साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टेढो बोलीको रोचक कृति ‘टोलटोलमा राजा’

आत्मीय मित्रसँग गफ गरेको संवादात्मक भाषा र शैलीमा प्रस्तुत भएका यी निबन्धले व्यङ्ग्य परम्परामा आफ्नो बेग्लै पहिचान, अर्थ र महत्त्व राख्छन्।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

‘टोलटोलमा राजा’ (२०७८) डिल्लीराज अर्यालको व्यङ्ग्य रचनासङ्ग्रह हो। एक दर्जनभन्दा बढी कृतिका प्रणेता अर्याल पद्य र गद्य दुवै धाराका शिल्पी हुन्। गद्यमा यो उनको पाँचौँ कृति हो। सिर्जनाका साथै उनी सम्पादनको पनि सीप र क्षमता राख्छन्। ‘डाँडाकाँडा हेर्ने रहर’ (२०७६) उनकै सम्पादनमा प्रकाशित भएको कृति हो।

साहित्यका धेरै बाटा र पाटा छन्। हर मानिसले आफ्नो स्वभाव र प्रवृत्ति अनुसारको बाटो अपनाएका हुन्छन्। जुन बाटो हिँड्दा आफू गन्तव्यमा पुगिन्छ, त्यही बाटो हिँड्नु स्वाभाविक पनि हो। व्यङ्ग्यको बाटो धेरैलाई रमाइलो लाग्ने बाटो हो। यहाँ अर्यालले पनि व्यङ्ग्यको बाटो लागेर आफ्ना भावना, विचार, चिन्तन र दृष्टिकोणलाई आफ्नै शक्ति, सीप र सामर्थ्यअनुसार बुन्ने र तुन्ने काम गरेका छन्। उनी व्यङ्ग्यलाई टेढो बोली पनि भन्दछन्। उनको टेढो बोलीमा के कस्ता चाखलाग्दा, रमाइला र ज्ञानबर्द्धक कुरा गरिएका छन्, त्यो जिज्ञासाको विषय रहेको छ।

अर्याल सरल, सौम्य, सहृदयी र सहयोगी प्रकृतिका छन्। सामाजिक सञ्जालमा उनीसँग जोडिएसँगै उनको सद्भाव, सदाशय र हार्दिकता मैले अनुभव गरेको छु। उनको हात दिने चरित्रले मलाई उनीप्रति सद्भाव र श्रद्धा जागेर आउँछ। सामयिक समाजमा विकृति-विसङ्गति बढ्दै गएका छन्। सामान्य बेथिति जुनसुकै समाजमा जहिलेसुकै पनि हुन सक्छन्, तर अहिलेको यो समाजमा बढी नै भएको महसुस भएको छ। स्रष्टाहरू यसै परिस्थितिबाट पीडित र आक्रोशित भई व्यङ्ग्यको बाटो अर्थात् टेढो बोलीको व्यवहार गर्न विवश भएका छन्। यहाँ स्रष्टा अर्यालले पनि टेढो बोलीको प्रयोग गरेर आफ्नो कृतिको नामकरण नै ‘टोलटोलमा राजा’ राखेका छन्।

हाम्रो सामाजिक संरचनामा यसअघि एउटै मात्र राजा थिए । त्यो सेतो हात्ती हो, अबको युगमा पाल्न सकिँदैन भनेर राजसंस्था नै भत्काउने काम गरियो। एउटा राजा त हटाइयो तर परिणाममा हजारौँ राजा भए। यहाँसम्म कि टोलटोलमै रजाइँको धम्कीप्रथा फैलियो। यो दलीय व्यवस्थाले निम्त्याएको विकृति थियो। यसैप्रति लक्षित गर्दै व्यङ्ग्यकार अर्यालले आफ्नो कृतिको नामकरण ‘टोलटोलमा राजा’ गरेका हुन्।

यस कृतिमा जम्मा १६ ब्यङ्ग्य निबन्धहरू सङ्गृहीत छन्। ‘टोलटोलमा राजा’ शीर्षकको कुनै पनि व्यङ्ग्य निबन्ध यस कृतिभित्र छैन। तर ‘यही हो मेरो आइडिया’ निबन्धमा टोलटोलमा राजा भएको प्रसङ्ग भने छ। यसलाई यही शीर्षक राखिएको भए पनि युक्तिसङ्गत नै हुन्थ्यो तर ‘यही हो मेरो आइडिया’ शीर्षक दिइएको छ। जे होस्, सबै निबन्धमा यस्तो प्रवृत्तिको चित्रण भएकाले प्रतिनिधित्व स्वरूप यस किसिमको शीर्षक व्यङ्ग्य रचनाका निम्ति सटीक र सार्थक शीर्षक हो भन्ने अनुभव हुन्छ।

वास्तवमा यो कृति व्यङ्ग्यकारले भावी पुस्तालाई दिएको महत्त्वपूर्ण नासो हो। “कसले सुन्छ र सुनाउनु यस्ता कुरा” भनेर स्रष्टाले आत्मकथ्यमै गुनासो पनि गरेका छन्, तर पढ्दै जाँदा यसमा सुनाउनै पर्ने कुरा समावेश रहेछन् भन्ने महसुस हुन्छ। कृतिमा वर्णित व्यहोराभित्र अर्ती-उपदेश जस्ता कुराहरू मिसिएका छन्, तर, ती साहित्यिक लेपनले सिँगारिएका, महत्त्वपूर्ण र चित्ताकर्षक छन्। जात्रा हेरेर पनि आफ्नो चरित्र नसुधार्ने प्रवृत्तिप्रति टेढो बोलीले आफ्नो लेखकीय धर्म पूरै निर्वाह गरेको छ। उनका दृष्टिमा नकारात्मक दृष्टि राखे नकारात्मक प्रवृत्तिको हुँदै गइन्छ, सकारात्मक दृष्टि राखे सकारात्मक प्रवृत्तिको हुँदै गइन्छ।

त्यसैले जीवन-जगत्लाई सकारात्मक दृष्टि राखेर हेर्नुपर्छ। क्रान्ति गर्न बुता र चाहना दुवै आवश्यक पर्छ। क्रान्तिलाई निरन्तरता दिनुपर्छ। यहाँ त जनता छन्। तर विभिन्न रूपमा विभाजित छन्। जहाँ घर, गाउँ र देश विभाजित हुन्छ त्यहाँ नीति र सिद्धान्त पनि विभाजित हुन्छन्। यस्तो विभाजित स्थितिमा देश कसरी उँभो लाग्छ? यहाँ नयाँ भनेर पुरानै कुरा टाल्ने परम्परालाई कायम राखिएको छ। शब्द मात्र फेरेर नयाँ हुँदैन। नयाँको रूप र स्वर पनि फेरिनुपर्छ।

पर्खनु हाम्रो धर्म र परम्परा नै हो र हामीले धेरै पर्ख्यौँ, तर परिणाममा राम्रो कुनै कुरा हात लागेन। यहाँ संविधानको व्याख्या पनि अनौठो किसिमले हुन्छ। सत्ता परिवर्तन पनि जात्रा जस्तै भएको छ। स्वार्थीहरू मौका पाएको बेला छोड्नु मूर्खता ठान्छन्। अर्यालले नातावाद-कृपावाद चलिरहेको स्थितिमा ज्वाइँ-सम्धीको पनि पालो आउँछ भन्दै नेपाली समाजमा आर्थिक, सांस्कृतिक, राजनीतिक आदि विविध क्षेत्रमा देखिएका विकृति-विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेका छन्।

यस कृतिमा सामान्य कथनमा पनि लक्ष्यभेदन गर्ने सामर्थ्य देखिन्छ र रचनामा पनि काव्यात्मक लालित्य पाउन सकिन्छ। भूमिकाकारको सारपूर्ण दृष्टिले उनलाई प्रवृत्ति प्रहारकका रूपमा उभ्याएको छ, जुन यस कृतिमा पाइने प्रमुख विशेषता हो। उनका व्यङ्ग्यमा पनि कोमलता र मार्मिकता छ। टेढो बोली बोले पनि कृतिकारले त्यसलाई रीत पुर्याएर प्रस्तुत गरेका छन्। टेढो बोलीमा प्रायः कर्कश र तिक्तता पाइन्छ, तर उनमा कोमलता छ। उनी सरल कथनबाट गूढ रहस्य खोल्छन्। व्यङ्ग्य मनोरञ्जनका निम्ति मात्र नभएर त्यो चरित्र सुधारक होस् र सामाजिक परिवर्तन गरोस् भन्ने अन्तर्निहित उद्देश्यले रचिएका यी व्यङ्ग्य रचना सुन्दर, सम्मोहक र अर्थपूर्ण छन्। कतै आख्यानात्मक प्रसङ्गलाई समावेश गरी टेढो बोलीलाई सार्थक तुल्याएका छन्।

यसरी व्यङ्ग्यकारले सामान्य कुराबाट समयको चित्र खिच्दै, उखानहरूको सान्दर्भिक प्रयोग गर्दै, प्रसङ्ग अनुसार सूक्ति अघि सारेर सभ्य, शिष्ट र सुसंस्कृत, सदाचारी र सत्चरित्रवान् व्यक्ति र समाजको चाहना प्रतिबिम्बित गरेका छन्। आफ्नो चिन्तन, विचार र दृष्टिकोण मिसाएर अनेक प्रसङ्ग समावेश गरी निबन्धात्मक रूपमा प्रस्तुत भएका अर्यालका रचना अरूभन्दा भिन्न र कलात्मक छन्। आत्मीय मित्रसँग गफ गरेको संवादात्मक भाषा र शैलीमा प्रस्तुत भएका यी निबन्धले व्यङ्ग्य परम्परामा आफ्नो बेग्लै पहिचान, अर्थ र महत्त्व राख्छन्।

अन्त्यमा,
यहाँ विधि, पद्धति र नीतिका कुरा छन्,
बेरीति, विसङ्गति र बेथितिका कुरा छन्
यथार्थ रहस्यको मूल मर्म बोलेर,
समाजभित्र घटेका फजितिका कुरा छन्।

०००
कीर्तिपुर-२, मैत्रीनगर, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दवाई सुन्दरी, जुत्ता र ज्योतिषी

दवाई सुन्दरी, जुत्ता र...

डा. नवराज खतिवडा
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
नसाटिएको झोला

नसाटिएको झोला

चिरञ्जीवी दाहाल
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x