साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरवले उ बेलामा यस्ताे पनि लेखेका रहेछन्…

नेपाल हाम्रो हो र हामी नेपाली हौ भन्ने भावना सुदृढ पार्न श्री ५ महेन्द्रबाट सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय एकताको जुन पाञ्चजन्य फुकिबक्स्यो, त्यही नै हाम्रो अभ्युत्थानको प्रथम सङ्कल्प हो भनेमा अत्युक्ति पर्दैन ।

Nepal Telecom ad

भैरव अर्याल :

अभ्युत्थानको मङ्गलाचरण

ब्रिटिश सत्ता छउन्जेल भारतले प्रगति नगरेको थिएन, शिक्षा, सञ्चार, यातायात र उद्योगकै क्षेत्रमा पनि ब्रिटिशकालीन २०० वर्षमा जेजति प्रगति भयो, त्यति त्यसभन्दा पहिलेको भारतले ५०० वर्षमा पनि गर्न सकेको थिएन भने हुन्छ । तर त्यस प्रगतिमा भारतीय जनताले अभ्युत्थानको सट्टा ह्रासका चिह्नहरू देखे, अङ्ग्रेजी सत्ताको जरो नउखेलिउन्जेल जातीय वा राष्ट्रिय अभ्युत्थानको श्रीगणेश हुन नसक्ने तथ्य अनुभव गरे । फलस्वरूप क्रान्ति भई छाड्यो भारत स्वतन्त्र भई छाड्यो । यसबाट के प्रष्ट हुन्छ भने भौतिक प्रगति मात्र अभ्युत्थानको कारण होइन । स्वाधीनतालाई उक्त कारणमा लिने हो भने राणाकालीन नेपाल स्वाधीनै थियो ।

त्यसो भए देशभक्ति अथवा जागृत अभिमान मात्र अभ्युत्थानका कारण हुन् त भनुँ भने पश्चिम अफ्रिकाका योरुवहरू, उत्तर अमेरिकाका रेड इन्डियनहरू र सोलोमन आइल्याण्डका निवासीहरूको देशभक्ति विश्वमा अनुपम हुँदै पनि आफ्नो देशको अभ्युत्थानको निम्ति उनीहरूबाट कुनै उल्लेख योगदान हुन सकेन । देशभक्ति अभ्युत्थानको साधन त अवश्य हो, तर निष्क्रिय देशभक्तिले गति दिँदैन । सीमा विस्तारले मात्र देश र जातिको उत्थान हुन्छ भन्ने पनि कति होलान्, तर विस्तार गर्दा गर्दै समाप्त भएकाहरू पनि विश्वमा कम छैनन् । जातिगत अभिमानको तीव्रता मात्र उत्थानको सोपाल मात्र पनि नाजीहरूको पतनको उदाहरणले दिँदैन ।

यी सबै केलाउँदा एउटै तथ्य के देखापर्छ भने भौतिक वा भावनात्मक कुनै एक पक्षीय प्रगतिले मात्र कुनै पनि देश वा जातिको अभ्युत्थान भएको मान्न सकिँदैन । दुबैको समन्वयबाटै अभ्युत्थानको भरेङ बन्दछ, जाति र देश विश्व इतिहासमा अविस्मरणीय स्मृति चिह्न छाड्दै उँभो लाग्दछ । श्री ५ महेन्द्रका कतिपय उद्गारहरूले पनि नेपाल र नेपालीको अभ्युत्थानको लागि भौतिक र भावनात्मक दुबै पक्षको समन्वयात्मक प्रगतिको अपेक्षा राखेका छन् । त्यसैले श्री ५ को नेतृत्व वा पञ्चायती व्यवस्थाको उपलब्धिहरूको लेखाजोखा गर्दा यस अवधिमा कति वटा बाटा बने, कति कारखाना खुले र कति उत्पादन बढ्यो भन्ने हर हिसाबमा मात्र केन्द्रित हुन सकिँदैन, न त देशभक्ति बढेकोले नेपाल र नेपालीको अभ्युत्थान भैसक्यो भनी सन्तोष मान्न सकिन्छ ।

अत्युत्थानको बीजन्यास मान्छेको मुटुभित्र हुन्छ । माया र ममताको प्रतीक मानवीय मुटुमा आफ्नो देश र जातिप्रति जति सङ्लो माया र बलियो ममता प्रवाहित हुन्छ, त्यति उसमा ‘नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व मेटिने छ’ भन्ने जस्ता तथ्यमा विश्वास जाग्दछ, यस विश्वासको कारण आफ्नो देश र जातिको संरक्षण, सम्भरण र संवर्द्धनको प्यास लाग्दछ । यो उही अमरसिंह र बलभद्रको प्यास हो, जसले अङ्ग्रेजको अनुपमेय सत्तासित कत्ति नदबी युद्ध गरेथ्यो, यो उही पृथ्वी नारायण शाहको प्यास हो, जसले तितरबितर नेपालीलाई एकत्र पारी ‘तिम्रो’ र ‘मेरो’ लाई ‘हाम्रो’ मा परिणत गरेथ्यो, अनि यो तिनै अंशुवर्मा, जयस्थिति मल्ल, रामशाह, भीमसेन थापा र त्रिभुवनको प्यास हो, जसले नेपाल र नेपालीको महिमालाई आफ्नो बेलामा शतक गरिमामय बनाएथ्यो ।

एक गुम्सिए र एक दशकसम्मको त्यही नेपाली मुटुलाई पुनर्जाग्रित गराई नेपाल हाम्रो हो र हामी नेपाली हौ भन्ने भावना सुदृढ पार्न श्री ५ महेन्द्रबाट सार्वभौमिक स्वतन्त्रता र राष्ट्रिय एकताको जुन पाञ्चजन्य फुकिबक्स्यो, त्यही नै हाम्रो अभ्युत्थानको प्रथम सङ्कल्प हो भनेमा अत्युक्ति पर्दैन । राज्य रजौटा प्रथाको उन्मूलन, छुवाछुत र धनी गरीबको भेदभाव हटाउन उठेका सामाजिक र आर्थिक कदमहरू त्यस सङ्कल्पका प्रयोगात्मक केही उदाहरणहरू हुन् भने सर्वप्रथम राष्ट्रियताको मन्त्र अघिसार्दै निस्केको ‘गाउँ फर्क‘ अभियान त्यसैको पूरक अभियान हो । देशभक्ति वा राष्ट्रियतालाई नारामा मात्र सीमित नपारी प्रत्यक्ष जीवनमा सार्थक पार्ने श्री ५ महेन्द्रको आकाङ्क्षा अनुरूप २०१७ साल यतादेखि नेपाली जनमानसमा राष्ट्रियताको जुन तीव्र प्रवाह देखिएको छ, त्यो इतिहासमा अभूतपूर्व छ भनी धेरै पाका विद्वान्हरूले भनेका छन् ।

वेशभूष, भाषा, मुद्रा र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिमा आफ्नोपनको खोजी गर्ने र खस्रै भए पनि आफ्नो भनेपछि गौरवसाथ अँगाल्ने जुन प्रवृत्ति मेचीदेखि महाकालीसम्मका जनतामा बढेको छ, त्यो यसै भावनात्मक प्रवाहको कार्यान्वयनको उदाहरण हो । त्यसैले निसङ्कोच भन्न सकिन्छ– श्री ५ महेन्द्रका नेतृत्वमा नेपालीले अभ्युत्थानको पहिलो पाइला– आफू र आफ्नोपनको अन्वेषण र पहिचान चालेको छ र यो सर्वाधिक महत्त्वपूर्ण उपलब्धि हो । यसमा निष्क्रिय भावना मात्र होइन, एकत्रित तागत, जोश र उत्सर्गका निम्ति उम्लिएको रगत पनि निहित छ ।

यही राष्ट्रिय भावनाको ज्योतिपुञ्जलाई आफ्नोपनको अन्वेषणममा लाग्दा नेपालीले पञ्चायती व्यवस्था पायो । अध्यात्मिक आस्था नगुमाईकन भौतिक वास्तविकतालाई पनि मुल्य दिने यो व्यवस्था केवल राजनीतिक क्षेत्रमा आफ्नोपनको प्रतीक होइन, आफ्नैपनको एक सर्वाङ्गीण जीवन पद्धतिकै प्रतीक रुपमा प्राप्त भएको छ । यसैले अरु देशमा एक व्यवस्थामा जाँदा जे जति सङ्घर्ष पर्दथे, जे जति समय, साधन र साधना लाग्दथ्यो, त्यति यहाँ चाहिएन । यसै अन्तर्गत आर्थिक समानता र सामाजिक सुधारको बाटो हुँदै आत्म निर्भरता र सर्वकल्याणतिर लम्कने भावनाको भौतिक –प्रतीक भूमिसुधार ऐन र मुलुकी ऐनलाई बिना कुनै प्रत्यक्ष अवरोध हामीले कार्यान्वयन गर्न सक्यौँ‘ । वर्गीय हितको समन्वय, प्रशासनको विकेन्द्रीकरण र न्यायको भेदभावविहीन सुलभता यसका पूरक हुन् । त्यसैले हाम्रो अभ्युयत्थानको दोस्रो समन्वयात्मक पाइला पञ्चायती व्यवस्था र यस व्यवस्थाका आर्थिक एवं सामाजिक पक्षहरूबाट टेकिएको छ ।

तर आफ्नैपन जतिसुकै आस्था भए पनि आजको विश्वमा आस्थाले मात्र बाँचिँदैन । आस्था अनुरूप भौतिक प्रगतिहरू भएनन् भने जीवन र आस्थामा सामञ्जस्य ल्याउन सकिँदैन । त्यसैले दैनिक जीवनका विभिन्न पक्षमा आवश्यक भौतिक प्रगति पनि गर्दै जानु नितान्त आवश्यक थियो । यो आवश्यकतालाई हामीले उपेक्षा गर्न सकेनौँ । त्यसैले देशका यातायात असुविधाहरू मेटाउन महेन्द्र राजमार्ग, अरनिको राजमार्ग जस्ता ठुलठूला आन्तरिक र सीमान्त सडकहरूको निर्माण गरी आन्तरिक र बाह्य व्यापारका द्वारहरू खोलिए र खोलिँदै छन् ।

यस्तै वायुमार्गको विकासमा यता एक दशकभित्र धेरै प्रगति भएको छ । भूमिसुधारले शोषणको अन्त्य मात्र नगरी उत्पादन बुद्धि गर्ने र भूमिमै मात्र एकत्रित पुँजीलाई उद्योगतिर मोड्ने प्रत्यन गरिराखेको छ । शिक्षा क्षेत्रमा आफ्नै विश्व विद्यालयको स्थापना हुनुको साथै अनेकन महाविद्यालय र विद्यालयहरू खुलेका छन् । मेचीदेखि महाकालीसम्म सरकारी र गैर सरकारी दुबै स्तरमा देखिएको सक्रियताले यहाँ निर्माण र विकासको लहर आएको देखिन्छ । हुन सक्छ, यस लहरमा निहित जोस र जाँगरको सदुपयोगभन्दा दुरूपयोग बढी भएको होस्, कामभन्दा प्रचार बढी होस्, तर यो लहर नेपालीका पाखुरामा आएको जाँगरको प्रतीक हो जुन जाँगरले हामीलाई भावना मात्र होइन, गतिमासरिक गराउँछ । कर्मण्यतामै भावनाको सार्थकता हुन्छ भने कर्मतिरको यो गतिले पनि हाम्रो भौतिक प्रगति क्रमसः बढ्दै जाने सङ्केत गरेको छैन भन्न कदापि सकिँदैन । त्यसैले राट्रिय अभ्युत्थानका प्राथमिक चरणहरूमा यस लहरलाई पनि श्री ५ महेन्द्रबाट अगुवाई गरिएको गतिको सङ्केत स्वरूप गिन्ती गर्नै पर्छ ।

राष्ट्रिय र जातीय अभ्युत्थानको अर्को महत्त्वपूर्ण पाइला स्वरूप नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगत्मा परिचित र प्रतिष्ठित पार्ने श्रेय पनि श्री ५ महेन्द्रमै निहित छ । केही वर्षअघिसम्म विश्वका अधिकांश भेगका मान्छेले नेपाल भन्ने सुन्दै सुनेका थिएनन्, जतिले सुनेका थिए, तिनमध्ये कतिले यसलाई इटलीको नेपल्स ठानेका थिए भने कतिले भारतको अधीनस्थ मानेका पनि थिएन होलान् भन्न सकिँदैन । राणाकालीन परराष्ट्र नीतिले एक्लिएर वा छोप्पिएर बाँच्नुमै देशको सुरक्षा देखेको हुँदो हो, तर श्री ५ महेन्द्रबाट सबै राष्ट्रको पङ्क्तिमा समान प्रतिष्ठासाथ बसेर अन्तराष्ट्रिय समस्या समाधानमा सक्दो योगदान दिई विश्व शान्तिको अपेक्षा राख्नुमै आफ्नो देश तथा जातिको कल्याण निहित छ भन्ने कुरा अनुभव गरिबक्स्यो, फलतः नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्नुको साथै यस मातहतका विभिन्न अन्तराष्ट्रिय संस्थाहरूको सदस्य बन्यो ।

चीन स्वतन्त्र राष्ट्र भए तापनि वर्तमान विश्वका अरु देश राष्ट्रहरूले राष्ट्रको रूपमा समान प्रतिष्ठा र मर्यादा नदिउन्जेल अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो स्वर र स्वत्वको त्यति मूल्य नहुनु स्वभाविक हो । तर श्री ५ महेन्द्रको नेतृत्वमा असंलग्न पराराष्ट्र नीति लिएर लम्केको नेपालले राष्ट्र संघीय महासभाहरूमा मात्र होइन, बेलग्रेड र काहिरामा भएका महत्त्वपूर्ण असंलग्न–शिखर सम्मेलनमा पनि भाग लिई आफ्नो स्वरूप र स्वरको परिचय दियो । दुई ढुङ्गाका बीचको तरुल जस्तो नेपालले कुनै एक ढुङ्गातिर मात्र फर्कनुमा होइन, दुबै ढुङ्गासित आपसी हार्दिकता र भरथेगका साथ आफूलाई सजग र सक्रिय राख्नु आवश्यक सम्झ्यो । फलस्वरूप छिमेकी चीनसित दौत्य, सम्बन्ध स्थापना गरिनुका साथै सीमा सन्धि, शान्ति र मैत्री सन्धि एवं सांस्कृतिक र व्यापारिक सम्झौताहरू सम्पन्न भए ।

भारतसितको सम्बन्धमा रहेका केही असजिलाहरू सम्याइए, पाकिस्थान लागायत विश्वका विकसित र विकासोन्मुख गरी ४५ देशसित हाम्रो मैत्री सम्बन्ध कायम भयो । नेपालीले अन्तराष्ट्रिय क्षेत्रमा आफूलाई आफ्नौ स्वरूप र स्वभावका साथ ससम्मान उभिएको, सरसहयोगमा हात बढाएको र विश्व शान्ति एवं मानव कल्याणको लागि आवाज उठाएको देख्न पाउनु नेपाली मात्रको लागि कम गौरवको कुरा होइन । यसरी बढ्दो अन्तराष्ट्रिय सम्पर्कले हाम्रो भौतिक प्रगतिमा उल्लेख्य योगदान प्राप्त भएको मात्र होइन, वर्तमान विश्वको सर्वोच्च नीतिनिधार्क राष्ट्र संघीय सुरक्षा परिषद्को दैलासम्म नेपालले पाइला पुर्याएको छ । सुरक्षा परिषद्को निकट भविष्यमा रिक्त हुने एक सदस्यमा नेपालीको उम्मेदवारीलाई आज जुन रूपमा मित्रराष्ट्रहरूले समर्थनको वचन दिएका छन्, त्यसबाट हाम्रो विजय निश्चित प्रायः देखिएको छ । अन्तराष्ट्रिय क्षेत्रमा यसरी बढ्दो सम्पर्क र प्रतिष्ठाको विकासक्रम कहाँदेखि शुरु भई कसरी अघि बढ्दै आएको छ भन्ने कुरा राष्ट्रनायक श्री ५ महेन्द्रको अभ्युदयदेखि अहिलेसम्मका मौसुफका प्रयासहरू हृदयङ्गम गरेमा स्वतः प्रस्ट हुन्छ ।

यसरी राष्ट्रिय एवं अन्तराष्ट्रिय क्षेत्रमा भावनात्मक र भौतिक गरी समन्वयात्मक रुपमा प्राप्त विभिन्न उपलब्धिहरूले नेपाल र नेपालीको सर्वाङ्गीण अम्युत्थानमा महत्त्वपूर्ण पृष्ठभूमि निर्माण गरिसकेका छन् । जति थोरै अवधिभित्र यो पृष्ठभूमि निर्माण हुन सक्यो, त्यस दृष्टिले यो आशातीत छ तापनि हाम्रो लक्ष्यको शिखर अपरिमेय उचाईमा भएको हामी यति मात्र भनौँ– यो मङ्गलाचरण हो – नेपाल र नेपालीको– सर्वाङ्गीण अभ्युत्थानको ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x