प्रा. कपिल अज्ञातअधिकारीकाे ‘टेढो नजर’ प्रति छड्के दृष्टि
आधुनिक हास्यव्यङ्ग्यका अधिकांश कृतिहरू राजनैतिक विकृतिविसङ्गतिमा केन्द्रित हुन्छन् तर अधिकारीका हास्यव्यङ्ग्य बहुआयिक विषयमा निहित छन् । विषय र शैली दुवै दृष्टिले उनका हास्यव्यङ्ग्य परिपक्व रूपमा प्रस्तुत भएका छन् ।
प्रा. कपिल अज्ञात :
टेढो नजर (२०८३ वैशाख ३०, विश्व हाँसो दिवस) हास्यव्यङ्ग्य कृतिका स्रष्टा हुन् – ठाकुरप्रसाद अधिकारी । यसअघि उनको बेसारे घुर्की, २०७९ प्रकाशित भैसकेको छ । प्रथमतः रोएको बाटो (२०७३) कवितासङ्ग्रहबाट साहित्यमा प्रवेश गरेका अधिकारीको समयको आवाज (संस्मरण सङ्ग्रह, २०७६) पनि प्रकाशित भैसकेको छ । यस दृष्टिले कविता, संस्मरण र हास्यव्यङ्ग्य उनका रुचिका विधा देखिन्छन् । यो उनको फित्कौली अनलाइनमा प्रविष्ट भैसकेका २० वटा रचनाराशिको सङ्गृीत स्वरूप हो ।
वि.सं. २०१७ धनधान्यपूर्णिमामा जन्मिएका अधिकारी तिथिअनुसार प्रभाव छोड्ने चन्द्रमाकै प्रभावले धनधान्यले पूर्ण रहेछन् । उनका दुई सन्तान रहेछन् – छोरा र छोरी । “दुई सन्तान ईश्वरका वरदान” भन्छन् । छोरा अमेरिका र छोरी अस्ट्रेलिया रहेछन् । जसका छोरा अमेरिका छोरी अस्ट्रेलिया हुन्छन् तिनका भैंमा खुट्टा हुन्न भन्छन् । स्थिति त्यस्तै पनि रहेछ । छोराछोरी विदेश हुनाका कारण उनले विदेशको शयर गर्न पाए; यो सौभाग्यको कुरा हो । यति बेला उनको बढी समय विदेशमा र कम समय स्वदेशमा व्यतीत हुने अवस्था रहेछ । अधिकतर विदेशमै बसे पनि साहित्यमा लागेर आफ्नो प्रतिभा, सीपसामर्थ्य दर्शाउने सिर्जनशील व्यक्तित्व रहेछन् । हास्यव्यङ्ग्य क्षेत्रमा खुबै नाम चलेको फित्कौली अनलाइन पत्रिकासँग उनको गठबन्धन कस्सिएको रहेछ । उनले फुर्केर नै बेसारे घुर्कीजस्ता रचनाहरू रची फित्कौलीबाट निसाना साँधेका रहेछन् ।
“काव्यशास्त्र विनोदेन कालो गच्छति धीमताम्”को उक्ति चरितार्थ तुल्याइरहेछन् । कविता र संस्मरणमा अभ्यास गरिसकेपछि उनी फित्कौली हान्नतिर बढी लहसिएका देखिन्छन् । आत्मपरक शैलीमा सामाजिक जीवनका पात्रहरूका असङ्गत स्थितिको चित्रणमा उनी कुशल देखा पर्छन् । उनका हास्यव्यङ्ग्य सिर्जनामा हास्य र व्यङ्ग्यको अन्तर्घुलन भएको पाइन्छ भन्ने हास्यव्यङ्ग्य मर्मज्ञको कथन रहेको पाइन्छ ।

हास्यव्यङ्ग्य कृतिको शीर्षक राखिएको छ टेढो नजर । बीसवटा रचनाराशिभित्र पनि टेढो नजरको कुनै निबन्ध छैन । समस्त रचनाको प्रतिनिधित्व हुने गरी बेग्लै टेढो नजरको हास्यव्यङ्ग्य प्रयोजनका निम्ति सटीक र सार्थक शीर्षक हो भन्ने देखिन्छ । टेडो भनेको बाङ्गो र नजर भनेको दृष्टि हो । समाजका कतिपय कुरा सोझै नजरले हेर्दा देखिँदैनन् तिनलाई टेढो नजरले नै हेर्नुपर्ने हुन्छ । “सोझो औँलाले घिउ आउँदैन” भनेझैँ टेढो रहस्यमय कुरा बुझ्न टेढो नजर नै लगाउनुपर्छ । यस कृतिमा पनि अधिकारीले टेढो नजर हेरेर कतिपय गाँठी कुरा खोलेरै राखिदिएका छन् । यही अर्थ र आशयले टेढो नजर शीर्षक सार्थक रहेको छ ।
छपाइ र विषयअनुसारका चित्र प्रस्तुतिले कृति अब्बलस्वरूपमा प्रस्तुत भएको छ । कागजको गुणस्तर, विषय संयोजन र व्यवस्थापन पनि उत्कृष्ट र आकर्षक छ । कृति हात पर्नेबित्तिकै नव दुलहीझैँ सुम्सुम्याउने किसिमको मनोरम बनेको छ । बीसवटा आत्मपरक प्रस्तुतिबाट अधिकारीले पाठक हृदयमा निकै मीठो आनन्दानुभूतिको सञ्चार गरेका छन् । समग्र शीर्षकहरू हास्यव्यङ्ग्यका निम्ति नमुना शीर्षक बनेका छन् । शीर्षक विधाअनुरूप विषय सम्बद्ध हुनु पनि सिर्जनात्मक एक सफलता हो । चमती निवासी अधिकारीको गति पनि हास्यव्यङ्ग्यमयरूपमा महति हुँदै गए सबै हास्यव्यङ्ग्यानुरागीहरू मजाले रत्तिने थिए भन्ने लाग्छ ।
अधिकारीको हास्यव्यङ्ग्यात्मक कला अरूभन्दा पृथक् र मौलिक छ । उनी कतै अलि काव्यात्मकता, कतै अलि विश्लेषणात्मकता र कतै अलि व्याख्यात्मकताले कथ्यको पूर्णाहुति गर्छन् । अनुप्रासको तारतम्य मिलाउँछन् र प्रस्तुतिलाई रोचक पार्छन् । कतै कथनको वैचित्र्यले प्रतिपादित विषयलाई आकर्षक तुल्याउँछन् । विशृङ्खलित अनुभूतिहरूलाई समेट्दै प्रस्तुत गर्ने प्रवृत्तिले रचना केही अमूर्तजस्ता पनि प्रस्तुत लाग्दछन् । उनका अधिकांश रचना शीर्षककेन्द्री विषय सम्बद्ध पनि छन् । शीर्षक आफैँले पनि व्यङ्ग्यको मुस्लो छोड्छन् । फेसले दर्शाएको फुईँ होस् कि कालु बनेको ठालु होस्, खेलमा झेल होस् कि सपनाको मोडेल होस् शीर्षकले पनि व्यङ्ग्यका झटारा छोड्छन् ।
व्यङ्ग्य एक प्रकारको झटारो नै हो, जहाँ लाग्नेको पारो तात्छ आक्रोशको भुमरी छुट्छ । व्यङ्ग्यले लाग्नेलाई ऐया–आत्था पार्न सकेन भने झटारोको प्रयोजन नै के रह्यो र ! कतिपय झटारा त तीरझैँ तीक्ष्ण पनि बनेका हुन्छन् । ‘फित्कौलीका झटाराले देशमारा गल्दैन’जस्ता कथनसूत्रले मलमूत्र नै निस्कने गरी छेड हान्न बाँकी राखेका छैनन् । अचेल फित्कौली ब्राण्डेड बनिसकेको छ । कौवाजस्तो हौवामा होइन; यो यथार्थमै उठेको छ । यसबाट प्रकाशित कृतिहरू कसरमसरयुक्त हुनु हुँदैन । परिष्कृत र परिमार्जित भई तिख्खर र निख्खर हुनुपर्छ । संयोजन सुन्दर भएपछि सम्पादन पनि उत्कृष्ट हुनुपर्छ । यही मूल्य र मान्यताले फित्कौलीलाई नम्बर एक बनाउँछ । तर यसमा अर्थमा अनर्थ नलाग्ने किसिमका भाषिक अशुद्धिहरू भने धेरै छन् । अशुद्धि अर्थ सम्प्रेष्यमा बाधा नपुर्याउने सामान्य किसिमका भए पनि आइन्दा त्यो नदोहोरियोस् भन्ने पाठकीय समीक्षकहरूको कामना छ किनकि ती सहजै निवारण हुने विषय हुन् । फित्कौलीले लेखकका कृतिहरूको प्रकाशनमा सहजीकरण गर्छ । यो खुसीको विषय हो । यसैमा यसले स्तरीकरण पनि गरोस् । यो आम गुनासो पनि हो । यो भाषिक शुद्धिका निम्ति प्रत्यक्ष खट्न नसक्दा खट्किएको पक्ष हुनसक्छ । खटाइको इज्जत नगर्ने प्रवृत्तिले रहेको कसरमसर पनि हुन सक्छ । तर कृति निकाल्ने सूर कसिसकेपछि झूर व्यवहार नगरे परिणाम राम्रै हुन्थ्यो भन्ने लाग्छ ।
यो हास्यव्यङ्ग्यात्मक विशेषताले समृद्ध छ । यसमा हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व अर्यालको जस्तो सीपसामर्थ्य र प्रतिभा छ त्यसैको छनक पनि छ एवम् हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व पिँडालीको जस्तो दनक पनि छ । कसी लगाएर हेरे यो तथ्य स्पष्ट हुन्छ । तर्क गर्न, फुर्ती लगाउन, फुईँ लडाउन, गफ चुट्न, अर्डरका दरभाउदेखि जात्राको झङ्कारसम्मका सूत्रहरूलाई सुसूचित गराउन व्यङ्ग्यकार खली भैसकेका देखिन्छन् । लेखकको निजी चिन्तन र विचारले पनि कृतिमा निहित हास्यव्यङ्ग्यको स्वरूप मौलाएको अनुभव गर्न सकिन्छ ।
आधुनिक हास्यव्यङ्ग्यका अधिकांश कृतिहरू राजनैतिक विकृतिविसङ्गतिमा केन्द्रित हुन्छन् तर अधिकारीका हास्यव्यङ्ग्य बहुआयिक विषयमा निहित छन् । विषय र शैली दुवै दृष्टिले उनका हास्यव्यङ्ग्य परिपक्व रूपमा प्रस्तुत भएका छन् । उनले कथ्यभित्र सूक्तिको जडान पनि सटीक रूपले गरेका छन् । उनका कतिपय निबन्धबाट व्यावहारिक सन्देश पनि पाउन सकिन्छ । जे होस्, सतही हाँसो र बोक्रे व्यङ्ग्यभन्दा उनका निबन्ध निकै उच्चस्तरका अनुभव हुन्छन् । व्यङ्ग्य कसरी लेख्ने भन्ने सन्दर्भमा “उनको व्यङ्ग्य लेख्नुभो हजुर”ले पनि दर्शाएकै छ ।
बीसवटा निबन्धबाट उनले विष वमन होइन समाजमा व्याप्त बिब्ल्याँटा र बेढङ्गी प्रवृत्तिहरूको उछित्तो काढ्ने गरी गरिएका प्रस्तुतिहरूले हास्यव्यङ्ग्यका पाठकको चित्त शमन गरेका छन् । ठाकुरे हास्यव्यङ्ग्यका एक उच्च टाकुरे देखिएकोमा हार्दिक शुभेच्छा प्रदान गर्दै यसै विषयसँग सम्बद्ध तीन मुक्तकले कथ्यको बिट मार्दछु ।
टेढो नजरलाई नि छड्के नजरले पढियो
हास्यव्यङ्ग्य छ कस्तो भन्दै अगि बढियो
फित्कौलीले हानेपछि निसाना पक्कै लाग्छ
ठाकुरेका घतलाग्दा कुरा मनमा गढियो ।।
कसौँडीको मोहलाई पनि मनैमनमा गुनियो
झोलाको झोले गफ पनि गढेर नै सुनियो
फुर्ती, फुईँ, आतङ्क, तर्क पढिसक्दा हजुर
टेढो नजर नै लाग्यो हास्य व्यङ्ग्यको कुनियो ।
देश के गरी उँभो लाग्ला कसैले सोच्दैन
कहाँबाट के गरी बिग्रियो कसैले खोज्दैन
सोचखोजका बारेमा गमेरै ठाकुरे भन्छन्
देशको माटो भुलेर कसैले जिन्दगी पोस्दैन ।
०००
मैत्रीनगर, कीर्तिपुर– २, काठमाडौँ
मैत्रीनगर, कीर्तिपुर– २, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































