्बद्ध अवधिमा सुनको तस्करी जति भयो, त्यति पहिले कहिल्यै भएको थिएन अरे । यस बकपत्रले महतजीलाई आफू अर्थमन्त्री रहँदाको अन्तरालमा भएका सुन तस्करीको दिनचर्या ‘कण्ठ’ हुनुपर्ने हो।
तस्करी रोकिनु र राजनेताहरूको सास अड्कनु प्रायः एउटै स्तरको दुर्घटना हो भन्ने कुरा सोहैआना थाहा हुँदाहुँदै पनि तस्करी रोक्छ भनी महतजीले गरेको वचनबद्धता नितान्त हास्यास्पद त छ नै उता पूर्वअर्थमन्त्रीको यो स्वीकोरोक्ति पनि कम रोचक र मूर्खतापूर्ण छैन, जसमा उहाँले ‘तस्करीचाहिँ हुने गरेको हो तर त्यतिचाहिँ रामोराम होइन, जति भृगु ऋषिका प्रतिनिधि मान्नुपर्ने दाह्रीवाल महतजीले अनुमान ठहर गरेका छन्’ भन्नुभएको छ । यसलाई वीरभद्रले भृगु ऋषिका दाही लुछेको प्रसङ्गसँग जोड्नु अहिलेको परिप्रेक्ष्यमा अतिशयोक्ति होला र ?
वर्तमान अर्थमन्त्रीले आफ्नो काबुभन्दा बाहिरको जाँचोपॉजो भत्काउँछु भनी फुर्ती लाउन नहुने हो । जे होस्, अब पनि विमानस्थलमा सुनका रुदाक्ष समातिएनन् भने त्यसको स्पष्टीकरण वर्तमान अर्थमन्त्रीले दिनै पर्छ । हाम्रो देशमा स्पष्टीकरण त्यस कुराले दिइन्छ, जो सर्वथा स्पष्ट हुने गर्छ । हाकिमहरू कस्ता दिग्गज हुन्छन् भने स्पष्टीकरण माग नगरे आफ्नो प्रतिष्ठा नै हरण भएको ठान्दछन् ।
मैले जीवनमा भोट कहिल्यै खसालिन । उठेका उम्मेदवारमध्ये एउटै पनि भरपर्दो पाइनँ । मतपत्रमा एकसेएक फटाहा शिरोमणिका नाम अङ्कित रहन्छन् र प्रजातन्त्रले मलाई तिनै साइँदुवामध्ये एउटालाई छान्न विवश पारेको हुन्छ । मेरो मतले प्रतिनिधित्व गर्ने मौका नै पाएन। निर्वाचन आयोगलाई म के सुझाव दिन्छु भने यदि उसले निर्वाचन धाँधलीरहित गर्ने मनसाय राखेको छ र ऊ अधिकारसम्पन्न संवैधानिक अङ्ग हो भने फटाहालाई मत दिन अनिच्छुक मतदाताको मतको सदुपयोग गर्ने उपाय वा विकल्प उसले किन खोज्दैन ? नाम खाली रहेको एउटा कोठा मजस्ता अयोग्य मतदातालाई किन उपलब्ध नगराउने ? त्यतिमात्र गरोस् त अनि कहाँको चुनाव प्रसार ? किन चाहियो बुथ क्याप्चरिङ ? मतदाताहरूमध्ये ९० प्रतिशतले त्यस खाली कोठामा छाप ठोक्नेछन् । राजनीतिज्ञहरूको हैसियत, बर्कत, बुता, ताई, पाइन एवम् राजनीति भनाउँदो व्यवसाय कति भ्रष्ट छ, एकपल्ट जाँचौं न । एकपल्ट निष्पक्ष जनमतसङ्ग्रह पनि होस् न । कुनै आपत्ति छ ?
०००
कान्तिपुर, २०५५ वैशाख १७
हास्यव्यङ्ग्यकार गोतामेको जीवनकालमा प्रकाशित यो अन्तिम निबन्ध हो। २०५५ वैशाख १९ गते उनी दिवंगत भएका थिए ।
Subscribe
Login
0 Comments
Oldest







































