बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश– २)
औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘हास्यव्यङ्ग्य उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा प्रविष्ट गर्दैछ । प्रस्तुत छ उपन्यास अंश (२) ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गर्दैछौँ । – सम्पादक(२)
कप्तान्नी शाव आरामी मेचमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । दिपु पुतली खेलेर बसिरहेकी थिई । कोठा सुनसान थियो । ढोकाको पर्दा हावाले हल्ली रहेकोले झलाकझुलुक हुँदा कहिलेकाहीँ दिपु तस्वीरतिर हेर्थी । कुनै बोल्दैनथे । दुबै एक सुरमा मस्त थे । अचानक लगाएको ढोकामा कर्याक्कको आवाज आएकोले दिपु कराई–‘को हँ त्यो ?’ केही जवाफ आएन । फेरि ऊ आफ्नै काममा लागी । भित्ताको घडीले ट्वाङ्ग द्वाङ्ग तीन हान्यो । कप्तान्नी शाव जुरुक्क उठिन् । चाउरे लुसुक्क ढोका खोलेर भित्र पस्यो । कप्तान्नी शावले मुसुक्क मुस्कुराएर सोधिन् –“हैन चाउरे, आज यत्तिका वेरसम्म कहाँ थिस् ?”
चाउरे –“सिनेमा हेर्न गएको थिए ।”
कप्तान्नी –“कुनचाहिँ सिनेमा ?”
चाउरे –“जिगरी दोस्त ।”
कप्तान्नी –“कस्तो लाग्यो त तँलाई ?”
चाउरे –“एकलै गएको केही मिठासै लागेन ।”
कप्तान्नी –“मलाई किन लगिनस्त ?”
चाउरे –“हजुरको फुर्सत थियो कि थिएन ।”
कप्तान्नी –“किन नहुनु ? के थ्योर काम ?”
चाउरे –“तैपनि, कप्तान शाव नै नभएको बेला ।”
कप्तान्नी –“यसै बेला त मोज हुन्थ्यो ।”
चाउरे –“अहिल्यै जाउँन त ।”
कप्तान्नी –“खेल सुरु भैसक्यो होला, के जानु ?”
चाउरे –“भोलि सवारी हुन्छ त ?”
कप्तान्नी –“तैंले लैजान्छस् भने किन नजानु ?”
चाउरे –“कहाँ सवारी हुन्छ ? जयनेपाल, रञ्जना कि अशोक ?”
कप्तान्नी –“जहाँ एकान्त हुन्छ ; त्यहीँ लैजान ।”
चाउरे –“एकान्त को लागि त भक्तपुर जानु पर्छ ।”
कप्तान्नी –“त्यहीँ लैजान त ।”
चाउरे –“हैन हजुरलाई आज के भयो ? कप्तान शाव देश सवारी भएकोले पीर लाग्यो कि कसो ? ”
कप्तान्नी –“त्यसै त भन्नु पर्यो नि ।”
चाउरे –“ती थपनाको के मायाँ लाग्नु ! भनिसिन्थ्यो त ।”
कप्तान्नी –“के गर्नु हेर्न । जाने बेंलामा आँसु तरक्क चुहाएर भने –‘सानु, मैले आजसम्म केहि सुख दिन सकिन । बाँचेछु र केहि ल्याउन सकेछु भने त छँदैछ । हैन मरिछु भने तिमी राम्री छेऊ, जवान छेऊ म भनेर तिमीले कुर्न पर्दैन । राम्रो, जवान केटा पाए यो जे भएको सम्पत्ति तिम्रै हो । खर्च गरी विहे गरे ।’
बिदा हुने बेलामा बाबुले छोरीलाई अर्ति दिए झै दिएर गए । मैले तिनलाई एकै दिन पनि मीठो बोलीले बोलिन । यस्को लागि अलिकति पछुताऊ लागेको छ । दिन भरी यहि नै कुरा सोची खै कस्तो ! कस्तो !! लागिरहेछ । बरु एउटा हाँसो कुरा सुनान । जसले कप्तान शावको अर्ति भुल्न सँकु ।
चाउरे मुस्कुरायो । उस्का जुङ्गा ठाडा ठाडा भए । झुण्डेको दारी हल्लीयो । चाउरी परेको मुखबाट कुरा फटाफट निस्कन थाले । कप्तान्नी शाव दङ्ग पर्दै गइन् । कुरै कुराले घण्टौँ बिते । पछि दिपु कराउन थाली । मुमा, भोक लाग्यो भुजा तयार पारिस्योस्न । कप्तान्नी शावलाई रीश उठ्यो । बेस्करी झपारीन् । दिपु रोई । चाउरेले फुल्याउन थाल्यो । ऊ चूप भई । चाउरेले लामो सास फेर्यो ।
कप्तान्नी शाव चाउरेको काम, उस्को मायाँ अनि उस्को धैर्य सबैलाई हेरि आफ्नो भविष्यको पाठ घोक्दै थिइन् । अन्त्यमा चाउरेले आफ्नो आँखाबाट एक थोपा आँसु तपक्क झार्यो । दिपुको घाँघरले आँखा पुछेर मन मनै गुनगुनाउन थाल्यो । ऊ एक सुरमा थियो । उस्को तन, मन, धन सबै दिपुमा केन्द्रित थियो । छिन–छिनमा लामो सास फेर्नु, गुनगुनाउनु, टाउको हल्लाउनु त्यतिन्जेलको काम थियो । कोठामा सन्नाटा छाएको थियो । मौन रहेका ती तिन जना कसैले – कसैलाई हेर्दैन थे । ती सबै पागल नै हुन्की भन्ने प्रतित हुन्थ्यो ।
धेरै बेरपछि चाउरेले आफ्नो आँखा चारैतिर घुमायो । टोप लगाएका कप्तान शावको ठुलो फोटो भित्तामा चुल्बुलाएको देखि ऊ एक्कासी झस्क्यो । हात–खुट्टा दुबै थरथर काँपे । एकै छिनमा नीलो भयो । आँखा टाढा टाढा हेर्न पुग्यो । शरीरले कुनै काम दिएन । ऊ डङ्ग लड्यो । मुखबाट गज्गज् फिँज निस्कन थाल्यो । कप्तान्नी च्याट्ठिएर कराइन् –
“बाहिर को छ हँ ? लौन मद्दत गर ।” रित्तो घरले केही जवाफ दिएन । बच्ची दिपु, कोलाहल मच्चाएर रुन थाली । कप्तान्नी शाव हुर्रिदै तल वर्लिन् । सडक सन्नाटा थियो । छर छिमेक विवाहमा रम्झम परेका थिए । उराठ लाग्दो सडक, डरलाग्दो विवाह घर हेरी फरक्क फर्किन घरतिरै ।
यस बेला चाउरे इन्तु र चिन्तु परीसकेको थियो । हात खुट्टा चिसा भैसकेका थिए । सिर्फ सास जान सकेको थिएन । कप्तान्नी शाव स्वस्थ थिइन् । दिपु डरले काँपी रहेकी थिई । घर मसान तुल्य बनिसकेको थियो । कसैलाई पनि डाक्टर खोज्न जाने सम्झना थिएन । एकै छिन पछि चाउरेले मलिलो स्वरमा भन्यो – ‘पानी खाउँ ।’ कप्तान्नी चूपको चूपमै रहिन् । दिपुले भान्छाबाट पानी ल्याई दिई । चाउरेले तानेर खान सकेन । कप्तान्नीलाई पानी खुवाई दिनेसम्म पनि होस आएन । दिपुले कचौरा मुखमा पुर्याई दिई । अलिकति पानी पिएर चाउरेले लामो सास फेर्यो ।
कप्तान्नी शाव भित्तामा टाँगिएको तस्वीर झै हलचल केहि नगरी एकै ठाउँमा सिथिल बनेर बसिरहेकी थिइन् । दिपुले फेरी भनी –‘मुमा भुजा तयार पारिसिन्न ? आफुलाई कत्ति भोक लागी सक्यो ।’ कप्तान्नी शाव झसङ्ग झस्किन् । उनको मौन विचार कता भाग्यो कता ? देखिन अगाडि लडिरहेको चाउरे । केहि बोल्ने साहस गर्न सकिनन् । खाली प्रेमपूर्ण नजरले हेरिरहिन् । चाउरे टाउको उठाएर झिनो स्वरमा सोध्यो –“हैन हजुरलाई के भयो ?” कप्तान्नी शावले मुख चलाईन तर वाक्य फुटेन । आँखाबाट आँसुको मूल फुट्यो । छातीमा भक्कानो पारेर केहि छिन अडिन् । चाउरेले करुण स्वरमा फेरि सोध्यो –‘के हजुरलाई मैले दुःख दिएँ ? दिएको भए माफ पाउँ ; अब दिने छैन ।
चाउरेको यो कुरा सुनेपछि मरेको शरीरमा प्राण पसेको जस्तो लाग्यो । हुत्तिँदै गएर उस्को कम्मर समातेर खेल्न थालिन् । ऊ जिल्ल पर्यो । स्वपनाको तन्द्रामा पुगेको उस्ले कप्तान्नी शावको धोती समाउन पुग्यो । उनले केहि खयाल गरिनन् । बरु चाउरी परेको गालामा दुई–चार पल्ट चुम्बन दिइन् । प्राण दान पाएको चाउरेले सुस्थ हाँसेर सोध्यो–
चाउरे –“हैन, हजुरले के गरिस्या ?”
कप्तान्नी –“मैले मायाँ गरेको ।”
चाउरे –“किन ?”
कप्तान्नी –“तेरो प्राण बच्यो, मेरो सिन्दुर ।”
चाउरे –“कसरी ?”
कप्तान्नी –“कसरी भनौ ? तँ लडिस् म मूर्दा बने । तँ उठिस, म ज्यूँते ।”
चाउरे –“म किन लडेँ ? कसरी व्युँते ?”
कप्तान्नी –“तँ आफैँ जान ।”
चाउरे –“यो खेल थियो । नाटक थियो । जुन हर बखत खेलाडीहरु खेलिरहन्छन् । मैले चाँट खाएको थिए । जसले ढुन्मुन्निन पुगेँ । म सिकाडु खेलाडी थिएँ । हाफ व्याकको बुट खाँदा साथ लडेँ । त्यो हाफ ब्याक टोप लगाएर त्यहीँ चुल्बुलाउँदै छ । लाग्छ, उसले फेरि मेरो प्लेन्टी लिने छ । बुट चखाउने छ । मेरो फल रेफ्रीले एक एक नोट गरी राखेको छ । हजुर सेन्टर भैसेकोले कसैको वास्ता छैन । सिर्फ गोल चाहिँ बक्सन्छ । म सिकाडु खेलाडी केही जान्दिन ; सेन्टर लाग्छ लाग्दैन त्यो मात्रै ख्याल गर्छु । रेफ्रीको मुख हेर्छु ; डरलागेर आउँछ । उस्को डण्डा । उस्को चतुरदृष्टी अनि उस्को टोपको मात्रै सम्झना आउँछ । म मुर्छा पर्छु । आजको मूर्छा पनि त्यहि मध्ये एक हो ।
कप्तान्नी –“के भन्दै छस् ? कुन खेल ? कुन चाँट ? कुन हाफ ब्याक ? कुन रेफ्री ? के हो मुर्छा अनि कुन मैदान ? यहाँ कुनै खेल थिएन ; कुनै रेफ्री थिएनन् ; कसैले चाँट खाएका छैनन् । के बक्दैछस् ? होसमा आइज । त बेहोस छस् ।
चाउरे –“साँच्चै भनिस्यो म बेहोसमा छु । यसैले गर्ने नगर्ने काम गरेँ । दिमागमा भविष्य सुझेन । नोकरले मालिक बनेँ । मालिक नोकर बने । चाल उल्टो चल्यो । होस् खुले पछि, नोकर नोकर नै रहन्छ ; मालिक मालिक नै ।
कप्तान्नी –“हैन, के को नोकर र मालिकको कुरा गर्छस् ? तँ कहाँ छस् ऐले ? आँखा खोलेर हेर । तेरो सामु के छ ? तँ सोच्दै छस् पैसा छैन, नोकर हुँ । गलत छ तेरो धारणा । पैसाले नोकर र मालिक हुँदैन बुझिस ; त्यो त सिर्फ हातको मयल हो । पानी हालेर धुँदा साथ सफाचट भैहाल्ने । तँ अम्मीर छस् । आफ्नो दिलसँग सोध त ।
चाउरे –“हो, साँचो हो हजुरको कुरा । तर मालिक र नोकर दिलसँग तुलना गर्दा पैसामा सिमीत छैन । वास्तवमा तर, तापनि जस्ता शब्दले अचानो राखेर दुई फ्याँक पारिदिन्छ । अनि पैसा धेरै हुने मालिक र नहुने नोकरमा परिणत भैहाल्छ ; यो निर्विवाद छ । म हजुरको नोकर हुँ किनकी म कङ्गाल छु । हजुरले अम्मीर यदि ठानी बक्सेको छ भने मलाई लाग्छ अन्धो प्रेमले ठानेको हो ; नकि हजुरको आत्माले ।
कप्तान्नी –“चाउरे, तँ के बक्दै छस् ?”
चाउरे –“साँचो कुरो ।”
कप्तान्नी –“तँ होसमा त छस् ।”
चाउरे –“म होसमा होइन बेहोसमा परेको छु ।”
कप्तान्नी –“किन ?”
चाउरे –“त्यो फोटोले जवाफ दिनेछ ।”
कप्तान्नी –“त्यो फोरी दिएँ भने ?”
चाउरे –“त्यसको सक्कलले ।”
कप्तान्नी –“सक्कल फाट्यो भने ?”
चाउरे –“हजुरकै आत्माले ।”
कप्तान्नी –“बकवास नगर । जा ……… उठेर ।”
चाउरे –“ठीक छ हजुर । यो मैले पहिल्यै सोचेको थिएँ । प्रेम दिलसँग होइन शरीरसँग गरिन्छ । आज म सिथिल छु । हजुरले समेत घाँडो सम्झी बक्सेको छ । साँचो कुरालाई झुठो सावित गर्न हर तरिकाले मानिस कोशिष गर्छन् । दुधलाई दुध पानीलाई पानी गरीवले मात्रै देख्छ । अमीरले होइन । अमीर आज हेर्छ, गरीब भोलि । त्यो फोटोले सब चीज देखेको छ , जानेको छ , बुझेको छ । त्यो लडाईमा मर्दैन, मर्छ घरकै चितामा ।”
कप्तान्नी –“हैन किन फत्फताएर बस्छस् ?”
चाउरे –“म यहाँ एक छिन पनि बसेको छैन ।”
कप्तान्नी –“के तँ पागल त भैनस् ?”
चाउरे –“हो म पागल बने । रण्डीलाई सती देख्छु । जड्याहा लाई पण्डित, गङ्गा जललाई रक्सी देख्छु । दहीलाई जाँड । त्यस्तै ठगलाई साधु देख्छु ।
कप्तान्नी –“भो भो नकरा ! तेरो सारा पुराण सुनी सकेँ । सुन्दा–सुन्दा कान टट्टाई सक्यो । अब फुत्रुक्क झर्न मात्रै बाँकी छ ।
चाउरे –“हैन, रिशाई बक्स्यो ?”
कप्तान्नी –“म रिशाएकी छैन ; बरु खुसाएकी छु ।”
चाउरे –“केहि कुरा झिकी बक्स्योस्न त ।”
कप्तान्नी –“आज साँचो हराएको छ ।”
चाउरे –“कत्ति मीठो कुरा गरीबक्सेको हजुरले ? कुरा झिक्न साँचो हराएको छ । हो नि, साँचो हराएपछि के झिक्न सकिन्छ र । हैन, हजुरले यस्तो कुरा कँहा सिकिस्यो ? बताईस्योस्न ; म पनि सिक्न जाउँ ।
कप्तान्नी –“तँलाई के सिकाउनु परेको छ र ? आफै जानेको छस् नि । बरु भन्न ; कुन चाहिँ पण्डितसँग शास्त्र सिकिस् , जुन कुरा को पनि प्रमाण साथ पुष्टी गर्छस् ।
चाउरे –“रिसाई बक्सिन्छ कि ?”
कप्तान्नी –“किन रिशाउनु ?”
चाउरे –“तैपनि”
कप्तान्नी –“तैंले काट्न सक्दैनस्, मार्न सक्दैनस् रिसाउने किन र ?”
चाउरे –“काट्न मार्न त न हजुर सकिसिन्छ न म, कस्ले शास्त्र शिकायो भनि बक्सेकोले भनौ कि भनि सोधेको नि ।”
कप्तान्नी –“भन्न”
चाउरे –“हजुरको पुरेत बाजेले”
कप्तान्नी –“ए, त्यसैले पो धुरुन्धरको पण्डित बनिछस् ।”
चाउरे –“साँच्चै हजुर, पुरेत बाजे घग्डानको हुनुहँदो रेछ । भूत, भविष्य वर्तमान, सबै छर्लङ्ग देख्ने । मैले त उँहाको नाम टेलिभिजन बाजे राखेँ ।”
कप्तान्नी –“तँ पनि त ज्योतिष रेछस् नि । अर्काको नाम तुरुन्तै राख्न सक्ने ।”
चाउरे –“क्या जवाफ बक्स्यो ? हजुर पनि कम्तिको वकिल होइबक्सन्न ।”
कप्तान्नी –“कस्तीकी जजमान अब। किन नदिउँ जवाफ ?”
चाउरे –“हैन, कप्तान्नी शाव ! आजको दिन हजुरलाई कस्तो लागेको छ ?”
कप्तान्नी –“किन र ?”
चाउरे –“कप्तान शाव… ”
कप्तान्नी –“बाघको शय गोठ भने झैँ, मलाई के को पीर छ र ?”
चाउरे –“तैपनि”
कप्तान्नी –“पीर त केहि लाग्छ नै । लागेरै के गर्ने ? गएका तुरुन्तै फर्कदैनन् ।”
चाउरे –“कप्तान शाव अहिल्यै फिरी बक्से हजुरलाई कत्ति आनन्द लाग्थ्यो हगि ?”
कप्तान्नी –“अहिल्यै त होइन । २/४ महीनापछि आए त रमाईलै पनि हुन्थ्यो कि ?”
चाउरे –“के सवारी नभै बक्सने छर ?”
कप्तान्नी –“लडाईंमा गएकोलाई आउलानै भनेर त कसरी भन्ने ?”
चाउरे –“छि : के भनीस्या ?”
कप्तान्नी –“के मैले नचाहिँदो भनेर ?”
चाउरे –“नचाहिँदो त हो नि ; लडाईंमा जाने कैयौँ मानिसहरु वीर बनेर फर्केका छन् । कप्तान रण बहादुर के तेसै शहीद होइबक्सेला र ?”
कप्तान्नी –“नगर… गुणगान ती भुसतिघ्रेको ।”
चाउरे –“मायाँ पनि गरिसिन्छ , नफर्कोस पनि भनिसिन्छ के हो ? मैले त केही बुझ्नै सकिन हजुरको बिचार ।”
कप्तान्नी –“मेरो बिचार किन बुझ्नु पर्योर तँलाई ? मैले जेजे भन्छु तेही तेही गर । मैले जेजे खान दिन्छु तेहि तेहि खा । किन बुझ्नु पर्यो विचार सिचार ?”
चाउरे –“मालिकको विचारै नबुझी सेवकले कसरी काम गर्ने ?”
कप्तान्नी –“मालिक–सालिक नभन मलाई”
चाउरे –“मालिक नभने के भनौ त ?”
कप्तान्नी –“प्यारी भन्न”
चाउरे –“नाई, लाज लाग्छ”
कप्तान्नी –“कस्तो मोरो ? स्वास्नी मान्छे जस्तो रेछ”
चाउरे –“प्यारी नै भनौ त ?”
कप्तान्नी –“यस्तो पनि सोध्नु पर्छ र ?”
चाउरे –“प्यारी, पानी बक्स्योस्न ।”
कप्तान्नी –“फेरि किन बक्स्योस्न भन्छ ?”
चाउरे –“के भनौ त ?”
कप्तान्नी –“ल्याऊ भन्न”
चाउरे –“प्यारी, पानी ल्याउन ।”
कप्तान्नी –“दिपु, चाउरेलाई पानी ल्याइदेउ त ।”
दिपु –“हस् ”
दिपुले पानी ल्याई दिई । चाउरेले लामो हात पसार्यो । कप्तान्नीले बिचै बाट लिइन् । चाउरे उठेर थुत्न गयो । कप्तान्नीले गाला टोकी दिइन् । चाउरेले चुल्ठो समात्यो । कप्तान्नी चाउरेको काखमा पल्टिन् । उस्ले नाक समातेर हल्लायो । कप्तान्नी खिस्स हाँसिन् । उस्ले भुँडीमा काउकुति लगाई दियो । कप्तान्नीले चाउरेको कम्मर दुई हातले समाती टुकी निभाई, दिइन् । दिपु च्याट्ठिएर रोई –“मुमा बत्ती निभ्यो… ।”
क्रमश:
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest






































