बी.डी. त्यागीएक चोक्टा (उपन्यास अंश- १४)
हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ ।

बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक
१४.
चिता दन्कीरहेको थियो । बाँसका घोचा लिइरहेका बाहुन कुरा गरिरहेका थिए । पशुपति दर्शन गर्न आएका धर्मात्मा हेर्थे आँसु झार्थे जान्थे । लास छिनमा पडकन्थ्यो, छिनमा चिता धुँवाले कुइरो मण्डल भएर नजिक रहेका बाहुनलाई समेत अदृष्य तुल्याइदिन्थ्यो । दुई–चार टुक्रा मासुको आसले बसेका मसाने कुकुर मौका छोपी चित्तामा दुगुर्थे । दङ्ग परेका बाहुन चुरोट फुसफुसाएर गफमा मस्त थिए । डरलाग्दो मसान मुनिको बाग्मती सुसाई रहेकी थिइन् । चारैतिर अन्धकारले छाएको थियो । वीच–वीचमा ‘ऐय्या ! मरे नि !! को आवाज टाढाबाट आइपुग्थ्यो । हिप्पीहरू तस्वीर खिच्नमा ब्यस्त थिए । जोडा जोडी तरुना तरुनी हिप्पीका पछि लागेर आफ्नो मस्त यौवन प्रदर्शित गर्दै थिए । कोहि पीरले आकूल ब्याकूल थिए त कोहि आनन्दमा मुग्ध ।
चार घण्टापछि लास खाग भयो । बाहुनहरूले खरानीलाई वाग्मतीमा बगाएर हाँस्दै बाटो लागे । विहानको आठ बजिसकेको थियो । धर्मात्माको लस्कर बढ्दै थिए । बाग्मतीमा लुगा राख्ने ठाउँ थिएन । नदी कहिल्यै नफर्किने उद्देश्य लिई बगिरहेकी थिइन् । मन्दीरमा घण्ट बजिरहेको थियो । भण्डारेहरू आफ्ना इष्टमित्र हेरिरहेका थिए । भट्टहरू आइपुगेका थिएनन् । कोहि चारै ढोकाको दर्शन गर्ने अभिप्रायले कुरी रहेका थिए त कोहि कीर्तनमा व्यस्त थिए । बेलको बोटमुनि एक पण्डित आइमाईहरूलाई चारैतिर घेरा लगाई राखेर पुराण बाँच्दै थिए । उनीहरू सुन्नमा तल्लीन देखिन्थे ।
दश बज्यो । भट्टहरू आइपुगे । मन्दीरको चारै ढोका खुल्यो । नोट राखेको पूजा सर्जाम र मारवाडीको मुखमात्र हेर्ने भट्टहरूले लामो हात पसार्दै पूजा सामग्री तानिरहेका थिए । पूजा सर्जाम नभएका धर्मात्माहरू जल प्रसादको लागि हात पसारिरहेका थिए । भट्टहरूले त्यस्को केहि वास्ता गरेका थिएनन् । एक भक्तले कराए–
“ओ भट्टजी ! के पैसा मात्रै हेर्नुहुन्छ ? दिनोस् प्रसाद ।”
भट्टले वास्तै गरेनन् । लामो हात पसारेर ठूलो पूजा सर्जाम बोकी भित्र पसे । एक्कै छिनपछि बोतामा एक पाउ चन्दन र प्रसाद हाली हातमा एक छटाक चन्दन लिई आएर मारवाडीको निदारमा टप्प टाँसी दिई भित्र पसे र बडा गजवको माला बोकी पुनः आई गलामा लर्काई दिए । पुन : पाँच रुपैयाँको नोट खोकिलामा हाली भित्र पसे ।
प्रसादको लागि इन्तजार गरी बसिरहेका कैय्यौं धर्मात्माले जलसम्म नपाई निरासिंदै फर्के । एउटी आइमाईले भनिन्–
“भगवानको मन्दीरमा पनि किन पक्षपात ? कसैलाई पाउ भरको चन्दन; कसैलाई जलसम्म पनि छैन ।”
भट्टजी कसैको कुरामा ध्यान दिंदैनथे । फगत कुन पूजा सर्जामको माथि नोट उडिरहेको छ । त्यहि ख्याल गर्थे ।
अर्का एक धर्मात्माले कराए–
“ए भट्टे ! चन्दन दिन्नस् ? ठोक्नु पर्यो लात !”
धम्की सुनेको भट्टले रातो–रातो आँखा पार्दै रित्तो हात औंलामा पुछि दियो । भक्तले भने–
“हात त पुछि दिइस्, जल पनि ले ।”
रीशले चुर भएको भट्टले मुर्मुर्रिदै भित्र पसेर पूजा गर्न थाल्यो । भक्तहरू प्रसादको लागि पर्खिरहेकै थिए । एउटा भक्तको गर्धनमा चीसो हात घुस्यो । एक्कासी सिंडीमुनि उछिट्टिए । पुलिस कराई रहेको थियो–
“यसलाई छिटो गर भनी कत्ती डण्डाले घोचेँ । वास्तै गरेन घोक्र्याई मागेको रहेछ : त्यसै किन छिटो गर्थ्यो ?”
भक्त लडेको चाल पाई भट्टजी दङ्ग पर्दै पूजा छोडेर ढोकामा आइपुगे । अरु बाँकी भक्तले हात पसारे । ठूलो पूजाको अर्को टपरी बोकी भट्टजी भित्रै फिरे । भक्तको आस निरास बन्यो । प्रसाद नपाउने भक्त चारै ढोका घुमे । कहिं चन्दन मिलेन । छक्क पर्दै कराउन थाले पनि–
“सरकारले दिनको मुरी चामल यी स्वाँठहरूलाई भारतमा निर्यात गर्न मात्र दिएको हो कि क्या हो ? आफ्नो काम जल प्रसाद दिने पनि दिंदैनन् भने किन राखेको ? बरु बनारसका पण्डाहरूले ठगे पनि विदेशीलाई मात्र ठग्छन् । यहाँ त स्वदेशीलाई मात्रै ठग्दा रहेछन् ।”
कुराको कसले ख्याल गर्ने ? काग कराउँदै छ । पिना सुक्दै छ । यहाँ नेपाली कुकुरको वेलायती भुकाई भएमात्र सबैले पत्याउने छन् । होइन भने न कसैले ख्याल गर्छन् न त पत्याउँछन् नै । हुन त नातावाद, क्रिपावाद, फरियावाद कहाँ हुँदैन र ? तैपनी ईश्वरको मन्दीरमा यस्तो हुन नहुने । जो कोइले प्रसाद पाउनै पर्ने हो । तर नाता नभएकाले भने नगद नारायण नै अगाडि तेर्स्याए मात्र प्रसाद मिल्दो रहेछ । नत्र जाऊ ! दर्शन गर !! ठाडै खुट्टा फर्क ।
नाता र पैसा दुबै नभएकोले पनि सहज प्रसाद पाउने छ भने सुरिलो श्वरमा तिर्छे नजर लडाई– ड्यर भट्टजी, प्लिज चन्दन् !’ भनी मुस्कुराउँदै माग्ने, सोरवर्षे केटी छे भने नरम हात चटक्क समातेर सुम्सुम्याई चन्दन हाली निदारमा समेत छाप लगाई दिन्छन् । त्यसैले प्रसाद लिन कि नाता लडाउनु पर्यो, कि त नगद नारायण अगाडि तेर्साउनु पर्यो । कि त तरुनी बनेर मुस्कुराई दिनु पर्यो । नत्र भट्टजीबाट प्रसाद पाउने आसै नगरे हुन्छ । त्यसैले त जयबहादुर कहिल्यै पशुपति जाँदैनन् । उनी खसोखास भनि दिन्छन्–
‘गएर के गर्नु ? ती पापी भट्टहरूको मुख देख्नु पर्छ । ती बदमास फकिरहरूको तमासा देख्नु पर्छ । गधा बाहुनहरूको पुराण सुन्नु पर्छ । बरु नगई दियो केहि पनि गर्नै परेन । फेरि राम्रो लुगा लगाएर जाउँ तरुनीहरूले तातो पुठ्ठा तेर्स्याई दिन्छन् । नराम्रो लगाएर जाउँ बाबु बाजेको फुस्रो इज्जत गई हाल्छ । कुनै तिरबाट पनि सुख छैन । त्यसैले घरैमा बसी सम्झी दिन्छु । धेरै पुण्य नमिले पनि पाप त लाग्दैन ।’
एक दिन ब्रत लिएर जय बहादुर पशुपतिको दर्शन गर्न घरदेखि धाउँदै आएका थिए । बाटोमा मानिस लस्कर लागि रहेका देखि बोलक्कड उनी चूप रहनै सकेनन् । एउटा बुढा सँग एकै छिनमा मित्यारी लगाई हाले । कुरा चल्दै गयो धर्मको । बुढाले मुसे दाँत देखाउँदै हाँसेर भने–
‘बाबु, धर्म गर्न जात्रा जाने होइन पाप गर्न । म सोर वर्षको उमेरमा अति राम्रो थिएँ । त्यसैले मलाई पाउँ भनी कत्तीले बोको भाक्थे । कत्तिले देवी ! त एक दिन गोदावरीको मेला मान्न म पनि लागेँ बाटो । स्वास्नी नपाएर रुख्खी राखेको मैले जस्तीलाई पनि राम्रै देख्थे । बाटोमा प्रसस्त केटीले आँखा गाडे । मैले पनि हेर्दै गएँ । उहाँ पुगे पछि दुःख लाग्यो । म धर्म गर्न आएको मान्छे, कत्ति केटीलाई दिलले चाह्यो ? कत्तिले आँखा गाडे ? के मलाई पुण्य मिल्यो होला र ? यस्तै–यस्ता विभिन्न तर्कना पनि गरेँ । नुहाउनु त पर्यो नै । उस बेला अण्डरप्यान, स्यानको चलन नै थिएन लिएर गएको थिएँ एउटा लगौंटी । लगाएर नुहाएको मात्रै के थियो । कन्दन नै छिनेर लगौंटी पुगेछ कता कता ? परेन फसाद ! बाटोमा आँखा गाड्ने एउटै केटीले छोडेका छैनन्; त्यसबखत पनि । दुई हातले छोपेर निस्केँ बाहिर सबै मरी मरी हाँस्न थालि हाले । कालो निलो बन्दै आफ्नो लुगा राखेको ठाउँमा पुग्छु त लुगा छैन । झन पर्यो फसाद । एउटी तरुनी बाहुनीले पटुका फुकालेर दिइन् । त्यहि बेरी अलि वर के आएको थिएँ, अर्की तरुनीले खिस्स हाँसेर दिई लुगा । मनमा लागी हाल्यो पर्ख मोरी हो । गरौंला केहि । त्यस दिनदेखि ती दुबैको पछि लाग्न थाँले । दुबै पट्टी पनि हाले । पहिलो धर्म यहि हो, पछिपछि यस्तै कत्ति धर्म भए । अब जात्रा गएर धर्म हुँदो रहेछ कि पाप आफै सोच्नोस् ।
बुढाको कुरा सुनी जयबहादुरले प्रश्न पनि गरेथे–
‘उसवेला त तरुनो हुनुहुन्थ्यो सबैले रोज्थे जवान तपाईंलाई सोख पनि थियो । अहिले धर्म होला कि नहोला त ?
बुढाले औंठ लेप्य्राउँदै भने–
“खै, धर्म नै होला त कसरी भनौ ? मानिस बुढो भएपनि जवानी बुढो हुँदोरहेन छ । मलाई यस्तो भएपछि बुढीहरूलाई पनि मलाई जस्तै नभएको होला भनी कसरी भनौ !
“बुढी पाउनु भयो भने सन्तुष्टी पार्न सक्नु होला त ?”
“किन नसक्नु ? हामी बुढाहरूको हाडदेखि खसखसाएर आउँछ बरु केटामा त्यस्तो थिएन ।”
यस्तै सवाल जवाफ गर्दै पशुपति पुगेका जय बहादुरको अगाडि तातो पुठ्ठा तेर्स्याएर एउटी तरुनीले बाबुलाई जागा गराई दिएकी थिई । चन्दनको लागि लाइन बस्दा बस्दै उनले के के गरेनन् ? त्यसैले नै ‘धर्म कर्म डाँडामा चामल हाल भाँडामा’ भन्ने उखानलाई शिरोपर गरी बसेका थिए ।
नरे छिटै बुढो भएको पनि त्यसैले हो । ऊ आफै भन्दैथ्यो–
जात्रा मात्रामा जान मलाई निक्कै सोख थियो । यस्तै जात्रामात्राबाट कैयौँ तरुनी फकाएँ । ती बाहुनीले पनि आफ्ना लोग्नेलाई थपना मात्र गरेकी थिइन । काम बुझे जाने सम्म आफै गरिदिन्थेँ । अरु त कुरो परै जावस । भएका सन्तान पनि मेरै भन्दा पनि हुन्छ । भूलले कुनै उनको परेको भए दैव जानोस् । आज ती नै बाहुनीले रातसम्म पनि विताउन नदिएर निकालिन् । अव बाहिर राखेर मर्ने बेलामा के काम लाग्दो रेछ र ? गुह्य कालीमा गई माला लगाएकीले बरु छोराछोरी सुम्पेकी थिई, चाँडै परमधाम भई र पो यो दुःख झेल्नु परेको ।
“उसो भए तपाईंका सन्तान छैनन् ?”
“कुनै जेल पसे, कुनै पोइल गए के छ भनौ ?”
“उसो भए; यही पाएदेखि लिएर पनि जानु हुन्थ्यो होला !”
“मन त थियो नाई; खुवाउने पो के ?”
“कत्ति वर्षको हुनु भो नि ?”
“पैसठ्ठी लागेँ ।”
“माला लगाएर ल्याएकी परमधाम गएपछि अरु कुनै फेला पार्नुभएन ?”
“फेला त परेकी थिईं नाईं, प्राण दान दिने देवी ।”
“नाउँ के थियो कुन्नी ?”
“चमेली ।”
“ओहो, चमेली ! बरीको छोरो मरेर साह्रै दुःख पाएकी छिन् !”
“कप्तानको ज्वाईं ?”
“अँ त नि !”
“बरीको नासै भएछ । कहाँ बसेकी छिन कुन्नी ? एक पल्ट दर्शन गरेर आउनु परेको छ ।”
“सानो घर लिएर नक्सालमा बसेकी छिन् । अव त पीरै पीरले मर्ने न बाँच्ने भैसकेकी छिन् ।”
“उसो भए यहाँ पशुपति लाग्नोस् । म नक्साल लागेँ ।”
बुढा नक्साल पुगे । घर सुनसान थियो । झ्यालमुनि एउटा चिठ्ठी खसेको थियो । झ्यालमा एउटा थोत्रो धोती झुण्डी रहेको थियो । ढोकामा ताल्चा मरेको । छिंडीमा एउटी बाच्छी बाँ…. बाँ…. कराई उभ्भिइरहेकी थिई । चिठ्ठीमा ठेगाना लेखिएको थियो–
श्री क.प.भि.सी,
रणबहादुर मार्फत – दिपु !
बुढाले चिठ्ठी वल्टाई–पल्टाई तीन चार पल्ट हेर्यो । आँखा रसाएर आए । खल्तीमा त्यो चिठ्ठी हालेर धङधङाउँदै दुगुर्यो ।
क्रमश:
०००
चार थुम्का (२०७६)
Subscribe
Login
0 Comments
Oldest






































