रेहित सैजुढोँगीहरूको कुम्भ मेला
अस्थिरताको ढ्याङ्ग्रो ठोकेर, अरुलाई लडाउने मन्त्र घोकेर, च्यातेको खल्तीमा देशभक्ति बोकेर हिँड्नु पर्छ । देश जहाँसुकै खसोस्, पुगोस् कुनै मतलव नराखी आफू सत्तामा पुग्ने मार्ग कोर्नु पर्छ । तसर्थ ढोँगी हुन लरोतरो आँटले सफल हुन सकिँदै सकिन्न ।

रेहित सैजु :
म अहिलेको नाति पुस्ता । मेरो बुवा, हजुरबुवाको पालादेखि नै निकै चर्चा बटुलेको उखान ‘जुन जोगी आए पनि कान चिरेका’ । अहिले आएर मलाई कता कता यो उखान नै अधुरो छ जस्तो लाग्छ । बरू ‘जुन जोगी आए पनि कान चिरेका, आँखा टाल्लिएका’ भनेका भए केही पो मिल्थ्यो कि ! हुन पनि यी जोगीहरू न आँखाले देख्न सक्छन्, न त कानले सुन्न नै सक्छन् । अनि मिलेन त कुरा… !
त्यसो त अलि अगाडि हाम्रो देशमा राजा बनाउने चलन थियो । राजा बनाउन कुनै कोलाहल मच्चिँदैनथे । किनकी राजाको छोरा नै अबको स्वतः राजा हुने चलन थियो । केही गरी राजालाई अपुताली परे मात्र अन्य अन्य विकल्प सोच्नु पर्थ्याे । हरेक कुराको निणर्य गर्ने अधिकार राजालाई मात्र थियो । राजा बनाउने शासनलाई ठ्वाक पार्छु भन्दै भट्टीका ट्वाकेलालहरू बेफ्वाँकमा जङ्गल पसे, कोही गुप्त कोठामा भूमिगत भएर बस्न थाले । अन्तत अनेक तरहले यो शासन मिल्काएर आफू त्यो दहमा डुबुल्की मार्न गई छाडे । बाफ्रे एकजना मात्रै कहाँ हो र… सयौँजना । फाइन तिरेर भए पनि दहमा होमिने लाइन चीनको ग्रेटवाल जत्तिकै लामो ।
यहीँ दहमा बस्न हरेक साल हाम्रो देशमा निश्चित अवधिका लागि ढोँगी छान्ने कुम्भ मेला हुने गरेको छ । सयौँ ढोँगीहरूको भेलाबाट सीमित ढोँगी छानिने गरेको छ । यो मेला विष्णु भगवानको सुदर्शन चक्रको खेला जस्तै हो । किन भन्दा यो नियमित र निरन्तर हुन्छ । ढोँगीहरू थरीथरीका हुन्छन् । कोही सुनको ब्रिफकेस बोकेर आएका हुन्छन् भने कोही ट्रयाक्टरमा लागुऔषध ढुवानी गरेर आएका हुन्छन् । यो मेलामा भाग लिन पाएका ढोँगीको पृष्ठभूमि बडो रोचकको हुन्छ । एसेल्सी परीक्षामा गुल्टिएकादेखि दुई चारजनाको टाउको चुँडाल्डिएकासम्मका ढोँगीको उपस्थिति देखिन्छ । ढोँगीहरूसँग पैसा यति हुन्छन् कि पैसाकै डस्ना, पैसाकै सिरानी त भइहाले हुँदाहुँदै चुलोमा आगोधरी पैसाको नोट सल्काएर बाल्छन् । बैङ्कलाई समेत चक्माको तक्मा भिराएर नक्कली नोटको कारोबार गर्न माहिर हुन्छन् ।
ढोँगी छान्ने कुम्भ मेला घरबाटै सुरु हुन्छ । घरबाट टोल, टोलबाट गाउँ, स्थानीय तह, प्रादेशिक, हुँदै केन्द्रसम्म ढोँगी छान्ने महाकुम्भको आयोजना हुन्छ । ढोँगी हुनको लागि शैक्षिक संस्थाको सर्टिफिकेटको आवश्यकता नै हुन्न । यसमा केवल राजनीतिक गतिविधि, करियर हेरिन्छ । बाहिरी आवरण भलाद्मी देखाएर, बोलीमा विनम्रता मिसाएर आफ्ना समर्थकलाई यसो गरिदिउँला, उसो गरिदिउँला जस्ता विश्वास छरेर, केहीगरी काम लिन खोजेका समर्थकले मरिहत्ते गरे विभिन्न कारण देखाई रिझाएर आफूसँग रिसाउन नदिनु ढोँगीपनको प्रमूख सिद्धान्त हो । यी सिद्धान्तधारी ढोँगीले सृष्टिको चमत्कारलाई नै बलात्कार गरेर थरीथरीका मनपरी योजना जन्माउँछन् । न कुरोको चुरो बुझ्छन् न त अरुको कुरो सुन्छन् । यिनीहरू केवल आफ्नै महात्म्य अलाप्न खप्पिस हुन्छन् ।
अब कुरो आउँछ, ढोँगी कसरी हुने ? अरुको नजरमा ढोँगी कसरी देखिने ? यो बडो जटिल विषय हो । अहिलेको परिप्रेक्ष्यलाई नियाल्दा विचार सिद्धान्तलाई तुहाउन सक्ने, बोली व्यवहारलाई कुहाउन सक्ने, आश्वासनको साबुनले नुहाउन सक्ने तथा कुकुर र बिरालोलाई एउटै हलो जुवामा दुहाउन सक्ने मान्छे मात्र ढोँगी हुन या बन्न सक्छन् । यी चरण पार गर्न नसक्ने ढोँगी प्वाख निस्केको कमिला जस्तै हो, जसको धेर आयू हुन्न, थाहा भएकै कुरा हो । पद, पैसा र पावरको टावर चढेर जस्तो पनि कृत्य गर्न सक्नुपर्छ । पदबहालवालालाई लेबी तिर्नेदेखि प्रतिपक्षको पाउ पोस्न फिर्नु पर्छ । नैतिकतालाई तिलाञ्जली दिन सक्नुपर्छ । राज्यलाई करछली गर्न सक्नुपर्छ । थर्काएर हुन्छ कि पाता फर्काएर हप्ता उठाउन सक्नु पर्छ । अस्थिरताको ढ्याङ्ग्रो ठोकेर, अरुलाई लडाउने मन्त्र घोकेर, च्यातेको खल्तीमा देशभक्ति बोकेर हिँड्नु पर्छ । देश जहाँसुकै खसोस्, पुगोस् कुनै मतलव नराखी आफू सत्तामा पुग्ने मार्ग कोर्नु पर्छ । तसर्थ ढोँगी हुन लरोतरो आँटले सफल हुन सकिँदै सकिन्न ।
ढोँगीहरूको कुम्भमेला हेरिनसक्नुको हुन्छ । ढोँगी हुन चाहनेहरूको लडाईं भाले जुधाईं भन्दा कम्तिको हुन्न । अक्सर घरव्यवहार मामिलामा हार्न पुगेकाहरू नै ढोँगी बन्न सफल हुन्छन् । कारण उनीहरू स्वार्थपूर्तिका लागि आफ्नै दाजुभाइलाई गोली ठोकेका हुन्छन् । अर्काका सम्पत्तिमाथि कुदृष्टि गाढेका हुन्छन् । चोरी, चकारी, लुटपाट, बलात्कार, हिंसा सामान्य मान्छन् । ढोँगीहरू,
पीडामा खुच्चिङ भन्दै नाच्न मनपराउँछन्
मनमा सधैँ छलकपट साँच्न मनपराउँछन्
विडम्बना अचम्मका बानी व्यहोरा बाेकेर
सोझाको घाँटी दबाई, बाँच्न मनपराउँछन् ।
०००
रामेछाप, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































