विष्णु नवीनरहरका दाह्री–जुँघा
मान्छे पनि रंगरंगका छन् । उही आँखा, नाक, कान भएको सबैमा केले हो केले करोडौं अनुहार छुटिन्छ । त्यसले दाह्री–जुँघामा पनि विभिन्नता आएको हुनुपर्छ ।

विष्णु नवीन :
रहर अनेक हुन्छ मान्छेको । कसैलाई राम्रा–राम्रा केश बनाउने रहर भए कसैलाई नक्कले लुगााको, कसैलाई जुत्ताको । यस्तै मलाई रहर लाग्यो मेरो कालो, चारकोसे झाडी जस्तो दाह्राी–जुँघा राख्ने राखे पनि जसरी एकपल्ट केश पाल्ने इच्छा पूरा गरेको थिएँ । यसको काट्ने तिथि कहिले निस्कन्छ बाहुनले पात्रो हेर्न बाँकी नै छ । रहर, गर्नुभन्दा पहिला नै पूरा गर्नुपर्छ ।
हुन त कतिले के भन्छन् कतिले के । अहिलेसम्म कुनै आइमाईलाई पनि मेरो रहरको दाह्री–जुँघा मन परेको छैन । लोग्ने मान्छेलाई मन परेको छ । यो स्वभाविक हुने पनि भयो तर ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भने जस्तै आइमाइको दाह्री–जुँघा नआएपछि मेरो देख्दा सक सक लाग्दो नै होला कसरी सकेको पाल्न भनेर ।
हजाम टुलुटुलु हेर्छ मेरो दाह्री–जुँघामा । विचरालाई दुइ–चार पैसाको आश लाग्दो हो । दाह्री–जुँघा नहुने भए त हुन्थ्यो, आए त पाल्थे भन्छन् तर आएपछि घाँडो हुन्छ । जति काट्यो उति आउँछ अनि हैरान ब्लेडको, समयको । बरू रहर नगर । आए, पाल्नै मज्जा । बोके दाह्री, फाटफुट्ट आउने रङ– रङका दाह्री–जुँघा हुन्छन् । म त जुन पाले पनि राम्रै देख्छु ।
तरुणीको मुस्कान भने दाह्री–जुँघामा छैन तर खोक्पाहरुकै छ आफू पनि खोक्पा भएर हो कि ! तरुणीको केवल हाँसो मात्र छ । कतिले भन्छन्– ‘चिम्टा लिएर साधु हुनु नि’, कतिले भन्छन्– ‘श्रीमतीले पान खाँदा’ लेखियो ‘अब श्रीमतीले दाह्री कन्याउँदा’ के लेख्नु ! तर श्रीमतीलाई कहाँ यो फूर्सद मेरो यो दाह्री कन्याउने । घरको चुल्हो फुक्दै ठीक छ । त्यसो त तरुणीहरुले ‘जोगी’ भन्दा ‘जोगिनी तँ, म जोगी’ भनेर पनि मुखमा बुजो लगाउने काम भएको छ । हुन पनि यी दाह्री यति बाक्ला र काला छन् भनेर साध्य छैन । जुँघा पड्के भने घोप्टो परेको छ । ठाडो पार्ने प्रयास छ ।
यसरी यी दाह्री–जुँघा पालेर बाहिर जाँदा मान्छे पनि नलागेको होइनन् । पुलिसले नपछ्याएको होइन । पुलिस र गुप्तचरले पछ्याएको जस्तो तरुणी पछि लागु नि तब आउँथ्यो मजा उहिले राणाले भोजन गरेझैं । पटकेहरुको आँखा फुटेको छ कि क्या हो ? अठार उन्नाइस सालको जस्तो स्थिति भए उहिल्यै उखेली सक्नु पर्ने । घरको आफूभन्दा टाउके मर्दा वा कोही मर्दा देख्ने ठाउँ जतिको सम्पूर्ण रौं खौरनु पर्छ । दाह्री–जुँघा राखेर काज क्रिया चलाउने योजना भए म प्रतिदिन पुरेतलाई काम भरी पच्चीस पैसाको खजुर खुवाउने थिएँ । अब त पैसा सस्तो भएको छ । खाने मुखलाई जुँघाले छेक्दैन । मैले म्वाई खाँदा यो जाडोमा छेलिदैन । बरू कसैसँग अंगालो मारेर मुख टाँस्न पाए सिरकको काम पो गर्छ उसलाई । मौका छ । प्रतीक्षा प्रार्थनीय ।
नाकभित्र परेला आँखीभौं, काखीको प्रत्येक रौंले शरीरको विभिन्न भागको सुरक्षा गर्छ भने दाह्री–जुँघाले के सुरक्षा गर्छ म अनुसन्धानमा लागेको छु । अनुहारमा जाडो भने कम्ती हुन्छ भन्ने तत्व फेला परिसकेको छ । टाई भनु या घाँटीको ईजारको नट जस्तो कसे पनि कसैले पत्तो पाउँदैन ।
मेरो प्रार्थना छ– जुम्रा भने नपरोस् । त्यसो त यसको स्याहारले पनि समय खान्छ नै तर सुहाउने र नसुहाउनेसँग मेरो केही चासो छैन । न त क्यूमा बसेका हजामको माया लाग्दो हेराइमानै वास्ता छ । नत कसैको हेपाई र फुक्याईमा नै वास्ता छ । आफूलाई रहर पुगुन्जेल पाल्न इच्छा छ । खान दिन पर्दैन, लाउन दिन पर्दैन, बसोस् न ।
हाँसको बथानमा बकुल्ला जस्तो, धेरै जसोले दाह्री–जुँघा नपाल्दा एकजनाले पाल्दा सबैको आँखा पहिलोचोटी पर्नु अस्वाभाविक होइन । कोही जुँघा मात्रै, कोही बोके दाह्री मात्र राख्छन् । यो आ–आफ्नो इच्छामा नै निर्भर पर्दछ । न त यो दाह्री–जुँघा दार्शनिक हुँ भनी पालिएको हो नत नेतानै, न लेखक कवि बन्न नै यसले सबै चिज बनाउने भए दुनियाँ पाल्थे । किन महँगो बेसाहाको ब्लेड खर्च गर्थे ? जसले दाह्री–जुँघा पाले, पाल्छन् सबैमाा आ–आफ्नो विशेषता छ चाहे रवीन्द्रनाथ हुन् चाहे लेखनाथ र लेनिन नै ।
मेरो दाह्री–जुँघा अरमठ्ट भने म जस्तै परेका छन् । मैन लाएर बटारे मात्र तह लाग्छन् होला । कति भन्छन्– यसो गर उसो गर म भने निस्फिक्री छोडिदिन्छु, पूर्व फर्किउन् कि पश्चिम, मिलुन कि नमिलुन् । जता मनपर्छ उतै जावोस् फर्सीको झ्याल जस्तो । त्यति बेला भने खुब मजा लाग्छ जब सानी छोरी काखमा बसी गुजुगुजु भन्दै मेरा दाह्री –जुँघा समाते तान्छे ।
श्रीमतीलाई मेरो दाह्री–जुँघा मन परे जस्तो लार्ग्दैन मलाई उनले केही नभनून् । किन भने कुनै पनि आइमाईलाई मन नपरेपछि मेरी श्रीमतीलाई मन परेको होला भनी म ठोकुवा गर्न सक्तिन नै । न त दाह्री–जुँघाले बाधा नै हाल्छ कुनै काम गर्दा । हाम्रो रौं नभएको ठाउँ कुन पो छ र ? आखिर हामीलाई बाँदरको सन्तान भनेकै छ ।
आइमाईको गहना बर्को, केश आदि अरे । हाम्रो गहना दाह्री–जुँघा । कसैको गन्दा सकिने दाह्री–जुँघा आउँछन् कतिको ठ्याम्मै आउँदैन, कसैको जुँघा मात्र । मान्छे पनि रंगरंगका छन् । उही आँखा, नाक, कान भएको सबैमा केले हो केले करोडौं अनुहार छुटिन्छ । त्यसले दाह्री–जुँघामा पनि विभिन्नता आएको हुनुपर्छ ।
कुण्डल भने अल्झन सक्छ आइमाईको हूलतिर पसे जसरी केशमा अल्झन्छ । अलिकति केश पालेर खरानी घसे रेलमा फ्रि । यी भुत्लाको महात्म्य पनि अनेक छन्, स्टाइल पनि विभिन्न प्रकारको छ यो संसारमा । कहिले कहिले म कल्पना गर्छु बाँदर बाँदरनी सबैको भुत्ला भए जस्तै आइमाईको पनि दाह्री–जुँघा आए कस्तो हुन्न्थ्यो होला ? जुँघा भएकी आइमाई त हुन्छन् नै जसलाई अलच्छिन भन्छन् ।
सात आठवटा चिउँडोमा निकै लामा लामा रौं भएकी आइमाई पनि नदेखिएको होइन । यो त केवल ईश्वरले सृजना गर्दा हतारमा झुकिएर टाँसिदिए छन् क्यार । पछि लिस्टदेखि बाहिरको काम भयो भनी उखेले तर उखेल्दा उखेल्दै पृथ्वीमा पठाउन समय आइसकेकोले, वियाडको कोदोको बीउ उखेलेर छोडे जस्तै छोडि दिएका हुन् कि ? यसो पनि हुन सक्छ मान्छे हँसाउन । कोही कोही मान्छे हुन्छन् नि ईश्वरले बनाउन नभियाएर थ्यापथुप पारेर पठाएझैं ।
ढुक्कसँग बढ्दैछन् मेरा दाह्री–जुँघा । न यिनलाई फिक्री कुनै चीजको न मलाई यिनको । छोडेको छु– धागो चुँडिएको चंगा जस्तै । न त मैले व्यक्तित्व देखेको छु, न त आर्दश नै । केवल छ रहर….रहर ।
०००
इलाम
नवीनको कृति ‘छातीमा नआँटेका कुरा’ (असार, २०२९) बाट ।
माणिकरत्न शाक्यको खोजीपाँसुलीमा
Subscribe
Login
0 Comments
Oldest






































