भैरव अर्यालआराधना-नैतिकताको
यस शृङ्खलामा प्रस्तुत हुने कविता गैरहास्यव्यङ्ग्य कविता पनि पर्नेछन् । यस शृङ्खलाकाे पहिलाे कविता छ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०२२ सालमा आयाेजित कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त भैरव अर्यालकाे कविता ।
भैरव अर्याल :
फित्काैलीमा पुरस्कृत कविताहरूकाे शृङ्खला शुरू गरिएकाे छ । यस शृङ्खलामा प्रस्तुत हुने कविता गैरहास्यव्यङ्ग्य कविता पनि पर्नेछन् । यस शृङ्खलाकाे पहिलाे कविता छ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा वि.सं. २०२२ सालमा आयाेजित कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त भैरव अर्यालकाे कविता ।
ढुङ्गा मुढामा जडता घोटी, बुटा गुफामा पशुता पोखी
प्रिय, म तिमीलाई भेट्न हिँडेको, सँगमा एउटा हिमालय बोकी
सम्झन्छ्यौ तिमी ? यो त्यो हिमालय-जहाँ प्रतिविम्वित छ मेरो अन्तर
पक्का छ मलाई, यो त्यो हिमालय-जहाँ प्रतिध्वनित छ तिम्रो स्वर
तिम्रै स्वरमा सुसेली मिलाई मैले समाजको गरें शिलान्यास
यै छेउछाउमा फुलाउन चाहें मानवताको लालीगुराँस
सिर्जनाको एउटा रथी म सारथी तिमीलाई रोज्दै आएँ
यै हिमालको किरण-पुञ्जमा तिमीलाई मैले खोज्दै आएँ
तर म डाँफे भै छुन छुन खोज्छु तिमी भैदिन्छयौ, यति-का डाम
पस्छ चीसो अनि काँतर मनमा मानू हिमालयले छेक्दछ घाम !
तर हिमाल केवल शीत रास होइन, यसको महत्त्व सङ्ल्याइमा छ
हिमाल कसैको परखाल होइन, यसको मूल्य त अग्ल्याइमा छ
तिम्रो मेरो परिचय यहीं भो यै परिणय- वेदी यहीं नै बन्छ
यै हिमालयमा तिम्राे मेराे भन्न नसकिने साइनाे पर्छ
तर मेरा भूलहरू दोहोरिरहन्छन् तिम्रो अन्तर्ध्वनि नबुझेर
तिमी पर – पर तर्किरहन्छयौ मेरो अहंमा लट्पटिएर
के तिमी पुतली वल अनि छलकी नामदर्दीकी मृगतृष्णा ?,
यही शङ्कामा ढुन्मुनिदैमा पाछिन्छ मुटु यो हिरोशिमामा
भैगो, अब सब व्यतीत भूलहरू विर्सी अलिकति पलक उघार
सती – वियोगी म महादेवलाई पार्वती भै पुनः देऊ सुसार
यो विषालु अणुको ग्याँसमा निसास्सिएको मेरो आँतमा
लौन ! चलाऊ हिमको सिरसिर, ग्रह ग्रह चाल्छु म तिम्रो साथमा
तिम्रै अनुराग पराग बनेमा हिमको चहकमा महक म भर्छु
तिम्रो मेरो एकाकारमा नूतन जगतको सृजन गर्छु ।
०००
कविता महाेत्सव पच्चीस वर्ष (२०४६)
Subscribe
Login
0 Comments
Oldest









































