श्यामबहादुर लामाकालेकाले मिलेर खाऊँ भाले
सोह हजार चानचुन पटरानीहरूको यौन कामना पूरा गर्दा नपुगेर अन्यत्र तानतुन गर्ने कृष्ण पनि काले नै हुन् ।

लाउकेलाउके मिलेर टाउको खान पल्केका टाउकेटाउकेहरू एक भएर कालेकाले मिलेर खाऊँ भाले भन्दैछन् । भाले त सबै प्राणीका हुन्छन् । कुनचाहिं भालेको टाउको खाने हुन थाहा छैन । जहाँ पनि खानेकै हालीमुहाली चलिरहेको छ । एकल पोथीको कन्तबिजोग पारेर भालेको टाउको खानी अपराधी शीर्षक मलाई चाहिँ मन परेन । हेर्दा लामो जस्तो पनि लाग्यो । दुच्छर बाँदरको पुच्छरजस्तो धेरै लामो पनि सुहाउँदो रहेनछ । देखनाको डाल खानको काल, जम्बो मन्त्रीमण्डल जस्तै हुन्छ । शीर्षक देख्दा आफैलाई चित्त बुझेन, अरूलाई के बुझ्ला । फेरि एकपटक दोहोर्याएर पढ़ें- कालेकाले मिलेर खाऊँ भाले ।
सरसर्ती हेर्दा धेरै लामो त हैन । तैपनि मनले खाएन । शीर्षक भनेको टाउको हो । टाउकाको बान्की मिल्नु जरुरी हुन्छ । बान्की मिलेन भने खान्की नमिलेको खञ्चुवाजस्तै देखिन्छ खिसीट्युरी सुन्नु नपरोस् भन्नाको खातिर पनि सबभन्दा पहिला शीर्षक सुधार गर्ने अभियानतिर लागें । आफूले भनेजस्तो किन हुन्थ्यो । अगाडि मुठाय पछाडि मिल्दैन, पछाडि मुठार्यो अगाडि मिल्दैन । शीर्षकले नै समय खाइदियो ।
काम गर्नुभन्दा पहिला हल्ला गर्नुपर्ने, हल्ला मच्चिसकेपछि सल्ला गर्नु पर्ने परिपाटी विरुद्ध कसैसित पनि गुरु नथापी खुरुखुरु सुरु गरिहाले मुखले भनेजस्तो काम गर्न किन सजिलो हुन्थ्यो । निल्नु न ओकल्नु पो भयो । हेर्दै रहरलाग्दो चञ्चली नानीको लालुपाते ओठमा झिल्के दाइको सिरुपाते जुँगाले स्पर्श गर्दा अनुभव हुने अनुपम शोभा यो शीर्षकले दिए क्या मज्जा हुन्थ्यो । के गर्नु छाँट पार्दापादै दाँत फुक्लेकी बुढीजस्तो भइदिन्छ र पो उठेको जाँगर पनि मरेर आउँछ ।
कालेकाले मिलेर खाऊँ भाले भन्नुको साटो काले मात्रै भनेर शीर्षक छोट्याए पनि नहुनी होइन । शत्रुलाई मित्रु भन्नुपर्दा त चित्त बुझाउनु परेको छ । काले मात्र भन्दैमा बिग्रिहाल्ने थिएन । हन्तिकाले हो कि खन्तिकाले हो पछि स्पष्ट भैहाल्थ्यो । छोटो गीर्षक हुँदैमा केही फरक पर्दैन । आशय स्पष्ट भए त पुगिहाल्यो नि । छोटाले काम दिन्छ भने, लामो पुच्छर किन गाँसिरहनु ? मैले यसतर्फ पनि नसोचेको हैन । सोच्दासोच्दै मन पनि भाँडियो बिचार पनि बाँडियो । शीर्षकबाटै सारतत्त्वको पत्तो लाग्छ भने उही शीर्षकमा किन कन्जुस्याइँ गर्नु । काले मात्र भन्दा वास्तविकता नसमेटिने हो कि शीर्षक भन्ने कुरा यस्तो होस् कि झलक्क हेर्नासाथ मोटामोटी भाव झल्कियोस् तब त्यो शीर्षकलाई सार्थक मान्न सकिन्छ ।
‘काले’ शीर्षकले सम्पूणर् कालेको प्रतिनिधित्व गर्दैन र गर्न पनि सक्दैन । संसारमा काले जति सबै एकैखाले छैनन् । यसबाट त मधुरो दृश्यको अधुरो छाया मात्र दृष्टिगोचर हुन्छ । स्पष्ट देखिदैन । तनको काले पनि काले नै हो मनको काले पनि काले नै हो । कसैको बाहिरी आवरण कालो भए पनि भित्री आत्मामा विराटस्वरूप परमात्माको बास हुनाले दूधजस्तै सेतो, घामजस्तै उज्यालो सांसारिक मोहबन्धनबाट निवृत्त समदर्शीलाई कसरी काले भन्नु ? कालो छाला भए पनि कण्ठमाला समान हुन्छ । कसैको चाहिँ बाहिरी छाला सेतो भए पनि भित्री आत्मा अँगारजस्तै कालो हुन्छ । सेतो छाला त कालो गोलको खोल मात्रै हो । जहाँबाट हर्दम निःसृत कालो धूवाँले विश्वलाई नै आतङ्क्ति पार्दछ । इराक अफगानिस्तान र अन्य अफ्रिकी मुलुकहरू यसका ज्वलन्त उदाहरण हुन् ।
जो चोर उसैको ठूलो स्वर मुखले रामराम बगलीमा छुरा भने आतङ्ककारीले आतङ्क निर्मूल पार्ने निहुँमा कमजोर राष्ट्रको अखण्डतामा बम प्रहार गर्दै शान्तिको स्वाङ रचेर मानव अधिकारको ढ्वाङ फुक्दै शत्रुताको भन् ठूलो भ्वाङ पार्न उद्धत छ । त्यस्ताको बाहिरी छाला सेतो भए पनि नियत कालो हुने भएकोले कालेकै थान्कोमा लगेर थन्क्याउन परिहाल्यो । सगोलमा राखेर हेर्दा कसलाई काले भन्नु कसलाई गोरे भन्नु, भद्रगोल हुन्छ । शत्रुले गृहकलह मच्चाएर फाइदा नलेला भन्न सकिन्न कोही कालो भए पनि उसको महानवाने सेतो हुन्छ । कोही सेतो भए पनि तुच्छ नियतका कारण कालो हुन्छ । रूपरङ्गबाट काले र गोरे छुट्याउन सकिन्न । सेतो भनेर श्रद्धा गर्यो गोलजस्तै कालो भएर आफैलाई मैल्याउँछ । कालो भनेर घृणा गर्यो मानवताको दिव्यज्योति फैल्याउँछ । कालेहरूको बीच आपसमा समानता छैन । थरीथरीका थातथलोमा थरीथरीका कालेहरू छन् । त्यसैले काले शीर्षक पनि उचित लागेन । गोजीमा छामेर नभेटिने शीर्षकको खोजीमा म आफै हराएँ ।
वणर्को आधारमा कालेजति सबैलाई एउटै कोटीमा समावेश गर्न पटक्कै मिल्दैन । यसो गर्दा सीमित कालेहरूको मात्र प्रतिनिधित्व हुन्छ । अधिकांश भाले नखानी कालेहरू ओझेलमा पर्छन् । कालेजति सबैले भाले खान्छन् भन्ने छैन । भाले खानुको साटो भालेको लागि नुवार पोथीको व्यवस्था मिलाएर वंशवृद्धिको पवित्र कार्यमा सहयोग पुर्याउने कालेहरू पनि छन् ।
सिङ्गो अफ्रिकी महादेश कालेहरूकै महादेशले चिनिन्छ । यसमा कुनै विवाद छैन । हिलोमा कमल फुलेजस्तै गोरामनका कालाहरू पनि छन् । शत्रुको सामु कहिल्यै नझुक्ने स्वाभिमानी कालेहरूमा मध्येअफ्रिकी मुलुक युगाण्डाका राष्ट्रवादी नेता दादा इदिअमिनलाई लिन सकिन्छ । उनी राष्ट्रवादी मात्र थिएनन् अपितु युगाण्डावासीका आदरणीय राष्ट्रपति पनि थिए । समग्रमा भन्नुपर्दा उनी काले थिए । विदेशी शक्तिको जुठोपुरो खाएर जन्मभूमि आमाको छातीमा छुरा धस्ने मिल्टन ओबोटे पनि काले नै थिए । काले भनेर यी दुवैलाई एउटै श्रेणीमा राख्न मिल्दैन । राष्ट्रियताको कसीमा घोटेर हेर्ने हो भने पहिलो काले आफ्नै देशको स्वाभिमानी काले थिए भने दोस्रो चाहि गोरे मालिकको बफादार पाले थिए । कालेकाले बीचमै यति फराकिलो अन्तर देखिएको हुनाले सम्पूणर् काले वर्गलाई एकै सूत्रमा उनेर राख्नु भनेको सज्जनको समेत अपमान हुन्छ । यस कारण पनि शीर्षक नमिलाई सुख छैन ।
एकताको सवालमा हेर्दा अफ्रिकी देशका कालेहरूलाई मात्र दोष दिनु अन्याय हुन्छ । जुनसुकै देशका काले पनि समान छैनन् । अफ्रिकी देशका कालेहरूबीचको दूरी र दक्षिण एशियाली मुलुकका कालेहरूबीचको दूरीमा पनि कम भिन्नता छैन । कालेहरूको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भने कालेमध्येका अग्रणी मर्यादा पुरुष रामलाई लिन सकिन्छ । उनलाई कसैले पनि गोरे भन्दैनन् । कालेको आक्षेप लाग्यो भनेर चित्त दुखाउने ठाउँ छैन । उनी काले नै हुन् । भेडाभेडासँग बाखाबाखासँग भनेजस्तै उनको हुलियालाई पनि कालेकै हुलमा हुलिदिए अपमान हुँदैन किनभने जानेबुझेका कसैले पनि उनलाई गोरे भन्दैनन् ।
कृष्णकाले त झन् यसैकाले उसैकाले काले भन्दा कसैले चित्त दुखाउँदैनन् । दुवै काले भए पनि स्वभाव चाहिँ झालेमाले नै देखिन्छ । एकार्का खिलाप नभए पनि आपसमा मिलाप हुने खालको विशेषता छैन । उदाहरणार्थ एउटा रहस्य खोलिहालूँ- कौशल्या नन्दनलाई प्रेमबन्धनले हुँदै नछुनी, कृष्णकालेलाई चाहिँ फार्नीफेर्नी नभई नहुनी । अचम्मैको भिन्नता छ । उनको फेला परेपछि उम्कन मुस्किल पर्छ । हस्तिनी होस् कि चित्रिनी, वहालवाला होस् कि भित्रिनी, कसैलाई पनि बाँकी राख्दैनन् । मजबुत प्रेमबन्धनले बाँधिदिन्छन् । यी दुई महापुरुषबीच यति फराकिलो अन्तर पर्नुमा त्योभन्दा पनि फराकिलो कारण छ ।
राम त्रेतायुगका काले हुन् भने कृष्ण चाहिँ द्वापर युगका भाले हुन् । कृष्ण द्वापर युगमा उदाउनासाथ गोपिनीहरूलाई कुदाउन थाले भने रामचाहि पिताजीको आज्ञा पालनार्थ व्यस्त भए । कहाँ त्रेता कहाँ द्वापर एउटै भौगोलिक धरातल भए पनि युगको अन्तरले गर्दा आपसमा मेल खान सकेन । वृन्दावनमा मुरली बजाएर सुन्दरी गोपिनीहरूले पालिराखेको जुरेली उडाउँदै हिंड्ने काले र पञ्चवटीवनमा अवला पत्नीलाई एक्लै छाडेर नक्कली स्वणर्मृगको पछिपछि दगुरी हिँड्ने काले बीच किन तालमेल मिल्थ्यो । एउटै वणर्को देउतै भए पनि युगको अन्तरले गर्दा समानताको जन्तर भिराउन मिल्दो रहेनछ । त्यस्तो भिन्नता नभएको भए त वानरहरूले सात समुद्र पारि लङ्का तटवर्ती घनाजङ्गलबाट बढो कष्टपूर्वक खोजतलास गरी ल्याएको स्वास्नीलाई धोबीको कुरा सुनेर पुनः जङ्गलमै छाड्न किन पठाउँथे । ज्वानो खाएका बोका भन्नु कि अल्छीका पोका भन्नु एक्लै ढिकी लडेजस्तो लडने राम पनि कालै हुन् । सोह हजार चानचुन पटरानीहरूको यौन कामना पूरा गर्दा नपुगेर अन्यत्र तानतुन गर्ने कृष्ण पनि काले नै हुन् ।
पौराणिक कालदेखि नै पुजनीय कालेहरूमा यति फराकिलो अन्तर छ भने अफ्रिकी देशका कालेहरू बीच भिन्नता भयो भनेर के चित्त दुखाउनु । साम्राज्यवादी शक्तिले कसैलाई पनि मिलेर बाँच्न दिँदैन । रक्तपिपासु गोरेदाइको स्वार्थसिद्धिका लागि आपसमा निरन्तर लडिरहन्छन् ।
संसारका कालेहरूको दयनीय अवस्था देख्दा मानवीय भावनाले अभिप्रेरित महामानवहरूको कोमल हृदयमा गहिरो चोट पर्दो हो । रातो रगत पिउने बानी लागेको गोरेको इच्छा कहिल्यै तृप्ति हुँदैन । कठैबरा काले । उसको छाला कालो भयो त के भो रगत रातो नै छ । कालेहरूप्रति सहानुभूतिको भेल उर्लियो । कतिन्जेल उर्लिने हो थाहा छैन । छिमेकीले सिमानामा अर्को बाँध नबाँधुन्जेल त हो नि । त्यसपछि यो लाचारी सहानुभूतिको कुनै अर्थ छैन ।
भर्खरै फुलबाट निस्किएको निरीह चल्लाहरूको संरक्षण गर्ने सर्तमा कालेकाले मिलेर खाऊँ भाले भन्छन् भने भन्न दिऊँ, खाऊन् । सरकारी ढुकुटी रित्याएर खाऊँ भनेको छैन । पहिला नै रित्याइसके । भाले नै खाऊँ भनेका त हुन् नि । बर्डफ्लु सङ्क्रमित भाले ख्वाउन पाए झन् बेश हुन्थ्यो । देशै खाने बापतिले भाले खाऊँ भन्छन् भने केको आपत्ति । गोरेको आतङ्कबाट भयभीत हुनुभन्दा कालेकाले मिल्नु नै उत्तम हुन्छ । प्रजातन्त्रको फलखानी दलहरू नमिले पनि शीर्षक मिलाइदिउँ- कालेकाले मिलेर खाऊ भाले ।
‘रत्यौलीको ठट्यौली’ २०७२
Subscribe
Login
0 Comments
Oldest






































