फित्काैली डटकमदिवङ्गत साहित्यसेवी नगेन्द्रराज शर्माप्रति सामूहिक श्रद्धाञ्जली
तिष्ठानका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’ को सभापतित्व तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमल को प्रमुख आतिथ्य रहेको थियो।

बर्दिबास । अग्रज साहित्यिक पत्रकार, उपन्यासकार तथा कथा–साहित्यका विशिष्ट स्रष्टा नगेन्द्रराज शर्माको स्मृतिमा गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानले शनिबार बर्दिबासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। कार्यक्रममा वक्ताहरूले शर्माको निधनसँगै नेपाली साहित्य र साहित्यिक पत्रकारिताले एक समर्पित तथा युगद्रष्टा स्रष्टा गुमाएको बताएका छन्।
बर्दिबास उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न सभामा प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’ को सभापतित्व तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमल को प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा मिथिला नगरपालिका धनुषाकी उपप्रमुख सुनितासिंह बुढाथोकी, नेपाली भाषाविद् नारायण विक्रम थापा, मगही भाषाविद् डा. बिरबहादुर महतो लगायत साहित्यिक, सामाजिक, व्यावसायिक तथा सांस्कृतिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको आरम्भमा दिवङ्गत शर्माप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि शर्माका भतिजा गिर्वाण घिमिरे ले उहाँको पारिवारिक जीवन र मानवीय पक्षबारे स्मरण गरे भने प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष डा. सुमन कर्माचार्य ले शर्माको जीवनी, साहित्यिक यात्रा तथा साहित्यिक पत्रकारितामा पुर्याएको योगदानबारे प्रकाश पारे।
प्रमुख अतिथि डा. राजेन्द्रप्रसाद विमलले शर्माको साहित्यिक व्यक्तित्वमाथि चर्चा गर्दै उहाँका उपन्यास, कथा र सम्पादकीय लेखन नेपाली साहित्यको महत्त्वपूर्ण सम्पत्ति भएको बताए। अन्य वक्ताहरूले पनि शर्माको सिर्जनात्मक योगदान, अध्ययनशीलता र साहित्यप्रतिको निष्ठाको प्रशंसा गर्दै उहाँका कृतिलाई नयाँ पुस्तामाझ पुर्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा शर्मालाई समर्पित श्रद्धाञ्जली कविता तथा उहाँका रचनाका अंशहरू वाचन गरिएको थियो। सहभागीहरूले उहाँको साहित्यिक योगदानप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।
यस अवसरमा सभाले सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गर्दै अभिव्यक्ति साहित्यिक पत्रिकाका सम्पादक तथा आख्यानकार नगेन्द्रराज शर्माको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रस्तावमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।
प्रतिष्ठानका महासचिव कुमार दाहाल ‘कुसुम’ ले सञ्चालन गरेको कार्यक्रममा कुल ६१ जना को सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सभापति प्रेम घिमिरे ‘अग्निकवच’ ले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्दै नगेन्द्रराज शर्माको साहित्यिक विरासतलाई संरक्षण र प्रवर्द्धन गर्न प्रतिष्ठान निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
०००
अग्निकवचकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































