साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेतासेवा

यो कुरा अहिले गोप्य राखौँला तर आपतकालीन अवस्था नआएसम्म पूर्णकालीन नेतासेवामा तल्लीन हुने कुरा सत्य हो । नेतासेवालाई पेवा बनाएर ढेवा जम्मा गर्ने हो, सधैँ घेवा खाने हो ।

Nepal Telecom ad

रेहित सैजु :

जमानाअनुसारको रहनसहनमा बहन नसक्ने मान्छे बिनाकामको लम्फु नै हो । म कस्तो हुस्सु ! हेर्नुस् न मेरो घैँटोमा बल्ल घाम लाग्न लागेको हो कि भन्ने भान भइरहेको छ । मलाई जतिखेर पनि गिज्याउनेहरूको बेतलबी जागिर अब भने धरापमा पर्न सक्छ । हजुर हो नि, बाह्र सत्ताइसका कुरा नगरेरै जीवनको उपलब्धि नप्पाइस् भएको हो भन्ने मेरो ठहर छ । यो ठहरमा ल्याप्चे नलगाई धरै छैन । म अयोग्य ठहरिनुको कारण तपाईं पत्याउनु हुन्छ ? लौ सुन्नुस्, मेरो एउटै सिद्धान्त छ, सधैँ अरुको भलो चिताउने, आफू हारेरै भए पनि जिताउने र यसैगरी यो जिन्दगी बिताउने । लु हेर्नुस् त मेरो दुष्कर्म । अहिले यस्तो गर्न सक्ने हिम्मत कसैले निकाल्न सक्छ ? हो, सक्दैन नि ।

स्कुलमा पढ्दा पढ्ने जान्नेमै गनिने भएर होला सरहरूले पनि लोकसेवामा जागिर खानुपर्छ है बाबु भन्ने गर्थे । हुन्छ नि त भनेर लोकसेवाको पाठ्यक्रम हेर्न थालियो । सक्ने घोकियो, नसक्ने बोकियो । तर यी दुवैले सिन्को उठाउन सकेनन् । जतिपटक लोकसेवा लडियो त्यति नै पटक बिर्सनलायक बल्ड्याङ खाइयो । हो, यस्तै धोकाहरूले जिन्दगी लाजको पोका बन्यो । अब त लोकसेवाको नाम सुन्दा पनि आङ सिरिङ्ग हुन्छ ।

जाबो नाथे लोकसेवाले नपत्याएर के हुन्छ र… गाउँमा जन्मेको मान्छे हूँ गौसेवा गर्न पनि त सक्छु नि । त्यसो त हाम्रो देश कृषिप्रधान देश पनि हो । अब यसमै क्रान्ति गरेर देशको अर्थतन्त्रमा टेवा पुर्‍याउनेछु । मनको रहमा यही कुरा घुमिरह्यो । हत्तेरिका ! ‘नानी पाउने कहिले भोटो सिउने अहिले’ भनेजस्तै मेरो यो योजनाले फ्लप मात्र होइन, सुपर डुपर फ्लप नै खायो । गौसेवामा लागेर मेवा फलाउने मनको लड्डु खानै नपाई घुन लाग्यो । हुन पनि पत्याइदिने कसले… किताब कापी बोक्ने मान्छेले गाईको गोबर सोहोर्छ… ! यो मुलाको गफ पानीमा छोडेको अपनवायु जस्तै हो भन्ने ठम्याएछन् सुन्नेहरूले ।

यसरी त हुँदै भएन । एकाबिहानै आफूले मानेको भेना कहाँ भएसम्मको गथासो बिसाउन गएँ ।
जातैले पाको हो, व्यापार व्यवसाय गर्नु नि सालो भनेर पो सुझाए ।
हैट ! जानीजानी ग्राहकको घाँटी मिच्न त नैतिकताले नमान्ला नि भनियो । फेरि आफू पैसाको कारोबार गर्न नसक्ने लद्दु न जो परियो । दिनभरि ग्राहक रुँघेर त के बस्नु हौ भेना, यस्तो त हुँदैन ।
यो पनि हुँदैन, त्यो पनि हुँदैन गर्ने चाहिँ के ?
त्यही गर्न खोजिरहेको हो भेना, जुन भेटिएकै छैन भन्या ।

उसो भए राजनीति गर्नु । पढेलेखेका छौ, साइन्स पढेको मान्छे बुद्धि माइनसमा छैन होला । नाम पनि ‘र’ बाट उठेको । ए सालो केटो राजनीतिमा लागियो भने चाहिँ फाप्न सक्छ है !
अनि भेना मलाई राजनीतिको ‘र’ पनि आउँदैन, मैले के नाप्ला र…
हे ! अल्ट्रा प्रो म्याक्स भर्सन लठ्ठु सालो, राजनीति जानेर होइन, नजानेरै गर्ने हो, जानेर गर्ने भा’त देशको अवस्था अर्कै हुने थियो नि । जानेर गर्ने भनेको त अरु अरु पेशा हो ।
छेउ न टुप्पो केही भेउ नपा’को मान्छेले कसरी गर्नु त राजनीति…
सालो केटाे… सबै भन्नु पर्छ ? बकबक गर्नुको साटो भर्खरैबाट ‘नेतासेवा’ गर्न थाल्नु नि ।
हैन, भेना यसै पनि आफूलाई राजनीति मन नपर्ने । झन् नेतासेवा त उफ्… !

ह्या सालो … तिम्रो कमजोरी नै यही छ के । तिमी समयको माग र अवस्थासँग चल्नै जान्दैनौ । कत्ति सोझो भ’का हौ ? बिजुलीको खम्बा भन्दा पनि सोझो छौ र त लमतन्न सुतेकाहरूले पनि खुट्टो ठाडो पारी मुतेर जान्छन् नि । नेतासेवा जसरी पनि गर्न सकिन्छ । यसमा लोकसेवाको जस्तो विज्ञापन खुलेपछि मात्र आवेदन दिनुपर्छ भन्ने हुँदैन । यसको जुनसुकै बेला आवेदक हुन पाइन्छ । म्याद सकिएला, दोहोरो दस्तुर तिर्नुपर्ला भनेर त सोच्दै नसोचे हुन्छ । बरू जतिसक्दो चाँडो नेतासेवामा भाग लियो उति नै आफ्नो लागि राम्रो हो ।

हेर सालो, गौसेवा र नेतासेवामा उस्तै सुनिने तर केही भिन्नता छन् । गौसेवामा हँसियाले घाँस काट्नु पर्छ, नेतासेवामा धारेहात लाएर विपक्षको कुरा काट्नु पर्छ । गौसेवामा गोबर सोहोर्नु पर्छ । यसमा पनि सोहोर्न त सोहर्ने नै हो तर सोहोर्ने चाहिँ कमिसन हो । गौसेवामा वस्तुभाउ चराउनु, धपाउनु पर्छ । यसमा आफूले मानेको नेताको छविमा आएका वा आइलाग्न सक्ने प्रतिरोध धपाउनु पर्छ । बेलामौका मिलाएर बफे डिनरमा आफ्ना कार्यकर्ता चराउनु पर्छ । यति जाने नेतासेवाको प्रारम्भिक चरण पार गर्न सकिन्छ ।

नेतासेवा गर्ने मामलामा यो पूर्णकालीन र अंशकालीन दुवै तवरले गर्न सकिन्छ । तर सालो नेतासेवामै अडिग भएर लागेपछि पूर्णकालीन गर्दा नै राम्रो हुन्छ । हुन त यो महङ्गो हुन्छ तर दीर्घ समयसम्म रहन सकिन्छ । ठूला ठूला राजनैतिक ओहदाका व्यक्तित्वको क्वाटरमा सधैँजसो उठबस गर्न पाइन्छ । टेण्डर पारिदिएर चर्को कमिसन हत्याउन पाइन्छ । उस्तै परे सांसद, मन्त्री पद पड्काउन पाइन्छ । पद, पैसा र पावर भएपछि कानुनलाई गलहत्याउँदा पनि छुट पाइन्छ । अंशकालीन नेतासेवाले चाहिँ केही माखो मार्दैन सालो । यसले झोले बनाउँछ । सधैँ अरुको पुच्छरे भएर हिँड्नु पर्छ । टाउको बन्न चाहिँ पूर्णकालीन नै हुनुपर्छ । अंशकालीन नेतासेवा अल्पकालीन हुन्छ । यसले लक्ष्य छेदन नगर्न पनि सक्छ । यसले सिल्ली बनाउने काम मात्र गर्छ । कतिखेर बिल्लीबाठ हुने हो अत्तोपत्तो हुन्न । सानो सानो योजना हात पार्न त सकिएला तर जीवन निर्वाह भने पक्कै हुँदैन । आफ्नो नेतृत्वको पुङमाङे गफमा रप्फु भर्दैमा हत्तु भइन्छ । मेयर त के वडाध्यक्ष पदको पगरी गुँथ्न पनि सकस हुन्छ । सालो, कुरो बुझेको हो ? यदि नेतासेवा गर्ने सोच हो भने पूर्णकालीनतिर लाग्नु है ! पूर्णकालीन नेतासेवाले सगरमाथाको चुचुरोमा पुर्‍याउँछ भने अंशकालीनले चाहिँ धौधौ नाम्चे बजारसम्म पुर्‍याउला… !

ल ठिक छ भेना, यसका आधारभूत मान्यताहरू पो के के होलान् ?
ए सालो यसका मान्यता थुप्रै हुन्छन् । तर वस्तुतः यिनीहरू हुन्-

१. लगाव
लगाव पहिलो शर्त हो । कुनै पनि कुराको प्रतिफल पाउन लगाव चाहिन्छ भने जस्तै नेतासेवामा भाग लिएपछि दृढ, सङ्कल्प सहितको लगाव राख्न जरुरी छ । खडा भएर ठडिएका भीमकाय अग्निपरीक्षासँग भाग लिने मात्र होइन आत्मसमीक्षा पनि गर्नु पर्ने हुन सक्छ । कुनै कुनै बेला त आफ्नो पार्टीले विश्वासको मत लिन नसकी अल्पमतमा पर्दा बलियो मन बनाएर योगदान दिन सक्नु पर्नेछ ।

२. स्वभाव
स्वभाव समय र परिस्थितिअनुसार फेरबदल हुनु पर्नेछ । जस्तो मौसमको कुनै भर हुँदैन । छेपारोलाई नै फि लिएर टिउसन पढाउनु पर्ने खालको स्वभाव भए सुनमा सुगन्ध । अँ, अझ कहिलेकाहीँ त औँलो दिँदा डुडुल्नो निल्ने प्रकृतिको हुनु पर्नेछ । आधा सक्कली आधा नक्कली अनुहार र व्यवहार बोकेर हिँड्नु पर्नेछ ।

३. प्रभाव
प्रभाव एक महत्वपूर्ण मान्यता हो । प्रभाव यस्तो दिनु पर्छ कि विपक्ष वा विरोधीलाई नै आफ्नो पक्षमा आकर्षण गर्नुपर्ने खालको हुनुपर्नेछ । जस्तो कि यदि कसैलाई हिमाल कालो हुन्छ भनेर गफ दिइयो भने रातमा हिमाल कालै त हुन्छ भनी रप्फु भर्न सक्नु भर्नेछ ।

४. दबाव
दबाव आफू लिने भन्दा पनि विपक्षलाई बोलेर हुन्छ कि बल प्रयोग गरेर लगातार दिनु पर्नेछ । दबाव दिन सकिएन भने आफू कमजोरमा दरिने चान्स हुन्छ र विपक्षले यस्तो गोल्डेन चान्स पाए डायमण्ड रोमान्स गर्न सक्छ ।

५. गोपनियता
सबैभन्दा महत्वपूर्ण मान्यता गोपनियता हो । नेतासेवामा भाग लिएपछि आफ्नो काम र प्रवृत्तिको गोपनियता कायम राख्न सकिएन भने करियर ध्वस्त हुन पनि सक्छ । विशेषतः आर्थिक पाटोमा गोपनियता राख्नु पर्ने हुन्छ । कामको मामलामा गुप्तचर विभागको कर्मचारी भन्दा चनाखो हुनु जरुरी छ ।

लु सालो, कुरा यिनै हुन्, बाँकी तपसिल बमोजिम आउने कुरो हो । अहिलेको पेरीफेरीलाई नियाल्दा छोटो समयमै उथलपुथल गर्न सक्ने पेशा भनेकै नेतासेवा हो । कहिले नाम कमाइन्छ, कहिले बदनाम पनि भइन्छ । दामको कुरै नगरौँ, घरघडेरी, जग्गा सम्पत्ति चाहेजत्ति जोड्न सकिन्छ । आफ्नो मान्छेलाई जागिर खुवाउन सजिलो छ । परिवारमा सुख, समृद्ध र खुसी भित्र्याउन सकिन्छ । विचार गर है सालो ।

भेनाको कुराले दिमाग रन्थनियो । हुन पनि हो, आफ्नो हालत देखेर घरपरिवार, नरनाता त के म आफैँ रुष्ट, दुष्ट भइसकेँ । सोचेको, गर्न थालेको कामले मरिगए निरन्तरता पाएको छैन । हात्तीको देखाउने दाँत र चपाउने दाँत फरक फरक हुन्छ भनेजस्तै मैले पनि चाल, ढाल र व्यवहार सोहीअनुरूप ढाल्नुपर्नेछ । यो कुरा अहिले गोप्य राखौँला तर आपतकालीन अवस्था नआएसम्म पूणर्कालीन नेतासेवामा तल्लीन हुने कुरा सत्य हो । नेतासेवालाई पेवा बनाएर ढेवा जम्मा गर्ने हो र सधैँ घेवा खाने हो । लु साथी हो, अब नेतासेवाको पथमा मेरो द्रूत रथ यात्रा आरम्भ भएको जानकारी गराउँदछु । हे प्रभु जगन्नाथ भोला, आखिर एउटा चोला, जसो होला होला… !

०००
रामेछाप, हाल : कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
kumar khadka
kumar khadka
1 year ago

तितो एथार्थ र अन्तरङ्ग वार्तालापमा आधारित व्यङ्ग निबन्ध ! सानेको जय होस् 😍⛳️

Upendra Paudel
Upendra Paudel
1 year ago

उत्कृष्ट सिर्जना !

Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

‘…छेपारोलाई नै फि लिएर टिउसन पढाउनु पर्ने खालको स्वभाव…’पठनीय हास्यव्यंग्य रचना

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
3
0
Would love your thoughts, please comment.x
()
x