चट्याङ मास्टरकहिल्यै नभएको विकास यसै वर्ष भयो !
देश त अब द्रुत विकासको बाटोमा अगाडि बढी सक्यो ब्याक गियर र ब्याक मिरर दुवै छैनन् यो मोटरमा अगाडि गएर विकासमा ड्याम्मै ठोकिने भैसक्यो उद्घाटन र शिलान्यास गर्दागर्दा यी मेरो औंलै बाङ्गिइ सक्यो ।

चट्याङ मास्टर :
अचम्मै भयो, उल्का भयो, गजबै भयो
कहिल्यै नभएको देश विकास यसै वर्ष भयो
अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो
प्रधानमन्त्रीले भन्न सक्नु हुन्थ्यो र भन्नु भयो ।
मैले भनें हजुर तथ्याङ्कले त यो कुरो मान्दैन
प्रधानमन्त्री को हो पनि जान्दैन
भाषणका कुरा कार्यकर्ता मान्लान जनता मान्दैन
त्यस्तो विकास भएको जस्तो त कसैलाई लाग्दैन ।
प्रधानमन्त्री मुसुक्क मुस्कुराउनु भयो
एउटा उखान र दुइटा टुक्का सुनाउनु भयो
अनि अचम्म मान्दै सोध्नु भयो,
यो नेकपाको सरकार हो कि तथ्याङ्क को ?
त्यही दुई तिहाईको तथ्याङ्कले नै मलाइ प्रधानमन्त्री बनाएको हो
अनि आफैंले बनाएको प्रधानमन्त्रीका कुरा आफै किन नपत्याएको हो ?
त्यस्तो द्वैध चरित्रको तथाङ्कदेखि सरकार डराउदैन
त्यस्ता गणतन्त्र विरोधीलाई अब नेपालमा ठाउँ छैन ।
तथ्याङ्कसँग असहमतिको मुद्दा वार्ताबाट टुङ्गोमा पुर्याइने छ
वार्तामा नआए संविधान बमोजिम विधेयक लेराइनेछ
सुशासनको नीति अनुरुप तथ्यांकलाई कारबाही गरिनेछ
सुशासनसहित सम्बृद्ध नेपाल र सुखी नेपाली त पक्कै बनाइने छ ।
देश त अब द्रुत विकासको बाटोमा अगाडि बढी सक्यो
ब्याक गियर र ब्याक मिरर दुवै छैनन् यो मोटरमा
अगाडि गएर विकासमा ड्याम्मै ठोकिने भैसक्यो
उद्घाटन र शिलान्यास गर्दागर्दा यी मेरो औंलै बाङ्गिइ सक्यो ।
मैले बोलेकाकुरा सुन्दा कतिपय छक्क पर्छन्
त्यस्तो पनि हुन्छ र ? भनेर ठट्टा पनि गर्छन्
ती सबैलाई हन्हन्ती ज्वरो त त्यतिबेला आउने छ
जब मेरो सरकारले गुरुत्वाकर्षणको सिद्धान्तमाथि रोक लगाउने छ ।
०००
बत्तिसपुतली, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest


































