स्यालको रजाइँ
कथा र किंवदन्तीहरूमा आफूलाई नागरिकको नोकर ठान्ने र मालिक ठान्ने शासकहरूको वणर्नहरू सुनियो । रामराज्य र हरामराज्यको कथा पढियो । राजर्षि र राक्षसी महाराजहरूका वृतान्त पनि गुनियो
रामप्रसाद पन्थी :
म सानो छँदा जङ्गबहादुर काकाले “जगत बाबुु ! जमिनमा रहने जनावरमा सबैभन्दा जङ्गी जनावर हात्ती हो ।” भन्नुभएको कुरा अझै बिर्सिएको छैन । फिता लिएर नाप्ने वा ढक तराजु लिएर जोख्ने मौका मिलेको छैन । जे होस् सबैले मानेपछि होला । पत्याउनै पर्यो ।
स्कुलमा जङ्गलको राजा सिंह भनेर गुरूहरूले भन्नुभयो । गुरुले भनेपछि नपत्याई सुख भएन ।
हात्तीको प्रसङ्ग उठाएर सिंहतिर किन लाग्या ? प्रश्न उठ्न सक्छ । मैले नबुझेकै यहीँ विषय हो । शरीरका हिसाबले सबैभन्दा ठूलो जनावर हात्ती भएपछि राजा पनि हात्ती नै हुनुपर्ने ! यसो सोचें हात्ती शाकाहारी जनावर हो । सुधो हुन्छ । सुधोपनाले शासन चल्दैन । सिंह त मांसहारी जनावर हो । मांसहारीहरू कठोर र निर्दयी स्वभावका हुन्छन् । त्यसो त सिंह बाहेक अन्य जनावर पनि त मांसहारी थिए । सिंहलाई नै किन राजा चुनियो ? कसले राजा स्वीकार गर्यो ?
कहिलेकाहीँ व्यक्ति फरक भए पनि कुनै खास विषयमा विचार मिल्दो रहेछ । यहीँ जिज्ञासा र खुल्दुलीले स्याल समाजको एउटा झुन्डलाई पनि प्रभाव पारेको रहेछ । यस विषयमा उक्त झुन्डको गोप्य बैठक बसेछ । बैठकले जसरी पनि सिंहको विरासत ढाल्नु पर्छ । सिंहदरबार कब्जा स्यालदरबारमा परिणत गर्नुपर्छ । जहानियाँ एकतन्त्रीय राज्य व्यवस्थाको सट्टा लोकतान्त्रिक गणतन्त्र कायम गर्नु पर्छ भन्ने निष्कर्ष निकालेर विद्रोह थालेछ ।
यता सिंहको शासन प्रणालीबाट असन्तुष्ट अन्य खेमाका स्यालहरूमा पनि उकुसमुकुसको अवस्था सृजना भएको रहेछ । उनीहरू सिंहलाई पदच्यूत गर्नेमा भन्दा बानी सुधार्ने पक्षमा रहेछन् । सदियौंदेखि शासन चलाएको सिंहले किन पो आफ्नो बानीमा परिवर्तन ल्याउथ्यो र ? कठोर कदम चालेछ । बेलुन धेरै फुकेपछि फुट्छ भन्छन् । विनाश काले विपरीत बुद्धि भनेझैँ सिंहका उल्टा दिन शुरु भएछन् । बाघ, भालु, ब्वाँसो, मलसाँप्रो, गिद्ध, चील, लगायत जनावरहरू समेत आन्दोलनमा उत्रिएछन् । हेर्दाहेर्दै दरबारबाट सिंह बाहिरिएको खबर चारैतिर फैलियो ।
सिंहलाई दरबारबाट धपाएपछि स्यालहरूले नागरिकहरूमा निकै गुलिया आश्वासन दिन थाले । सपनाहरू देखाउन थाले । नागरिकहरूमा एक किसिमको उत्साह पनि देखियो । दिनहरू बित्दै जाँदा स्यालहरू अराजक बनेर उपद्रो गर्न थाले । स्यालहरू नागरिकसँग गरेका वाचा कसम भुलेर मोज मस्तीमा रमाउन थाले । पदको आडमा प्रतिष्ठालाई भुलेर गर्नुसम्मका लीला गर्न थाले । कलीको प्रभावमा परेका परिक्षित राजको हाल यहाँ देखियो । श्रीपेच लगाउँदा बुद्धि बिग्रने । हटाउदा ठीक रहने । स्यालहरूले सिंहासनमा बस्दा आफूलाई ठीक र अरूलाई बेठीक देख्न थाले । आफ्ना आफन्तहरूमा पदहरू बिला लगाउन थाले । छोरा, छोरी, बुहारी, सासू, ससुरा, ज्वाइँ, सम्धी कसैलाई नछाडी लाभका पदमा विराजमान गराउन थाले । महङ्गा गाडी, आलिसान महल, बहुमूल्य जमिन सबै आफ्नो कब्जामा पार्न कुनै कसुर बाँकी राखेनन् । ठेक्कापट्टा, कमिसन, तस्करी, कालोबजारी, भ्रष्टाचार हरेक क्षेत्रमा यिनकै हालीमुहाली रह्यो ।
सुन्छु, बाघको छालामा रजाइँ गरेका स्यालहरूको धूर्तताबाट वन्यजन्तुहरू आजित हुन थालेका छन् । कुपात्रहरूलाई चयन गरेकोमा आफ्नै थाप्लो ठटाउन थालेका छन् । अलिक हुनेखाने वर्गका प्राणीहरू हतास भएर अर्को जङ्गलतिर बसाइँ सरिसके भन्ने सुनियो । कमजोर, निरीह, निमुखा प्राणीहरू आफ्नै भाग्यलाई सराप्दै आफ्नै जङ्गललाई मङ्गल ठानेर बसेको पनि पाइयो । कतिपय उकुसमुकुस र वेचैनीले डिप्रेसनको दबाइ खाएर विवश जिन्दगी जिउन बाध्य भएको गाँइगुइँ चलेको छ । बरू धपाएको सिंहलाई फेरि राजा कायम गर्न सके जाती हुन्थ्यो कि भन्ने बहस चल्न थालेको पनि सुनियो ।
शासक स्याल होस् या सिंह वा अरू कुनै पात्र परिवर्तनले मात्रै हुँदैन । जब सम्म प्रवृत्ति परिवर्तन हुँदैन तबसम्म कुनै परिवर्तन हुँदैन । मानव समाजलाई हेर्दा पनि पुष्टि हुन्छ । कथा र किंवदन्तीहरूमा आफूलाई नागरिकको नोकर ठान्ने र मालिक ठान्ने शासकहरूको वणर्नहरू सुनियो । रामराज्य र हरामराज्यको कथा पढियो । राजर्षि र राक्षसी महाराजहरूका वृतान्त पनि गुनियो । आशा गरौँ स्याल र ब्वाँसाहरूको कुशासनको अन्त्य हुनेछ ।
राक्षस कुलमा देवता र देवता कुलमा राक्षस जन्मिएका प्रसङ्ग हामीकहाँ छन् । सास रहुन्जेल आश मार्नु पनि त भएन । स्याल भन्दैमा सबै फटाहा र दुष्ट नहुन सक्छन् । त्यसैले मेरो ठम्याइमा नर होस् पशु सबैभन्दा पहिले स्याल प्रवृत्तिको पहिचान गर्नु जरूरी छ । शासन र सत्ताको मातले उनमत्त स्यालहरूलाई भने डाँडा कटाउनै पर्छ । मामाको घोडी मेरो हिही गर्नेहरूलाई काला कुकुरको विष्टा चटाउनै पर्छ । स्यालको रजाइँ निमिट्यान्न नपारेसम्म सिङ्गो संसारले सुख पाउँदैन ।
०००
गुल्मी