कलानिधि दाहालके सुहाउँछ र यो ?
अनजान पुच्छर हल्लेका अनभिज्ञहरू कुसङ्गतका काला छाप पखालेर मानसरोवर उठ्नु पर्छ आफ्नै पाइताला टेकेर बुल्बुलसँग पौडिनु पर्छ आफ्नै चेतनप्वाँहरू खोलेर !!

कलानिधि दाहाल :
सुहाउँछ सानो चोरले
ठुलोलाई चोर भन्न
सानो ठगले
ठुलोलाई ठग भन्न
सानो छलीले
ठुलोलाई छली भन्न
सानो अपराधीले
ठुलोलाई अपराधी भन्न
सानो भ्रष्टले
ठुलोलाई भ्रष्टाचारी भन्न
यो त देश नै
भइसकेछ उल्टो
नेतादेखि
कार्यकर्तासम्म
सहायकदेखि
सचिवसम्म
साहित्यकारदेखि
प्राध्यपकसम्म
विदित संस्था नायकदेखि
अविदित संस्थादेखि
संस्थाकै दोहनमा बाँचेका
मस्तिष्क भिखारीहरू
आफैँ डरलाग्दा चोर भएर
गड्यौला टिप्नेलाई
चोर ठान्ने
आफैँ ठगको नायक भएर
ठगीको भाषा नै नहुनेलाई
ठग ठानेर
छलनायक
आफैँ हुँदाहुँदै
छलछामको भाषा नै
नबुझ्ने ठड्यौरोलाई
छली नामको सानमा
आफ्नो हुँदै नभएको
नाक ठाडो पार्न
प्रयासरत निर्लज्जहरू
धिक्का तिम्रा जन्लाई
बिचरो मातृकोखलाई
अनजान पितृबिजबाट
गर्भाधान भएका
दुईखुट्टे पशुहरू
जो मान्छेका आभूषणमा
निकम्मा चितुवा
डुक्रेको छ सडकमा
सास फेरे पनि
-ठगका गन्ध आउनेहरू
-छलका दुर्गन्ध धाउनेहरू
-भ्रष्टका भीख भातेहरू
-निरङ्कुश अंशका
-सत्ता खातेहरू
-संस्थाका कथित
-काला दाँतेहरू
यिनका लाममा
सञ्जालभित्र जाम लागेर
अनजान पुच्छर हल्लेका
अनभिज्ञहरू
कुसङ्गतका काला छाप पखालेर
मानसरोवर
उठ्नु पर्छ आफ्नै
पाइताला टेकेर
बुल्बुलसँग पौडिनु पर्छ
आफ्नै चेतनप्वाँहरू खोलेर !!
०००
कलेकुटी, काठमाडाैं








































उत्कृष्ट सिर्जना गुरुवर । अन्तिममा चेतनप्वाँखहरु हुनुपर्ने होकि जस्तो लाग्यो ।