साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आदिकवि बाजेलाई नातिको पेटवादी पत्र

'भोलानाथ' वा 'रज्जू हाकिम' भेटिए भने एउटा कडा छन्दको श्लोक हानेर यसो भनिदिनुहोला- ​"चुँदी रम्घाका भानुभक्तले त उतिबेलै नेपाली ब्युँझाए, अहिलेका नातिहरूले भाषा बेचेर डलरको खात लगाए !"

Nepal Telecom ad

नन्दलाल आचार्य :

आदरणीय आदिकवि भानुभक्त बाजे,
सभक्ति साष्टाङ्ग दण्डवत् !

​यो २०८३ सालको बौद्धिक अनिकालको क्षणमा एउटा कुनाबाट तपाईंलाई यो पत्र लेख्दै छु, जुन पढ्दापढ्दापढ्दै ओठहरू हाँसोले अलिकति खुकुलो त होलान्, तर भित्रभित्रै आँखाको कुनाबाट घिउ रङको तातो आँसु पनि खस्नेछ ।
​बाजे ! अचम्मको कुरा के छ भने, तपाईंले त एउटा सामान्य घाँसीको घाँस काट्ने दाउ र “कीर्ति त केही रहोस्” भन्ने सोचबाट पग्लिएर तराई, पहाड र हिमालका भित्ता-भित्तामा नेपाली भाषाको अजम्बरी बिउ रोप्नुभयो । तर आज हामी कस्ता सुपुत्र भयौँ भने, तपाईंको त्यो ‘नेपाली भाषा’ राम्रोसँग बोल्न नजान्ने बच्चालाई यहाँ ‘स्मार्ट’ भनिन्छ, अनि अंग्रेजी शब्द मिसाएर आधा-अधुरो नेपाली ओकल्नेलाई ‘विद्वान्’ मानिन्छ ! तपाईंले त ‘कान्तिपुरी नगरी’ देख्दा अलकापुरी जस्तै देखेर कविता फुराउनुभयो, तर आजका तपाईंका आधुनिक नातिपनातिहरू त्यही अलकापुरीको धूलो र हिलो सहन नसकेर ‘डियर बाजे’ भन्दै राहदानी बोकेर सात समुद्रपारि अलप भइरहेका छन् ।

​म सोच्छु बाजे, इतिहासले तपाईंलाई दिएको त्यो हण्डर र आजको यो आडम्बर देख्दा कुनचाहिँ नेपालीको छाती नचर्किएला र ?

तपाईंलाई पाँच सय रुपैयाँ सरकारी रकम हिनामिना गरेको झुटो आरोपमा कुमारी चोकको त्यो साँघुरो र अँध्यारो खोरमा कोचियो । कठै बाजे ! तिर्खा लाग्दा पानीसम्म नपाएर छटपटाएको त्यो दु:खको रापबाट तपाईंले ‘नेपाली रामायण’ को पवित्र अयोध्याकाण्ड जन्माउनुभयो । आजको जमाना हेर्नुस् त ! यहाँ पाँच सय रुपैयाँ होइन, पाँच अर्ब पचाएर मान्छेहरू मन्त्रीको कुर्सीमा सयपत्रीको ठूलो माला लगाएर अट्टहास गर्छन् । उनीहरूलाई कुमारी चोकको खोर होइन, एसी जडान गरिएको पाँचतारे रिसोर्टजस्तो जेल चाहिन्छ । तपाईंले त जेलमा बसेर कविता कोर्नुभयो र समाज सुधार्नुभयो, आजका भीआईपी कैदीहरू जेलबाटै भिडियो कल गरेर चुनाव जित्छन् ! बाजे, तपाईं त असाध्यै सोझो हुनुहुँदो रहेछ, अलिकति चतुर भइदिएको भए त्यतिबेला पाँच सयको ठाउँमा पाँच करोडको हिसाब गोलमाल गरेर कतैको बडाहाकिम वा प्रधानमन्त्री बन्नुहुने रै’छ !

अनि त्यो अर्को काण्ड, हाकिम र भोलानाथलाई व्यङ्ग्य गर्दै तपाईंले कुर्लिनुभएको थियो नि- “भोलि भोलि भन्दैमा सब घर बितिगयो…”। बाजे, तपाईंको त्यो एउटै श्लोकले तत्कालीन अड्डा-अदालतका कुर्सीहरू थुरथुर कामेका थिए रे । तर आज तपाईं जीवितै फर्केर न्यायलय आउनुभयो भने, तपाईंको मुद्दाको तारेख लिन तपाईंको सातौँ पुस्ताले पनि ‘भोलि’ नै सुनिरहनुपर्नेछ । यहाँ ‘भोलि’ कहिल्यै ‘आज’ बन्दैन । तपाईंले त दिक्क भएर कालजयी कविता लेख्नुभयो, हामी त दिक्क भएर सामाजिक सञ्जालमा केवल कुण्ठा पोख्छौँ ।

​कतिपय आजका नव-विद्वानहरू भुइँकुइरो जस्तै उठेर भन्छन्- “भानुभक्तले त केवल संस्कृतको अनुवाद मात्र गरे, मौलिकता दिएनन् ।” हाँसो त त्यहाँ उठ्छ बाजे, जसले जिन्दगीमा एउटा मौलिक पाना कोर्न सकेका छैनन्, उनीहरू भुँडी सुम्सुम्याउँदै तपाईंको ‘छन्द’ नापेर खोट लगाउँछन् । तपाईंले त संस्कृतको त्यो कठिन स्वर्गको भाषालाई नेपालीको आँगन, पिँढी र गोठसम्म ल्याएर “एकदिन नारद सत्यलोक पुगिगया…” भन्दै गुन्जाइदिनुभयो । तर आज, हामी त्यही भाषालाई गौरव होइन, हीनताबोधको त्यान्द्रो मान्छौँ ।

तपाईंको तनहुँ चुँदी रम्घाको जन्मघर खण्डहर भयो भनेर हामी राष्ट्रिय रोइलो त गर्छौँ, तर आफ्नै घरभित्र छोराछोरीले ‘आमा’ भन्दा नाक खुम्च्याएर ‘मम्मी’ भन्दा छाती ढकमक्क फुलाउँछौँ । कस्तो विडम्बना ! तपाईंले जुन भाषाका लागि सरकारी कोपभाजन, मानसिक प्रताडना र जीउज्यानकै जोखिम मोल्नुभयो, आज त्यही भाषा सरकारी अड्डाका भित्तामा र फेसबुकका भित्ताहरूमा व्याकरण रोएर रगतका आँसु छटपटाइरहेको छ ।

तर बाजे, तपाईंको यो दु:ख र अपमान नै आज हाम्रा लागि सबैभन्दा ठूलो प्रेरणा हो । तपाईंले संसारलाई देखाइदिनुभयो कि सङ्कट जतिसुकै पहाडजत्रो होस्, यदि हातमा निष्ठाको कलम र मनमा कलाको ज्योति छ भने जेलको अँध्यारो कालकोठरी पनि उज्यालो साहित्यको मन्दिर बन्न सक्छ । तपाईंले शासकहरूको अगाडि घुँडा टेक्नुभएन, बरु एउटै चोटिलो काव्यिक प्रहारले उनीहरूको छद्मभेषी मुकुण्डो उप्काएर फाल्दिनुभयो ।

तपाईंलाई लाग्दो होला, म कुमारी चोकमा थुनिएँ, मेरो जीवन त बर्बाद भयो । तर बाजे, तपाईं त त्यो खोरबाट निस्केर सिधै नेपाली वाङ्मयको यस्तो स्वर्ण सिंहासनमा बस्नुभयो, जहाँबाट तपाईंलाई समयको कुनै पनि आँधीले हल्लाउन सक्दैन । आजका शासकहरू महलमा बसेर पनि भोलि इतिहासको रद्दीटोकरीमा गन्हाउनेछन्, तर तपाईं हिजो पनि आदिकवि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि रहनुहुनेछ ।

​त्यसैले बाजे, उता सत्यलोकमा बसेर धेरै चिन्ता नगर्नुहोला । बरु यसो गर्नुस्, त्यहाँ पनि कोही ‘भोलानाथ’ वा ‘रज्जू हाकिम’ भेटिए भने एउटा कडा छन्दको श्लोक हानेर यसो भनिदिनुहोला-
​”चुँदी रम्घाका भानुभक्तले त उतिबेलै नेपाली ब्युँझाए,
अहिलेका नातिहरूले भाषा बेचेर डलरको खात लगाए !”

तपाईंको रामायणको श्लोक आज पनि गाउँघरका वृद्धवृद्धाको श्वासमा र तन्नेरीहरूको सुस्केरामा कतै न कतै जीवितै छ, र त्यही मधुर धुनको साहरामा यो नाति पनि तपाईंको काव्यिक छहारी सम्झँदै बिदा माग्छ ।

​तपाईंको आदर्शको अक्षता शिरमा लगाउन चाहने,
एक आधुनिक नेपाली नाति- आचार्य नन्दलाल

०००
२०८३ असार २९ गते ।
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
भ्रम

भ्रम

नन्दलाल आचार्य
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

टेढो बोलीको रोचक कृति...

प्रा. कपिल अज्ञात
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x