साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश- १३)

हैन दाजु हो ! त्यहाँ पहलमानहरू छन् कि छैनन् ? मलाई त दिन दिनै कुस्ती खेल्नु पर्छ । यहाँ जुडो सिकेको छु । बक्सिङ खेलेर कप पाएको छु । हजार मिटरको रेसमा पहिला भएर प्रमाण पत्र पाएको छु । अरु अरु के के पाएँ । के के ?

Nepal Telecom ad
बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक

(१३)

कोठा उराठ लाग्दो छ । डाक्टर आउँदा छन्, जाँदा छन् । चमेली आँखामा जालो लागिसकेको छोरो सुधिरलाई काखमा लिएर आँसु झारी रहेकी छे । सुधिरको मुखबाट मलीन आवाज निस्किरहेको छ –

आमा, तपाईंलाई सेवा गर्ने मेरो कत्रो इच्छा थियो । त्यो इच्छा पूरा हुन सकेन के गरुँ ? तपाईंनै भन्नोस् । हेर्नोस् । मेरो तपाईंलाई मोटरमा राखेर जताजतै घुमाउने, तपाईंको इच्छा मुताविकको काम गर्ने कत्रो शौख थियो । खै ! मेरो शौख पूरा हुन सकेन । म सानो छँदा तपाईले प्यार गरी म्वाई खादै भन्नु हुँथ्यो ।
‘मेरो सुधिर ठूलो भएपछि जागीर खान्छ । पशुपति मोटरमा लैजान्छ ।’
खै, आमा ! मैले त्यसो गर्न सकिनँ । तपाईंको इच्छा पनि अधुरो नै रह्यो होइन त ? अब म चाहेर पनि बाँच्न सक्दिनँ । बाँचे भने नै पनि के गर्न सकौंला र ? हात भाँच्ची हाल्यो, खुट्टा फुक्ली हाल्यो । कुरा सुन्छु– चीत्र गुप्तले चिठ्ठी पठाईसके । पिउन बाटैमा अल्मल्ली रहेको छ । आइपुग्दा साथ साथैमा जानु पर्ने होला । तीन दिनसम्मको म्याद भए त मनमा लागेको सबै कुरा बताउन पाउने थिएँ । साथै लिई आउनु भनि पठाएको भए कुरा पनि बाँकी नै रहने भयो ।

आमा म जागीरे भएर आएको दिन तपाईं कत्ति खुशी हुनु भएको थियो ? अब त्यत्तिकै खुशी कहिल्यै हुनु होला त ? मलाई पूरा विश्वास छ आमा ! मैले विदा भएपछि तपाईं एक पल्ट चीसो पर्नु हुन्छ । म अनुरोध गर्छु आमा । कत्ति पनि पीर नगर्नु होला है । किन भन्नोस्न ?

“म पहिले पनि थिइनँ, अहिले पनि छुइनँ । पछि पनि हुन्न । कहिल्यै नभएकोलाई सम्झेर किन पीर गर्ने ?”

चमेली कुरा सुन्दा सुन्दै घुप्लुक्क घोप्टी सकेको उसलाई केहि पत्तो भएन । एक सूरमा कराई नै रह्यो –

‘आमा, तपाईंलाई निन्द्रा लाग्यो होला । सुत्नोस् । भोलिसम्म त अवश्य साथमा हुन्छ । किन फिक्री गर्नु हुन्छ ? बरु आमा मेरो खल्तीमा एउटा चिठ्ठी थियो नविर्सीकन दिपुलाई दिनु होला है ? अब मेरो ऊसित भेट हुने छैन त । किन दिउँलासम्म पनि भन्नुहुन्न आमा ? कम से कम बोल्न त बोल्नुस् ।”

मैले दिपु उपर अन्याय गरेको छु । आमा अन्याय । त्यस विचरी पनि साँच्चीकै दुःखी हो । कहाँको म सानो जागीरे ऊ कहाँकी कप्तानकी छोरी । जे होस् , उस्को दुःखी कर्मले गर्दा ईश्वरले मसँग सम्बन्ध जुटाई दिएका थिए । बसेकी भए आधी आधी पेट भए पनि बाँडीचुँडी खाने नै थियौँ । बसिन त्यस्मा पनि बेसैछ । बरु मेरो यो अन्तिम पत्र म विदा भए पनि उसैलाई सुम्पी दिनु होला । मेरो अन्तिम अनुरोध हो । केही गरी नभुल्नु होला है ?

मैले के कुरा गरेँ आमा ? सुन्नु भो ?? किन जवाफ दिनु हुन्न ? म मर्ने बेलाको रोगीसँग पनि रिसाउनु भयो ? एक दिन मात्रै होला आमा । तपाईंसँग बस्नु । किन रिसाई दिएर दिललाई छिया–छिया पारी दिनु हुन्छ ? बरु प्यारले एक घुट्को पानी दिनोस्न । तपाईंलाई धेरै पुण्य मिल्नेछ । दिनु हुन्न भने त्यो पनि भैगो ।
आमा ! म पनि तपाइँको लागि घाँडो भएँ हगि ? हुन दिनोस् । आज एक दिनको लागि मात्र त केछर ? न आजै आइपुग्ने हो चिठ्ठी । पीउन खट्टी नसकेको भए पनि टाइप भैसकेको होला । सहि हुन कत्ति बेर ? झन् ट्रङ्कल नै गरे भने पिउनको पनि आवश्यकता परेन । छिनैमा आइहाल्छ मेसेज । आईपुग्दा साथ हिँड्न परि हाल्यो ।
बुझ्नुभो आमा । म तपाइँको छोरो हुँ । कहीं गएर पनि यस्ले भुल्ने छैन भन्ने तपाईंले सम्झनु होला । मैल तपाईंको ऋण कहिं गएर पनि चुकाउन सक्तिनँ । तपाईंले कत्ति मायाँ गर्नु हुन्थ्यो ? कत्ति हेरचाह गर्नु हुन्थ्यो । त्यो के मैले त्यसै भुलौंला र ? म त्यत्तिको कृतघ्न छैन आमा, जत्तिको तपाईंले सम्झनु भएको होला ।
हो म अहिले लङ्गडो छु, लुलो छु, डुडे छु, अन्धो छु । मबाट कुनै कमाई हुँदैन । जे भए पनि तपाईंले दश महीना पेटमा राखेर जन्माउनु भएको छोरो त हुँ । मायाँ त गर्थें । भैगो अब नबोल्नोस् । म पनि चूप लागी दिन्छु ।

आमा, मैले एउटा कुरा त गर्नै भुलेछु । गरौं होइ ? एक पल्ट ‘हुन्छ’ त भनिदिनोस् । नभन्ने ? भैगो ! म बेकामको देखेर आफ्नीले त छोडी । तपाईंलाई के को बास्ता ? प्रसस्त पैसा कमाउने, पढेका, राम्रा, निरोगी छोरा र मायाँका पोका छोरीहरू छँदैछन् । म लङ्गडो, कंगाल, रोगी, निरक्षरी छोरा सँग कुरा गरेर के फाइदा ? झन एक दिनको पाउना ।

मैले के के फलाकेँ । नरिसाउनोस् है आमा । बरु घरमा पुग्दा साथ बुबाले सोध्नु होला यहाँको समाचार । मैले के जवाफ दिउँला ? भनि दिनोस्न केहि छन् कि । म बाहिर जान सकेको भए तपाईंलाई यस्को कष्ट पनि दिने थिइन । के गरौ ? एक महीना अघिदेखिनै खुट्टा बसी हाले । बुबालाई त हाल खबर केहि थाह होला । अस्ती मात्रै पार्शल पाउनु भएको । अरु साथिले सोधे भने के जवाफ दिऊँ ?
अँ, सुन्छु– त्यहाँ पुग्दा साथ सोध्छन् रे –
“तैंले के के धर्म गरिस् ?”

मैले के जवाफ दिउँ ? रक्सी पिएँ, कुखूराको नगरा बजाएँ, ठाडो घाँटी लगाएँ, जुवा खेलेँ, रण्डी नचाएँ । के यत्तिले पुग्ला ? सम्झेको यत्तिकै हो । अरु पनि मैले केहि गरेको छु कि ? गरेको भए सबै भनिदिनोस्न । म त्यहाँ पुग्दा साथ चण्डीपाठ गरेझै बडबडाई दिन्छु । जुन वर्णनले बुवा दङ्ग पर्नु होस् । अरु साथीले जिब्रो काटुन् ।
मसँग पनि बोल्नु हुन्न । मैले के भूल गरेँ ? के म तपाई को छोरा होइन ? कि कसैले फालेको पाल्नु भएको थियो मलाई ? अरुले फालेकै पाल्नु भएको भएपनि तेइस् चौबीस वर्ष सम्म पाले पछि तपाईं जस्तो कमलो हृदय भएकी नारीले मायाँ गर्नु पर्ने, मर्ने बेलाको केटोलाई हाँसेर विदा दिनु पर्ने । भन्नोस आमा । मैले नकाम के गरेँ र बोल्नु हुन्न ?

भैगो, म बदमास्, बेकामी, घाँडो किन बोल्नु हुन्थ्यो ? जे भए पनि मलाई लाग्छ म तपाईंकै छोरो हुँ । त्यसैले अति मायाँ लाग्छ, आँखा मात्रै देख्ने भए, तपाईंको मुख कतिबेर हेर्थे ? के गर्नु ? मोटरको बाँझो पल्टी हाल्यो । जे होस आँखा फुटे पनि तपाईंको त्यो मायाँलु अनुहार मेरो दिलमा तस्वीर बनेर बसेको छ । कसै गरेर भुल्न सक्दिनँ । त्यो मिठो बोलीले भन्नु भएको –

‘मेरो सुधीर ठूलो भएपछि मलाई मोटरमा राखेर डुलाउँछ’ भनी म्वाई खाँदै गर्नु भएको गफ कहिल्यै भूल्न सक्दिनँ आमा । मलाई पूरा विश्वास छ । कुनै बखत तपाईंलाईं देखें भने ‘मेरी आमा आउनु भयो’ भन्दै छाँद हाल्न आइपुग्छु ।
सुन्छु आमा ! उहाँ ठूला डाक्टर छन् रे । त्यहाँ पुग्दा साथ आँखाको अप्रेशन गराउँछु । तपाईंलाई ठूली देख्ने चस्मा लगाउँछु । अनि मेरो फले फुलेको देख्न चाहनु हुने तपाईंलाईं बुई चढाएर जताततै घुमाउँछु आमा जता ततै ।
यहाँ बसेर कुनै आनन्द दिन नसके. पनि उहाँ तपाईंलाई देखौं मात्रै कत्तिको सेवा गर्दो रहेछु । राम्रै जान्नु हुनेछ म सुधिर हुँ । आमा !

तपाईकै छोरा

मैले आज सम्म कसैको चित्त दुखाएको जस्तो लाग्दैन । झन् तपाईं दश महिनासम्म पेटमा राख्ने, फले फुलेको देख्न चाहने आमालाई पनि कहिल्यै चित्त दुखाउँला ? सेवा नगरी त्यसै छाडौंला ?

म तपाईंलाई आग्रह गर्छु आमा, म यहाँबाट विदा भएर गएपनि, तपाईं आउनु हुने बाटो हरदम् कुरेर बसीरहेको हुनेछु । म निदाएको बेला आइ पुग्नु भयो भने घच्घच्याउन नभुल्नु होला । म जुर्मुराउँदै उठ्ने छु । तपाईं जहाँ पुग्नु होला, हिंडनु पर्ने छैन । बोकेरै पुर्‍याई दिन्छु । यो मेरो प्रतिज्ञा नै भयो ।

आमा ! बुबाले त्यो नीलो कोट कत्ति जतन गरी राख्नुहुन्थ्यो ; दिनोस्न ! म नै पुर्‍याई दिन्छु । तपाईं सँधै भन्नु हुन्छ– ‘बुबाको सबै सामान पुरेत बाजेले पुर्‍याई दिनु हुन्छ ।’ उहाँ कहिले जानु हुन्छ ? कहिले ?? कार्तिक लाग्न लागि सक्यो । किन ढिलो पठाएर जाडोमा कक्र्याउने ? अवत गाई पनि ब्यायो होला । भर्खरै ब्याएको भए विगौती कत्ति खानु ? धेरै दिन भैसकेको भए मलाई देख्दा साथ खुशी मान्दै गिलाँस भरी मोही र कचौरा भरी दुध ल्याई खाऊ… सुधिर भन्नु होला । कत्ति खानु मैले । दुध तपाईंको नाममा पीई दिन्छु है आमा !

म सानो हुँदा कत्ति प्यार गर्नुहुन्थ्यो ? बाहिरबाट घर भित्र पस्दा साथ भन्नु हुन्थ्यो पनि –
“सुधिर ! आमाले के दिनु भो आज ?”
मैले केहि खान नपाएको भएपनि तपाईंलाई गाल नपार्न मैले के के खाईं भनी भए नभएको बताई दिन्थें । उहाँ कत्ति खुशी हुनुहुन्थ्यो । कत्ति म्वाई खानु हुन्थ्यो ? अनि कत्ति खित्का छोडेर हाँस्नु हुन्थ्यो ? होइन त आमा !

किन तपाईंले कुनै कुराको पनि जवाफ दिनु हुन्न । के निन्द्रा लाग्यो ? अब त निदाउने बेला छैन आमा । चिठ्ठी लिई आउनु भएका दाजुहरूलाई उब्याई राखेको छु । ढिलो भयो भने उहाँहरूलाई गाल पर्छ । बिनसित्तिमा किन गाली खुवाउने ? लौ त आमा, कुरा बताई हालेँ । अब बाटो पनि लागी हाल्छु ।
बुझ्नु भो दाइ हो । म सुधिर हुँ । मैले यो समाजसँग कत्ति लडें, धर्मसँग कत्ति लडें । संसारै सँग कत्ति लडें ? तर पनि खोई ? दुःख भन्दा वढी केहि आर्जन नै गर्न सकिन । त्यति मात्रै हो र ? जता ततै पुग्ने खुट्टा भाँचें, आँखा फोरें । महारोगी बने, कङ्गाल भएँ तर पनि दाइ, यो समाज, यो धर्म, कसैलाई पनि सहि बाटो ल्याउन सकिनँ । आखिर आफैले सबैलाई छोडी तपाईंको पिछा लाग्दै छु ।

हो, आमाले मलाई सुमार्गमा चलाउन खुबै कष्ट गर्नुहुन्थ्यो तर जसलाई सुमार्ग ठान्नुहुन्थ्यो त्यो नै कुमार्ग थियो । त्यसैले नै मैले सुमार्ग भुलें । तपाइंहरूनै भन्नोस्त –
भगवान शंकरजीको शोडाक्षरी महामन्त्रलाई हार्मोनियम र तवेलाको स्वरमा फलाक्दा के पुण्य मिल्ला ? के तिनीहरू पापको खाडलमा नजाक्किई छोड्लान् ? यहाँको सुमार्ग यस्तै छ । अब ब्रम्ह गायत्री पनि खैंजडीको तालमा कुर्लन थाल्छन् । पापको मार्ग खुल्दै जान्छ । गुरुले लक्कु कमाउँछन् । पतिब्रताले ५/७ गोटा पोइ पाउँछन् । हलुवा–स्वारीले पेट फोर्छन् । धर्मको प्रचार भैहाल्छ । ‘कलौः केशव किर्तनात्’ भन्ने कहाँबाट सुने ? मन्त्रलाई किर्तन बनाई रास लीलामा मुग्ध भएका पाखण्डीहरूको धर्मले कहाँबाट स्वर्ग द्वार खुल्ने ? द्वार नै खुल्छ भने गुदद्वार खुल्ला अरु कुनै द्वार खुल्न सक्दैन । तपाईंहरूको के विचार ?
हेर्नोस् ! मेरी आमाले मेरो लागि कुन चाही दुःख झेल्नु भएन ? तर पनि कसैलाई प्रवाह गर्नु भएको थिएन । मेरो सुख नै उहाँको आनन्द थियो । मेरो दुःख नै उहाँको पीर । त्यसैले तपाईंहरूलाई अड्याई कुरा गरेँ । अरु सँग बोल्ने मेरो बानी नै छैन । के म ठूलो बनेको हुँ त ?

यहाँको धेरै कुरामा मैले राम्रै अनुभव गरिसकेको छु । हरेक अनुभवले मलाई बताई सकेको छ । दुःख शिवाय यो संसारमा अर्को कुनै बस्तु नै छैन । मैले जागीर खाएँ अनुभवकै लागि । सबैसँग सम्पर्क राखेँ अनुभवकै लागि ठूला देखि सानासम्म संसर्ग गरेँ अनुभवकै लागि । तर सबै स्वार्थी हुँदा रहेछन् । निस्वार्थको काम केहि छैन । निस्वार्थी कोहि छैनन् । उहाँ पनि यस्तै चलन छ कि ? भएत म यहिंबाट फर्कन्छु । राम्ररी बताई दिनोस् त ।

सुन्छु, उहाँ ठूला–ठूला दिमाग्दार बसेका हुन्छन् । ठीक बेठीक, न्याय अन्याय छिनैमा छुट्याई दिन्छन् । झुल्ने झुलाउने कुनै ब्यवस्था छैन । अन्याईलाई अति दुःख दिन्छन्, न्याईलाई आराम् । त्यसैले त्यहाँ छिटो पुग्ने इच्छा छ । अनि त्यहाँको ब्यवस्था विचार्ने सोख छ । फेरि सुन्छु –

यहाँबाट गएका सबै त्यही बसेका हुन्छन् । यहाँ गरेको काम त्यहाँ सबै देख्छन् रे । त्यहाँको रेकर्ड अति राम्रो छरे । प्रमोशन–डेमोशन छिन छिनमा भैरहन्छ रे । बहाली पुर्जी, खाना पुर्जी तुरुन्तै बन्छरे । न्यायाधीशलाई कानुनको सारा दफा कण्ठ छ रे । यहाँको जस्तो किताव पल्टाउने त्यहाँ कुनै काम छैन रे अरु के के हुन् के के ? त्यसैले दौडी दौडी जाने मेरो मन छ । तपाईंहरू नथाक्नु भएको भए दुगुरौं न ।
हैन दाजु हो ! त्यहाँ पहलमानहरू छन् कि छैनन् ? मलाई त दिन दिनै कुस्ती खेल्नु पर्छ । यहाँ जुडो सिकेको छु । बक्सिङ खेलेर कप पाएको छु । हजार मिटरको रेसमा पहिला भएर प्रमाण पत्र पाएको छु । अरु अरु के के पाएँ । के के ? म त दाह्रा सिङ्गको बाबु बङ्गारा सिङ्ग भने पनि हुन्छ । त्यहाँ कत्तिका छन् खेलाडी ? मसँग लड्न सक्ने कोहि होलान् ।

त्यहाँ कत्तिको प्रोग्रेस भएको छ नि ? सिनेमा, टेलिभिजन छ होला होइन ? दाजु ! साइन्टिष्ट कत्तिका छन् नि ? एटम बम् , हाइड्रोजन बम्, टेंक निर्माण भएका छन् कि छैनन् । चन्द्रलोक कोही पुगे कि पुगेका छैनन् ? किन केही पनि जवाफ दिनु हुन्न ? रिसाउनु भयो कि कसो हो ? नरिसाउनोस् हो ? मेरो बानी नै यस्तो छ । के गरौँ ? कसै सँग नबोली हिंड्नै जान्दीन । बरु यहाँ केही वायर लेश भए ट्रङ्कल गरौँ न – ‘यति बेला आई पुग्दैछौँ, फुट एण्ड सेल्टरको व्यवस्था राम्रो मिलाई दिनु’ भनेर । हुन त तपाईंहरू आफ्नै घर जानु होला, मेरो लागि मात्रै के ट्रङ्कल गर्नु ? तैपनि ज्यादै लेट् भएछ भने होटेल पनि बन्द भैसक्लान् आपत पर्छ ।

चार घण्टापछि होस आई चमेलीले सुस्त उठेर आँखा सुधिर पट्टी हालिन् । एउटा खुट्टा तनक्क तानेको चीसो र नीलो सुधिरलाई देखि
एक पल्ट चिल्लाईन् –
“बाबु सुधिर ! के भो तिमीलाई उठ !”

जवाफ कुनै मिलेन । च्याँठ्ठिएर घच्घच्याइन् । ठूलो भूँडी पारेर गन्हाइरहेको उस्ले आँखाका प्वाल देखाएर खिस्स हाँसी दियो ।

०००
चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x