साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखिएको खोला र नदेखिएको खेल

तपाईंहरूले "मृत्यु हुँदैछ हामी लाश लिएर आउने छौँ" भनेर झरी लाग्नु पूर्व खबर गर्नु पर्थ्यो नि" पो भन्छ बा ! सम्पूर्ण पाप तापबाट मोक्ष गर्ने घाट रे लुटको धन्दा पो चलाउँदा रहेछन् ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

मानव जीवनमा खोलाको असाध्यै महत्त्व छ । जन्मेदेखि मृत्यु पर्यन्त मानिसलाई चाहिने पानी/ जल दिने धारा, पँधेरा, खोला, नाला, वा नदी जे सुकै नामले जानिए पनि ती खोला नै हुन् । खोलो वा नदी जे नामले जानिए पनि जहाँ जीवन खुल्न सुरु गर्दछ त्यो खोला नै हो । सानो आकार, कम पानी र गहिराइ कम भएमा हामी त्यस्तालाई नाला भन्छौँ र केही ठुलो आकार, बढी गहिराइ भएमा नदी भन्छौँ भने पनि ती अर्थोक नभएर- खोलाकै पर्याय हुन् र यहाँ बग्ने पानी नै हो । पिउने पानीका लागि मात्र होइन सरसफाइ गर्ने पानी , सिचाइ गर्ने पानी, ढुङ्गा गिट्टी, बालुवा, मोरङ निकाल्नेदेखि सुन निकाल्ने/चाल्ने काममा समेत खोलाको महत्त्व र उपादेयता आजकल दिन दुगुना रात चौगुना बढेको जगजाहेर छ । जीवनको डुङ्गा वल्लो किनारबाट पल्लो किनार पुर्‍याएर गन्तव्यमा जान सघाउने घाट यिनै खोलाका साथमा हुन्छन् । यिनै घाटमा विशाल जग बनाएर पुल बनाइन्छ र वारि पारिको जमिनलाई जोडिन्छ । यही कारण खोलोले दुईतर्फका जमिनलाई छुट्याउने काम मात्र गर्दैन जोड्ने काम पनि गर्दछ ।

खोलाले आफ्नो पानीमा आधारित गराएर अनेकौं वनस्पति उमारेर हामी मानवलाई जिउन भरथेग गरेको हुन्छ । “खोला खोला हुन्छ, सिरुपाते हुन्छ, खाऊ बा खाऊ “भनेर भातखुवाइ गर्दा बच्चाहरूलाई भनेको सुनेका हौँ भनेर बुढापाकाहरू भन्दथे । खोलाले नै डौंडे/निहुरो जस्ता तरकारी परिपूर्ति गरेर ग्रामीण जनजीवनलाई ठुलो गुन लगाएका छन् । यिनै खोलाहरूले माछा दिएर कतिको जीवनमा रौनक थपेका हुन्छन्। अब त गँगटा पनि खोलाका अनमोल उपहार बनेर सहरबजारका मेला महोत्सवका स्टलमा स्वाद बढाउँदै छन् । “खोलाको तीरमा बलवीरे नाच्यो” भन्ने किंवदन्ती त तपाईंहरू धेरैले सुन्नुभएकै होला । पहाडी खोलाबाट कुलो खनेर परसम्म पुर्‍याएर ठाडो पारेर खसालेर पानी घट्ट चलाएको र अलि ठुलो पानी भएको खण्डमा पानी मिल नै चलाएर कुटानी, पिसानी र पेलानीमा सहज बनाएर खोलाले मानिसलाई सुखमय जीवन बाँच्न सहयोग गरेको कसैबाट लुकेको छैन ।

जहाँ खोला हुन्छ त्यहाँ पानीकै कारणले उब्जाउ जमिन हुन्छ र बाह्रैमास लहलह खेती हुन्छ । खोला निकटका बस्तीमा कृषि र पशुपालनलगायतका आर्थिक र व्यवसायीक पाटाहरू फस्टाउँछन् र रसमय जीवन हुन्छ । खोलाका किनारमा घाट लाग्छन् जहाँ मानिस आफ्ना उत्पादन बेचबिखन गर्न आउँछन् । आफूलाई आवश्यक पर्ने सरसामान किन्न आउँछन् र बजार लाग्ने गर्छ । बजारले मानिसलाई सरसामान मात्र दिँदैन यसले सभ्यता र कौशलको आदानप्रदान गरेर विकास र समृद्धिको जग पनि बसाल्छ ।

खोला किनारका घाटमा देवी देवताका मन्दिर र तीर्थ स्थल हुन्छन् जसले मानिसलाई जिउँदो हुँदासम्म दया, माया, करुणा र मानवीयता सिकाउँछन् र जीवन पछि उत्तम गति दिन्छन् भन्ने विश्वास छ । देवघाट , राम्दीघाट, अरुणको लेगुवा घाटलगायत नेपालमा प्रसस्त त्रिवेणी घाट र तीर्थस्थलहरू नदीका छेउछाउमा विकसित भएका छन् । हाम्रो छिमेकी देशमा रहेका प्रख्यात तीर्थस्थलहरू अयोध्या, मथुरा, काशी/ वाराणसी, द्वारावती र प्रयाग जस्ता तीर्थस्थल यिनकै उदाहरण हुन् ।

खोला नदीका किनारमा प्राचीन बस्ती विकास भएका कुरा पढ्न र सुन्न पाइन्छ । नदी किनारमा नै मानव सभ्यता विकासित भएका धेरै उदाहरणमध्ये काठमाडौं उपत्यका वाग्मती नदीको देन हो भनेर हामी धेरैले पढेका छौँ । पोखरा सेती नदीको देन भएजस्तै नारायण गढ नारायणीको देन हो । भारतको गङ्गा नदीको तटमा हरिद्वार , बनारस/ काशी , इलाहवाद , पटना र कलकत्ता जस्ता सहर बसेका छन् भने चीनको ह्वाङ्हो सभ्यता र मिश्रको नाइल नदीको सभ्यता नदीकै देन हुन् । रुसको भोल्गा होस् वा बेलायतको टेम्स नदी किनारको लण्डन होस् , क्यानडा र अमेरिकामा बग्ने मिसिसिपी नदीका तटमा रहेका मन्ट्रियल वा सिकाँगो जस्ता सहरहरू नदीकै देन भएकाले नदी जीवन हो र विकासको उद्गमस्थल हो भनेर भनिएको हो ।

यस्ता जीवनदायी खोला नदीमा सङ्लो पानी मात्र बग्दैन मानिसहरूका करुण कथा पनि प्रवाहित भएका हुन्छन् । हरेक वर्ष नारायणी र कोशी जस्ता नदीहरूले मानव बस्तीमा पसेर बितन्डा मच्चाउने गर्दछन् । गएको वर्ष दुईवटा गाडी बगाएको त्रिशूलीको सिमलताल घटना कसैबाट लुकेको छैन । खोला नदीले जीवन दिन्छ र जीवन खोसेर लिन्छ पनि । जति निर्मम भएपनि खोलाले मान्छेले जस्तो आफ्नो धर्म भने छोड्दैन । मानिसहरूले आफ्नो बासस्थान बढाउँदै र चरम उपभोगवादी नीति लिएकै कारण खोला नदीहरू आफ्नो वास्तविक भूमिमा फर्किन बाध्य हुन्छन् । हामी भने खोलो बस्तीमा पस्यो भनेर रोइलो गर्छौँ । ऊ त आफ्नो बस्तीमा फर्किएको मात्र हो बरु खोला नदी र वनको सीमा मानिसले मिचेको हो, आफ्नो ठाउँमा नगएर खोलो कहाँ जाओस् त ? मेलम्ची बाढी होस् वा जुरेको पहिरो होस् यी र यस्ता घटनाका प्रमुख सृजनकर्ता हामी मानिस नै हौँ । खोला तथा नदीहरूलाई आफ्नो प्राकृतिक प्रवाहमा बग्न नदिएर छेक्ने थुन्ने काम हामी सभ्य भनेका मानिसले नै गरेका हौँ ।

यति हुँदाहुँदै पनि आज मानिसले आफ्नो इमान, धर्म र विवेक बिर्सेर खोलालाई शोषणको माध्यम बनाएको देख्दा यहाँ कुरा उठेको हो । अब त मानव मानव नरहेर दानव बन्न थालेको कुरा भर्खरैको एउटा घटनाले पुष्टि गरेको छ । मृत्यु अवश्यम्भावी हुन्छ र जहाँ जहिले पनि आउन सक्छ । छिमेकमा एकजनाको मृत्यु भएकाले अन्तिम दाहसंस्कार गर्न नाम चलेको घाटमा पुर्‍याइयो । समय कसको वशमा हुन्छ र ? घटना दिउँसोपख भएको भए ता पनि छरछिमेक जम्मा हुन र तयारी गर्दा समय लाग्ने नै भयो । भोलि घाट लाने कि भन्ने कुरा नभएको पनि होइन । मरेको लाशलाई भोलिसम्म किन राख्ने ? बिजुलीबाट चल्ने शवदाह मेसिन छ तुरुन्त काम हुन्छ भनेर पनि भनियो । साँझ भए पनि काम त सिध्याउनै राम्रो भनेर हिँडाइयो ।

माघ महिना यसै त छोटा दिन अझ दुई खोलाको सङ्गमको चिसो स्याँठ चलेको साँझ । हिउँदे मनसुनले आफ्नो कर्तव्य पूरा गर्दै थियो । पश्चिम पहाडतिर भएको वर्षाले नदी किनारमा शीतलहर चलेको थियो । झमक्क साँझ पर्दा घाट पुगेको हाम्रो टोली शवदाह गर्ने मेसिन बिग्रिएको र शव त दाउरामै जलाउनु पर्ने भन्ने थाहा पाएपछि थप पीडित भएको महसुस गर्‍यो । पानीले भिजेका दाउरा, शव निर्माणमा पानीले थपेको चुनौतीको सामना गर्दै थप समय लगाएर चिताको निर्माण गरियो र अग्नि दिएपछि दाउरामा आगो सल्किँदै सल्किँदैन । मट्टीतेल खन्याएर आगो लगायो हर्र बलेर सकिन्छ दाउरामा आगो समात्दै समात्दैन ।

कसैले टायर राखेर जलाउने सल्लाह दिए तर यस ठाउँको पवित्रताको हनन हुने हुँदा टायर पोल्न मनाही रहेछ । जसोतसो कैयौं लिटर मट्टीतेल खन्‍याएपछि आगोले चिता जलाउन लाग्यो । कुरा बुझ्दै जाँदा थाहा भयो शवदाह गर्ने मेसिन त महिनौँ अगाडि नै बिग्रिएको रहेछ । मेसिनरी चिज हो बिग्रिन्छ तर किन बनाइएन भनेर बुझ्दा थाहा भयो मेसिनबाट शवदाह गरे पछि काम चाँडै सकिन्छ र मान्छेहरू हार्रहुर्र बाटो लाग्छन् । काम चाँडै सकिएपछि यहाँ को बसिरहोस् ? मानिसहरू हिँडेपछि यहाँको व्यापार नहुने । घाट व्यवस्थापन समितिको बैठक बस्दै बस्दैन रे र बसे पनि शवदाह गर्ने मेसिन मर्मत र सञ्चालन गर्न सहमति जुट्दैन रे । क्या गजबको व्यापार गर्ने काइदा रहेछ यहाँको । मृत्यु भएकोमा उत्सव मनाउनेहरू घाट घाटमा ताक छोपेर बस्दारहेछन् ।

पानीले भिजेका दाउरा जलाउन गाह्रो भयो कमसेकम दाउरा भिज्न नदिएर ओभानो राख्नुपर्ने भनेर एकजनाले कुरा उठाउनु भएको थियो- तपाईंहरूले “मृत्यु हुँदैछ हामी लाश लिएर आउने छौँ” भनेर झरी लाग्नु पूर्व खबर गर्नु पर्थ्यो नि ” पो भन्छ बा ! सम्पूर्ण पाप तापबाट मोक्ष गर्ने घाट रे लुटको धन्दा पो चलाउँदा रहेछन् । पवित्र खोला नदीका नाममा सरासर ठगी धन्दा र ठगी व्यापार चलाइन्छ । बढी खर्च गराएर पीडाग्रस्त मानिसलाई थप पीडामा पार्ने काम हुँदोरहेछ । मृत्युबाट लाभ लिने र लुट्ने मात्र ध्येय राखेका कस्ता मान्छे हँ ? दाह्रा र नङ्ग्रा भएका नरभक्षी मानवहरू जिउँदो छउन्जेल त चुस्छन् चुस्छन् मरेकाहरूबाट पनि नली हड्डी चपाएर उत्सव मनाउँदा रहेछन् भन्ने थाहा पाएर दुःख लाग्यो । को बोलोस् ? किन बोलोस् ? कमाऊ धन्दा बन्द गर्ने कसको तागत ? हामी रातिको दस बजेतिर दाहसंस्कारको काम सकेर घाटबाट फर्किँयौँ ।

जिउँदो छउन्जेल शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता कुराको अभाव झेलेर मृत्यु वरण गर्न पुगेकाहरूबाट घाट र तीर्थस्थलको नाममा लुटिई रहने र पीडामा थप पीडित हुनुपर्ने दिनको अन्त्य कहिले हुने होला ? गरिबलाई अस्पताल, विद्यालय, अड्डा अदालत र अन्तिममा घाटमासमेत शोषण ? मृत शरीर, कंकाल र खप्पर चोरी र अवैध व्यापार पनि तेसै भएको कहाँ हो र ? खोला, नदी र घाट त थुप्रै देखिए तर तीसँगै जोडिएका तर नदेखिएका खेल अझ धेरै पो रहेछन् – नाङ्गा खेलहरू । हामी सबै पुग्नुपर्ने अन्तिम ठाउँ यही हो भनेर सोच्ने कहिले होला ? पवित्र खोला नदीका तटमा हुने शोषण र सर्वसाधारण ठगिएको खोलाले टुलुटुलु हेरेर बसिरहला र ? निगरानी गर्ने निकाय किन मौन ? मौन बसेर लुटको व्यापार चलाउन दिएको होइन र ? यसको हिसाब किताब गर्ने जिम्मा पनि उही खोलालाई दिऊँ । तिम्रा हिसाब कुनै दिन अवश्य चुक्ता हुने नै छ ।

०००
विकास चोक ५, भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x