फित्काैली डटकमप्रमोद भट्टराईको ‘मनोभिराम’ मुक्तकसङ्ग्रह विमोचन
अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गरेका थिए । त्यसका लागि उनले व्यक्तिगत रूपमा १० हजार रुपैयाँमा कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

विराटनगर, २०८१ वैशाख १९ । साहित्यकार प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा लिखित मनोभिराम मुक्तकसङ्ग्रह विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी ’मार्सेली’, साहित्यकारसमेत रहेका नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, अग्रज साहित्यकार तारानाथ पोखरेललगायतले संयुक्त रूपमा मुक्तक सङ्ग्रहको विमोचन गरेका थिए ।
विमोचित मुक्तकसङ्ग्रहको समीक्षा समालोचक भूषण ढुङ्गेलले गरेका थिए । उनले सङ्ग्रहमा लेखकले राजनीतिक र सामाजिक विकृतिलाई सशक्त रूपमा उठाएको बताए । पाठकले सबै स्वादका मुक्तक पढ्न पाउने समीक्षक ढुङ्गेलको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, मञ्जु घिमिरे दाहाल, रेहित सैजु, मञ्जुश्री गिरी, नानुमैया दाहाल, श्रीप्साद पोखरेल, मदन भण्डारी, निर्मला कोइराला, राधा भट्टराई, तारानाथ पोखरेललगायतले सङ्ग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथिसमेत रहेका विवश पोखरेलले मुक्तकका पाठक र लेखक बढ्दै गएको दाबी गरे । मुक्तक लेखनतर्फ पछिल्लो समय स्रष्टाहरूको आकर्षण बढ्नु खुसीको विषय भएको पोखरेलले बताए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेलले मुक्तक प्रतिष्ठानमा पुस्तक प्रकाशनका लागि कोष स्थापना गर्ने घोषणा गरेका थिए । त्यसका लागि उनले व्यक्तिगत रूपमा १० हजार रुपैयाँमा कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
उनका अनुसार कोषमा जम्मा भएको रकमबाट मुक्तकसंग्रह प्रकाशित गर्न २० देखि ३० हजार उपलब्ध गराइनेछ । सो रकम ६ महिनासम्म निर्ब्याजी चलाउन दिइने समेत उनले स्पष्ट पारे ।
०००
– रेहित सैजुद्वारा सम्प्रेषित ।
Subscribe
Login
0 Comments
Oldest










































