सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खुइलिएको तालु

कपाल पलाउनुको साटो चिन्डाको प्वाङ टल्किएको जस्तो मेरो टाउको झन् टल्कन थाल्यो । चिल्लो भएर ताछेको आलु जस्तो देखिन थाल्यो । अब अरू केही शिप नलागेर उनीहरू धामी लाउनेमा पुगे । 

Nepal Telecom ad
हाेम सुवेदी :
मलाई ऊ बेला अचम्म लाग्थ्यो, मान्छेको तालु खुइलेको देखेर । सोच्थें कसरी खुइलिन्छ होला मान्छेको तालु ? आफ्ना तालु भरि बर्खाको मुसे खरुकी जस्तो पानी पनि नछिर्ने छाँटको कपाल थियो । मेरा बाक्लो कपालमा काइँयो नछिरेर जुम्रा झानर्ै हम्मे पर्दथ्यो । त्यसरी जुम्रा झार्न नसकेपछि जुम्रा हेर्नुपर्दथ्यो । जुम्रा हेरिदिनु पर्दा मेरी आमालाई दिक्क लाग्ने गर्थ्याे । उहाँ दिक्क मान्दै जुम्राका चम्कना र लिखालाई वास्ता नगरी ढाडीढाडीहरू मात्र खोजेर मलाई मार्न दिनुहुन्थ्यो, अनि म चाहिँ ‘ला खा बजिया !’ भन्दै ढाडी पड्काउँथें । मेरी आमालाई मेरा टाउकाबाट चम्कना र लिखा निकाल्न आजभोलिका चामलबाट ढुङ्गा निकाल्न कठिन परेजस्तो कठिन पर्दथ्यो । लिखेटो लगाउन खोजे मेरा बाक्ला घुँगुरिएका कपालमा काइँयो नै भाँचिने डर थियो । त्यसैले फुर्सदका बेलामा आमा मेरा जुम्रा हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘हैन यस मोराको यो कस्तो जर्खरिएको मुसे खरुकी जस्तो कपाल हो ! कताबड यसले यो कपाल पायो ? न मपट्टिकामा थियो न बाबुपट्टिहरूमा थियो ?’
लोग्ने मान्छेहरूले पनि अचेलको जस्तो कपाल पालेर कोरीबाटी गर्ने चलन ऊ बेला अलिक आइसकेको थिएन । मेरो छोरो आजभोलि श्रृङ्गार नगरी कतै निस्कँदैन । उसलाई अनुहारमा लाउने फेयर एन्ड लबली, मस्च्युराइजर क्रिम, पाउडरहरू नभई हुँदैहुँदैन । ऊ बेला मेरो बिहेमा बेहुलीलाई श्रृङ्गारका लागि किनिएको जति सामान त यस बेला मेरा छोरालाई दैनिकजसो चाहिन्छ । अचेलको जस्तो हुँदो हो त म पनि त्यो बेला कपाल पालेर चुल्ठो बाटेर चिटिक्क परेर हिंड्दो हुँ । त्यो चलनै नभएकोले मैले त कपाल लामो भएपछि वा बढी जुम्रा परेपछि काट्नै पथ्र्यो । अर्को उपाय थिएन ।
जर्खरिएका कपालबाट मलाई लाभ भन्दा हानी नै बढी थियो । लामो भएपछि सपक्क नपरी कुनै निग्रोको जस्तो वा साइबाबाको कपाल जस्तो गरी टाउकाको ओरिपरि फैलन्थ्यो मेरो कपाल । यसबाट बर्खाको खरो घाममा बाटो हिंड्दा वा खेतमा आली अँचिला गर्दा  छाताको खाँचो यसले टार्दथ्यो । यो एउटा लाभको विषय थियो । अनि सानोतिनो पानी पर्दा छाताको काम पनि काट्थ्यो र छत्री जस्तो ओरीपरिबाट पानी झर्दथ्यो । यो अर्को फाइदाको विषय थियो ।
केही केही फाइदा पनि थिए तर मेरा त्यो छत्रे कपालको फाइदा भन्दा बेफाइदा नै बढी थियो । यस छत्रे कपालबाट मलाई पहिलोपटक समस्या परेको चाहिं केटी हेर्न जाँदा नै हो । त्यसरी केटी हेर्न जाँदा केटीका बाबुले कडकालका रूपमा गएका मेरा बाउसित माझै मुखबाट भनेका थिए, ‘के हो यो छत्रे टोपी जस्तो कपाल ? निग्रोहरूको ठिम्मर जस्तो मान्छेलाई खोइ छोरी के दिनु र ? छोरो त तपाईंकै हो ?’
‘कपाललाई नै केटी दिने भए चौंरी गाईको साँढेलाई वा डाँगा घोडालाई दिए भइहाल्यो नि किनभने तिनको जगर र पुच्छर सपक्क मिलेका हुन्छन् ।’ मेरा बाउलाई उछिन्दै मैले प्वाक्क भनेको थिएँ । अनि नाजवाफ भएर केटी दिएका थिए ।
ऊ बेला मरुमराउ परेमा वा जुम्रा परेपछि अथवा लामो भएपछि कपाल खौरने चलन थियो । मान्छेका भुत्ला काटिदिने, नङ्ग्रा छाँटिदिने, जुत्ता पुछिदिने, आँटा मुछिदिने र नाथे र जैरेहरू मिलाइदिने सम्मका बिहारीहरू आजभोलि हाम्रा देशका कुनाकुनामा छिरिसकेका छन् । आजको जस्तो उस बेला हाम्रो देशमा तिनीहरू कहाँ हुनु ? अचेल पाइने जस्ता हजाम कहाँ पाउनु ? मेतर कहाँ पाउनु, मोची कहाँ पाउनु ? सुजिकार कहाँ पाउनु ? मास्टर कहाँ पाउनु ? यसैले कपाल काट्नु परे पनि आफैं, जुता तुन्नु परे पनि आफैं, नङ्ग्रा छाँट्नु परे पनि आफैं, तुना लाउनु परे पनि आफै, दुना गाँस्नु परे पनि आफैंंं । सबै थोक आफंै ।
अस्ति भर्खरको कुरा हो । उतैबाट आएका एउटा साथीले हाम्री काइँलीलाई गाभिनु पनि पारेछ । अचेल त गाभिनु पार्न र गाभिनाहरूका गर्भ तुहाउन पनि उनीहरू नै पाइन्छन् । उस बेला ता सबै थोक आफैं गर्नुपथ्र्यो । सबै थोक आफैं गरेर पनि आफ्ना थाप्लाको कपाल आफैं काट्न सक्ने स्थिति रहँदो रहेनछ । स्वास्नीलाई कपाल खौरन लाउन पनि कसोकसो मिल्दो रहेनछ । यसैले मेरो कपाल काट्नु पर्‍यो कि मेरा पिताजी बिहानैदेखि दर्शन ढुङ्गामा छुरा उध्याउन थाल्नुहन्थ्यो । अनि दिउसो घाममा कपाल भिजाएर खसी जगल्ट्याए जस्तो गरी मेरो कपाल ताछ्नुहुन्थ्यो । डाँडामा पहिरो तछारिएको जस्तो पारेर बल्लबल्ल बेलुका एक मेलो सके जस्तो गरी मेरो कपाल खुइल्याइसक्नुहुन्यो । बर्खामा पानी परेका बेला खेतबारीमा पानीका मूल फुटेजस्तो मेरा टाउका भरिबाट रगतका मूल फुटाउँदै मेरो कपाल खुइल्याउनुहुन्थ्यो । उहाँका लागि मेरो कपाल खुइल्याउनु भनेको एक दिन भरिको मेलो गर्नु जस्तो थियो ।
ऊ बेला यस्तो थियो मेरो कपाल । मेरो कपालका अरू केही विशेषता पनि थिए । कपाल खौरन भ्याइएइन भने छत्रे टोपी जस्तो भएर टाउकाको ओरिपरि फैलन्थ्यो । छ सात महिनासम्म पनि काट्ने मान्छे पाइएन भने मेरा कपालले सँगेल दिने छाताजस्तो छत्रे टोपीको काम दिन्थ्यो । कसैले ‘यसको कपाल त अङ्ग्रेजको ह्याट जस्तो पो रहेछ ए गाँठे !’  भनेर मलाई मान्छेहरूले जिस्क्याउने गर्थे । थोरै पानीले भिज्दैनथ्यो । भिजेपछि निकै पानी त्यसैमा अट्तथ्यो, मानौ मेरो कपाल शिवजीको जटा थियो, जसमा गङ्गाजी अडिनुहुन्छ ।
यस्तो कपाल भएको मान्छे म । आज त्यो कपाल सम्झँदा मेरा नौनारी गलेर आउँछन् । आज त्यही जर्खरिएको कपाल भएको मेरा तालु घाम लागेका बेला पहाडतिरका घरका टीनहरू टल्केझैं टलल टल्किएको छ । ऊ बेलाको कपालको मायाले मलाई आज निकै सताउँछ ।
घरमा छोरो जन्मिएपछि पढ्न हिंड्ने मान्छेहरूमध्ये म पनि एक थिएँ । पढ्न भनेर दार्जिलिङतिर लागियो । दार्जिलिङको बसाइमा पनि मेरो कपाल तछार्ने काम उनै हजामहरूको जिम्मामा आयो । उता ता उनले गढ जमाइसकेकै थिए । उनीहरू अरूको कपाल ताछ्न ऊ बेला आठाना लाग्दथ्यो । मेरो कपाल मिलाउन हजामहरूले डबल लिन्थे यसैले मैले छडी काट्नु भनेको दोब्बर महँगो विषय थियो ।
मेरो बाल लामो राखेर पाल्नमा वा फेदैदेखि फाल्नमा नै लाभ थियो । यसैले म छ छ महिनामा खुइल्याउने काम गर्दथें । के कुतौजी परेर हो कुन्नि म केही भन्न सक्तिनँ, त्यहाँको बसाइका केही वर्षभित्रै मेरो कपाल पञ्चायतको बेलामा जङ्गलबाट रुख पातलिए जस्तो पातलिन थाल्यो । थोत्रो राडीबाट भेडाका भुत्ला भरेजस्तो मेरो कपाल पनि बुर्बुर झर्न थाल्यो । यता कपाल बाहेक टम्म मिलेका मेरा दाँत जर्खरिएका बाँसको खरेटो जस्ता बुरुसले माज्दामाज्दा छुट्टिएर बिजुलीका पोल जस्ता भइसकेका थिए । यो सबै हुनुका पछि त्यो बेलाका दाँत माझ्ने बुरुस र आँवला केश तैलको कमाल हो जस्तो लाग्छ ।
कपाल झरेर वा दाँत छुट्टएर मेरो अनुहार नै कुरूप भइसकेको थियो । मलाई अब बिहे गर्नु थिएन, भएकै थियो । यसबाट समस्या हुन सक्ने थिएन । तर पढिसक्न निकै थियो । पढिसक्नु कहाँ छ कहाँ ? बूढो हुनु कता छ कता ? कपाल भर्ने र दाँत छुट्टिने र हल्लिने गतिको अविरल रूपमा वृद्धि भइरह्यो । मन थामिनसक्नु भयो । नाना थरिका जरीबुटी र दबाइ पानी गरियो । जाने जति सबै दवाइपानी भए । तर केही लागेन । दार्जिलिङमा एउटी थैले कमिनीकी छोरीसँग बस्तै गएको मनको पिरती पनि कपालकै कारणले वैलाएर झर्‍यो । मेरो कपाल झरेर गर्नु नगर्नु गर्‍यो । त्यहाँ बसी सक्नु भएन । अनि मेरो दार्जिलिङे बसाइ घरैतिर सर्‍यो ।
सांसदलाई मन्त्री हुन दौरासुरुवाल र टोपीको खाँचो परेझैं मलाई पनि यसो बाहिरफेर निस्कन टोपी नलाई नहुने भयो । तर टोपी लायो कि टाउकामा पसिनाको मूल फुटेर नाकबाट उहिलेको सुन्धाराको जस्तो धारो छुट्न थाल्छ । केटाकेटीले यो दृश्य देख्नासाथ भन्न थाले— कस्तो सिँगाने बूढो रैछ । सधैं नाकबाट सिँगानको धारा छुटाउँछ । छि फोहोरी !
के गर्नु नाकबाट पसिना झरेपछि टोपी लाउनु पनि भएन । जसोतसो खुइलिएको तालु नदेखाई नहुने स्थिति भयो । त्यहाँ बसिसक्नु भएन । अनि लागें घरतिर निरास भएर चिन्डे तालु बोकेर ।
घर पुग्दा गाउँका अरूले त चिन्न सकेनन् सकेनन् आमा र बाले समेत कपाल झरेर तालु खुइलिएको र दाँत छुट्टिएको कैरन नहाली चिन्न सकेनन् । कसरी चिनून् पनि त ? ऊ बेलाको झ्याम्ले मान्छे । छत्रे टोपीको आकारको टाउकोभरि फलानो किसिमको जस्तै घँुगुरिएको बाक्लो न बाक्लो जर्खरिएको कालो कपाल भएको निग्रो जस्तो मान्छे थिएँ म । आज कुबेलामा मुडुलो भई खुइलिएको तालु अनि दाँत छुट्टिएर थोते ओढार जस्तो भएकोे मुख लिएर घर आएको छु । अनि चिनुन् कसरी ? आमाबाले नचिने नचिनून् । बरु त्योसम्म त ठीकै पनि हो । तर आफ्नै स्वास्नीले चिनिन भने पो पर्छ फसाद ! सोच्तै घर पुगेको थिएँ । स्वास्नीले नचिन्ली भन्ने सानो पीर परेको थिएन तर स्वास्नीले भने गोप्य कुराको राम्रो गरी हेक्का राखेकी रहिछे । चिनिहाली । कम बाठी छे र मेरी स्वास्नी !
बिस्तारै कुरा गरेपछि घरमा मेरो कपाल झर्नु र दाँतहरू पैरो लड्नुको कैरन बताएँ । आमाबाले निकै चिन्ता जनाउनु भयो । स्वास्नी त झन् बढी चिन्तित हुने नै भई । असमयमै बूढो भएको लोग्नेलाई सुमर्नु छ अनि त्यो कसरी चिन्तित नहोस् त ? जवानीमै बूढो लोग्ने सुमर्नुपर्दा कुन स्वास्नी खुसी होली ?
छोरो कहाँको खुइले बूढो आयो भन्ने ठानेर मेरा छेउमै परेन । छोरीले भने गग्रेटाका आटको डिलबाट लुकेर मलाई चियाएर हेरी । अनि उसले ‘को बाबै हो आमा ?’ भनेर उसकी आमालाई सोधी ।
बा त शास्त्र पढेको मान्छे । ‘छिद्रदन्तो क्वचिन्मूर्खो खल्वाटो निर्धनं क्वचित्’ अर्थात् दन्तद्वारेहरू र खुइलेको तालु हुनेहरू कुनैकुनै मात्र दुनियाँमा गरिब हुन्छन् बाँकी सबै धनी र विद्वान् हुन्छन् भन्ने शास्त्रको फर्मुला पिताजीले ममा भिडाउनुभयो र प्रसन्न हुनुभयो । कपाल झरेको र दाँत छुट्टिएर दन्तद्वारे भएको देखेर आफ्नो छोरो विद्वान् र धनवान् हुने भएछ भन्ने कुरामा उहाँ वास्तवमै विश्वस्त हुनुभयो । उहाँको अन्तरात्मा ममा एक विद्वान् र धनी पुरुषको दर्शन गरेर प्रसन्न भयो ।
तर यो कुरामा आमा र मेरी बूढीको चित्त कसले बुझाइदेओस् । उनीहरू त लागे मेरो खुइलिएको कपाल पलाउने र एक्लिएका दाँतलाई जोड्ने उपाय गर्न । कहिले गोबर लेपन भयो । कहिले गन्धे झारको मुन्टाको लेप लगाइयो । कहिले माली गाईको गहँुत र पुँडे गोरुको गोबर मिसाएर लेप लगाइयो । बाख्राको अम्रोको पानीले टाउको नुहाए कपाल पलाउने कुरामा छिमेकी कटेल आमैले ठोकुवा गरिन् । सिँगारी बाख्रो व्याएको मौका छोपी त्यो कुरा पनि नाक मुख थुनेर अजमाइयो । श्यालको सिङ घोटेर लाउने हो भने कपाल ज्यूँकात्यूँ हुने कुरा पल्लाघर जुँगे साइँलाले मेरी बूढीलाई सुनाइदिएछन् । श्यालको सिङ पाउन सकिने उपाय पनि उनले सुटुक्क बताइदिएछन् । मेरो गाउँमा दिउसै श्याल कराउँथे, रातिको ता कुरै भएन ।
श्याल कराएको बेला उसको सिङ पलाएको हुन्छ । त्यही बेला उसको टाउकोमा हान्न सकियो भने सिङ झार्न सकिन्छ । जुँगे साइँलाबाको यो उपायको अभियानमा मेरी धर्मपत्नी रातो दिन बिताउन थाली । कहिले र कतातिर श्याल कराउँछ भनेर उसका कान ठाडा हुन थाले । श्यालको हुइँयाँ सुन्ने बित्तिकै ‘लौन श्याल कराए जाऊँ सिङ झार्न’ भनेर ऊ मलाई नै गुहार माग्न थाली । अरूसँग ता रातबिरात श्यालका सिङ झार्न जाने कुरै भएन । कुनै अर्कासँग रातारात श्यालका सिङ झार्न जाँदा उसैका सिङ झारिदेला । अनि मसँग नगई अर्कासँग सिङ झारिमाग्न ऊ किन जान्थी त ?
यता आमा भने मेरा दाँत मिलाउने औषधिको खोजीमा लाग्नुभयो । भेडाको करङ डढाएर त्यसको अँगारले दाँता माझे छुट्टिएका दाँत मिल्छन् भन्ने कुरा कसैले सुनाइदिएकोले आमा भेडोको हाड खोज्ने अभियानमा लाग्नुभयो । बल्लबल्ल भेडाको हाड भेटेर यो उपाय आमाबाट भयो । दाँत मिल्नुको साटो भएका दाँत पनि जेभाँतीका कुराहरूको प्रयोगले काला लिँड जस्ता हुन थाले । कपाल पलाउनुको साटो चिन्डाको प्वाङ टल्किएको जस्तो मेरो टाउको झन् टल्कन थाल्यो । चिल्लो भएर ताछेको आलु जस्तो देखिन थाल्यो । अब अरू केही शिप नलागेर उनीहरू धामी लाउनेमा पुगे ।
कटेल कान्छो त्यो बेला त्यहाँ भर्खर उत्रिएको र निकै चाँडै कहलिएको धामी थियो । बाहुन भए पनि लिम्बू कुरामा फलाक्न जान्ने भएकोमा उसलाई गाउँभरि सिद्धि मिलेको थियो । एक दिन ऊ बिहानै सुर्तीको ल्वाँठो तान्दै हाम्रो घरमा आयो । आमाले ऊसँग गुनासो पोखिहाल्नुभयो । ‘हेर न नानी, जेभाँतीका कतिकति उपाय गरियो । यसको कपाल पिटिक्कै पलाएन । यसका न दाँत नै मिले न कपाल नै पलायो । केही उपाय छैन ?’
उसले आमाको यो गुनासो सुनेर कपाल उमार्दिने ठोकुवा गर्‍यो ।  सपक्कसँग कोर्दा मिल्ने किसिको कपाल हुनुपर्ने आमाको माग थियो । कटेलसँग आमाले प्रस्ताव राख्नुभयो ‘पहिलेको जस्तो जर्खरिएको गुजुल्टिएको झाँक्रो खालको कपाल नभई सपक्क मिलेको बाबियो जस्तो खालको कपाल उमारिदिन पनि त सकिन्छ होला नि ! सकिन्छ कि सकिँदैन ए कटेल नानी ?’
कटेलले आमालाई चिन्ता नगरी सामान मात्र तयार पार्ने सल्लाह दियो ।  आमा ढुक्क भएर धामीका सरसामग्रीको तयारीमा लाग्नुभयो ।
कटेल कान्छाले रात भरि ढ्याङ्ग्रो ठटायो । उसले सेग्र्याम गर्‍यो । गर्नसम्मको उपाय गर्‍यो । केके हो केके फलाक्यो । अक्षेता छक्र्यो । लिम्बू भाषामा फलाक्न थाल्यो । वनकोलाई मन्सायो, सेग्र्याम गर्‍यो । बूढीबजुलाई बुझायो । खोलाकोलाई सधायो । भएभरका भूतप्रेतहरूलाई चित्त बुझायो र बक्न थाल्यो । उसका फलाकाको गेडो मैले केही पनि बुझ्न सकिनँ ।
उसको बकाइमा बुझ्नेहरूले बुझेछन् । बोक्सी लागेर कपाल झरेको कुरामा ठोकुवा गरेको रहेछ । विदेशी बोक्सी लागेकोले बुझाउन कठिन भएको कुरा पनि उसले धामी बक्ता जनाएछ । मलाई लाग्यो, मान्छे निकै बाठो रहेछ । स्वदेशी बोक्सी लागेर कपाल झरेको हो भनिदिएको भए गाउँठाउँकै कुनै आइमाईलाई फसाद पार्ने थियो । कतै ता आची पनि खुवाइन्थ्यो । धन्न विदेशी भनिदिएछ !
यस्ता नानाभाँतीका जुक्ति गरेर पनि मेरा तालुको चिल्लो प्रदेशमा रउँको एउटा बिरुवा पनि उम्रेन । उल्टै आँखीभुँइँ र परेलासमेत झर्न थाले । टाउकाको कपाल त यसो नक्कली किसिमको लगाएर पनि चित्त बुझाइन्थ्यो होला तर यो परेला र आँखीभुइँ झर्नु भनेको कुरा मलाई र मेरी स्वास्नीका लागि सहिसक्नु भएन । आज आँखीभुइँ झर्न थाल्यो, भोलि दारी जुँगा झर्ला, पर्सि यही रीतले अन्यत्र पनि झर्ने क्रम सर्ला भन्ने ठानेर मेरी स्वास्नीको अझै सातोपुत्लो उडेर गयो । मेरा ससुरा पनि सानोतिनो सेग्र्याम गर्ने गाउँका बैदाङ थिए, अनि उनले पो मेरा भुत्ला उमार्दिने हुन् कि भन्ने आश मेरी पत्नीका मनमा अलिकति उम्रिएछ । अनि मलाई टिपेर हिंडी उसका माइततिर ।
मैले कपाल उमार्नका लागि ससुराल जानुपर्ने भयो । बसमा चढ्दा सिट पाइएन । बसमा चढ्नु भनेको उभिनु त हो नि भनेर सोच्तासोच्तै एउटी लगभग मेरै उमेरकी केटीले सिट दिँदै ‘बाबै, लौ बस्नुहोस्’ भनेर आफूले बसेको सिट छोडिदिई । मेरा मनमा बाबै शब्दले चसक्क घोच्यो । अर्कातिर खुइलिएको तालुकै कारणले सिट पाइयो । अलिकति खुशी पनि लाग्यो । सिट नपाएर उठ यात्रामा लागेकाहरूलाई भनिदिन मन लाग्यो— ए केटाहरूहो, देख्यौ त कपाइ खुइलिनुको मजा ! तर केही पनि बोलिनँ । अनि मनमा तुरुन्तै कुरा आए, खुइलिएको तालुले फाइदा पनि पुर्‍याउने रहेछ । लाखेस् ससुरालबाट फर्केपछि गाउँविकासमा गएर तालु देखाएर वृद्ध भत्ता नलिई कहाँ छाडुलाँ र ?
आफू त उभिएरै पनि पुगिहालिन्छ नि बरु श्रीमतीलाई पो बसाउनु पर्‍यो भनेर उसलाई बसाउन खोजेको त मेरा लागि सिट छाडिदिने बहिनीले प्रतिवाद गरिन्, ‘होइन बाबै, तपाईं बूढो मान्छे भनेर तपाईंलाई पो मैले सिट छाडिदिएको त । तपाइँकी छोरी ता उभिन सकिहाल्छिन् नि !’
लौ मार्‍यो बा ! यी मेरी स्वास्नी हुन् भनौंं भने अरू केके कुरा आउने हुन््, अर्कै केही अर्थ लाग्ला ? यस्ता खुइले बूढालाई यो भर्खरकी केटी दिने कस्ता आमाबाबु रहेछन् भनेर सराप्ली । बरु उसले छाडिदिएको सिटमा बस्नु नै बुद्धिमानी होला भन्ने सोचेर थपक्क बसें ।
सिटमा बस्न पाएको थिइनँ, सिटका अर्कोतिरबाट एउटी महिलाको आवाजमा, ‘हजुरबा, अलिक नढेपास्सिइ बस्नुहोस् है !’ भन्ने अर्को वचनवाण आयो । मन छिन्नभिन्न लिएर सिटमा बसें । अनि सोच्न थाले ‘अब ससुराल पुगेपछि ससुराले मेरो खुइलो तालुमा केके दल्ने हुन् । सासूले के भन्लिन्, जेठानी दिदीले के भन्लिन् । भुराभुरीले कसरी गिज्याउने हुन् । ती सबै कुरा कसरी सहने हो ? अरू अरूले के के भन्ने हुन् ? हे भगवान् मेरो तालु किन खुइल्याइदियौ ? उपाय छ भने थाप्लामा जगल्टो पलाउने कुनै उपाय गरिदेऊ प्रभु ! मेरा तालुलाई किन चुरे भावर बनाउँछौ, मेरो पुकार सुन प्रभु !’ यस्तै सोच्तै गर्दा अर्को सोच आयो, अरूले जे जे भने पनि सहिन्थ्यो होला सालीका अघि कसरी खुइले तालु लिएर जाने । अनि उसका वचनलाई कसरी प्रतिकार गर्ने हो हे राम…….
सोच्तै थिएँ, साँझ पनि पर्न आँटेछ, ससुराल पनि पुग्न आँटिएछ । ‘के घोरिरहेको, आइपुग्यो ओर्लिने ठाउँ आउनुहोस्’ स्वास्नीले भनी ।
अनि बसबाट ओर्लन लाग्यौं । कन्डक्टर भन्दै थियो ‘नानी बालाई राम्रो गरी समातेर लानुहोस् है । बाटामा लड्नु होला । आँखा देख्नुहुन्छ हुन्न कोनि ।’ मेरा मनमा भने उसका वचनले मुटुका माझैमा सुइराले रोपेको अनुभव हुन थाल्यो । ‘भन् बजिया जे जे भन्छस् भन्……!’  सोच्तै बसबाट ओर्लिएँ र लागें ससुरालतिर भुत्ला पलाउने जुक्तिको उपायका लागि । हेरौं ससुराबाले केही उपाय गरिहाल्नु हुन्छ कि ?
०००
प्रतिनिधि झापाली हास्यव्यङ्गकारहरू (२०६८)
Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे