कृष्ण प्रधानतर्सिङहोम (२)
अरे ! त्यो तोर्मेले मलाई भोलि सण्डे अफ डे हो अनि सूर्यसेन पार्कमा डेटिङमा पो जौं ल अरे। त्यसको कुरा मान्यो भने मलाई सफाइकर्मीबाट जीडीए पो बनादिन्छु अरे। नाथे !

कृष्ण प्रधान :
नाट्य निर्देशक : राकेश बराइली
राजु- (टाउको कन्याउँदै) लु भयो अब धेर कुरा नगरूँ। यस्तो कुराले मेरो टाउको तातिएर आउँछ। मेरो बत्तीस दन्त बङ्गारा कढ़्कड़िन्छ। अचेल नर्सिङ होम भन्यो कि म ता तरङ् तरङ तर्सिनु मन लाग्छ। फेरि बील हेर्नु…(कुरा काट्दै)
बेला सिष्टर ….पन्ध्र-बीस दिनसम्म आईसीयूमा थुना पारेर राखिन्छ…अनि त्यसपछि बील हेर्नुपर्छ। नारयण नारायण बील देखेर प्यासेण्ट पार्टीको एकपल्ट सातोपुत्लो उड़्छ। यसैले म भन्छ नो नर्सिङ होम बट इट इज प्यूर खाँटी तर्सिङहोम।
रत्ना- सिष्टर (घड़ी हेर्दै) गौरी सिष्टर (रजिष्टर देखाउँदै) अनि हेर्नु यो प्यासेण्ट (भीमबहादुरलाई देखाउँदै) यिनलाई पनि आईसीयूमा एडमिट गर्नु भन्नुभएको छ डा. बेनर्जीले। बट आफ्टर एडभान्स्ड पेमेण्ट मात्र है…एडभान्स्ड पेमेण्ट भएको छैन र ता यहीँ लड़ाइराखेको। हुने बित्तिक्कै आईसीयूमा पठाइदिनोस अन्त डा बेनर्जीलाई सूचित गरिदिनोस्। अनि आईसीयूका प्यासेण्टहरू प्रायः ठिकै छन्। मात्रै एकजनाको कण्डिसन क्रिटिकल छ। नाइटमा तपाईलाई साह्रो पार्ला।
राजु- नाइटमा ता म छँदैछु नि।
बेला- सिष्टर ओ…अऩि अरु प्यासेण्टहरू नि ?
रत्ना- सिष्टर क्याबिन वान टु थ्री र फाइभ निकै इम्प्रुभ छ। मेडिसिन सबै लेखिदिनुभएको छ। तपाईले टाइममा मेडिसिन दिनुपर्छ। तपाईले किन दिनु एसिस्टेण्ट बहिनीहहरूलाई भन्दा भैहाल्छ।
राजु- मलाई पनि अलि अलि ता मेडिसिनबारे आइडिया ता छ नि। प्यारा मेडिकल ट्रेण्ड भएकोले म पनि दिइहाल्छु नि चानचुने मेडिसिन ता।
बेला सिष्टर- पशु डाक्टरको कोर्स गर्नेले दिन्छ पो मेडिसन।
रत्ना- सिष्टर (मरिमरि हाँस्दै) छ्या मलाई हाँस् उठ्छ है…राजु भाइलाई प्यारा मेडिकलमा पशु डाक्टरको कोर्स पो पढ़ाएछ। अचेल ता यस्ता इन्स्टिट्यूटहरूले कति ठग्न जानेको हई?
राजु- हन हामी गोर्खेहरू मात्र किन ठगिन्छौं हँ…? (सामान्य भावुक भएर) अचेल हाम्रो शहरको कुना-काप्चा, पाड़ा-पाड़ा, गल्ली-गलछिँड़ामा झरीको च्याउसरि खोलिएको यस्ता प्यारा मेडिकलले बर्बाद पारेको छ। फेरि घानमा पर्ने हाम्रैहरू हुन्छन्।
बेला सिष्टर- यत्रो पैसा खर्च गरेको ता बर्बाद भएछ ता। तर म ता भन्छु दोष हाम्रै केटाकेटीहरूको हो । उनीहरूले हाम्रा मान्छेहरूलाई ठग्नु पाएको अऩि हाम्राहरू पनि सोध् न खोज् गरी थुप्रेका।
राजु- सबै फेक् क्या सबै फेक्। (झोंक्किएर) मलाई पशु डाक्टर कोर्स पढ़ाउनेलाई कुन दिन चैँ भैंसीलाई लाउने सुइँले ऱ्वाम् कि ऱ्वाम् रोपिदिन्छु….कम्ति ता झोंक चल्दैन हौ…
रत्ना सिष्टर- (राजुको शीर मुसार्दै) कुल डाउन…कुल डाउन। (घड़ी हेर्दै) आमामामा….निकै टाइम गएछ। म निस्केँ है। (प्रस्थान । डा. घलेको प्रवेश। बेला सिष्टरको घिच्रामा स्टेथोस्कोप छ)
डा. घले- यो प्यासेण्टलाई किन यहाँ राखेको बेला सिष्टर? कसको केस हो यो?
बेला सिष्टर- खै थाहा भएन सर । एडभान्स्ड पेमेण्ट नभएकोले अहिलेसम्म एडमिट नगरेको अरे।
डा.घले- एडभान्स्ड ता मष्ट। अनि यो प्यासेण्ट कस्तो छ अहिले ?
बेला सिष्टर- बेला बेला भूँड़ी दुःखेर फत्रक फत्रक हुन्छ…अनि एकक्षण पछि ख्वार ख्वार सुत्छ।
डा. घले- इमिडियटली तल अफिसमा इन्फर्म गरिहाल्नू। यसरी एडमिट नगरी राखेर कहाँ हुन्छ? कथङ्कल कही भइहाल्यो भने ? फेरि यहाँ प्यासेण्ट पार्टी घेर्नु आउँला नि।
बेला सिष्टर- हजूर सर। खै त्यो ता अफिसले बुझ्छ नि। कति इजी टेक हई सर। यहाँ वार्डमा ल्याएर लड़ाएर राखेर हुन्छ ? (राजुलाई एउटा कागज दिँदै) जाऊ ता राजु..यो कागज तल क्यास सेक्सनमा दिएर आऊ। (राजु प्रस्थान)
डा. घले- (भीमको नाड़ी छाम्दै) के भयो तपाईलाई ?
भीमबहादुर- उखरमाउलो भुँड़ी दुखेर फत्रक फत्रक पारिसक्यो सर।
डा. घले- अन्त सिष्टरलाई भन्नुभएन? (भीमको नाड़ी छाम्दै) पल्स ता ठिकै रहेछ। अनि तपाईले सिष्टरलाई केही भन्नुभएको छैन…
भीमबहादुर- कति बोलाएँ सर सिष्टरले सुन्नु ता भएन।
बेला सिष्टर- (सामान्य झोंक्किएर) औ तिमीले चै मलाई कहिले बोलायौ हौ। हावा नबोल न।
भीमबहादुर- मैले कति बोलाएँ, तपाईले कानमा साँप जत्रो लामो न लामो हेड फोन घुसारेर गीत सुनिरहनुभयो अनि।
डा. घले- (सिष्टरको स्टेथोस्कोप देखाउँदै) यसलाई हेडफोन भनेको? हा…हा…हा। यो हेड फोन कहाँ हो र…होइन नि हेड फोन…प्यासेण्टको हृदय, फोक्सो, आँत र ब्लड सर्कुलेशनको इण्टरनल साउण्ड सुन्ने चिकित्सा उपकरण हो । (राजु र जीडीए चिन्तादेवीको प्रवेश। डा घलेलाई सलाम गर्छन्। नबोली अर्को वार्डमा प्रस्थान। बेला सिष्टर लेख्न थाल्छिन्)
राजु- साँच्चै चिन्तादेवी दिदी तिमीलाई अस्तिदेखिनै एउटा कुरा सोधुँ भनेको। छ्या बिर्सिहाल्दा रहेछु।
चिन्तादेवी- (मुस्कुराउँदै) के हौ त्यस्तो कुरा। लु सोध न । अहिले खाली छु म । (डोल्माको प्रवेश)
राजु- तिम्रो नाम चिन्तादेवी कसले राखिदिएको हँ? तिम्रो नाम चिन्तादेवी उच्चाएर गर्ने बित्तिक्कै मलाई ता झाँक्रीले चिन्ता बसेको याद आउँछ।
चिन्तादेवी- म जन्मेदेखि नै डरलाग्दो बिरामी हुन्थे अरे! प्रत्येक महिना चिन्ता बस्नुपर्ने अनि चिन्ता बस्यो कि चङ्गा हुनु मात्र होइन पिशाचजत्ति मेरो पाइतालामुनि हुन्थ्यो अरे।
बेला सिष्टर- यसैले चिन्ता नाम राखेको होला….चिन्तारको नाम लियो कि भूत-प्रेत, छौंड़ा-छौड़ी,बोक्सी-डाइनीले केही गर्न सक्दैन थियो भनेर चिन्तादेवी…
डोल्मा- चिन्ताकी देवी। तर उसको ता नाम अर्कै छ नि हई !
राजु- भूत-पिशाच जत्ति सबै पाइताला मुनि छ र ता हाम्री चिन्तादेवी दिदीले सबैलाई पाइताला मुनि नै राख्न चाहन्छे…। र ता यति साह्रो बोल्ड…ढिट।
चिन्तादेवी- (आँखा नचाउँदै) हम्मम्म….। हेर राजु भाइ म क्लियर कट कुरा गर्ने मान्छे। नो छक्का नो पञ्जा। मलाई जसले राम्रो बिहेभ गर्छ उसको लागि चाहिँ म नरम कमुलो फूलजस्तो छ बट जसले मलाई चलाउँछ, जसले टेँढ़ीमेँढ़ी गर्छ उसको लागि म क्याक्टस हुँ…क्याक्टस। त्यतिमात्र होइन जसले पैसा ऋण लगेर नफर्काइ मार्छ नि त्यसको चिहानमा गएर पनि पैसा असुल गरिछोड़्छु।
राजु- हम्मम्…राम्रोको निम्ति शखरखण्डा अनि नराम्रोको निम्ति एनाकोण्डा भन्नु न…
चिन्तादेवी- जे सुकैक भन म मैं नै हुँ।
राजु- अस्तिको शनिवार तल अफिसमा निक्कै कराउँदैथ्यौ ता।
चिन्तादेवी- त्यो डाक्टर छ नि…धमरधुसे। त्यो पड़्केको नामै बिर्सिन्छु हौ। थैच्…हेर्दा कचल्टिएको बनतरुलजस्तो छ नि हौ…छ्या…
राजु- जेसुकै होस् न…के चाहि भयो?
चिन्तादेवी- अरे ! त्यो तोर्मेले मलाई भोलि सण्डे अफ डे हो अनि सूर्यसेन पार्कमा डेटिङमा पो जौं ल अरे। त्यसको कुरा मान्यो भने मलाई सफाइकर्मीबाट जीडीए पो बनादिन्छु अरे। नाथे !
क्रमश :
०००
सिलीगुडी, भारत
Subscribe
Login
0 Comments
Oldest








































