भैरव अर्यालप्रतिनिधि मण्डल फर्क्याे
म तपाईका १० माग अहिले पूरा गरिदिन्छु र अरु २०१५ सालको चुनावबाट विजयी बनेपछि । तपाईंहरूले मलाई चुनाव जिताउनोस् तब म महिनाको एउटा सराद्धे गर्नैपर्छ भन्ने विधान बनाई दिउँला ।

भैरव अर्याल :
आफ्ना ९१ सूत्रीय माग लिएर गएको प्रचण्ड पुरोहित परिषद्को प्रतिनिधि मण्डल हिजो फर्क्याे । स्मरणरहोस् कि उक्त प्र.म. गत जेष्ठ डेढगते राहुबार कृष्ण पाउरोटी भण्डारबाट उभो लागेको थियो । आफ्नो पुरोहित सम्प्रदायमा परिआएका पीर र मर्काहरू बोध गराएर माननीय हेडमन्त्री छेउ चर्काचर्की गर्न भनी गएको उक्त मण्डलले गएको ३ दिनसम्म हेडमन्त्रीज्यूको चोक कुरिरहन पर्यो । सुटबुट नलगाईकन कोरा नेपाली भेषमा आएकोले गोडा पचासेक सिलिप पठाउँदा पनि सेक्रेटरी साहेबले भेट दिन निकै लाज मान्नुभयो । मन्त्रीज्यू त फर्सी डाँडामा आफ्नो विप्रसिद्ध पार्टी त्रि-झुण्ड परिषद्को उपशाखा उद्घाटन गर्न पाल्नुभएको रहेछ । आखिर बल्लबल्ल चौथो दिन प्र.म.ले हेडमन्त्रीज्यूको दर्शन गर्न पायो ।
प्र.म. का मेम्बर पं. दहीदूधप्रसाद पाध्याले आफ्ना साह्ना मर्काहरूको विश्लेषण गर्दै भन्नुभयो- “जुन देशमा बाहुन सरकार छ, त्यस देशका वाहुनहरूको परम्परागत अधिकार पनि विलाउँदछ, यो कतिसम्म लज्जाजनक कुरा हो, वरु राणाको पालामा हाम्रो कति मान थियो, उतै भोज, उतै टिकट ।
यत्र विप्रा असन्तुष्टा नैवेद्य-हक बञ्चिता गोदान निमुखाः सन्ति दही दुग्ध पराडमुखाः तत्र ये मन्त्रिणः सन्ति गर्दभायन्ति तो पिच, सर्व दैव डकारान्ता एक वर्षम् नटिक्यते” के यो नीति यहाँलाई थाहा छैन ?
त्यसपछि प्र.पु.प. का महामन्त्री पण्डित प्रवर घिउचिनीलाल पाँडेले मागपत्र पढेर सुनाउनुभयो- १) सबै सम्प्रदायका प्रतिनिधिले मन्त्री पाएपछि हाम्रो पुरोहित वर्गबाट पनि एकजना मन्त्री अवश्य राखिनुपर्छ । २) सरकारमा एउटा धर्म विभाग खोलिनुपर्छ र सराद्धे नगर्ने, दस्तुर नपुर्याउने जजमानलाई कडा से कडा दण्ड दिलाउनुपर्छ । ३) पुरोहितको दस्तुरको दर दर्जा बाँधिनुपर्छ । १७) हरेक मन्त्रीको घरमा १ एकोटा पण्डित सभा राखिनुपर्छ । ५१) जजमानले आफनो पुरेत छोड्न पाउनुहुन्न । ६४) पुरेतवर्गलाई शारीरिक काममा दुःख दिन मनाही गर्नुपर्छ । ४१) सारा जनताका पितृहरू रिसाएर अकल्याण गरिरहेको देखिएकाले नीजहरूलाई खुशी तुलाई देशलाई कल्याणपूर्ण बनाउन सवले वर्षको दुई पल्ट सराद्धे गर्नुपर्छ । इत्यादि ।
यिनका अतिरिक्त ८४ वटा अरू मागहरू पनि छन् । ७५ पैसा कमको गोदान गर्नु हुँदैन, एक रुपिना घटी दक्षिणा दिनुहुँदैन । घिउ दूध प्रसस्त दिनुपर्छ । माना घटीको सिदा चढ्दैन इत्यादि महत्वपूर्ण मागहरू तिनमा समावेश छन् ।
सबै माग मर्का विचार गरिसकेपछि सम्माननीय हेडमन्त्री श्री ३ महाराजा हुन्छ शमशेर भङ्गवहादुर तानाले निम्न प्रकारको आश्वासन दिनुभयो-“तपाईंहरूको माग सबै उचित छन् । मेरो पार्टीलाई सहयोग गर्नुहुन्छ भने मन्त्रिमण्डलमा एकजना राखिदिन पनि मलाई गाह्रो छैन । अवश्य नै राखिदिन्छु र धर्म विभाग पनि चांडै नै खोली दिनेछु । सङ्घर्ष गर्छु भनेर मेरो मुटु नकमाइदिनु होला । म तपाईका १० माग अहिले पूरा गरिदिन्छु र अरु २०१५ सालको चुनावबाट विजयी बनेपछि । तपाईंहरूले मलाई चुनाव जिताउनोस् तब म महिनाको एउटा सराद्धे गर्नैपर्छ भन्ने विधान बनाई दिउँला ।
यति काम कुरो सिद्धाएपछि केतुवार बिहान आउनू भन्ने तारीख लिएर प्रतिनिधि मण्डल फर्थ्यो। फर्कने बेलामा प्रतिनिधि मण्डलका नेतासँग हेडमन्त्रीज्यूले के के साउती पनि गर्नुभएको थियो, अरु विवरण पछि ।
०००
‘हालखबर’ २०१४ साल जेष्ठ २३
टेढाे ऐना (२०६३)
Subscribe
Login
0 Comments
Oldest









































