सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फर्सीको पनि जीवनदर्शन हुन्छ

चार दिन बाँच्नु र आजै मर्नुमा के फरक छ ? तिम्रो आह्वानले स्वीकृति पाए पनि मलाई त कुनै पनि राहत मिलेन । समावेशी भनेर एकै ठाउँमा बसाले पनि पहिलो काल त निमुखाकै आयो । यहाँ समानता मात्र होइन, समाताको पनि खाँचो छ ।

Nepal Telecom ad

भागवत खनाल :

मेरो घरको बरन्डाको एउटा कुनामा लहरै तीनवटा फर्सी राखिएका छन् । पहिलो दुईवटा लगभग परिपक्व छन् । अर्को चाहिँ निहायत किशोरावस्थामा छ । जेठो र माहिलो फर्सी ठिङ्ग उभिएका छन् भने कान्छो चाहिँ लत्र्यान्न परेर पल्टेको छ । म फर्सीका तीन भाइलाई पालैपालो हेरिरहेको छु । टिपेर राखेको भए तापनि उनीहरू अझै जीवितै छन् ।

श्रीमद्भागवत पुराण भन्दछः-
‘अहस्तानि सहस्तानामपदानि चतुष्पदाम् ।
फल्गूनि तत्र महतां जीवो जीवस्य जीवनम् ।’
भागवतमा ‘जीवो जीवस्य भोजनम्’ भनिएको छैन । अपितु त्यहाँ ‘जीवो जीवस्य जीवनम्’ भनिएको छ । कुनै पनि जीव अर्को जीवलाई नखाई जिउन सक्दैन । जीवले जीवलाई भक्षण गर्नु उसको रहर होइन, बाध्यता हो । यो कुरा भयानक छ । परन्तु सृष्टिको प्रपञ्च नै यस्तै छ ।

प्राकृतिक जीवनमा बाँच्ने अधिकार सबैलाई छ । परन्तु बचाउने कर्तव्य चाहिँ कसैको पनि छैन । प्रकृतिमा बलियोले कमजोरलाई पेल्दै जान्छ । बलियाबिच पनि प्रभुताका निमित्त आपसी सङ्घर्ष हुन्छ । जसले जित्छ, ऊ ‘सर्भाइव’ गर्छ । जो हार्छ, उसको अस्तित्व मेटिँदै जान्छ । किन्तु त्यो प्रक्रिया स्वाभाविक प्राकृतिक पद्धतिको रूपमा स्थापित छ ।

मनुष्य मनुष्यबिच भने बलियोले कमजोरलाई पेल्ने र लपेट्ने प्रवृत्ति बडो निर्मम छ । मर्न पनि नदिने र बाँचे जस्तो गरी बाँच्न पनि नदिने । मनुष्यमा एउटा बसिखाने वर्ग हुन्छ । अर्को चाहिँ गर्ने, तर गरेको खान नपाउने वर्ग । मानव जब प्राकृतिक अवस्थाबाट सांस्कृतिक अवस्थामा प्रवेश गर्‍यो, उसले प्रकृतिका रीतिहरूको उल्लङ्घन गर्न थाल्यो । प्राकृतिक जीवनमा गरिखान सक्नेको आधिपत्य हुन्थ्यो भने सांस्कृतिक जीवनमा गराई खानेको वर्चस्व कायम भयो ।

फर्सीलाई हेर्दाहेर्दै म त कताकता हराउन पो पुगेँछु । मैले एकोहोरो तीन भाइ फर्सीलाई हेरी नै रहेको थिएँ । ज्यादा एकसुरे भएकाले होला, मलाई तन्द्रा लागेझैँ भयो । मलाई कस्तो महसुस हुन थाल्यो भने मैले मात्र फर्सीलाई हेरिरहेको छैन । फर्सीहरूले पनि कहिले एक्लै र कहिले समवेत मलाई हेरिरहेका छन् ।

फेरि ठुलो फर्सी मतिर हेर्दै बोल्न थाल्यो । ‘हाम्रो जीवनमा पनि सुख र दुःख छ । हाम्रो जीवन पनि आरोह र अवरोहको रामकहानी हो । हामीबिच पनि विभेद र वञ्चितीकरण हुन्छ । हामीमध्ये पनि कोही मस्तीमा झुम्छ भने कोही फाकामस्तीमा रुन्छ । यसो हामी तीन जनालाई नियालेर हेर् त ! के देखिस् ? हो, तैँले केवल तीन थान फर्सी मात्र देखिस् हैन ? जसलाई तँ मुड चलेको बेला पकाएर खाने छस् ।’

दार्शनिक नित्सेले भनेका थिए, यदि तिमीले लगातार खाडललाई हेरिरह्यौ भने खाडलले पनि तिमीलाई हेर्न थाल्नेछ । तुक न तालको कुरामा गहिराइ नाप्न थालेपछि कि विक्षिप्त बनिन्छ कि त दार्शनिक । परन्तु लागेको बानी कहाँ सहजै त्याग्न सकिन्छ ? म हातमुख धोएर तरोताजा हुने कोसिस गर्न थालेँ । फर्सीले डराउन दियो भनेर कसैलाई भन्नु पनि कसरी भन्नु । ‘अब मरे पनि फर्सीलाई दिमागमा आउन दिन्न’ भनेर मनमनै प्रण गर्दै खाना खान थालेँ । धन्न फर्सीको तरकारी पकाएको रहेनछ । दिमागमा किञ्चित सान्त्वना मिले झैँ भयो ।

खाइवरी चुठेर हात पुछ्दै थिएँ, फेरि ठुलो फर्सीको आवाजले लखेट्न थाल्यो । ‘एक बार हामीलाई अझै गहिरोसँग नियालेर हेर् त मान्छे !’ मैले उसलाई यन्त्रवत पुलुक्क हेरेँ । उनीहरू क्रोधले सिल्लीझैँ भएका थिए । ‘हो, हामी पनि तँलाई पकाएर खाने योजना बुन्दैछौँ । तँलाई पनि लहराले टनटनी बेरेर निसास गराउने फिराकमा छौंँ हामी ।’ मेरो समग्र शरीर काँपिरहेको थियो । मैले ठुलो फर्सीका आँखा, नाक, मुख र कानसमेत देख्न थालेँ । फर्सी खिलखिलाएर हाँस्दै थियो । बोल्यो, ‘डर लाग्यो ? भइगो नडरा । हामी तँलाई खादैनौँ । हामीले खाने काम सकिसकेका छौं । हामी मान्छे झैँ हमेसा खानैको चिन्तामा हुँदैनौँ । हामी तिमीहरू झैँ लोभ, लालच र आसक्ति जान्दैनौँ ।’ कोही आएर झकझक्याएपछि मात्र तन्द्रा खुल्यो । म पसिनाले लुछुप्पै भिजेको थिएँ ।

म नजानिँदो किसिमले फर्सीसँग प्रभावित हुँदै थिएँ । ठुलो फर्सीले पनि म ऊसँग मोहित हुँदै गएको कुरा चाल पाएको रहेछ । ऊ फेरि बोल्न थाल्यो, ‘वनस्पतिमा पनि ‘मेकानोरिसेप्टर’ अर्थात स्वस्फूर्तग्राही इन्द्रिय हुन्छ । हामी आफूलाई भएको स्पर्श, दवाव, कम्पन वा ध्वनि जस्ता कुराबाट उत्तेजित, प्रेरित या पीडित हुन्छौँ । हाम्रा लागि इन्द्रियको काम सूक्ष्म रोमहरूले गर्दछन् । तिमी मनुष्यहरू हामीलाई जड भनेर तिरस्कार र अवहेलना गर्दछौँ । परन्तु हामीमा पनि चैतन्य हुन्छ । हामी पनि खान्छौँ, पिउँछौँ र खानाको खोजीमा भौँतारिन्छौँ । हाम्रो पनि विवाह हुन्छ । हो, हाम्रो खाने र पिउने मुख तेरो जस्तो छैन । नाक, कान, आँखा, जिब्रो र छाला तेराभन्दा फरक छन् । हाम्रो प्रजनन र मनुष्यको प्रजननमा भिन्नता हुन्छ ।

लता ऊर्ध्वगामी हुन्छ । ऊ सूर्यको किरण खोज्दै माथिमाथि चढिरहन्छ । बाहिरी अङ्ग जति माथि गयो, भित्री अङ्ग आहाराको खोजीमा त्यति नै तल जान्छ । किनकी ऊर्ध्वगमनका लागि धेरै ऊर्जा आवश्यक पर्छ । तिमीहरूले ढालेको वृक्षको घाउबाट अर्को वृक्ष पलाउँछ । ऊ बोल्छ, तर तिमी सुन्दैनौँ । ऊ रुन्छ, तर तिमी महसुस गर्दैनौँ । उसले गीत गाउँछ, किन्तु तिमीमा त्यो संवेदना बुझ्न सक्ने भावना, चाहना र शक्ति छैन ।’

भोलिपल्ट बिहानै परिवारका सबैजना चियापानका लागि त्यही बरन्डामा जम्मा भए । चियापानका सिलसिलामा फर्सीलाई नसम्झने र नहेर्ने प्रतिज्ञा नगरेकाहरूले आँखै लगाएनन् । म ‘मरे सम्झन्न’ भनेर प्रण गरेको मान्छेका आँखा भने सिधा फर्सीमा गएर अडिए । मलाई फर्सीको फिक्री भएझैँ फर्सीहरूलाई पनि मेरो परवाह थियो । उनीहरू आपसमा कुराकानी गर्दै मलाई नै हेरिरहेका थिए ।

ठुलो फर्सी भन्दै थियो, ‘तेरो मानव जगतभन्दा वनस्पति जगत इमान्दार र सच्चा छ ।’ बिचको फर्सीले त ठुलोले भनेका केही कुरा बुझिरहेको थियो, परन्तु सानो फुच्चे चाहिँ भने रनभुल्ल थियो । कलिलैमा आमा गुमाएको बबुरो फुच्चे ठुलोले जे भने पनि ट्वाल्ल परेर हेरिरहन्थ्यो । ठुलो फर्सी सानाहरूलाई सम्बोधन गरेर बोल्दै गयो, ‘हेर बाबु नानी हो ! मनुष्य र पशु झैँ हामी पनि सिकार खेल्छौँ । हामीले पनि प्रतिद्वन्द्वीलाई लखेटी लखेटी हैरान पार्छौं । हामी पनि आक्रमण र प्रत्याक्रमण गर्छौं । परन्तु हाम्रो प्राकृतिक जगतको हार र जित नियोजित हुँदैन । प्रकृतिमा पनि शोषण हुन्छ, किन्तु त्यो पूर्वनिर्धारित हुँदैन । सङ्घर्षको क्रममा जो बलियो हुन्छ त्यही विजयी हुन्छ । तर प्रकृतिले मनुष्यले हामीलाई यहाँ बरण्डामा ल्याएर राखे झैँ बन्दी बनाएर राख्दैन ।’

अचानक म के देख्छु भने निमुखा बालक झैँ अबोला भएर बसेको सानो फर्सी हल्लिरहेको छ । धेरै नबुझे पनि ऊ ठुलोका कुरामा प्रभावित भएर चलमलाइरहेको छ । म भरसक उसबाट नजर बचाउने प्रयत्न गर्दै थिएँ । तर फुच्चे र मेरा आँखा जुधिहाले । उसका आँखाहरू आँसुले भरिएका थिए । टाउको सानो र चुच्चाचुच्ची परेको थियो । ऊ फेरि ठुलोतर्फ फर्क्यो । भन्यो, ‘म तिमीहरूका धेरैजसो कुरा बुझ्दिनँ । तर एउटा कुराको खट्का छ ।’ ठुलो र माहिलो दुवैले उत्सुकतापूर्वक सानोलाई हेर्न थाले ।

सानोले पुलुक्क मलाई हेर्‍यो । उसका आँखा अझै पनि रसाइरहेका थिए । मलाई उसका आँखामा आँखा राखिरहन डर लाग्यो । मैले आँखा अर्कोतिर फिराएँ । तर कान भने सानेका कुरा सुन्न उत्सुक थिए । उसले मेरै बारेमा कुरा गर्दै भन्यो, ‘यो मान्छेले हामी तीनै जनालाई एकै दिन टिपेर यहाँ ल्याएर राखेको हो । तिमीहरू दुवैलाई उभ्याएर राख्यो, मलाई भने पुर्लुङ्ग पल्टाएर छाडिदियो । मैले त्यसको कारण जान्न सकेको छैन ।’

सानेका कुरा सुनेर म झसङ्ग भएँ । फर्सीबारीको गोडमेल मैले नै गरेको हुँ । सबैलाई मैले नै मल र जल दिएर हुर्काएको हुँ । ‘सिजन’ सकिएर लहरो सुक्न थाल्दासम्म जेठो र माहिलो अलिअलि छिप्पिए पनि कान्छो कच्चै रह्यो । दुई हप्ताअघि मैले नै सबैलाई त्यहाँ ल्याएर राखेको हुँ ।

मैले तीन भाइ फर्सीमा पुलुक्क नजर लगाएँ । सहसा मनमा आयो, जेठो र माहिलोलाई ठाडो राखेर यो फुच्चेलाई चाहिँ किन पल्टाएँ हुँला । थोरै गम खाएर सोच्दा के महसुस भयो भने मानवीय अचेतनको सुनियोजित योजनाबाट पनि विभेद हुँदोरहेछ । मेरो सानोलाई अपहेलना गर्ने कुनै सचेत इरादा थिएन । मेरो प्रत्यक्ष चेतनाले उसमाथि करुणा नै राखेको हो । बिचरा राम्ररी हुर्कन सकेन भनेर सहानुभूति पनि जागेकै हो । परन्तु सुषुप्तरूपमा अड्डा जमाएको मेरो अचेतनले सानो र कमजोरलाई नै हेला गर्न लगायो । आज आएर महसुस भयो, मैले पालैपालो तीनवटा फर्सी ल्याएर राख्दा ठुला आकारका दुईवटालाई जतनले थपक्क अड्याएर राखेको रहेंछु, किन्तु सानोलाई भने लापरबाहीसाथ राख्दा ढलेको रहेछ ।

म त्यसरी उद्वेलित थिएँ । तर मेरो परिवारका साराका सारा सदस्यहरू निर्द्वन्द्व गफ चुट्दै थिए । चियाका चुस्कीहरू सकिएपछि रमाइला कुराकानीको पालो आयो । म भने तीन भाइ फर्सीको हिसाब फर्स्योट गर्न नसकेर विह्वल थिएँ । त्यसैबिचमा छोराले सानो फर्सीतर्फ हेर्दै भन्यो, ‘आज मलाई खसीको मासु किन्न जान अल्छी लागेको छ । आज यही सानो फर्सीलाई नै खसी सम्झँदै छ्याप्प काटेर मासु खानुपर्छ ।’

परिवारका अन्य सबैले पनि हाँमा हाँ मिलाए । श्रीमतीले मतर्फ हेर्दै भनिन्, ‘सानो फर्सी काटिदिनुस् है । आज मिट्ठोसँग खानुपर्छ ।’ त्यस्तैमा मलाई फेरि सानो फर्सीले हेरिरहेको महसुस भयो । मानिसलाई खसीले मात्र होइन, फर्सीले पनि हेर्दो रहेछ । मैले नचाहँदा नचाहँदै पनि मेरा आँखा सानेतिरै थिए । सानेले विनम्र स्वरमा भन्यो, ‘अहिलेलाई लौकाले काम चलाए हुन्न ? जो सानो र निर्धो छ उसैलाई सुरुमै मार्ने ?’ अरु सबै निस्फिक्री भएर गफमा मस्त थिए । म भने ठुलो ऊहापोहको पोखरीमा डुबिरहेको थिएँ ।

बरा सानो फर्सी कति अभागी ! उमेर पाको भइसकेकी आमाले जन्माएको बच्चो थियो बबुरो । आमा शनैः शनैः सुक्दै गई । बालकलाई खुराक पुगेन, टाक्सिँदै गयो । मानिसको पनि त धेरै छिप्पिएकी नारीले जन्माएको शिशु तन्दुरुस्त हुँदैन भन्ने भनाइ छ । छिप्पिएकी सुत्केरी कमजोर र शिशु लुखुरो हुन्छ रे । सानेका पनि रहर थिए । टन्न मोटाएर पेटभरि बीजहरू जम्मा गर्दै शेषपछि फेरि अर्को जुनी लिने अभिलाषा थियो उसको । परन्तु कुपोषणले गर्दा उसको पाठेघरमा पातलो झिल्ली मात्र बस्यो ।

उता फर्सीहरू सबै गम्भीर थिए । यता म पनि समवेत गम्भीर हुँदै गएँ । हामीहरू आपसमा हेराहेर गरेर रुन थाल्यौँ । सबैका आँखा भिजे । सानो फर्सीको जीवनदानको करुण पुकार सुनेर मेरो हृदय नै विदीणर् भयो । त्यस्तैमा ठुलो फर्सीले भन्यो, ‘नयाँ वर्षको आरम्भ हुन केही दिन मात्र बाँकी छ । अहिलेलाई लौकाले काम चलाएर नयाँ वर्षको पहिलो दिनमा सानोलाई काटेर खाए कसो होला ?’

म जुरुक्क उठेर भित्र पसेँ र अघिल्लो दिन काटेर बाँकी रहेको आधा लौका काट्न थालेँ । बाहिर फर्सीहरू आपसमा साउती गरिरहेका थिए । सानोले ठुलोलाई भन्यो, ‘नयाँ वर्ष त आउनै लाग्यो । चार दिन बाँच्नु र आजै मर्नुमा के फरक छ ? तिम्रो आह्वानले स्वीकृति पाए पनि मलाई त कुनै पनि राहत मिलेन । समावेशी भनेर एकै ठाउँमा बसाले पनि पहिलो काल त निमुखाकै आयो । यहाँ समानता मात्र होइन, समाताको पनि खाँचो छ ।’

ठुलोले उत्तर दियो, ‘तैँले कुरै बुझिनस् खुजुरे ! यो त मेरो कुटनीति मात्र हो । नयाँ वर्षको पहिलो दिन पनि खसी नखाएर कोही फर्सी खान्छ त ? अब तेरो आयु लम्बिने भयो साने ! बधाई छ ।’ सानेको मोहडा अलिकता उज्यालो देखियो । परन्तु ऊ आफ्नो जीवन र मृत्युबारे जिज्ञासामै थियो । सोध्यो, ‘त्यसो हो भने म अब अझै कति दिन बाँच्न पाउँला ?’ ठुलो फर्सीले गम्भीर हुँदै उत्तर दियो , ‘एक दिन त मर्नु नै छ, तैपनि सकेसम्म काललाई टार्दै जानुपर्छ ।’

साने खान नपाएर टस्क्सियो ठुलो टन्न घाम पस्नी मल स्याहार पाएर सर्प्याे । समावेशी भनेर एउटै लाइनमा बसाले पनि काल त सानाकै आयो । एक दिन मर्नु नै छ तर सकेसम्म काललाई टार्दै जानुपर्छ ।

०००
पाल्पा, हाल अष्ट्रेलिया

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा