साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवतारको प्रतीक्षामा

केहीलाई लाग्यो, नायक भनिएकाहरू खलनायक ठहरिएपछि खलनायक भनिएकाहरूमा नायक भेटिन सक्छ । उनीहरू जुलूस निकालेर नारा लगाउन थाले, ‘नायक आऊ, देश बचाऊ ।’ तर यो आजको कथा होइन !

Nepal Telecom ad

शरच्चन्द्र वस्ती :

यो त्यस्तो समयको कथा हो, जुन वेला सिंगो देश अवतारको प्रतीक्षामा थियो । खोजेको त नायक थियो, तर त्यो कहीं उपलब्ध थिएन । न मानिसहरूमा नायक बन्ने ह्याउ थियो, न त नायक उत्पादन गर्न सक्ने आत्मविश्वास । त्यसैले उनीहरू अवतारको प्रतीक्षा गरिरहेका थिए— पृथ्वीबाट नभए आकाश–पाताल कतैबाट दिव्य नायक प्रकट हुने असीम आस समेटेर ।

अलिक अघिसम्म देशमा धेरै नेता थिए, जसलाई मानिसले आआफ्नो सुविधा अनुसार नायक मान्दै आएका थिए । अलग–अलग झुन्डका अलग–अलग नायक, जसको भजन गरेर उनीहरू थाक्तैनथे । तर, केही समय यता तिनको अनुहारबाट छाला उप्कन थालेको थियो । कसैलाई नलागेको यस्तो रोग नेताहरूलाई मात्र लागेको देखेर पहिले त तिनका अनुयायी निकै चिन्तित भए, परन्तु पछि थाहा भयो— त्यो छाला नभएर छाला–रंगको मखुन्डो रहेछ, अनुहारमा टाँसिएको । मखुन्डो आखिर मखुन्डै हो, जति बाक्लो गुँद लगाएर टाँसे पनि एक दिन उप्कनु नै थियो, उप्कियो ।
त्यसपछि मानिस झल्याँस्स भए । जजसलाई तिनले नायक मानेका थिए, ती त नायक नभएर खलनायक पो रहेछन् ! आफू नायकविहीन भएको महसूस गरेर उनीहरू हताश, निराश भए र त्यही रनाहामा नयाँ नायक खोज्न थाले । आआफ्नै झुन्डमा, आआफ्नै तरीकाले ।

केहीलाई लाग्यो, नायक भनिएकाहरू खलनायक ठहरिएपछि खलनायक भनिएकाहरूमा नायक भेटिन सक्छ । उनीहरू जुलूस निकालेर नारा लगाउन थाले, ‘नायक आऊ, देश बचाऊ ।’ जताततै तिनको जुलूस निस्कन थाल्यो ।
जुलूस देखेर जुजुमान छक्क पर्यो । त्यसमा सोझा, सरल गृहिणीदेखि धूर्त व्यापारीसम्म, भगौडा प्रहरीदेखि जेल काटेका तस्करसम्म अनि सत्तारूढदेखि विपक्षी दलका कार्यकर्तासम्म अटाएका थिए । आफ्ना साथी सँगाती सहित त्यो वडा अध्यक्ष पनि जुलूसमा थियो, जसले एक वर्ष अघि जुजुमानको नाम फेरिदिन खोजेको थियो । घरको कर तिर्न वडा कार्यालय पुग्दा उसले भनेको थियो, ‘जुजु भनेको राजा । हामीले राजा हटाइसक्यौं । अब यस्तो नाम चल्दैन । आजदेखि तपाईंको नाम जुजुमानको सट्टा लोकमान । के बुझ्नुभो ?’ त्यस दिन ऊ केही नबोली, कर नै नतिरी घर फर्केको थियो ।

नारा लगाइरहेको वडा अध्यक्षलाई जुजुमानले सोध्यो, ‘कसलाई नायक भनेको भाइ ? हिजो खलनायक भनेर आफैंले लेखेटेकोलाई ?’
ऊ एक छिन अलमलियो । अनि दायाँबायाँ हेरेर सतर्क हुँदै भन्यो, ‘त्यो त हुँदैन दाइ । अलिक राम्रो चाहिन्छ ।’

‘कहाँ छ त तिम्रो त्यो नायक ? कताबाट आउँछ ?’
‘त्यो त थाहा छैन । तर चाहियो । कतैबाट आइहाल्ला नि !’ उसले भन्यो र दाहिने मुठ्ठी हावामा लहराउँदै अघि बढयो, ‘नायक आऊ, देश बचाऊ ।’

त्यही वेला वनकालीमा जोगी, संन्यासी, पुजारी, ज्योतिषी, बाबा र पुरोहितहरूको धर्म सम्मेलन चलिरहेको थियो । सबैको एउटै निष्कर्ष थियो, ‘धर्म भएन भने देश रहँदैन । धर्म बचाउन यो देशमा धार्मिक नायक चाहिन्छ ।’ जुजुमान त्यहाँ पुग्दा उनीहरू दुवै हात उठाएर नारा लगाइरहेका थिए, ‘नायक आऊ, धर्म बचाऊ ।’
‘कताबाट आउँछ त्यस्तो नायक ?’ सेतो दारी पालेको, भव्य आकृतिवाला एउटा बाबालाई उसले प्रश्न गर्यो । ‘त्यो त थाहा छैन । तर आउँछ,’ बाबाले भन्यो, ‘भगवानले अवश्य पठाउनुहुन्छ । केही दिन प्रतीक्षा गर्नोस् ।’

राजनीतिक पार्टीहरू आफ्नै नेताबाट पीडित थिए । नेताहरू नै तिनका बोझ थिए, समस्या र कलंक पनि । हरेक पार्टी मखुन्डे नेताबाट मुक्ति चाहन्थ्यो ।
प्रतिपक्ष निद्राप्रेमी थियो । नेतागण दीर्घनिद्रामा हुन्थे । कहिलेकाहीं निद्रा टुटेका बखत ओछयानबाट टाउको उठाएर एकअर्कालाई नालायक भन्थे र पुन: सिरकले मुख छोपेर घुर्न थाल्थे । तिनलाई जागा अवस्थामा फेला पार्न दुर्लभ थियो । तिनका वरिपरि धूपधुवाँर गर्नेहरू, जो आफूलाई युवा पुस्ता भन्थे, तिनको निद्रामा खलल नपर्ने गरी कानेखुसी गरिरहेका हुन्थे, ‘यिनीहरूबाट पार्टी चल्दैन । अब सान्दाइ जस्तो नयाँ नेता आउँछ र पार्टीलाई एक नम्बरमा पुर्याउँछ ।’
‘कहाँबाट आउँछ त्यस्तो नेता ?’ जुजुमानले एउटासँग जिज्ञासा प्रकट गर्यो ।
‘त्यो त थाहा छैन । तर आउँछ,’ उसले भन्यो, ‘समयले अवश्य ल्याउँछ । हामी जति समय पनि प्रतीक्षा गर्न तयार छौं ।’ र, हाई गर्दै निदायो ।

सत्तापक्ष भने सधैं जागा देखिन्थ्यो । नेतागण रातदिन नभनी एकअर्काको छाला तर्ने अभियानमा व्यस्त थिए— बाझेर, भाषण गरेर, आआफ्ना भाट–चारण प्रयोग गरेर, अनि निबन्ध लेखेर । आफ्नो मखुन्डो उत्रिसकेको तिनले चाल पाएका थिएनन् । कार्यकर्ताले भने उनीहरू जाली, ठग, भ्रष्टाचारी, धोखेबाज, अनैतिक, पदलोलुप, राष्ट्रघाती र अतुलनीय खलनायक हुन् भन्ने जानकारी उनीहरूबाटै प्राप्त गरिसकेका थिए । तिनका वरिपरि धूपधुवाँर गर्नेहरू पनि, जो आफूलाई युवा पुस्ता भन्थे र एकअर्कालाई सत्तोसराप गर्न सधैं तम्तयार रहन्थे, एउटा कुरामा एकमत थिए, ‘यिनीहरूबाट पार्टी चल्न सक्तैन । अब नयाँ नेता आउँछ र पार्टीलाई एक ढिक्का बनाएर हाँक्छ ।’

‘को हो त त्यो ? कहिले आउँछ ? कताबाट आउँछ ?’ जुजुमानले आफ्नो जिज्ञासा तिनका सामु पनि बिसायो ।
‘त्यो त थाहा छैन । तर अवश्य आउँछ । नआई सुखै छैन,’ एउटाले भन्यो, ‘तपाईं प्रतीक्षा गर्नोस् । हामी पनि प्रतीक्षा गरिरहेका छौं ।’

यसैबीच राजधानीमा केही नयाँ मानिस सलबलाउन थाले । ती दुई समूहमा थिए । एउटा समूह दश जनाको थियो । उनीहरू भारतीय तीर्थयात्री जस्ता लाग्थे— पाक्कपुक्क परेका, कुर्ता–पाइजामा अथवा सर्ट–पाइन्टमाथि इस्टकोट लगाउने । अर्को समूहमा आठ जना थिए, जो चिनियाँ पर्यटक जस्ता लाग्थे । छरितो जीउडालका, सर्ट–पाइन्टमाथि पातलो कोट लगाउने । दुवै समूह बेग्लाबेग्लै होटलमा बसेका थिए र बेग्लाबेग्लै हिंड्थे । एउटा समूह बिहान मठ–मन्दिरतिर लाग्थ्यो, अर्को समूह विहार र गुम्बातिर । दुवैथरी दिउसो शहरका रेस्टुराँ र चियापसलहरूमा मानिससँग गफिइरहेका हुन्थे ।

जुजुमान जहाँ पनि पुग्थ्यो । ‘तपाईंहरू किन नेपाल आउनुभएको ?’ दुवै समूहका मानिसलाई बेग्लाबेग्लै भेटेर उसले एउटै प्रश्न सोधेको थियो । इस्टकोटवालाले भनेको थियो, ‘कलियुग सकिन लागेको छ । भगवानको कल्कि अवतारको जन्म नेपालमा भइसकेको छ । हाम्रा टोली नेतालाई उहाँले सपनामा दर्शन दिइसक्नुभएको छ । हामी भगवानको प्रत्यक्ष दर्शन गरेर आशीर्वाद लिन आएका ।’ कोटवालाको भनाइ थियो, ‘हामी नयाँ रिम्पोछे खोज्न आएका । उहाँले दुई वर्ष अघि नेपालमा जन्म लिइसक्नुभएको छ ।’

साक्षात् भगवानको दर्शन पाइने कुराले जुजुमान पुलकित भयो र इस्टकोटवालाहरू भगवान खोज्न कहाँ जाँदा रहेछन् भनेर तिनको चियो गर्न थाल्यो । तर एक महीनासम्म पनि उनीहरू कतै गएनन्, बिहानदेखि बेलुकासम्म तिनै मठ–मन्दिर र चियापसलहरूमा हल्लिरहे । कोटवालाहरूले पनि नयाँ रिम्पोछे खोज्ने कुनै चालचुल देखाएनन् । बरु जुजुमानले अनौठो कुरा पत्ता लगायो, रात परेपछि दुवैथरी विशेष सक्रिय हुँदा रहेछन् । विभिन्न पार्टीका नेताहरू, मन्त्री र सचिवहरू, उच्च सैनिक अधिकृतहरू, ठूला व्यापारी–उद्योगपतिहरूसँग अबेरसम्म उनीहरूको भेटघाट चल्दो रहेछ । कल्कि अवतार र रिम्पोछेका कुरा त मान्छे अलमल्याउने गफ मात्र रहेछन् ।

दोस्रो महीना कोटवालाहरू फर्किए । तिनले के गरेर गए, कसैलाई थाहा भएन । तिनीहरू हिंडेकै दिन जुजुमानले अर्को समूहको होटल–मालिकलाई सबै कुरा बतायो र भन्यो, ‘कुन दिन यिनीहरू पनि हिंड्ने हुन् । त्योभन्दा अघि नै पत्ता लगाउनोस् न, वास्तवमा यिनीहरू के गर्न आएका रहेछन् ?’

होटलवालाको उनीहरूसँग दोस्ती भइसकेको थियो । त्यही साँझ उसले दुई जनालाई ह्विस्की खान निम्त्यायो र तेस्रो पेग शुरू भएपछि सोध्यो, ‘साँच्चै भन्नोस् त, तपाईंहरू किन आउनुभएको ?’

‘तपाईंलाई के ढाँट्नु यार, हामीलाई चाहिने एउटा मान्छे खोज्न आएको,’ एक जनाले जवाफ दियो, ‘अब त मिशन नै पूरा भइसक्यो ।’
‘मान्छे भेटियो त ?’
‘पूरै टोलीले महीना दिनसम्म अनेक छानबीन र दर्जनौं अन्तर्वार्ता गरेपछि एउटालाई छानेका थियौं । उताबाट आएको माथिल्लो टोलीले तीन दिन लगाएर आजै बिहान उसलाई फाइनल गर्यो । अब गोप्य रूपमा उता लगेर मन्त्रदान गरेपछि मान्छे पूरै तयार हुन्छ ।’

होटलवाला ट्वाल्ल परेर उसको अनुहारमा हेरिरहेको थियो । ऊ भन्दैगयो, ‘तपाईंहरू अवतारको प्रतीक्षा गर्दै हुनुहुन्छ नि ? सम्झनोस्, हामीले खोजेको मान्छे त्यही हो । अब धेरै प्रतीक्षा गर्नुपर्दैन । केही समय पछि हामी तपाईहरूको नायक अवतरण गराइदिन्छौं ।’

‘ह्या, यतिसारो हावा कुरा त नगर्नु नि,’ होटलवालाले भन्यो, ‘कसले पत्याउँछ त्यस्तालाई नायक भनेर ?’
‘यसपालि हामीले नयाँ मखुन्डो बनाएका छौं क्या, पहिलेको भन्दा निक्कै आकर्षक,’ उसले कुरा बुझायो, ‘त्यो लगाइदिएपछि सबैभन्दा योग्य, त्यागी, इमान्दार, बुद्धिमान, राष्ट्रवादी सबै देखिन थाल्छ । अनि त रातारात तहल्का मच्चिइहाल्छ ।’
‘कस्तो हुन्छ त त्यसको अनुहार ?’
‘अहिले छोड्नोस् । समय आएपछि देखिहाल्नुहुन्छ नि !’
कथा यत्ति हो । बीचमै टुंग्याइस् नभन्नुहोला । शुरूमै भनेको थिएँ त, यो प्रतीक्षाको समयको कथा हो भनेर !

०००
कान्तिपुर २०७७ मंसीर २७ गते शनिवार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
घोर आपत्तिजनक

घोर आपत्तिजनक

शरच्चन्द्र वस्ती
दुई हप्ताको उपलब्धि

दुई हप्ताको उपलब्धि

शरच्चन्द्र वस्ती
हत्याराको छनोट

हत्याराको छनोट

शरच्चन्द्र वस्ती
कडा सुरक्षा व्यवस्था

कडा सुरक्षा व्यवस्था

शरच्चन्द्र वस्ती
गर्ने–गराउने उनै हुन् !

गर्ने–गराउने उनै हुन् !

शरच्चन्द्र वस्ती
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x