फित्काैली डटकमयुग कवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्ती मनाइयाे
साहित्यिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै राष्ट्रिय विभूतिको सम्मान तथा जन्मजयन्ती मनाउने परम्परालाई निरन्तरता दिँदै बुधबार जन्मजयन्ती मनाएको हो ।

काठमाडौँ । कुलेश्वर आवास परिवारले नियमितरूपमा सञ्चालन गर्दै आएको हरेक बुधबारको “दिवा सेवा” कार्यक्रमअन्तर्गत नेपाली साहित्यका महान् युग कवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्ती मनाएको छ । संस्थाले आध्यात्मिक, धार्मिक, साहित्यिक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्दै राष्ट्रिय विभूतिको सम्मान तथा जन्मजयन्ती मनाउने परम्परालाई निरन्तरता दिँदै बुधबार जन्मजयन्ती मनाएको हो ।
सोही क्रममा आयोजित कार्यक्रममा प्रमुख अतिथि श्री शेखरकुमार श्रेष्ठले युग कवि सिद्धिचरण श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा विभिन्न विधाका आठ जना कवि चेत नारायण धमला, डिल्ली प्रसाद दाहाल, बुद्धि मान ढुङ्गाना, गोपाल कुमार मैनाली, जुन किरण, बैरागि जेठा, र संगीत मय कवितामा राम बहादुर पहाडीले आफ्ना सिर्जनात्मक कविता वाचन गर्नुभएको थियो ।
प्रस्तुत कविताले साहित्यप्रेमी सहभागीको मन जित्नुका साथै कार्यक्रममा साहित्यिक वातावरण सिर्जना गरेको थियो । वाचन गरिएका कवितामाथि पण्डित हरिप्रसाद खतिवडाले आफ्नो कवितासहित, समीक्षात्मक टिप्पणी गर्दै कविताका भाव, शैली र सन्देशबारे विश्लेषण गर्नुभएको थियो ।
कार्यक्रमका उदघोषक कुवेश्वर प्रसाद जोशीले लोकप्रिय गीत “मेरो प्यारो ओखलढुंगा” प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक र भावनात्मक बनाउनुभयो । कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष राजु दाहाल शर्माले, प्रमुख अतिथि, कवि–कवयित्री, समीक्षक तथा उपस्थित सम्पूर्ण सदस्यलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले संस्थाले सामाजिक, सांस्कृतिक, आध्यात्मिक र साहित्यिक गतिविधिमार्फत समाजमा सकारात्मक चेतना फैलाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभयो । उक्त कार्यक्रमले साहित्य, संस्कृति र राष्ट्रिय विभूतिप्रति सम्मान अभिवृद्धि गर्नुका साथै सहभागीबिच आत्मीयता र सिर्जनात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजक संस्थाले जनाएको छ ।
साथै उक्त कार्यक्रममा, जेष्ठ नागरिक मिलन केन्द्रका संयोजक तथा निवर्तमान अध्यक्ष लोकनाथ पोखरेल, साहित्य कला संस्कृति समाजका संयोजक निलहरी शर्मा सुबेदी, संस्थाका उपाध्यक्ष राम कुमार श्रेष्ठ (राम विनय),कोषा अध्यक्ष मदन श्रेष्ठ, सदस्य शुभाष बिष्ट, महिला जागरण समूहका सचिव बव्लि पौडेल र तुलसा दाहाललगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
०००
राम विनयकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































