साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटकवाद

थाहा छैन यी चटकेहरूले केको माला लगाइदिएका छन् हामीलाई । तसर्थ म ढुक्कैसाथ भन्न सक्छु नेपालीहरूको आइक्यू लेभल यसै तल्लो स्तरमा परेका पक्कै होइनन् ।

Nepal Telecom ad

रेहित सैजु :

यो जमाना चटकधारीहरूको हो । यी चटकधारीहरू जानाजान या अञ्जानमा चटकवादको सिद्धान्तलाई हर्दम पछ्याइरहन्छन् । त्यसो त सिद्धान्तलाई नपछ्याउने हर जो कोही सिद्धान्तको अनुयायी हुन सक्दैनन् । तर तपाईंलाई एउटा कुरा थाहा हुनुपर्छ, चटकवादको अनुयायी हुन धेरै सजिलो छ । यसमा सदस्यताको कार्ड भिर्नु पनि पर्दैन । कतै पैसा तिर्नु पनि पर्दैन । अन्सनमा बस्न, वनमा पस्न पनि जरुरी छैन । यसमा केवल आफूले जानेको चटक प्रदर्शन गरे पुग्छ । हामी यस कुरामा विज्ञ बनिसकेका छौँ कि, पटकपटक चटक देखाउन सक्ने चटके यहाँ महान् र सफल बन्न सक्छन् ।

अहिले चटकवाद जताततै मौलाएको छ । यसले व्यापकता पाएको छ । हामी पहिले अधिकार सुनिश्चितताको लागि विभिन्न वाद, उपवाद घोक्थ्यौँ । तिनै वाद उपवाद घोकेर मनभरि उन्माद बोक्थ्यौँ । माक्सवाद, लेनिनवाद, माओवाद यसका केही उदाहरण हुन् । अति भएपछि खति हुन्छ । यिनै वाद उपवादहरूलाई तारन्तार पछ्याउँदै जाँदा यी सिद्धान्तहरू चटकवादमा रुपान्तरण भएका हुन् भन्ने मेरो ठम्याईं रहेको छ । डार्विनले संसारमा सबै प्राणीले आफ्नो अस्तित्व रक्षाको लागि सङ्घर्ष (Struggle for Existence) गर्नैपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । जसलाई ‘डार्विनिजम’ भनिन्छ । तर अब वर्तमान स्थितिले बाँच्नको लागि सङ्घर्ष भन्दा पनि चटकवाद जान्नुपर्छ भन्ने अवस्था पैदा गरेको छ । तदर्थ यसलाई ‘चटकनिजम’ भन्दा पनि फरक नपर्ला ।

चटकवादको कुरा गर्दै जाँदा म जत्तिको चटकधारी कोही छैनन् भन्दा खासै फरक पर्दैन । मलाई यति चटक गर्न आउँछ नि त्यसको कुनै लेखाजोखा छैन । मसँग चटकको असङ्ख्य मिसिल छ । बच्चैदेखि मैले आफसेआफ चटक गर्न जानेको हूँ । मैले चटक सिक्न कतै कोचिङ, टिउसन कक्षा पढ्नै परेन । यसर्थमा भन्नुपर्दा मान्छे म भाग्यमानी नै हो, पहिल्यै मेरो मनमष्तिष्कमा चटकवादको वास बसिसकेको रहेछ । भान्सामा काउलीको तरकारी पाकेको दिन मलाई आलु बोडीको तरकारी खान मनपर्छ । घिँरौला र चिचिन्डा स्वादले होइन, म आफ्नो चटकले मनपराउँदिनँ । यी त मेरा सामान्य चटक हुन् । मेरा कतिपय चटक देख्नु, सुन्नु भयो भने तपाईंको होसहवास उड्न सक्छ ।

एउटा घटना सम्झिन्छु, सम्भवतः म आठमा पढ्दै थिएँ, जेठ असारको महिना हुनुपर्छ, शुक्रबारको दिन बिहानी पढाइ । पिटी खेल्न लाइन बस्नु पथ्र्यो । बरू म फाइन तिर्न तयार तर लाइन बस्न बडो अल्छी गर्ने मान्छे थिएँ । जुन बानी ममा अहिले पनि जीवित नै रहेको छ । जहाँ लाइन बस्नु पर्ने नियम छ, म त्यहाँ सकेसम्म लाइन बस्दिनँ । अनेक जुक्ति निकालेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउँछु । जस्तो अलि नौलो लाइन भए कहिले खुट्टा खोल्च्याङ खोल्च्याङ गरेर त कहिले दृष्टिविहीन बनेर । रहर हो या बाध्यता बुझिनसक्नुको छ मेरो चटक पनि ।

अब कुरोलाई कुलोमा डोर्‍याउँ, यसो त होचो कदको मान्छे लाइन बस्दा सबैभन्दा सिरानमा नै बस्नु पर्ने नियम । लाइन बस्नु नपरोस् भन्ठान्ने म झन् अगाडि नै उभिनु पर्दा नमीठो लागेर आउँथ्यो । अब यसरी त भएन भन्दै मलाई आफूले जानेको खुरापाती चटक प्रदर्शन गर्न मन लागिहाल्यो । मेरो पालो खल्तीमा एक पत्ता औषधि बोकेर स्कूल गएँ । लाइन बस्नको लागि सरमिसहरूले डाक्नु भयो । म चाहिँ जबरजस्ती बिरामी छु भनेर लाइन बस्न इन्कार गरिरहेँ । खल्तीको एक पत्ता औषधि सरकै अगाडि निल्दिएँ । यति गर्दा पनि धरै पाइनँ । अनुहार निन्यारो पार्दै पिटी खेल्न चौँरतिर झरेँ । आफू होचो मान्छे गइयो अगाडि नै बस्न ।

मन असन्तुष्ट भएरहेको थियो । पिटी खेलिसकेपछि राष्ट्रिय गान गान गाउने पालो आउँथ्यो, गान गाउने क्रममा नै थियौँ क्यार मलाई औषधिले गलत प्रतिक्रिया देखाउन थालिहाल्यो, रिङ्गटा चल्न थाल्यो, उभिरहेको भएर होला मैले आफ्नो शरीर सन्तुलन गर्नै सकिनँ र पुरै शरीर पसिनाले निथ्रुक्क भयो र म अचेत भई भुइँमा बजारिन पुगेँ । पछि सरहरूले बोकेर अफिस कोठामा लग्नु भएछ र मेरो होस खुलेपछि मैले ढोकाभरि रमिता हेर्ने मान्छे खुब देखेँ । हैट ! भित्रभित्रै लाज अनि डर पनि लागेछ । त्यो सानो चटकले झण्डै चारजनाको काँधमाथि बाँसको रथमा यात्रा गर्न पुगेनछु ।

हुन पनि हो, अहिलेको परिप्रेक्ष्यमा मजस्ता बेकामी चटकेहरूको उपस्थिति जताततै छ्याप्छ्याप्ती रहेको छ । चटकेहरू यसरी सप्रेका छन् नि मानौ यिनीहरू ढल बग्ने किनारमा उम्रेका काक्रो हुन् जो थाक्रोबिना पनि हलहल्ती बढ्छन् । चटकेहरू अरुलाई मुला बनाउन खप्पिस हुन्छन् । यी चटकेहरू रमितेलाई चाना चाना बनाएर सलादको रूपमा खान सिपालु हुन्छन् त कहिले सिन्की बनाएर मीठो मानी मानी हसुर्छन् । आडम्बर, आत्मप्रचार, आत्मप्रतिष्ठा, आश्वासन र अन्ततोगत्वा आत्मरति यिनीहरूका रैथाने गुण नै हुन् । अरु के भनि राख्नु पर्ला र… ।

हाम्रो देशमा चटकेहरूको सङ्ख्या गन्दै जाने हो भने उक्त गणकले सेवा अवकाश लिइसक्दा समेत गनेर सकाउँदैनन् होला । यस्तो पनि लाग्छ गणितमा इन्फाइनिटी अङ्कको आविष्कार यी गणकले चटकेको सङ्ख्या गन्ने क्रममा गरेका हुन् । छन पनि असङ्ख्य छन् अनि । हत्तेरिका ! घर, छिमेक, सरकारी, गैरसरकारी कार्यालय, विद्यालय, अस्पताल, अड्डा अदालत जहाँ पनि चटकेको हाइहाइ हुइहुइ छ । यसबाट कुनै क्षेत्र पनि अछुतो छैन । सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक, प्रशासनिक, आर्थिक जुनसुकै क्षेत्रमा बिना टीकटमा चटक प्रदर्शन हुन्छ । सांसद भवन देश सरोकारको जिम्मा बोक्ने महामहिमहरूको व्यवहार, आचरण हरिविजोग डटकम नै छ । यस्ता चटकेहरूले दोहन गरेको ठाउँमा सकारात्मक परिवर्तन आउँछ भनेर के मानेमा अपेक्षा बोकेर हिँड्ने ? तपाईं आफैँ भन्नुस् त… !

यो फेसबुक, टिकटक, ट्वीटर, युट्युवमा असरल्ल चटक देखाएर डलर कमाउने पेशेवरहरूलाई देख्दा झन् कानको पारो तातेर आउँछ यार । विडम्बना भन्नुपर्छ, यी पेशेवरहरूलाई आफ्नो भइहाले, हुँदा हुँदा अरु कसैको कुनै जनधन, इज्जतको माने मतलव हुन्न । साँच्चै यो लापरवाही, मनपरीको सीमा हुन्न कि कसो ? धरोधर्म यिनीहरू हार्दिकता, संवेदना केही नभएका ग्वाँच नै हुन् । यी चटकेहरूले चटक देखाएकै भरमा टन्न अकुत सम्पत्ति लुँड्याएका छन् त कसैको मजाक मजाकमै बाँच्ने जिन्दगी चुँडाएका छन् । नाटक नौटङ्की पनि कति जान्या भन्या, गोडा तिनेक क्यमेरामा लण्ठुहरूको घेरा बनाई दान गरेको जस्तो भिडियो पोस्ट्याउँछन् । थुक्क ! फेरि हामी यिनै चटकेका चटक हेरिरहेका छौँ, सुनिरहेका छौँ । थाहा छैन यी चटकेहरूले केको माला लगाइदिएका छन् हामीलाई । तसर्थ म ढुक्कैसाथ भन्न सक्छु नेपालीहरूको आइक्यू लेभल यसै तल्लो स्तरमा परेका पक्कै होइनन् ।

लौ सुन्नुस्…
चटकवादले देश खर्लप्प खायो
जिम्मेवारी भुलाएर स्वाहा बनायो
मान्छे मान्छेमा भावना भेटिँदैन,
सलहसरि यो सर्वत्र सल्बलायो ।

हामी देश बिग्य्रो भन्छौँ, विकासले निकास पाएन भन्छौँ, प्रशासन प्रणालीको आली भत्कियो भन्छौँ तर यो अवस्था कसरी सिर्जित भयो यसबारे अनभिज्ञ जस्तै बनिदिन्छौँ । त्यो नराम्रो हो भनेर हामीलाई प्रष्ट अवगत हुँदा हुँदै पनि चुपचाप स्वीकारिदिन्छौँ । खासमा देश बिग्रेको भन्नु या बिगारेको सबै चटकेहरूको ज्याद्रो चटकले हो । जब तपाईं चटक प्रदर्शन गर्नु हुन्छ त्यो मैले देख्छु, सिक्छु र गर्छु पनि । र यसरी हाम्रो चटक ऊ, उनी गर्दागर्दै सर्वत्र फैलिएको हो भन्ने मेरो ठहर रहेको छ । यो ठहरलाई तपाईंले पनि नबङ्ग्याउनु होला… । चटकलाई यसैगरी फैलन दिइरहने हो भोलि विकराल स्थितिको सामना गर्नु पर्नेछ र मनमनै कामना गर्नेछौँ, उफ् ! यो दृश्य देख्नु अगावै मेरो आँखा किन फुटेन ?

हामी नजानेर होइन, नजानेजस्तो नाटक गरेर पछि परेका हौँ । किनकी हाम्रो मानसमा चटकवादको ल्याप्चे लागिसकेको छ । अघि बढ्नु पर्ने बेला हाम्रो कदम झन् पछि पछि सरेको छ । चटकवादलाई काँधमा भिरेर दौडिरहेका छौँ । कर्तव्य र जिम्मेवारबाट कहाँ हो कहाँ लापत्ता भएका छौँ । स्यालको हुइँयाको पछि लागेर एकोहोरो ताली बजाइराखेका छौँ । यसलाई संस्कृति बनाएका छौँ । फेसन बनाएका छौँ । यो हाम्रो दैनिकी नै भएको छ । यो गम्भीर जटिल घातक रोग हो । जसले दिएको प्रतिफल हाम्रै वरिपरि छरपस्ट छ । यदि मैले, हामीले चटकवादको सिद्धान्तलाई कान निमोठेर एकान्तमा नमिल्काउने हो भने यसको मूल्य चुकाउन बडो महँगो पर्नेवाला छ । तसर्थ चेतना भया !!

साँचेर होइन चटकवादको अहिल्यै अन्त्य गरौँ
सम्बन्धमा हार्दिकता, आत्मीयताको सुगन्ध छरौँ
‘आत्मप्रचार’ होइन हजुर ‘आत्मालोचना’ गरेर
देशलाई सफल तुल्याउन तन मन लागि परौँ ।
अस्तु !

०००
रामेछाप, हाल कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

8 Comments
Oldest
Newest Most Voted
गाेपालप्रसाद दाहाल
गाेपालप्रसाद दाहाल
1 year ago

रेहित बावुकाे लेख अत्यन्तै सान्दर्भिक मार्मिक र सचेतता अपनाउँन सचेत गराई सामाजिक विकृतिमाथि प्रहार गरेर सुधारकाे लागि सन्देशबाहक छ।बावुलाई बधाई छ।कलम सधैं चलिरहाेस्।शुभकामना।

Dinesh Pathak
Dinesh Pathak
1 year ago

Sahi kuro Rehit bhai.

kumar khadka
kumar khadka
1 year ago

गज्जव घतलाग्दो निबन्ध साने ! जय होस् !!!

युगल बसेल
युगल बसेल
1 year ago

आफूले पनि त चटक गरियो, रेफ नबिराई एकै बसाइमा खर्लप्पै पढियो।

Ramprasad panthi
Ramprasad panthi
1 year ago

चटकीकाे चटकीले देश शेष पार्याे
गाउँघर सबैतिर यस्ले डेरा सार्याे ।

Vibek Sharma Gautam
Vibek Sharma Gautam
1 year ago

शशक्त व्यङ्गे । पढ्न मज्जा आयो।

prem
prem
1 year ago

good morning. chatake bhai… good article

Aniruddha Poudel
Aniruddha Poudel
1 year ago

लौ, फेरि एउटा रेहित सैंजु नामको नयाँ चटके जन्मिएछ ।

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
नेतासेवा

नेतासेवा

रेहित सैजु
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
8
0
Would love your thoughts, please comment.x
()
x