केशव ज्ञवाली ‘आगत’पानीमाथिका सपनाहरू
सपना थाती राखेर विदेशिएका थिए तर उनीहरूलाई नेताहरूले भाषणहरूमा झैँ कविहरूले कविताहरूमा झैँ नायकहरूले नाटकहरूमा झैँ घरका कुनै सदस्यले फोन गरेर घर फर्कन भन्दैनन्

केशव ज्ञवाली ‘आगत’ :
देशमा पानीका हजारौँ मुहानहरू छन् तर
देशको राजधानीमा
धारामा पानी आउँदैन
पानीको नाउँमा
महिनैपिच्छे महङ्गो बिल आउँछ
उता गाउँमा
एक गाग्रो पिउने पानीको लागि
आफ्नै पसिनाको
एक सिङ्गो बिहान बलिदान दिनुपर्छ ।
देशको सिमानाबाट
पानीको बहाव बाहिरिएपछि
आफ्नै देशमा
खेत र
बारीहरू बाँझो भएका छन्
तैपनि
घर चलाउनका लागि भन्दै
पानी र
आम्दानी नभएको घरबाट
युवाहरू देश छाडेर
सिमानापारि
पसिनाको मूल्य खोजिरहेका छन्
तर
आकाशे पानीको कुनै भर हुँदैन ।
देशबाट दिउँसै युवाहरू
आफ्नै देशको नदीमा नहर बनाउने
सपना थाती राखेर विदेशिएका थिए तर
उनीहरूलाई
नेताहरूले भाषणहरूमा झैँ
कविहरूले कविताहरूमा झैँ
नायकहरूले नाटकहरूमा झैँ
घरका कुनै सदस्यले
फोन गरेर घर फर्कन भन्दैनन्
अपितु
आफ्नो खातामा पठाएको
रेमिट्यान्समा
उनीहरूको देशभक्ति मौन छ ।
०००
रूरूक्षेत्र, गुल्मी
हाल-सूर्यविनायक, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest







































