साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रकारिताको खलासीकरण

अखबारका पाना भर्नुमात्र पत्रकारिता ठान्ने चलनमाथि सशक्त अङ्कुश नलगाउने हो भने त्यस्तो कामका निमित्त गरिने अथवा गरिएको लगानी बालुवामा पानी खन्याएसरह भएन र ?

Nepal Telecom ad

श्याम गोतामे :

अखबारहरूको प्रकाशन कुनै निश्चित सिद्धान्तलाई काखी च्यापी गर्ने गरिन्छ । कोहीचाहिँ सिद्धान्तसम्बन्धी बखेडामा पर्न पटक्कै रुचाउँदैनन् । जसरी राजनीतिमा नलाग्नु पनि एक किसिमको राजनीति नै हो, त्यसैगरी कुनै सिद्धान्तप्रति लसपस नगर्नु पनि स्वयम्मा एउटा सिद्धान्त नै हो । जे होस्, कुन दललाई काखी च्याप्ने र कुन दलको उछित्तो काढ्ने भन्ने नीतिको अनुगमन गर्नका निम्ति सम्बद्ध टाउकेहरूको आनुपातिक प्रतिनिधित्व हुने गरी एउटा कार्यदलको गठन गरिएको हुन्छ, जसलाई सरल अर्थात् बुझिइने भाषामा भन्नुपर्दा ‘म्यानेजमेन्ट’ नभने पाखे र ग्वाँजेमा दरिइने खतरा रहन्छ । टाउकेहरूलाई ऊर्जाको परिपूर्ति गर्नाका खातिर लाउकेहरूको सहयोग नलिने हो भने अखबारले माखोसम्म मार्नसमेत धौ-धौ पर्दछ । जसरी जनकपुर-निवासी कुहिएका माछाहरूमा कान्तिपुरका झिँगाहरू भन्कन्छन्, त्यसै गरी अखबारका टाउकेहरू लाउकेहरूबाट घेरिएका हुन्छन् ।

तात्पर्य के भने टाउकेहरू अखबारको काममा मेहनत गर्नुसट्टा इजलास कायम गर्दै हैकम र तजबीजको प्रदूषण फैलाउनमा गर्व ठान्ने गर्दछन् । लाउकेहरूका अतिरिक्त हाउडे एवम् अल्लारे पाराका युवा-प्रतिभाहरू पनि अखबारको बौद्धिक सम्पत्तिमा दरिएको देख्न पाउँदा मन प्रफुल्ल हुन्छ ।

कामदारहरूको एउटा भूमिगत टोली ‘म्यानेजमेन्ट’ लाई सुराक दिने र चुक्ली लगाउने काममा इमानदारीका साथ समर्पित हुने गर्दछ । एउटा यस्तो पुनीत जमात पनि सक्रिय रहने गरेको छ, जसले आफ्नो यावत् प्रतिभाको प्रयोग फगत ’म्यानेजमेन्ट’का गल्तीहरूलाई पारदर्शी तुल्याइदिनका निम्ति गर्ने गर्दछ । कतिपय बिचराहरू अत्तो थाप्ने र अडङ्ङ्गा लगाउने कलामा विशारद मानिइआएका छन् । यीमध्ये केही यस्ता हाइलम्फूहरू पनि छन्, जसलाई ‘सर’ भन्दिएन भने पाखुरा सुर्कँदै तपाईंमाथि झम्टन बेर मान्दैनन् । म कैयौँ यस्ता ‘सर’ हरूसँग परिचित छु, जो कुनैताक आदर्श खलासीका रूपमा कार्यरत थिए र हाल पनि तिनको हाउ-भाउ, हिँडाइ, पहिरन र ओजस्विता देख्दा नचिन्ने मानिसले खलासी नठाने मरीजाऊँ !

यो पङ्क्तिकार अभिनन्दन-पत्र लेखेर जीविका चलाउने लेखनदासहरूमध्येमा पर्दैन । जहाँसम्म छारो उडाउने कुराको सम्बन्ध छ, म आफ्नो आङको त के कुरा, आफ्ना पिताश्री-पर्यन्तलाई बाँकी नराख्ने कुलङ्गार हुँ भन्ने तथ्यलाई प्रष्ट्याउन बेलीविस्तार लगाउनु आवश्यक छैन ।

कुनै पनि क्षेत्रका नकारात्मक पक्षमाथि मेरो कृपादृष्टि अलि मज्जैसँग पर्ने गर्दछ । तथापि, ममा दृष्टिदोष कुन हदसम्म छ र मेरो चश्माको पावर ठीक-बेठीक के छ ? त्यो त नेत्र-विशेषज्ञले भन्ने कुरा पर्‍यो । अखबारकर्मीहरू कतिसम्म दीर्घसूत्री र कुन हदसम्मका कामचोर हुन्छन् र पेशागत इमानदारीको सापेक्षिक आर्द्रताको कति प्रतिशत तिनको व्यक्तित्वमा हुन्छ भन्ने कुरा आफू स्वयम् त्यस क्षेत्रको विशिष्ट विषाणु भएकाले मलाई राम्ररी थाहा छ । यावत् विडम्बनाहरूलाई एक छिनका निम्ति चटक्क बिर्सिई तटस्थ र निष्पक्ष अभिव्यक्ति दिने हो भने अखबारका अधिसङ्ख्यक कार्यालयहरूमा काम कम र कुरा बढी हुनेगर्छ भन्न म हच्कनेवाला छैन । कुरा सुन्ने, कुरा लगाउने, कुरा चपाउने र कुरा लुकाउने यी चार वैशिष्ट्यहरूको समष्टिगत स्वरूपलाई नै वर्तमान पत्रकारिताको मानदण्ड ठान्ने गरिएको हुनाले नै पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको हुनुपर्छ । अङ्ग कुनै बखत पनि अपाङ्ग हुन सक्छ र पक्ष-विपक्ष-निष्पक्ष र पुर्पक्षमाथि पक्षाघात हुन साइत चाहिँदैन। समाचारपत्र, त्यसका प्रकाशक, सम्पादक अनि पाठकलगायत लेखकहरूसमेत आफू जाती हुनमात्र खोज्ने हुन् भने ती नदीको तीरमा माछा ढुकेर बस्ने त्यस्ता बकुल्लाजस्ता हुनेछन्, जसको उद्देश्य माछा बल्झाउने र काल पर्खनेसिवाय अरू केही हुँदैन । यसो त, यस्ता बकवेदान्ती र पढीपण्डितहरू पत्रकारिताको क्षेत्रमा छ्यासछ्यास्ती छन्, जो आफूलाई पत्रकार भन्न रुचाउँछन् तर बेलुकीपख मुख बाङ्गिन थाल्यो कि आफ्नो चरणकमल कुनै दूतावासतिर लम्काउन विवश हुन्छन् ।

आफ्नो अखबारको प्रकाशनको औचित्य सिद्ध गर्नमा अपवादका रूपमा दुई-चार अखबारहरू सक्षम हुन सक्लान् तर अधिसङ्ख्य अखबारहरूको औकात, अस्मिता र ओजस्विताको स्तर नितान्त रुग्ण र दयनीय छ । रहरले, करले किँवा पैसा चिलाएकाले पनि अखबारहरू निस्केका छन् । निस्कँदा निकै फाइँफुईँका साथ प्रस्तुत हुने, त्यसपछि क्रमशः लत्तो छाड्दै जाने अनि केही समयको घिटीघिटी-पश्चात् अन्ततोगत्वा आर्यघाटमा पुगी लम्पसार पर्ने गरेका दृष्टान्तहरू बराबर प्रकाशमा आइरहेकै छन् । प्रकाशक एवम् सम्पादक आफ्नो हरिबिजोग भएको देख्दादेख्दै पनि राज्यको चौथो अङ्गको सुदृढीकरणमा कुन आकर्षणले गर्दा समर्पित हुँदा छन् ? त्यो बुझ्न नसक्ने विषय भएको छ ।

यसो त, यस लेखकै प्रकाशनको औचित्य प्रष्ट्याउन मसँग कुनै तर्क किँवा कुतर्क छैन । तथापि, म यसलाई प्रकाशनको पङ्क्तिमा उभ्याउन पठाउँदै छु- अब यसको प्रकाशनको औचित्य छ भन्ने कुरा यसको प्रकाशनपश्चात् मात्र प्रमाणित हुने मेरो ठहर छ । अखबारका पाना भर्नुमात्र पत्रकारिता ठान्ने चलनमाथि सशक्त अङ्कुश नलगाउने हो भने त्यस्तो कामका निमित्त गरिने अथवा गरिएको लगानी बालुवामा पानी खन्याएसरह भएन र ? कुनै पनि प्रायोजनको प्रयोजन हुनै पर्छ, निष्प्रयोजन ठहरिने प्रायोजन निरर्थक हुने कुरा आफूलाई वरिष्ठ, गरिष्ठ एवम् कनिष्ठ पत्रकारमध्येमा गन्ने नरपुंगवले समेतले बुझ्दैनन् भने पत्रकारितामा प्रादुर्भाव हुँदै गएको खलासी प्रवृत्तिमाथि हुने यथोचित आक्रमणलाई अतिक्रमण भन्न मिलोइन, कि कसो ?

०००
गाेरखापत्र, २१ मङ्सिर, २०५४
‘सेन्स, कमनसेन्स, ननसेन्स’ (२०७७)

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kabindra
kabindra
1 year ago

आहा!जनकपुर का कुहिएको माछा मा कान्तिपुर का झिंगा साह्रै स्वादिलो र चोटिलो लाग्यो।

युगल बसेल
युगल बसेल
1 year ago

पत्रुकारलाई दरो झापु

युगल बसेल
युगल बसेल
1 year ago

पत्रुकार्ला दह्रो झापु

Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
म अमर हुन चाहन्नँ

म अमर हुन चाहन्नँ

श्याम गोतामे
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
3
0
Would love your thoughts, please comment.x
()
x