साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वेदजात्रा

सडकको छेउमा अघिल्तिर पैसा भर्ने ढ्वाङ्ग राखिदिएर एउटा कमलमुखे किशोरलाई दिनभर वेद पढाउन लगाउने वेदभक्त सज्जनहरूले खै के-के सोच्दैछन् । के-के गर्दैछन् ? खास कुरा थाहा भएन ।

Nepal Telecom ad

भैरव अर्याल :

कुरा अस्ति एकादशीकै दिनको हो, पशुपतिनाथका दर्शनार्थीको भीडम्भीड ओहोरदोहोरका बीच वनकालीको सडकको कहिल्यै पेटी बन्न नसकेको एउटा छेउमा एक जना फुकीढल्दा किशोर सारस्वरसहित वेद पाठ गरिरहेका थिए। पशुपतिको नगिच वेद विद्याश्रमको मुनि बसेर एउटा हिन्दू राष्ट्रको केटोले वेद पढिरहेको देखिनु उदेक वा अचम्म लाग्दो कुरो त हुँदै होइन, त्यसमाथि अस्ति मात्रै नेपाल आएका एउटा महर्षि महेश योगीले वेदभूमि भनेर विशेष तारिफ गरिएको, केही अघि आउने जगत् गुरु शंकराचार्यले वेदको पठनपाठन राम्रोसित होस् भनिएको, कैयौं दिनसम्म हिन्दूधर्म सम्मेलन गरी वेदको महिमा गाइएको नेपालमा वनकालीको पेटीमा बसेर एउटा केटोले वेद पढ्‌नुमा कसैले अनौठो मान्न थाल्यो भने त्यो मान्छेलाई नै नेपाल नचिनेको नास्तिक भन्ने आरोप लगाइदिए हुन्छ ।

तर भीमनिधि तिवारीज्यूको ‘काम्यो लुग्लुग त्यो’ भन्ने कविताको मूर्त प्रमाण देलान् जस्ता ती वैदिक वटुकको चेहरा र लवाइ, दुकुरको जस्तो टुक्रुक्क बसाइ र मैनाको जस्तो पढाइले एउटा करुणापूर्ण हास्य र वेदनापूर्ण व्यङ्ग्यको भाव उब्जाइदिन्थ्यो । उनको अगाडि चन्दाका लागि एउटा टिन तेर्स्याइएको थियो । दिनभरिमा त्यो टिनभित्र कतिवटा दुई पाँच पैसे ढ्याक छिरे त्यो थाहा छैन, तर ती एक्ला वटुक चाहिँ ढ्वाङ भरेर त्यसैको भरमा भरजिन्दगी वेदको अध्ययन गर्छु गराउँछु भन्ने विश्वास हल्लाएझै जाडाले जिब्रैसमेत हल्लाएर साँझैसम्म वेद पढिरहेका देखिन्थे ।

वेदभूमिका वेदजात्राका यस्ता उदाहरणहरू अचेल बराबर भेटिने गर्छन् । वेदवेदाङ्ग विद्याश्रममा वेदाध्ययन गरी राष्ट्रिय धर्म संस्कृति थाम्न गुरुजनहरूबाट बोलाइएका र अभिभावकहरूबाट पठाइएका कतिपय किशोरहरू साँझको बसमा वेद पाठ गर्दै विद्याश्रम आएको पनि भेटिन्छ । पैसा तिर्न नसकेबापत बसबाट घोक्राउनु अघि यात्रुजन वा ड्राइभर कन्डक्टर जनबाट एउटा शर्त राखिन्छ लौ वेद पढ त । कसैलाई दिल्लगी होस् वा कसैलाई श्रद्धा, उनीहरू वेद पढिदिन्छन् ।  किनभने जसरी तसरी विद्याश्रम उनीहरूले पुग्नुपर्छ ।

‘वेदवेदाङ्ग विद्याश्रममा बस्न खान दिँदैनन् र ?’ पहिले एकपटक दिइन्थ्यो तर एकपटक कुनै महाप्रभु आएको उपलक्ष्यमा हामी त्यहाँबाट निकालियाँ केही समय नगिचैको पाटीमा बस्यौँ। तर त्यहाँ पनि खाने जोहो राम्रो मिलेन । टाढा कुनै गाउँबाट वेद पढ्न विद्याश्रम आएका र हाल अलपत्र परेका एक जना किशोरको गुनासो थियो ।

केही किशोरहरूको साहै बिचल्ली पारिदियो । विद्यालय मात्र नभएर विद्याश्रम परि एक जना नजिकैका वेदज्ञसित वेदवार्ता हुँदा उनी भन्थे वेदवेदाङ विद्याश्रम भएकाले छात्रावासीय सुविधासहित वेदवेदाङ्ग पढने पढाउने व्यवस्था गरिन्छ भने। धेरैतिरबाट केटाहरू बदलिए । तर आश्रमको सञ्चालन भने हुन सकेन । टोलकै स्कुलहरूमा उनीहरू केही न केही पढ्थे होलान् तर खान पनि पाइने पढ्न पनि पाइने प्रलोभनमा परेर कतिको कलिलो जीवन बरालिदैछ ।

‘के त्यहाँ अहिले छात्रावास छैन त ?’ एक जना स्थिति बुझेका गुरु भन्थे- ‘भर्खरै गुठी संस्थाले ६ जना विद्यार्थीका निम्ति छात्रवृत्तिको व्यवस्था गरिदिएको छ । एक थरीलाई बृहत् अध्यात्म परिषद्ले ऋण गरीगरी अहिलेसम्म ख्याउँदै पढाउँदै ल्याएको छ, तर त्यस्तो वृत्ति कतिसम्म चल्ने हो भन्न सकिन्न।

‘त्यसो भए वेद विद्याश्रमको सार्थकता ?’ ‘राम्रा संस्कृति द्योतक घर, बगैंचाका लागि । अनि कुनै त्यस्तै १०८ वा १००८ गुरुबा-गुरुमाहरूको स्वागत सत्कारका लागि ।’ यो कुरा हुँदाहुँदै एक जनाले बीचबाट प्वाक्क भनेथे- ‘सबभन्दा ठूलो कुरा इज्जत प्रतिष्ठाका लागि ।’ हाम्रो देशमा एउटा शानदार वेदवेदाङ्ग विद्याश्रम पनि छ, जहाँ कहिले विद्यार्थीहरू बोलाइन्छ । कहिले घोक्र्याइन्छ । हुन पनि जुन उद्देश्यले त्यो विद्याश्रम स्थापना भयो, त्यहीअनुरूप एउटा गतिलो व्यवस्था किन गरिंदैन ? केही गरिंदैन भने विद्यालयको नपुग भइरहेको काठमाडौँमा एउटा कुनै विद्यालय वा एउटा कुनै क्याम्पसका लागि पो उक्त विद्याश्रमको सदुपयोग गर्ने हो कि ?

कुनै माता आएर बस्दा वेदवेदाङ्ग विद्याश्रममा झन्डै गुहेश्वरीकै भीड लाग्यो । महर्षि महेश योगीले ध्यान सिक्ने आह्वान गर्दा कैयौं दिनसम्म टुडिखेलमा ध्यानार्थीहरूको घुइँचो चल्यो । बृहत् अध्यात्म परिषद्‌ले हिन्दू सम्मेलनको आयोजना गर्दा पनि भाषणकर्ता, चन्दादाता र श्रोताको कुनै कमी महसुस गरिएन । तर सो वेदवेदाङ्ग विद्याश्रम वेद शिक्षण, ध्यान, प्रशिक्षण वा संस्कृति सुशिक्षणको एउटा निश्चित नियमित र व्यवस्थित आश्रम बन्नुको बदला एउटा वेदजात्रा निकाले ठाउँ मात्रै पो हुने हो कि ? सडकको छेउमा अघिल्तिर पैसा भर्ने ढ्वाङ्ग राखिदिएर एउटा कमलमुखे किशोरलाई दिनभर वेद पढाउन लगाउने वेदभक्त सज्जनहरूले खै के-के सोच्दैछन् । के-के गर्दैछन् ? खास कुरा थाहा भएन ।

०००
भैरव स्मारिका- २०६३, गोरखापत्र- २०३१ मङ्सिर १३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
0
Would love your thoughts, please comment.x
()
x