श्याम गोतामेखाद्य सामग्री
तपाईं नै भन्नोस्, के खाने कुराको अभाव छ त ? फर्माउनुहोस् ! कुनचाहिं खाद्य पदार्थमा तपाईंको रुचि छ ? निर्धक्क भई हसुर्नोस् ! पेट तृप्त हुन्छ ! देश बन्छ ! आफ्नो साथै देशलाई गतिशील बनाउन सकिन्छ !

श्याम गाेतामे :
खानु समृद्धि, सम्मान र गतिसूचक क्रिया हो। बाँच्ने अधिकारलाई सुरक्षित राख्नको निम्ति पालन गर्नपर्ने एउटा आचारसंहिता भने पनि हुन्छ । शास्त्रअनुसार खाने मानिस कम र खाद्यपदार्थ फस्योल हुनु एउटा शुभलक्षण मानिन्छ । दुवै तत्त्वहरूको समानुपातिक सन्तुलन सन्तोषप्रद रहेको हाम्रो देश सुन्दर, शान्त र समृद्ध छ । पेट भरिभराउ रहने हुँदा हामी नेपाली भुस्तिघ्रे र स्थूल छौं र त्यही अनुपातमा हाम्रा आचार-विचारहरू पनि जब्बर र मोटा छन् । पेट नै देशको भण्डार हो । देशको भण्डार भर्न हामी कटिवद्ध छौं । जनजीवनको सफलता र राष्ट्रको गतिशीलताको रहस्य पनि यसैमा निहित छ ।
खाने सुविचार मनमा उब्जनु मलिलो व्यक्तित्वकाे सूचक हो र त्यसमा ‘हराम’ नामक ‘प्रोटिन’को विद्यमानत्ता त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ जति नेताको जिभ्रोमा भाषण गर्ने तत्त्वको प्राचुर्यले महत्व राख्दछ । ‘हराम’ शब्दलाई स्वाभिमानीहरू बंग्याई-कुच्याई अर्थ लगाउँदछन् । तर यसको वास्तविक दर्शन-बोध अनुभवीलाई मात्र हुन्छ । आरामको पर्यायवाची भइटोपल्न तम्सने यो ‘हराम’ नामक शब्दले एउटा अकाट्य र दरिलो सिद्धान्तको प्रतिपादन गर्दछ र त्यो हो :
“पसीना मानव शरीरको आवश्यक तत्त्व हो । यसलाई बगाउनुपर्दा शरीरको आवश्यक तत्त्व खेर जान्छ । हरामलाई आत्मसात् गर्नु शरीरमा महत्त्वपूर्ण तत्त्वलाई समाविष्ट गर्नु हो, यसले शरीर स्वस्थ्य रहन्छ; मन प्रफुल्ल रहन्छ । साहित्यमा ‘हराम’ शब्दले केही देन दिन नसके पनि व्यावहारिक क्षेत्रमा यसको देन अविस्मरणीय छ । तसर्थ प्रयास पसीना बगाउनेतर्फ होइन, अपितु त्यसलाई संचित राख्नेतर्फ हुनु बुद्धिमानी ठहर्नेछ ।”
खाँदाखेरि मेरो मनमा अनेकौं निःस्वार्थ र उपकारी भावनाहरू तँछाड-मछाड गरी ओइरिन्छन् ठीक त्यसै गरी जसरी चिनीको बोरामा कमिलाहरू ताँती लागेर ओइरिन्छन् । हरामको कमाई खाँदाखेरि त झन् सशक्त, स्थूल र सन्तुलित विचारहरू धानका खेतमा सलहले हमला गर्ने आए झैँ आउँदछन् । विभिन्न परिकारहरूको सम्झना हुन् गई मुखबाट द्रब्य-पदार्थ चुहिन थाल्दछ । विचार गर्नु भएको छ तपाईंले ? कति थोक भोज्य रहेछन् हाम्रो जन-जीवनमा ? कल्पना मात्र गरिहेर्नोस्, हाम्रो जीवनस्तर उच्च रहेको ज्वलन्त उदाहरणहरू पाउनुहुनेछ ।
मैले पेश गरेको “मेनु” मा भोज्य पदार्थको साथसाथै घटनाचक्रहरूको पनि सन्दर्भ आउँछ । गहिरिएर हेर्ने हो भने हामी खानमा च्याम्पियन हुनुको साथै सभ्य र सुसंस्कृत रहेको तथ्य पनि प्रमाणित हुन आउने छ । यस सन्दर्भमा “गोतामे” ले जाँड खाएको तथ्यदेखिन् पञ्चहरूले देश-सेवा गर्ने किरिया खाए पर्यन्तका पराक्रमहरूको सम्झना हुन आउँछ । त्यसको अतिरिक्त, सामाजिक न्यायमूर्तिहरूले घूस खाएका; आचार-पण्डितहरूले काट्टो खाएका; म जस्तो स्वाभिमानीले अपुताली खाएको; देश-सेवक नेताको भाषणले जनताको कान खाएको; वतासे डाँडामा ड्याकोटा विमानले काबा खाएको; सौन्दर्यवादीले सौन्दर्योपासना गरेवापत धोविखोलाको पुलमा चुटाइ खाएको; विदेशिएका भू.पू. नेताहरूले हावा खाएका; निमुखा र इमान्दारले गाली खाएको; साहूले घ्यू खाएको; सूत्र हुनेले जागीर खाएको; नहुनेले लोप्पा खाएको; स्वामिभक्तले नाफा खाएको; राष्ट्रवादी भनाउँदाहरूले राष्ट्रको निमेक खाएको; व्यापार-वार्तामा टेबुल ओगट्नेले आफुसमा कुरा खाएको; मोहीले रिन खाएको; तलसिङले कुटाइ खाएको; मन्त्री हुन सफल नहुने नेताले वाँग खाएका; औसरवादीले गोता खाएको; स्वदेशी ‘आधुनिक’ ब्रह्मचारीहरूले विदेशी हिप्पीहरूको म्वाइँ खाएको; राष्ट्रद्रोहीले कापू खाएको; गद्दारले आची खाएको
र यो लेखाइले तपाईंको कपाल खाएको उज्ज्वल र गौरव- पूर्ण संस्मरणहरू उल्लेखनीय छन् ।
तपाईं नै भन्नोस्, के खाने कुराको अभाव छ त ? फर्माउनुहोस् ! कुनचाहिं खाद्य पदार्थमा तपाईंको रुचि छ ? निर्धक्क भई हसुर्नोस् ! पेट तृप्त हुन्छ ! देश बन्छ ! आफ्नो साथै देशलाई गतिशील बनाउन सकिन्छ !
उल्लेखित खाद्यपदार्थमा हैजाका कीटाणुहरू छैनन् ! प्रेमसँग उदरस्थ गर्नुहोस् ! सम्भवतः प्रायश्चित गर्नुपर्ने छैन । परिहाल्यो भने पनि “सुनधारा” मा गएर ‘सुनपानी” छर्कनोस् । सुन र पानी दुवै पर्याप्त उपलब्ध छन् । सत्र पैसा दक्षिणा दिन तयार हुनुहुन्छ भने म ब्राह्मणलाई सम्झनोस्, आदेश प्राप्त हुने वित्तिकै सेवामा हाजिर हुन सेवक सधैं तयार छ ।
०००
‘प्रतिध्वनि’बाट परिवर्तित
मपाईं (२०२६)
Subscribe
Login
0 Comments
Oldest






































