साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्को राजाको उदय भयो तर मेरो आइतबार आएन

तर अर्को एउटा कुराले डोठ्याङ् खायो । भिसा चाहिँ दिल्लीमा गई लिनु पर्ने रे ? दिल्लीमा नभ्याए बर्लिन विमानस्थलमै पाउने गरी तार गरिदिने रे ! कम्युनिस्ट मुलुकमा जाने भिसा चाहिँ भाखामा राखेर ? म त जान्नँ भनिदिन्छु – स्वाभिमान कुर्ल्यो ।

Nepal Telecom ad

भैरव अर्याल

आजको दुनियाँमा एक महाद्वीपबाट अर्को महाद्वीपमा पुग्नु कुनै आइतबार छैन, तर सबैको निम्ति वा सधैँको निम्ति यो कुरा सोमबार या शनिबार पनि छैन । पहिलो त सर्वसाधारण जीवनमा यो संभावना नै उठ्दैन , नोकरी , व्यापार र समाजसेवाको कुनै क्षेत्रसित सम्बन्धित व्यक्तिको नाताले सम्भावना टुसाइहाले भने पनि अनेकन सङ्कट समस्याहरुको गजमौरी छिचोल्नु पर्छ । एउटा अखबारसँग सम्बन्धित पत्रकारको हैसियतले मेरो पनि युरोप जाने कुरा बेलाबेला नउठेको होइन । तर कहिले प्रतिद्वन्द्वीका गगनचुम्बी चुराहरुमा मिचिएर कहिले बाङ्गाटिङ्गा बिङ्गाहरुमा किचिएर कुरा पलाउन बेर न ओइलाउन बेर रहे । समुद्र तर्ने रहर हनुमान्को भन्दा कम थिएन, तर उनले झैँ ‘तर्छु क्षार समुन्द्र आज सहजै’ भन्ने न अर्थको हुति थियो न हैसियतको गुड्डी । त्यसैले अरुको निम्ति जेसुकै होस्, आफ्नो निम्ति युरोपको यात्रा एउटा आइतबारै थियो । तर इच्छाशक्तिको तीव्रताले भनुँ, या सेवाको कदरले वा दैवसंयोगले नै भनौँ यो कुरा आइतबारको आइतबार चाहिँ रहेन ।

०२८ सालको जाडोसँग एक बोट उन्यु टुसायो । कसोकसो मलाई पनि एउटा युरोपीय मुलुकमा गई पत्रकारिताको प्रशिक्षण लिने सौभाग्य जुर्‍यो । मैले जाने भनिएको मुलुक थियो- जर्मन प्रजातान्त्रिक गणतन्त्र ।

पूर्वी युरोप के युरोप ?- एउटाले भन्यो ।

कम्युनिस्ट-घोषणापत्र पढ्न जान लागिस्- अर्कोले भन्यो ।

अलि अलि कमाइने- जमाइने ठाउँ पो छान्नुपर्छ- अर्कोले भन्यो ।

तर यी टिप्पणीहरुभित्र के कस्ता आग्रह वा पूर्वाग्रह थिए त्यो बुझ्न नसकिने केही थिएन । त्यसैले कुनै पनि कुराले मेरो मन बहकाउन सकेन । बरु द्वितीय महायुद्धका स्मृतिहरुसँग समाजवादी संसारको चहलपहल हेर्ने उत्सुकता उक्सियो । पढ्ने सिक्ने आकाङ्क्षासँगै बन्ने बुझ्ने कतिपय मूर्त अमूर्त आशाहरु जुरमुराए समाजवादी देशबारे पढी-सुनी बनेका अन्तरकुन्तरका संस्कारहरु सलबलाए, जिज्ञासाहरु तुलबुलाए ।

म जाने भएँ ।- टिप्पणी पास भयो रे ।

तर म नजाने भएँ- कसैलाई कसैको आदेश भयो रे । पिठ्युँ पछाडिको टीका र टेबुल अगाडिका टिप्पणीहरु कसलाई के थाहा हुन्छन् र ? त्यसैले तयार हुनुको आदेश पाएको धेरैपछि जानुको राहदानी पाएँ । कोर्स जुन दिनदेखि सुरु लेखिएको थियो, सो दिन सामेल हुन भ्याउने गरी मैले आफ्नो प्रस्थान मिति बनाएँ – आइतबार । तर आइतबार आयो गयो- टिकट आएन ।

राहदानी खल्तीको खल्ती रह्यो- टिकट आएन ।

पुसको आखिरीतिर पुग्नु पर्ने अन्त्यै भयो । माघका आइतबार पर्खदै रहेँ । बरु एउटा राजाको अन्त्य र अर्को राजाको उदय भयो तर मेरो आइतबार आएन । फागुनका पनि दुई आइतबार बितेपछि मैले आश मारेँ, लाग्यो- मैले एउटा युद्ध हारेँ । हिटलर हारेको ठाउँ हेर्ने मृगतृष्णामा आफ्ना कामकाज सब अलपत्र पारेँ । म हुस्सिएँ, भुस्सिएँ, म गिज्याइएँ र खिज्याइएँ पनि ।

यस्तै एकदिन कार्यलयको टेबुलमा कलम जोत्दाजोत्दै एक सहकर्मीले समाचार ल्याए- तिम्रो टिकट आयो रे, तुरुन्तै जानु पर्‍यो रे ! म श्री ५ महेन्द्रको शोकमा खौरेको टाउको सुम्सुम्याउँदै जिल्लिएँ- पुसको आखिरीमा पुग्नुपर्ने भनेको ठाउँमा फागुनको आखिरीमा पुगे पनि हुने यो कस्तो तालिम होला ।

अब कता जुठे कता जुठेको बाबु !- नजाऊँ यार ।

जाऊँ जाऊँ !

अब कहिले हिँड्नु हुन्छ त ?

आइतबारतिर जाउँला ।

तर अर्को एक जना उहीँ पुग्ने सज्जन शुक्रबार हिँड्ने रहेछन् । मैले पनि प्रस्थान मिति वर सारेँ र आइतबार हिँड्ने हाेइन पुग्ने तय भयो । अब भने युरोप पुग्न अर्को आइतबार नपर्खिनु पर्ने भयो, आउँदो आइतबारै त्यस लक्ष्यभूमिको पर्दापण हुने भयो ।

तर अर्को एउटा कुराले डोठ्याङ् खायो । भिसा चाहिँ दिल्लीमा गई लिनु पर्ने रे ? दिल्लीमा नभ्याए बर्लिन विमानस्थलमै पाउने गरी तार गरिदिने रे ! कम्युनिस्ट मुलुकमा जाने भिसा चाहिँ भाखामा राखेर ?

म त जान्नँ भनिदिन्छु – स्वाभिमान कुर्ल्यो ।

तर किन नजाने ?- अहम् उर्लियो ।

भिसा नपाए हवाइजहाजबाट भए पनि बर्लिनको पर्खाल हेरेर आउँला । भित्र जान नपाए विमानस्थलमै भए पनि आइन्स्टाइन र गेटेको भूमि टेकेर आउँला ।

विमानस्थलमा थुनिनु पर्‍यो भने नि ?

यो स्थितिको अनुभव कस्तो हुन्छ, एउटा हास्यव्यङ्ग्य लेखुँला, के भो ?

तर्क विर्तकै खेलाउँदा खेलाउँदै जाने भनेको दिन बिहानभरि म हल्लिरहेँ । तर फेरि समाचार आयो – भिषा लिन आउनु रे ! राहदानीमा भिषाको छाप लाग्दा आफू आइतबार बर्लिन पुगिने ग्यारेन्टी पाएजस्तो लाग्यो । यस्तै दुई महिनासम्मको जाने जाने र आनेकानेले न सुरसारपूर्वक जाने जोरजाम हुन पायो न रहेनकाजकाम । हिँड्ने दिन पनि १ः३० बजे उड्ने भनेको ४ः३० बजेसम्म आफू उड्ने विमानको पत्तो नहुँदा फेरि मेरो आइतबार झण्डै धरमरिएको, तै पाँच बजे भए पनि बाकस बाकस बोकेर घर फर्कनु परेन । विमानभित्र पसेर आफ्ना चिचिला केटाकेटीलाई हात हल्लाउँदा जर्मनकै धावामा जान लाग्दै छु कि जस्तो गरी भित्रभित्र कताकता नरमाइलोको एउटा सिर्का पनि आयो । निस्कँदै छोपिँदै गएका मेरो देशका अनतिन्ति हिमशिखरहरु आफ्नो फेर समात्दै परपरसम्म पछि लागे जस्तो लाग्यो । तर पनि बेलुकीपखको सूर्यले आफ्ना अबिर किरणहरुको तुल्य बिछ्याएर मानूँ मलाई आफैँ भएतिर तानिरहेथ्यो पर कता तारामय आकाश मुनि बिजुलीमय धरती झैँ दिल्ली पर्खिरहेको थियो ।

जतिपल्ट पुगेको भएपनि फेरि पुग्दा नौलो लाग्ने दिल्लीको स्वभाव छ । तर हामीले त्यो नौलोपन केही घण्टा विमानस्थलमै हेरेर चित्त बुझायौँ । यो एकरात पनि यहाँ किन अलमलिने । भारतको ढोकामै गएर आइतबार चाँडो आइहाल्छ कि ? मैले भोलि बिहानको साइतलाई अहिले भरेकैमा सार्न लगाएँ ।

राति एक बजे शान्ता क्रुजनरेको एउटा होटलमा पुगेर टुसुक्क बस्दा एउटा सुरिलो सन्तोषको सास आयो- अब २४ घण्टापछि त मेरो आइतबार सुरु भइहाल्छ । तर बिचमा अझै एउटा खाली शनिबार थियो । बेहानपुर समुन्द्रका किनारै किनार, दिनभर यो बजारबाट ऊ बजार गर्दागर्दै राति गेट् वे अफ् इण्डिया हेर्न गएको शनिबारले नभ्याउला नभ्याउला जस्तो गरिहाल्यो । तर आइतबारको टुपी समाउन हामीलाई राति बाह्रै बजे विमानस्थल नपुगि हुन्थेन । गेट् वे अफ इण्डिया र शान्ताक्रुजको दूरता मनग्गेको थियो । बेलुकाको बम्बईमा सवारी पाउनु चाहिँ असम्भव ? अनि त ? अनुभव अत्यासको मात्रै क्या ! सवारी खोज्न पुरा घण्टा लागे पनि पुग्न त बेलैमा पुगिहालियो नि !

शान्ताक्रुज विमानस्थलको घडीले दुइटा सुई जोल्टाएर शनिबार माथि आइतबार खप्टिएको संकेत दियो । पुर्‍याउन आउनेहरुले दुइटै हात जोल्ट्याएर जान आउनेहरुलाई बिदाई दिए । हामीले १५/१५ रुपियाँ बुझाएर भारत छाड्ने पारपत्र लियौँ । आइतबारको श्रीगणेश भयो । औपचारिकता सकेर एउटा प्रतीक्षासनमा टुुसुक्क बसेका एक जोर मुडुल्टाउके टोपीधारी हामी रामवरण र म त्यतिबेलाको त्यहाँको जमघटमा सायद अलि बेग्लै देखिन्थ्यौँ कि ? जस्तो देखियौँ- एयर इण्डियाको बोइङ ७०७ ले विमानस्थलको जमघट सोहोरेर आफूभित्र भिœयाउँदा हामी पनि भित्रियौँ र आइतबारले एक हान्न साथ हामीलाई बोक्ने बेइङ भारतको भुइँबाट भुरुक्क उडिहाल्यो । यतिन्जेल सँगै बस्दै गफ गर्दै आएका हामी दुई जना झन् लामो यात्रामा एउटा एकातिर अर्को अर्कातिर परेको चाहिँ कत्ति मन परेन । मैले आफूसँगैका एक सज्जनसित अनुरोध गरेँ- तपाईँ एक्लै हुनुहुन्छ भने मेरो साथीको र तपाईँको सिट् साटौँ कि ? उनले भने- हुन्थ्यो हुन त, तर मलाई झ्यालको सिट चाहिन्छ, तिम्रो साथीको त्यस्तो रहेनछ । रातको जेट यात्रामा झ्यालको उपयोगिता यिनले के लिन लागेछन्, म उत्सुक थिएँ तर उनी यात्राभर पूरै निदाइरहे, घुरिरहे । लामो उडान रातमा हुनु राम्रो त राम्रै हो- निदाइदियो आनन्द ! तर आफू भने उडान होस् कि गुडान होस्, यात्रामा निदाउन नसक्ने बा !

झ्यालतिरका सज्जन मात्र होइन छेउतिरका भद्रजन पनि निदाए । नागिचैका अरबहरु मात्र होइन, परतिरका युरोपियनहरु प्नि निदाए, एउटा विशालाक्षी र अर्को बुर्कुन्ची परिचारिकाको कहिलेकहीँको फर्‍याक्फुरुकबाहेक घटना थिएन, जेटको टुइँयबाहेक शब्द थिएन । अरेबियन सागरमाथिको निस्पट्ट आकाशमा मानुँ म एक्लै आफ्ना विगत र वर्तमानका तानावाना तुन्दै थिएँ, भाग्य र दुर्भाग्यका तराजु तान्दै थिएँ । सम्झना र सम्भावनाका चुच्चा चुचुरा चिन्दै थिएँ । एक्कासि विमान मडारिन थाल्यो । शूलको बिरामीझैँ उचालिए उचालिए जस्तो, बजारिए बजारिए जस्तो। कोल्टिए कोल्टिए जस्तो र पल्टिए पल्टिए जस्तो कस्तो कस्तो अनुभव भयो, आवाज आयो “कृपया आसन पेटी बाँध्नु होला !” पूणर् निस्तब्धतामा एउटा सनसनीको लहर मिलिक्क आयो, टिक् टिक् टिक् टिक् पुच्छरदेखि टाउकोसम्म एउटै अपूर्व वाद्य झङ्कार आयो- खिप तरङ्गको । मान्छेका जिजीविषा र मुत्यु सन्त्रासका सजगताहरु क्ति तीव्रतम हुन्छन् । तर म जेलाई पनि जसलाई पनि पूणर् विश्वास गरिदिने मान्छे । दुर्घटना होला भन्ने अविश्वास वा मारिएला भन्ने सन्त्रासले कत्ति पनि छोएन, बरु कतै बिचमै अडिएर आइतबार बर्लिन नपुगिने भइयो भन्ने मात्र लाग्यो । विमानको गति मौसमको खराबीले बरालिएको भन्ने सुनेपछि झन् पक्का भयो- कतै बिचमै उत्रनु पर्छ अब । तर दैवसंयोग, त्यस्तो अवरोध केही परेन ।

सवा सात घण्टा जतिमा हामी काहिरा और्ल्यौँ । आफ्नो घडीले झण्डौ सवा आठ बजाएको थियो तर काहिरामा झिसमिसे नै थियो । बम्बाईबाट सुरु गरेको आइतबारको अदित्य काहिरामा भरखर अरुणिमा फ्याँक्दै आइपुग्दै पो रहेछ । त्यहाँको घडीमा चार चानचुन त्यस्तै थियो । सबभन्दा लामो उडान सकिएको, अब एक बिसौनीमै बर्लिन पुगिने भइको, मिश्रको त्यो इतिहास प्रसिद्ध राजधानीमा टेकिएको र अझ आफ्नो प्यारो आइतबार लम्बिएको रामवरणजी र म दुबै मख्ख पर्‍यौँ । काहिरामा हामीसित समय थोरै भएपनि उत्सुकता धेरै थिए- पिरामिड हेर्ने, के हेर्ने, के हेर्ने, कमसेकम सहर हेर्ने । तर भिसा थिएन । त्यसैले विमानस्थलका अफिस, बजार, रेस्टुराँ र त्यस्तै यताउति छरिएर रहेको जमघटमा मैले मिश्रलाई खुम्च्याएँ, काहिरालाई चिहाएँ । कसिकसमउ जिउका लबिदरे अरबहरु पिरामिडदेखिका गौरव र स्वेज नहरदेखिका गर्व थुप्रै कुरा आफूभित्र अटाए झैँ लाग्यो । तर अरबी घोडा जस्तै दगुराएर बोलिने अरुबीको आफू ॅअ’ पनि नजान्ने हुनाले गफ गन्थनको बाटै नपाइने । संसार नगिचिएको कुरा राम्रो निम्ति कुनै पनि नयाँ होइन, तर प्रत्यक्ष अनुभव मेरा निम्ति नयैँ थियो । हामी मुम्बाईबाट आएको वोइङको यात्रापथ संसारको पूर्वी छेउदेखि पश्चिमी छेउसम्मको थियो भने हुन्छ, किनभने त्यो टोकियोबाट हङकङ, बैङकक, कलकत्ता हुँदै मानुँ हामीलाई टिप्न बम्बई आएको थियो र अब हामीलाई काहिरा छाडी उसलाई रोम, जेनेभा, लन्डन हुँदै न्युयोर्क पुग्नु थियो । त्यसैले ऊ हामीलाई एकोटा ब्रेकफास्टका टिकट दिएर बिदा गर्दै आफ्नो बाटो लाग्यो, हामी जर्मन प्रजातान्त्रिक गणतन्त्रको विमान इन्टर फ्लुको बाटो हेर्दै रह्यौँ ।

फागुन २२ गते अर्थात् मार्चको ५ तारिखको सूर्य काहिराको आकाशमा प्रचण्डतापूर्वक चम्किरहेको थियो । दिन प्रभातबाट मध्यान्हतिर जाँदै थियो, हामी एसियाबाट युरोपतिर जाँदै थियौँ । इन्टर फ्लुको भव्य विमानभित्र पस्ने बित्तिकैदेखि युरोपीय वातावरणको गन्ध आइरहेको थियो, जर्मन प्रजातान्त्रिक गणतन्त्रका कामदारहरुको स्नेहशील सेवा कुशलताको सुगन्ध पाइरहेको थियो ।

आइतबार अन्तको लागि सप्ताहान्त भए पनि हाम्रो निम्ति साता सुरुको दिन हो । अझ भनुँ भने आफ्नो जन्म दिन नै आइतबार । तर यो सबैको यहाँ कुनै सान्दर्भिक महत्व छैन । आजको साँगुरिएको संसारमा एक महाद्वीपबाट अर्को महाद्वीप पुग्न केको आइतबार पर्खनुपर्छ ? भन्दाभन्दै आफूले पर्खनु परेको कैयौँ आइतबारहरुको सक्दर्भमा त्यो आइतबार विशेष बार जस्तो लागेको थियो । आँखामा कता कता पारावारविहिन मरुभूमि जस्तो र कतै कस्तो कस्तो तुवाँलो उडिरहे जस्तो देखिइरहेको थियो ।

मनमा उत्सुकताहरुको अजस्र बढी मडारिइरहेको थियो । हामी पूरै केटाकेटी भएर मनभरिका खुसी सोहोरी सँगेट्तै थियौँ । इन्टर फ्लु हामीलाई लिएर सोनाफिल्ड विमानस्थलको चक्कर मार्दै थियो ।

“पाँच घण्टाभन्दा बढीको उडान पनि कति चाँडै सकिएको ?”

“अँ, मलाई पनि त्यस्तै लाग्यो ।”

काठमाडौँ, दिल्ली, बम्बई र काहिराका विमानस्थलहरु एकपछि अर्को व्यस्ततर र भिडपूणर् हुँदै गएको क्रममा सायद हामीले सोचेको थियौँ – बर्लिन विमानस्थल अझ कति व्यस्त होला । तर हाम्रो धारणा बिल्कुलै गलत साबित भयो, विमानस्थल शान्त थियो । थर सिरसिर बतास र सिमसिम पानीले जति पर पुग्यो त्यति लम्बिदैँ भर्खर मध्यान्हमा पुगेको आइतबार साँझ साँझको छिन जस्तो प्रतीत हुन्थ्यो ।

एउटा लामा बस्दै कस्टकको फरम बरियो, राहदानी खुत्रुक्क एउटा प्वालमा खसालिदियो, २/४ मिनेटमा कहाँ पुगेर कसरी जाँच्चिएर आयो, बुझिएन । अगाडि सुड्केसहरु फुत्तफुत्त निस्किरहेका थिए । आफ्नो आएपछि टिपिएर ओलिए, ककाम खतम ! कति छिटो र सजिलोसित विमानस्थलको औपचारिकता सकियो भने हामीलाई बम्बई र काहिरासँग यहाँको तुलना गर्दै दङ्ग पर्‍यौँ ।

तर आइतबारको यो दङ्गदासीले आइतबारकै एउटा अप्ठेरो पनि ल्यायो । बर्लिनमा त बिदाको दिन ! सायद पुग्ने सन्देशभन्दा आफू नै अघि पुगिएछ क्यार- सम्बन्धित ठाउँको मान्छे विमानस्थलमा कोही पनि आइपुगेको थिएन । कोही भिसा लिन लहैलहैमा लागेर गएको भए ? हामी झस्क्यौँ । तर त्यो झस्कोभन्दा त्यहाँ जाडाको चस्कोले पिर्‍यो, मानौँ हाम्रो हिमालय हामीभन्द्या अगाडि नै त्यहाँ पुगेर पाँज्जिसकेछ क्या रे ? जे होस् आफू जोने ठाउँमा फोनद्वारा सुचित गरेर हामी विमानस्थलको होटलभित्र पस्यौँ, बल्लबल्ल बर्लिनको सुस्केरासाथ आइतबार त्यहीँको त्यहीँ बित्यो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डाढो

डाढो

भैरव अर्याल
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x