सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दसैँको पखालो

एउटा पखालो खाएर हुन्छ अर्को दसैँपछि साहूले राहु भई हप्काउँदा वा घरमा भएको जेथा सकी छाँगोबाट खसे जस्तो हुँदा त्यस्तो बेला यस्तो अजीर्ण हुन्छ न खान रुच्छ, न दसैमा खाए जस्तै लाग्छ, न केटाकेटीले बोलाएको नै मन पर्छ ।

Nepal Telecom ad

विष्णु नवीन :

दसैँ यस्तो एउटा हाम्रो चाड हो जसलाई नमानी सकिन्न । चाहे हीराको ऋण होस वा फलामको तर ऋण काढ्नै पर्छ । केटाकेटीहरू कुन दिन फूलपाती आउँछ, कुन दिनदेखि घरमा मासु-भात, चिउरा आदिको छेलोखेलो हुन्छ भनी दिन गन्छन् भने विशेष मौका पारी रक्सी धोक्नेहरूलाई कहिलेदेखि धोक्न पाइएला भन्ने छटपटी लाग्छ । कर्मचारी, विद्यार्थी, शिक्षक तथा छुट्टी पाउने अन्य संघसंस्थाकाहरूले कहिलेदेखि छुट्टी हुन्छ भनी क्यालेण्डर पल्टाएर दिन काटछन् । यता सासूले दबाएकी भए पनि, नदबाएकी भए पनि बुहारीहरू चाहे लोग्ने जावस, नजावस्, दसैँमा म माइत जानै पर्छ भनी दिन गन्न थाल्छन् । यसो हेर्दा दसैँ पनि हजारमुखी जन्तु नै हो किनभने कसैलाई कसैबाट फुत्कने दाउ कसैलाई दसैँले निल्छ भन्ने डर ।

हो, केटाकेटी फूलपाती पर्खन्छन् । घरमा किनेको खसी, बोका, कुखुरा, राँगा, सुँगुर काटिने दिन वा बगरेसँग बोली राखेको मासु सम्झन्छन । सकभर प्रत्येक आमा-बाबु संरक्षकले अरूबेला नभए पनि दसैँको बेला मेरो छोराछोरीले, आफन्तले भरपेट राम्रै खाऊन्, लाऊन् भन्ने कल्पना गरी-गरी पुर्‍याउँछन तर पूणर्ेको भोलिपल्ट चुल्हाको दाँया बाँया बसी भारमा सुकाएको मासु सकाएर नाङ्गै बसेको सिल मात्र हेरेर, कोही पखाला चली मस्तसित सुतेका, कोही पेट लागी सुतेका नानीहरू जोइपोइले एउटा कुनाबाट हेरी ऋण गन्दा आङ ढक्क फुल्छ । मुटु छिटो छिटो चल्छ । यसरी उसरी ऋण तिर्ने भनी कल्पना गन्यो मगज नै पड्कन खोज्छ । तीन भाउन्न छुटेर आउँछ । यति मात्र नभएर साहूलाई भाकलेको आँगनको बाछो, गैरी बारी, लोभ लागी लागी नकाटेको पेटारै खसी सम्झदा बेकारमा चाहिने भन्दा बढी खर्च गरेछु भनी लाग्छ । रुन मन लाग्छ । अब कसरी खाएको ऋण तिरू भनी कार्लोसले नमरेको माछो जतिकै हुनुपर्छ । पछुतो सुन्यौ कालेकी आमा, मैले त तिमीलाई भनेकै हो त्यत्रो मासु नबोलूँ भनेर । कालेको बाबु भन्छ ।

अब लगाए नि मलाई दोष कालेको बाबुले ! मासु त त्यही २०/- रुपियाँको त हो नि ! मान्छे बोलाई बोलाई रक्सी र जाड पचास रुपियाँको फाल्टो खुवाउने, चिउरा र भात, अचार-विचार पगितो खुवाई खर्च गराउने तिमी नै होइनौं ? कालेकी आमा भन्छे ।

यसरी नै पर्छ लोग्ने-स्वास्नीको दुइ चारदिन खटपट प्रत्येक वर्गीय तथा साधारण परिवार हामीमा । हामी पहिले सोच्दैनौ औकात हेरेर खाने । खर्च गरिसकेपछि सपनाबाट बिउँझे सरह हुन्छौँ अर्को साल औकात हेरेर खर्च गर्ने टुङ्गो गछौं तर अर्को साल जस्ताको तस्तै । आर्थिक प्रहारबाट सोझो हुन हामीलाई ढाडमा जुरो निस्केर निहुरेको मान्छेले सोझो हुने प्रयास गरे जस्तो मात्र हुन्छ ।

यसैले त धेरै जसोले भन्छन- दसैँ हाम्रो संस्कृति हो तर यो काल पनि हो । दशा पनि हो । ‘आउने दसैँ ढोल बजाई’ गयो दसैँ ऋण बोकाई यो उखान चानचुने होइन, छैन दसैँ मानी-मानी खग्गु भएकाहरूले बनाएका हुन । यो जाँड खाएर बनाएको उखान होइन भेटघाटको यो चाड हो कामबाट फुर्सद लिने मनोरञ्जनको चाड पनि हो मीठो मसिनो खाऊ, राम्रो लगाऊ भन्ने चाड हो यसैले गर्दा टाढा-टाढाका आफन्त, इष्टमित्र कति दिनको दुःख सहेर पनि भेट गर्न आउँछन । बाटो हेर्नेले आफ्नो मान्छे आउँछन् भनी आँखा टटाउञ्जेल हेर्छन सँगै गएका आफन्त ईष्टमित्रमा वल्लाघरे वा पल्लाघरे अथवा कुनै पनि घरे आएन भने त्यो घरमा नराम्रो मानिन्छ रुवाइ पनि चम्कन्छ । आउनेहरूलाई भेटको खुशीमा भेटी उति नै दिन्छन, सङ्कलित खर्चमा घाटा पनि पुर्‍याउँछन् जाँदा पनि खर्च दिएरै पठाइन्छ, बसुञ्जेल मीठै खुवाइन्छ पनि त्यसैले खर्चको पर्वाह नगरी माया र ममता हामी गर्छौँ, हेर्छौँ । यो माया र ममताको चाड पनि हो भन्न पर्छ ।

तिहारमा दिदी बहिनीले पैसाको हिसाव औँलामा भाँची-भाँची मनमनै गर्ने केटाकेटीहरू दसैँमा यसरी नै आफन्त पर्ने प्यारो गर्ने घर घुमीघुमी टीका लाएर पैसा गन्छन् । अलिक धेरै भेटी दिए मुसुक्क हाँस्छन, कस्ती दिए हाँडी घोप्टे अनुहार पार्छन् पैसा पाइने ठाउँ छ भने गोरु बेचेको साइनो मात्र भए पनि छाड्दैनन् । केटाकेटीमा मात्र किन भनौँ यो रोग ठूलैमा पनि छ ।

हुन त दसैँ हाम्रो पवित्र चाड हो । पहिलेको जमानामा मान्छे नै पवित्र थिए, दिएको आशिष ठ्याक ठ्याक पुग्थ्यो पनि होला । हामी आशिष अझै पनि दिन्छौँ तर भित्री मन उसको के छ केलाएर हेर्न सकिने भए काम लाग्ने छैन । कसैको प्रगतिमा रिस गर्ने, कसैले कमाएकोमा कलङ्क लगाउने आदिमा आजको मान्छेको प्रवृत्ति छ । मान्छे अब पालिस गरेको सुन जस्तै, सुन जत्तिकै छ आशिष दिन्छन् सालैपिच्छे टीका लगाई दिदा सधै मान बढोस् धन धान्य होस्, ईश्वरले दिएको हात थापेर लिनु र केटाकेटी बिस्कुन जत्तिकै होस्, सबैले हाई-हाई गरून् अन्न पात थुप्रै होस् । आशिष दिने आ-आफ्नै पारा छन् । कोही संस्कृतका श्लोकले दिन्छन् त कोही नेपाली गद्यमा । अब एकदुई वर्षपछि अङ्ग्रेजी, रूसी, जर्मनी, फ्रान्सेली भाषामा दिन थाल्ने परम्परा पनि बस्ला किनभने हामी अब ‘आधुनिक’ भएको घोषणा गरिरहेकै छौँ ।

दिएको आशिषमा पनि आधुनिकीकरण हुँदै जानेछ । निकट भविष्यमा आशिष दिइनेछ – ‘घरमा खोले खानु’, गुन्द्रीमा मात्र सुत्नु तर बाहिर रवाफ गर्नु आफ्नो परम्परा फ्याल्न नहुने संस्कृति फ्यालेर हिप्पी विटनिक हुनु । गाँजा, भाङ, रक्सीमा बल गर्नु, सकभर लुगा किन्नुमा खर्च गर्ने, नाङगै हिडनु । सधैँ झगडा गर्नु दिनमा एकजनासँग झगडा नगरुन्जेल मनमा शान्त नहोस् । जम्मै चीजमा परिवर्तन आइरहेछ भने यो नहोला भन्न सकिन्न । विज्ञानले झैँ कुनै चीज बनाएर देखाउन सकिने भएमा बन्न शुरु हुनेछ ।

हिजोआज दिइने आशिषमा अरू त त्यस्तै हो केटाकेटी बिस्कुल जतिकै होस् भन्ने चाहि पुगिरहेको छ । केटाकेटी वर्सेनी भइरहेछन् कतिका । एउटा मात्र न जन्माएर ताल पर्दा दुइ तीन वटा कुकुर जत्ति पनि जन्मेको देखिन्छ । अर्कोतिर जनसङ्ख्या बढ्यो परिवार नियोजन गर भनी कुली पनि रहेका छौ तर परिवार नियोजन रेस कुदने घोडाहरूमा पछिल्लो सरह नै छ हाम्रै हेलचेक्र्याइँले ।

दसैँको यति नियम थिए अरे भनेर साध्य छैन । नियमहरू छोडिदै गए, खर्च बढ्दै गयो । अठार पर्वे महाभारत होइन, पच्चीस पर्ने द महात्म्य पनि छ होला । त्यही नियमहरू सबै पूरा हुन् भनेरै दसैँ मात्र धेरै दिनको ठूलो चाड मानिएको होला । एकातिर अनिकालको जमाना, च्याउसरि मान्छे जन्मनु, कामको चापाचापले पर्खिँदै गए । मालसिरीको ठाउँमा अर्को सिरीले जित्यो । बरु राणा जमानामा तिहारमा खुल्लम खुल्ला खेलिने पाँचदिने जुवा तास अब त बाद्वै काल लुकी लुकी खेल्नेहरूबाट छुटन सकेन । नयाँ संस्कृतिको सिर्जना नै भयो भन्न पर्‍यो यतिले मात्र नभएर राति खाऊ, झगडा गर, बिहान हात मिलाऊ, रातो आँखा कालो गगल्सले छोप ।

दसैँमा नेवारको पेटमा ढाडिएको चिउरा र रागाको मासु, बाहुन क्षेत्रीको पेटमा भात, बोका खसीको पक्कु पुरेत बाजेहरूको फाल्टो हुन्छ- ‘सोह्र सराद’ मा जजमानले मन्छाएको सिदासमेत । बङ्गालीको पेटमा माछाको काँडा, कैयाँहरूले साह्रै मन पराएर हाम्रोतिर दसैं नमाने पनि विशेष भिण्डी (रामतोरिया), करेला, खोर्सानी र डाल्डाको सट्टामा शुद्ध घिउ, मतवालीको पेटमा तोङवा र बुल्डोजरको कमलो बाथ स्पष्ट पाइन्छ । यो कुरा उहिले नै स्वर्गीय रसिकले ‘भुँडी’ मा लेखिसकेको भए पनि अरुवेला भन्दा दसैँमा ऋण काढेर होस वा हाँडी-गाग्रा बेचेर भए पनि यी चीज निश्चय नै पाइन्छ ।

दसैँ खास त पखाला चलाउने नै हो । पहिले चैत्रमा मानिन्थ्यो रे । गर्मीले धेरैलाई खाएको चीज नपची छेरौटीले लाँदा असोजमा सारिएको भन्छन् । सानो दसैँ चैते दशैको नामले चैतमा पनि मान्छाँै ।

असोजमा माने पनि दसैँमा खाएको अपच भई मासी पर्ने, आउ पर्ने, पखाला लाग्ने, वान्ता गर्ने निकै भेटिन्छ । कोही अस्पतालतिर, कोही दवाई दोकानतिर, कोही बुटी खोज्न जङ्गलतिर धाउने पनि भेटिन्छन् । सबै खान र लाउनमै मस्त हुन्छन् । हामी खर्च गर्न पनि जान्दैनौँ, खान पनि जान्दैनौँ । भेटे तीन हाँडी खान्छौ नभेटे चूप । अझै हाम्रोमा त फूलपातीको दिन दिनभरि विशेष आँखा झिम्क्याएर पान, सुपारी, नरिवल एक अर्कामा दिएर रातभरि विभिन्न नाँच निमित्त निम्तो गर्छौँ । मेला नै हुन्छ फूलपाती, कतै धान नाच, कतै मादल नाँच ।

एउटा पखालो खाएर हुन्छ अर्को दसैँपछि साहूले राहु भई हप्काउँदा वा घरमा भएको जेथा सकी छाँगोबाट खसे जस्तो हुँदा त्यस्तो बेला यस्तो अजीणर् हुन्छ न खान रुच्छ, न दसैमा खाए जस्तै लाग्छ, न केटाकेटीले बोलाएको नै मन पर्छ । ओकलेर दिनुहुने भए ओकलेर दिइन्थ्यो खाएको चीज फिर्ता दसैँ त आइसक्यो । म पनि पखाला चल्ने मध्यको एउटा हूँ । हिजो क्याप्सोल बढी खाएकोले आजदेखि नै मलाई पखाला चल्न शुरु भइसकेको छ । पखाला मात्र होइन ओकल्नु समेत पर्दैछ । दसैँपछि कति किसिमको पखाला चल्ने हो मलाई थाहा छैन ।

हुन त म पनि भन्छु- घाँटी हेरेर हाड निल्नु तर त्यसको खप्पर लोकाचार पनि हेर्नु अरे । लोकाचार, फोकाचार हेरेर हाड निलौं । ‘देखा जायेगा’ भन्दै ठूलो हाड निल्यौँ भने अड्कन्छ, पखाला चल्छ, चिलिम होइन डर हुन्छ । के के होइन्छ भनेर साध्य छैन । भावी कार्यक्रम बनाउँदै बसौँ ।

०००
‘मेची’
वर्ष ५, अङ्क ९ (२०२५) इलाम,
‘सोझा नवीनका बाङ्गा निबन्ध’ (२०७८)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छे भए यस्ता

मान्छे भए यस्ता

विष्णु नवीन
ट्वाँट एण्ड म

ट्वाँट एण्ड म

विष्णु नवीन
ठाँडा पैसा

ठाँडा पैसा

विष्णु नवीन
चिनी र नेता

चिनी र नेता

विष्णु नवीन