साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माड्साप्

यिनले आफ्नो आसन अर्थात् टेलिफोन रहने ठाउँ छाडी अरू माड्साप् सरह भाग्न, घुम्न र गफ लडाउन नपाउने हुँदा यिनको तलव-स्केल छुट्टै र तुलनात्मक रूपमा अलि बढी र आकर्षक हुनुपर्ने हो ।

Nepal Telecom ad

श्याम गाेतामे :

जुन बखत म जब्बर शमसेर जर्साप्को दरबारमा भान्छे बाहुनको पदमा प्रतिष्ठित थिएँ त्यसबखत जर्साप्लाई पढाउन एउटा लिखुरे प्राणी आउँथ्यो । त्यसलाई माड्साप् भनेर सम्बोधन गरिन्थ्यो । अचेल चाहि पढ्‌ने-पढाउने काम नगरी अफिसको मेचमा उपरखुट्टी लाएर बस्ने जीवलाई माड्साप् भन्ने गरिँदो रहेछ । यस्ता भद्रजनको दर्शन गरी मोक्ष प्राप्त गर्ने लालसा तपाईमा छ भने कुनै देव-मन्दिरतिर जानुसट्टा कुनै अड्डा-अदालत-अफिसमा गए तपाईंले विमुख हुनु पर्ने छैन । यिनलाई चिन्नका खातिर तपाईलाई उनको हुलिया दिइरहने लेठो मैले बेसाउन पर्दैन किनभने यिनलाई यिनको मेचमा बसेको अवस्थामा विरलै देखिन्छ । तथापि, यिनको प्रतिनिधिस्वरूप यिनको मेचमा अडेस लगाएर राखिएको र काममा व्यस्त तौलियालाई सरोकारवालाले देखेपछि माड्साप् अफिसमा हाजिर हुनुहुन्छ भन्ने बुझ्नुपर्दछ । कोही कोही माड्साप् चाहि तौलियालाई घरतिर कुदाई त्यसको सट्टा आफ्नो शिरपोसलाई कायम-मुकायम मुकर्रर गरी टेबुलमाथि प‌द्माशनमा विराजमान गराई आफूलाई ससुरालीतिर कुदाउँछन् । जो अलिक ठूला पदमा छन् ती त कति उदार-चेता हुन्छन् भने परिचय-पत्र समेत जडान भएको आफ्नो कोट आफ्नो मेचमास्तिर-पट्टिको भित्तामा झुण्ड्याई घरतिर गुडायमान हुन्छन् । परिणाम के हुन्छ भने यिनको कोट झै यिनले गर्ने काम पनि झुण्डिएकै अवस्थामा रहन्छ । यस्ता भदन्तहरू छड्‌के नाम गरिएको पवित्र अनुष्ठानमा कहिल्यै पर्दैनन्, कारण के भने, छड्‌के गर्ने फाँटको तालुकवाल यी आफूनै रहन्छन् ।

माड्साप्हरूको टेबुलमाथि पेपरवेट नपाइनु नै यिनको टड्‌कारो हुलिया हो । पेपरवेट नहुनाका दुई कारणहरू हुन्छन्- मुख्य कारणचाहिँ के भने यिनको टेबुलमा कागज-पत्र नै हुँदैन र गौण कारणचाहिँ के रे भने कुनै-कुनै सरोकारवालाले यस्तो कतिपय माड्सापहरूलाई सकभर त काम नगर्ने र दुर्भाग्यवश गरिहाले पनि कामको गतिभन्दा कछुवाको गति छिटो हुने देखेर ढुकान दिन बाध्य भएकोले रौद्र रूप धारण गरी पेपरवेटले नै प्रहार गरी घाइते तुल्याईदिनु हो । यस घाइते परिवेशले काइते परिप्रेक्ष्यको प्रादुर्भाव गरायो; परिणाम के भयो भने, अड्डा अदालतमा दुर्भाग्यवश कसैलाई काम गर्ने कुलत बसेको छ भने पनि काम गर्न खोजिटोपल्ने कुनै कर्मचारीको टेबुलमा समेत पिन, होल्डर, डटपेन, सिसाकलम प्रभृति यावत् घातक शास्त्रहरूको आपूर्ति एकदमै नगर्ने परिपाटी बस्यो ।

माड्साप्‌को व्यक्तित्त्वलाई कुन ओहदासरह मान्ने भन्ने कुनै निश्चित मानक छैन । झन् एउटा माड्साप्ले अर्का माड्साप्संग कुरा गर्दा भकभकेले भजन गरेजस्तो माड्सापका-माड्साप् भजेको सुन्दा यी दुईमध्ये चेलासाप् को त ? भन्ने प्रश्न प्रायः निरुत्तरित नै रहन जान्छ । तथापि, केही लक्षण र प्रकृति चाहि व्यापक रूपमा सर्वमान्य वा सो सरह नै छ। प्रचलित मानकअनुसार सबैलाई माड्साप् भनिहाल्न कर चाहिँ छैन । फेरि सबै माड्साप् एउटै पाराका मात्र छन् भन्न खोजिएको पनि होइन । अचेल पाखोले समेत मर्यादाको चाहना गर्ने चलन आएकोले सोही चलनअनुसार उल्लेख्य माड्साप्हरूको पनि समाजमा तत्तत् किसिमको हैसियत छ । उदाहरणको रूपमा, ठगाष्टकलाई बोलाउँदा सर, गफाष्टकलाई सम्बोधन गर्दा गुरु, कामचोरलाई बोलाउँदा श्रीमान् र अफिसमा आफ्नो मेचमा बस्न पाएको छैन बूढी गाईले हाई गरेजस्तो निरन्तर हाई गरी कामको नाममा आङ तान्ने, चुरोट तान्ने र ओभर टाइम खाने र मर्यादाको हकमा भने यिनको कठालो समातेर घिच्राे तान्नु उपयुक्त भए पनि अधिसंख्यकले यिनको मान गर्नु पर्ने भनी तोकिएको सन्तलाई माड्साप् भनिन्छ । यीमध्ये कतिपयले त यही काम गर्दा-गर्दै ई. बी. समेत पार गरिसकेका छन्, तर ई. बी. भन्ने परमपदसँग काम गरे पनि, नगरे पनि, कुनै सम्बन्ध नभएर नोकरी-अवधिसँग यसको साइनो पर्ने भएकोले त्यसमा तपाईं हामीले इवी साध्ने कुनै बाटो छैन ।

माड्साप् विभिन्न थरिका उपलब्ध छन् । उदाहरणको निम्ति, १० बजे ठ्याक्क अड्डा पुगी ५ बजे ट्वाक्क घरतिर लस्कने पनि माङ्साप्; अड्डाकाे दैलाेमाखुट्टै नटेक्ने र भाेलिपल्ट अफिस आएर अघिल्लाे दिनकाे हाजिरी ठोक्ने माड्साप्,  अफिसमा दर्शनसम्म दिने तर हाजिर कितावमा बाहुलीनिसान थोपर्ने वित्तिकै यो कोठा र ऊ कोठा,  फलानो सर र चिलानाे साहबकहाँ गई दाँत देखाउने र काममा ठग गर्ने नयाँ-नयाँ शीपको शाेध गरी ठगवारिधिको उपाधि दिनु पर्ने पनि माड्याप्; आफूलाई जिम्मा दिएको काम पेन्सन नपाउन्जेन थन्काएर राख्ने पनि माड्साप्; अह्नाउनेले अह्राएको काम चिताउँदै नचिताएको समयमा सम्पन्न गरी पेश गर्ने पनि माड्याप्, मान्छे बाहुनजस्ता बिन्तीपत्रे अनुहार भएका पनि माड्साप्; हिप्पीजस्तो हरिमुस्ले हुल्याहा पनि माड्साप्; भनाइको तात्पर्य, हरि पनि माड्साप र हरिप पनि माड्सारप् !

यी बाहेक एउटा अति नै शिष्टकोटिका माड्सापहरूकाे जमात पनि पाइन्छ जस्लाई म माड्साप् भन्न अति हच्कन्छु, किनभने हाकिम वरिपरि यी यसरी ‌झुम्मिइरहेका हुन्छन् जसरी माछा वरिपरि माखा भन्किरहन्छन् । माछाको सामीप्यमा रहिरहने हुँदा यिनको जिउ माछा गन्हाए झैं गन्हाउँछ । यस्ता माछे-प्रकृतिका मतिमान्हरूलाई कुनै नियम र परिपत्रले छुँदैन र परिबन्दले कथंकदाचित कर्क्याइहाले पनि यी माछा चिप्लेसरह चिप्लन्छन् । यिनका सम्बन्धमा आम धारणा के छ भने यी काममुखी नभई हाकिममुखी हुन्छन् । हाकिममुखी भएपछि बहुमुखी प्रतिभास्वरूप मुखमुखे हुन अति आवश्यक हुन्छ । बहुमुखी प्रतिभाका धनी हुने सन्दर्भमा पहिले त यिनले अह्राैटे पदमा बसी हाकिमलाई राम्ररी रिझाउनु पर्छ; तदुपरान्त मात्र यिनले पदोन्नति अर्थात् कुरौटेको दर्जा पाउँछन् । कुराैटे पदमा पद-परिवर्तन भएपछि कम्तीमा दिनको एक पाथिका दरले हाकिमलाई कुरा जिउनार गराउनु यिनको धर्म मानिएको छ । भात, दाल, तरकारी, मसलन्द लगायत विभिन्न परिकार अघाउँजी खान पाउने नै भए पनि यिनका कुरा समेत थप जिउनार गर्दा, हिसाबले त हाकिमलाई ग्यास्टिक हुनु पर्ने हो, तर ठीक त्यसको उल्टो, कुरो खान नपाएको दिन हाकिमलाई ग्यास्टिकले झन् पेल्दछ !

कुरौटेले पदअनुसारको आचरण सन्तोषप्रद रूपमा गरेको भन्ने रिपोर्ट गरेपछि कतै कहींबाट अन्यथा दवाव आएन भने र सम्बन्धित तहमा कार्य सम्पादन गर्दा यिनको फट्याई र लुच्च्याईमा पूर्ण परिष्कृति आएपछि मात्र भरौटेमा दरिइन्छन् र यतिकसा लामो अनुभव प्राप्त गरेपछि मात्र यी यो पदका अधिकारी मानिन्छन् जसलाई आदरार्थीसूचक शब्दमा अभिव्यक्त गर्न चम्चा भनिने गरिन्छ । यही काममा दिलोज्यान अर्पण गर्ने क्रियालाई चम्बागिरी भनिन्छ । जस्तो कि मैले पहिले नै बिन्ती गरें, सबैले यिनको पनि मर्यादा हुन्छ र जहाँसम्म मर्यादाक्रमको प्रश्न छः चम्चागिरी दादागिरी-भन्दा दुई तहमाथि र टाँटगिरीभन्दा एक तह मनि भनी किटिएको छ ।

मैले हिजोमात्र एउटा हाकिमको नेमप्लेट देखें जो औधी प्रेरणास्पद थियो । त्यसमा लेखिएको थियो अमुक प्रसाद भित्र ! व्यस्त ! बाहिर ! यसको मर्म खोज्दा के पत्ता लाग्यो भने ‘बाहिर’ लाई छोप्यो भने ‘भित्र ! व्यस्त’ ! र ‘भित्र’लाई छोप्यो भने व्यस्त र बाहिर समेत अरे ! तीनैकाल मोज मोरेर तलब पकाउने प्रारब्ध यिनलाई मात्र प्राप्त छ । अफिसमा यिनको अवस्थिति-बारे यिनका पी. ए. सँग सोध्दा यस्तो जवाफ आयो- “सर भित्र हुनुहुन्छ र व्यस्त हुनुहुन्छ ।” एकछिन पछि दुई-चार जनाले काम पटाएर हिँडेको देखी ‘आफ्नो पालो आयो कि’ भनी सोध्दा उत्तर यस्तो पाएँ- ‘सर बाहिर हुनुहुन्छ र व्यस्त हुनुहुन्छ’ भित्र बस्ता पनि व्यस्त र बाहिर हल्लिरहँदा पनि व्यस्त रहनुहुने यस्ता माड्साप् सन्त खास काम चाहिँ कुन बखत गर्दा हुनन् यो विषय शोधको हो । सुनेको हल्लाअनुसार यी भित्र बस्दा आफू चम्चाहरुबाट घेरिएर बस्दा रहेछन्, र बाहिर निस्के भने आफै चम्चाको चोला धारण गरी आफ्ना तालुकवालकहाँ उनको आरती गर्न पूजासामान समेत बोकी प्रस्थान गर्दा रहेछन् ।

यिनको भन्दा पनि मनोरन्जक स्थिति चाहि यिनका पी.ए. को हुँदो रहेछ । अफिसको तर्फबाट यिनलाई झुठो बोल्न सघाउन एउटा सहायक उपलब्ध गराइँदो रहेछ । हाकिमको प्रवक्ता भई हाकिमको निम्ति झूटो बोलिदिए बापत तलव भने पी.ए. ले अफिसबाट पाउँदो रहेछ । उसको टेबुलमा टेलिफोन रहन्छ र बाहिरबाट कसैको टेलिफोन आएमा सवभन्दा पहिले रिसीभ’ गर्ने उ नै हुँदो रहेछ । कुन प्रकृतिको फोन आयो भने ‘हुनुहुन्छ’- भनी चेर्प्याई पारेर बोल्ने; कस्ता किचकिचेको फोन आयो भने अाेठ लेर्प्याएर र लेघ्राे तान्दै ‘मिटिंगमा पाल्नु भा’ छ’ भन्ने र कस्ता विभूतिको फोन आयो भने सर्वप्रथम रिसिभरलाई टेबुलमाथि राखी साष्टाङ्ग दण्डवत् गरी एक मुठी चिनी फक्याएर ‘नमस्कार सर ! यी टक्राएँ !’ भन्नासाथ स्वां-स्वा-फ्वाँ-फ्वाँ गर्दै हनुमानले संजीवनी बूटीको पहाडै बोकेर उडेको जस्तो गतिमा टेलिफोन-सेट नै बाेकेर हाकिम साहेव समक्ष पुर्याउने कलाको पूर्वाभ्यास यिनलाई पीए. को रूपमा भर्ना गर्नु अगावै गराइएको हुन्छ । तोकिएको फोनको तोकिइएको ढाँचामा तोकिएबमोजिम जवाफ दिने फर्मा तयार गरी मात्र यी मेचमा बस्ने हुँदा यस्ता युवक अथवा युवतीलाई पी.ए. भनी सम्बोधन गरिन्छ । यिनले आफ्नो आसन अर्थात् टेलिफोन रहने ठाउँ छाडी अरू माड्साप् सरह भाग्न, घुम्न र गफ लडाउन नपाउने हुँदा यिनको तलव-स्केल छुट्टै र तुलनात्मक रूपमा अलि बढी र आकर्षक हुनुपर्ने हो । पेट पापी हुनु एकातिर यिनको कार्यदक्षता मानिन्छ भने पेट खाली हुनु यिनको निम्ति ठूलो विडम्बना हो ।

यी घूसघुसेको पगरीले विभूषित हुन्छन् यी टेलिफोन ढुकेर नै पेन्सन पाउनेमा दरिइन्छन् र माल अर्थात् घूस खाने कमाल चाहि अर्कै माड्साप्ले गरिसकेको हुन्छ । “अर्काको नाम बेचेर घूस पचाउने माड्साप् को हो त माड्साप् ?” भनी तपाईंले रातो रुमाल हल्लाउँदै बबाल गर्नु अगावै चेलासाप् भागे झै मैले पनि अब सुईकुच्चा ठोके कसो होला ?

०००
श्याम गाेतामेका प्रतिनिधि हास्यव्यङ्ग्य (२०४६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
म अमर हुन चाहन्नँ

म अमर हुन चाहन्नँ

श्याम गोतामे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x