साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म अमर हुन चाहन्नँ

प्रतिष्ठित व्यङ्ग्यकार थिएँ - दुर्घटनामा परेर सिकारु भएँ । मर्ने आँट आएन तसर्थ अमर हुन सकिनँ । जिउँदै अमर हुने चानस पाएको भए म पनि आफ्नो पौरख देखाउन कहाँ चुक्थेँ र ?

Nepal Telecom ad

श्याम गोतामे :

अमर मरेपछि मात्र होइन्छ भन्ने कुरोलाई व्यवहारले सिद्ध गरिसकेको छ । देवकोटा मरे, त्यसपछि अमर भए (एउटा उदाहरण) । मर्ने क्रियाको परिष्कृत रूप नै अमरता हो । यो कुराको भित्री तत्त्व थाहा नपाएर होला, केही बुज्रकहरू श्रद्धाले गद्गद भएर कहिलेकाहीँ ठूल-ठूला नेताहरूलाई उनीहरूको जीवनावस्थामा नै श्रद्धाञ्जलि अर्पित गर्दछन् – “नेताजीको विचार अमर रहोस्”, अथवा “नेताजी अमर रहून्” आदि आदि… । तर म भने यस क्षेत्रमा पाइला सार्दा बडो चनाखो भएर अग्रसर हुन्छु । तसर्थ कसैको अमरत्वको याचना ईश्वरसँग गर्नु म मूर्खता ठान्दछु, किनभने कसैलाई अमर तुल्याउन पहिले धैर्य धारण गरेर उसको मृत्युको प्रतीक्षा गर्नुपर्दछ । मृत्यु कसैलाई पनि प्यारो हुँदैन । अनि त्यसैले होला- म अमर हुन चाहन्नँ ।

यो मेरो मौलिक “थिसिस” हो । कुनै विश्वविद्यालयलाई प्रभावित गरेर उपाधि फुस्काउने नियतले लेखेको होइन । कुनै सांघातिक विषयवस्तु- माथि आधारित भएर आफूलाई केन्द्रित गराई नाउँ कमाउने कुनियत नभएकोले यो “थिसिस” को मूलस्रोत र विषय-वस्तु पनि गफ गर्दाखेरि उत्पादन भएका विचारहरू मात्र हुन् । अर्को शब्दमा भर्नू भने यो “थिसिस” भन्दा बढ्ता गफ नै हो । पाठक गफ रुचाउँछन् तसर्थ लेखकहरूले उहाँहरूको सेवार्थ गफ दिन बाध्य हुनैपन्यो । कसो ?

अस्ति एक जना ‘मर्मज्ञ’ पाठकले मलाई जिउँदै श्रद्धाञ्जलि अर्पित गर्दै बडो औपचारिक भाषामा आफ्नो बुद्धिमत्ताको परिचय दिनुभयो, गोतामेजी, राजधानीमा हास्य-व्यंग्य लेख्ने तथाकथित लेखकहरू प्रशस्त छन् तर तपाईं भने यस क्षेत्रमा चर्चित व्यक्ति भइसक्नुभएको छ । “प्रशंसा (नेपाली साहित्यकारहरूको परम्परागत स्वभावअनुसार ।) मलाई मन नपर्ने त कुरै भएन ! (सम्भवतः उहाँ आफ्नो उद्गारलाई स्तरीय बनाउने क्रममा यसो भन्न लाग्नुभएको थियो) ‘हरिशंकर परसाई, शरद जोशी र शौकत थानवीका लेखहरू मिलेर श्याम गोतामेको एउटा लेख बनेको छ ।” तसर्थ लाजले विभोर हुँदै मैले आफ्नो उदारता प्रणित गरेँ, “यो त तपाईं जस्ता बिवेकशील पाठकहरूको मप्रतिको कृणादृष्टि हो, अन्यथा म त्यति योग्यता भएको त कहाँ हुँ र ?” भावाभिभूत भएर उहाँले भन्नुभयो, “गोतामेजी, तपाईंका कृतिहरू अमर रहनेछन् ।” मैले समस्यापूर्ति गर्दै जवाफ दिएँ, “तर मेरा कृतिहरूलाई अमर तुल्याउन पहिले मेरो प्राणाहुतिको दरकार पर्ने हुँदा हाल मेरो त्यसतर्फको आकर्षणमा गति आउन सकेको छैन र तपाईंलाई त थाहा नै होला म देवकोटा होइन, त्यत्रो त्याग देखाउने मूर्खता मबाट होला भन्ने दुश्शंका गरेर तपाइँ आफ्नो बौद्धिक अवमूल्यन जबर्जस्ती आफ्नै वाणीद्वारा गर्दै हुनुहुन्छ । उहाँले मलाई दिनुभएको प्रस्तावित अमरत्वलाई बुद्धिमत्तापूर्वक ‘विथ-ड्र’ गरेर मसँग ‘सरी’ को जवाफ माग्नुभयो । मैले दयाभावले उहाँलाई मुस्काउँदै ‘माफ’ गरें ।

‘अमर’ हुने उम्मेदवारलाई विशेष ग्राह्यता पाउनेहरूलाई साधारणतया दुई श्रेणीमा विभाजन गर्न सकिन्छ । पहिलो श्रेणीमा लेखक, कवि, संगीतकारहरू यस मानेमा सौभाग्यशाली भएका छन् भने दोस्रो श्रेणीका भाग्यमानीहरूमा ती यात्रुहरू उल्लेखनीय छन् जो जीप, बस वा हवाईजहाजमा ‘यात्रा’ गर्दछन् । पहिलो श्रेणीका हकदारहरू त अचेल सतर्क भइसकेका छन्, तसर्थ साहित्यको सृजना गर्दा “अमरत्व” को लक्ष्मण-रेखाभित्र नै गुम्सिएर ‘सृजन’ गर्दछन् । सम्भवतः यसै कारणले होला अचेल अमर हुन चाहने साहित्यकारहरूको उत्पादन देशले गर्न सकेको छैन । जहाँसम्म जनताको श्रद्धाको प्रश्न छ उनीहरूले साहित्यकारहरूको नियतको भेउ पाइसके !

निःस्वार्थवश र नजानिँदो किसिमले “अमर” हुने श्रेणीमा दरिएकाहरूमा दोस्रो श्रेणीका निमुखाहरू पर्दछन् । यिनले अमर हुन धेरै परिश्रम गर्नुपर्दैन ! यी बसी बसी अमर हुन्छन् ! मेरा एक जना दिवंगत कविमित्रको सानो संस्मरण दिनु यहाँ अप्रासंगिक होओइन । भइहाल्यो भने पनि म अपराध ठान्दिनँ । हास्यव्यङ्ग्यलेखमा प्रसंगको क्रमबद्धता खोज्नु आधुनिक कवितामा ‘भाव’ खोजेकै अथवा राजनीतिक भाषणमा ‘तथ्य र सत्य’ खोज्नु है निरर्थक हुन्छ भन्ने मेरो व्यक्तिगत अनुभव छ ।

कवि-मित्र र म एक पटक जीप दुर्घटनामा संयुक्त रूपले परेका थियौँ । हाम्रो जीप ओह्रालोमा गुडिरहेको थियो । हरिया डाँडा-काँडा छिचोल्ने खोला-नालाको प्राकृतिक वेदको श्रवण गर्दै हामी साहित्यिक आकाशमा उडिरहेका थियौं । एकाएक हाम्रो जीप ४०० फीट तल गुड्न पुगेछ । भित्री तहसम्म डुबी संसारको क्षणभंगुरत्वको सारतत्त्व फेला पार्न जीप तम्सिएको रहेछ, त्यो कुरा हामी उडन्तेहरूलाई के थाहा ? ड्राइभर त घटनास्थलमा नै वैकुण्ठवासी भयो । ताजा योगदान त उसले गन्यो । मेरा मित्र अन्तिम सास फेर्दै थिए, उनलाई अस्पतालसम्म पुऱ्याउनका लागि एम्बुलेन्स (रोगी-गाडी भन्दिनँ, किनभने उनी रोगावस्थामा थिएनन् !) आइपुग्यो । एम्बुलेन्समा मित्रलाई आरोहित गराउने बित्तिकै मित्रको प्राण-वायु उड्यो – मानौं यो शुभ कार्यका लागि उनी एम्बुलेन्स नै पर्खिरहेका थिए ।

देशलाई कविको खाँचो थिएन । व्यङ्ग्यकारको खाँचो रहेछ भन्ने प्रष्ट भयो, किनभने ईश्वरले मेरो जीउ खञ्ज गराएनन् ! मैले करीब एक महिनासम्म भौतिक कष्ट भोग्नुपर्‍यो । मेरा मित्रले त्यो सुदिन देख्न पाएनन् । तर मरण त उनको ‘आदर्श’ भयो । सम्चारपत्रहरूमार्फत उनी ‘अमर’ कहलाउने दुश्शङ्काले मलाई रिस उठ्यो, ग्लानिले मेरो हृदय छिया-छिया पायो । दुर्घटनाभन्दा पहिले उनी ‘मर’ मात्र थिए दुर्घटनापछि उनी ‘अमर’ हुने कुलक्षण देखा पर्‍यो । बडो निराश भएँ ।

नभन्दै भोलि पल्टको सम्चारपत्रले मेरा कविमित्रलाई ‘अमर’ तुल्याएछ । कुरोलाई अझै स्पष्ट पार्न उक्त सम्चारको सक्कलबमोजिम नक्कल तल पेश गरेको छु ।

काठमाडौं, पौष २६,
हिजो भएको जीप दुर्घटनामा नेपालका एक प्रतिष्ठित कविको देहान्त भयो । कविजीका साथ यात्रा गरिरहेका एक जना सिकारु व्यङ्ग्यकारलाई साधारण चोटपटक मात्र (अखबारको रायमा दुःखको कुरो भयो कि उहाँलाई गम्भीर चोटपटक लागेन !) लागेको छ तर उहाँ ‘खतरादेखि बाहिर’ हुनु हुन्छ । कविजीको यो असामयिक महाप्रयाणले साहित्यिक जगत्को अपूरणीय क्षति भएको छ । कविजीको देन अमर छ । कविजी अमर रहनुहोस् भन्ने कामना गर्दै हामी हाम्रो पत्रिकामार्फत कविजीका शोक सन्तप्त परि वारमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

कविजीप्रति प्रशंसासूचक उद्गार पोखिएको यो सम्चारलाई हेर्न र पढ्न कविजीका परिवारले मात्र पाए । सम्चारअनुसार कविजीको देनलाई ‘अमर’ घोषित गरियो । तर कविजी आफ्नो जीवनकालमा सधैँ नै ‘अमर’ रहनुभएको कुरा मलाई मात्र थाहा छ । उहाँको नाउँसम्म पनि कोही रुचाउँदैनथे, उहाँको कविता रुचाउनु त परै रहोस् । उहाँका कविताहरूले उहाँका मित्रहरूको निम्ति ‘नस’ को काम गर्दथे । उहाँको देनलाई अप्रत्यक्ष रूपबाट मान्न सबै तत्पर थिए तर प्रत्यक्ष रूपमा प्रशंसा गरेर उहाँलाई कृतघ्न बनाउने दुष्चेष्टा भने कोही पनि गर्दैनथे । यी वास्तविक तथ्यहरू हुन् – पत्रिकाले यो कुरा पहिले पनि थाहा पाएको हो, पहिले नै प्रकाशित हुनुपर्ने कुरा हो तर लाक्षणिक कुरा त के भने सबै कविजीको मृत्युको प्रतीक्षा गरिरहेका थिए- उहाँलाई ‘अमरत्व’ को जामा प्रदान गर्न ।

मलाई रिस उठ्ने नै भयो । त्यसको मुख्य कारण के भने मेरो योगदानको कदर भएन । दुर्घटनामा त म पनि परेको हुँ । प्रतिष्ठित व्यङ्ग्यकार थिएँ – दुर्घटनामा परेर सिकारु भएँ । मर्ने आँट आएन तसर्थ अमर हुन सकिनँ । जिउँदै अमर हुने चानस पाएको भए म पनि आफ्नो पौरख देखाउन कहाँ चुक्थेँ र ?

मरेर अमर हुनु कुनै फाइदाको कुरा होइन, बडो बदनामी हुन्छ । यो एउटा अशुभ लक्षण हो । तसर्थ म अमर हुन चाहन्नँ ।

०००
‘कायेनवाचा’ (२०३३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
0
Would love your thoughts, please comment.x
()
x